A diary of Pedestrian on Mother Nature

नास्तिक अनि ईश्वर


कामनाहिन आँखाहरुले जब एउटा नास्तिकले मन्दिर तर्फ हेर्छ
तब मन्दिर पवित्रताको उज्यालोले धपक्क बल्छ,

किनकि, कसैले त हेर्यो जसको शिर याचनामा झुकेको छैन,
बरु आफ्नो निरपेक्ष सत्यमा इमान्दारपूर्वक उभिएको छ

अब प्रयास हुन्छ भगवानबाट सबै दिक्दारी त्यागेर
बाहिर निस्कने अनि स्वतन्त्र साथीको मुहारको ज्योति बन्ने

तव भगवानका शून्य आँखाहरुले निहार्छन् वरिपरि 
हस्याङफस्याङ गर्दै रहेको भक्तहरूको भीड 

अनि देख्छन् त्यहाँ कोई त छ सवल स्थिर सुदृढ तन
जो आफ्नो बोझ आफै उठाएर आकाश नीहारिरहेको

यसैको सन्तोषले गदगद हुन्छन् ती निर्जीव आँखाहरू पनि
चाहे त्यो आफ्नो प्रेममा लिप्त भक्त नहोस्, तैपनि झल्किन्छ 

भरिभरी खुशी र सन्तोष त्यो निर्जीव मुर्तिवत स्वरूपमा 
प्रष्ट देखिन्छ हतार त्यो निर्जिवतामा पनि सजीव र शाश्वत सत्सङ्गको 

एक स्वतन्त्र र स्वच्छ साथीसँग आनन्दित उन्मादका साथ
तँ जिउँदो र स्वच्छ छस् र म पनि छु त्यस्तै आनन्दित र उल्लासित

तेरो अविश्वासको वर्षात् ले मेरो विश्वासको फूल फुल्छ साथी! 
जव तेरो नास्तिकताको कमलो शितल हावाको स्पर्शले सुम्सुमाउछ

आस्तिकताको तुषारोले निरन्तर चिथोरेको मेरो अस्तित्व 
कामना र याचनाका कर्कश आवाजले निर्जीव भएको म   

जीवन्त हुन्छु एकाएक अनन्त अनन्त कालसम्म तेरै साथमा
निर्मल हुन्छ आस्तिकका कामना र वासनाले विषाक्त मेरो शरीर

कामनाहिन आँखाहरुले जब एउटा नास्तिकले मन्दिर तर्फ हेर्छ....
Share:

मानव क्रम विकास: एक ठगी

क्रमबिकासको शुरुवाती अवस्थामा मान्छे अन्य जनावर भन्दा धेरै कमजोर थियो। उसले अरु जनावरले शिकार गरेर खाएर बाँकीरहेको सिनो खान्थ्यो। प्राग ऐतिहासिक कालिन अवशेषहरुलाई केलाउदा ति हड्डीहरु फुटाएर त्यसको मासी समेत झिकेर खाइएको पाइएको छ। 

बिस्तारै यसले सामुहिक सरंचनाहरु बलियो बनाउदै लग्यो र हतियारहरुको प्रयोग गर्न जान्ने हुदै आयो। कालान्तरमा यो प्रजाति अरु भन्दा शक्तिशाली हुदै आएको छ। प्राकृतिक रुपमा भन्ने हो भने यो अति कमजोर प्रजाति हो। यसले आफ्नो समुहलाई एकताबद्ध बनाउन सक्यो। 

सामुहिक एकताकाको लागि एक धुरी अर्थात केन्द्रको आवश्यकता हुन्छ त्यो केन्द्रको रचना कुनै भौतिक बस्तु राखिनु हुदैन। सामुहिक एकता जनावरमा पनि हुन्छ जसको केन्द्र त्यस समुहको नेता हुन्छ जसले भौतिक शारीरिक बल र नेतृत्व क्षमताले प्राप्त गरेको हुन्छ जसलाई अरुले बेला बेला चुनौती दिने गर्छन र पराजित अवस्थामा अर्को नेताको हातमा समुहको नेतृत्व जान्छ। 

मानव प्रजातिले जङ्गली अवस्थामा नै रहेको बेला सो कुरा राम्रो सङ्ग बुझेको हुनु पर्छ त्यसैले उसले कालान्तरमा त्यस्तो ब्यबस्थालाइ परिवर्तन गरेको छ। उसले अब समुहको नेतृत्वको केन्द्रिय ब्यबस्थालाइ भौतिक बस्तुको रुपमा राख्दा त्यो कुनै पनि बेला नष्ट हुन सक्छ भनेर उसले अभौतिक बस्तुहरुको रचना गरि त्यसलाई समुहको केन्द्रिय ब्यबस्थाको रुपमा राख्यो। 

परिणाम हेर्ने हो भने त्यो अत्यन्त सफल भयो र सारा पृथ्वीमा यसैको राज्य स्थापित भयो। चाहे अभौतिक ब्यबस्था नै किन नहोस बेला बेला त्यसले पनि चुनौतिको सामना भने गर्ने पर्छ। जब चुनौती आउछ उसले ति ब्यबस्थामा परिवर्तन पनि गर्छ किनकि भौतिक भन्दा अभौतिक ब्यबस्था छिटो परिमार्जित हुन्छ। 

ति अभौतिक ब्यबस्थाहरु झुटको सरंचनामा स्थापित भएका छन। शुरुवातमा उसले पारिवारिक ब्यबस्थाको रचना गरेको हुनु पर्छ। परिवारका समन्धहरु , अपनत्व, नाता समन्ध र त्यसमा अन्तरनिहित बिधि बिधानहरुको सरंचनाको स्थापना गरिएको छ। त्यसपछि परिवार परिवारहरुलाई कुनै एक अर्को अभौतिक समन्धमा बाधेको छ त्यो हो समान पारिवारिक स्तरका संरचनाहरु जसले उही स्तर बीचको समन्ध र विभिन्न स्तरहरुको बीचको समन्धको सरंचनाको निर्माण गर्दै एक समाजको निर्माण भएको होला, ती सामाजिक व्यवस्थामा उसले जाती, रङ्ग, वर्गीय संरचना निर्माण गर्न पनि सफल देखिन्छ। उसले त्यो संरचनाको विस्तारको क्रममा समाज समाज जोडेर राज्यको अबधारणा, राष्ट्रवाद, स्वाभिमानका अवधारणाहरु सम्म पुर्याएको हुनुपर्छ । 

समाज समाजलाइ जोड्नको लागि विचारधाराहरुको निर्माण जस्तो धर्म, राजनैतिक विचारधारा आदि आदि जसले धेरै विस्तृत क्षेत्र ओगटेर बिशाल मानवहरुलाई एकताबद्ध गरेको छ। धर्म र राजनीतिक विचारधाराले त हजारौँ किलोमीटर पर रहेका कहिले नदेखेको, नसुनेको व्यक्ति लाइ समेत जोडिदिएको छ। यी अभौतिक ब्यबस्थाहरु जुन मानव समाजको एकताको लागि रचिएको हो त्यो सर्वर्था झुटको खेतिमा आधारित छ। जति धेरै झुट उति शक्तिशाली मानव समाज किनकि भोलि चुनौती आयो भने झुटमा आधारित ब्यबस्था छिटो परिमार्जित हुन्छ। त्यसैले धर्महरु तात्कालिक परिस्थिति हेरेर परिमार्जित गरिए त्यसैले अहिले विभिन्न धर्मका स्वरुपहरु देख्न सकिन्छ। 

त्यस्तै राजनीतिक बिचारधाराहरु पनि त्यसरी नै परिस्थिति हेरेर परिमार्जित गरिएका छन्। सामन्तवाद हुदै महाजनवाद हुदै पुँजीवाद हुदै साम्यवादी बिचारधारा। यी सबै बिचारधारा मात्र हुन् यिनीहरुको भौतिक महत्व हुदैन। समय परिस्थिति हेर्दै यसको परिमार्जन भएको हो। यसको लक्ष्य भनेको शक्तिशालि मानव समुहले आफु शक्तिशालि रहिरहनको लागि त्यहि ब्यबस्थालाइ अर्को रुपमा प्रस्तुत गरेको मात्र हो लक्ष्य भनेको शक्तिशालीहरुले राज्य गर्ने पुरानो सामन्ती चरित्र नै हो।

 त्यसैले मानिस न पुँजीवादी न साम्यवादी हुन्छ। यो त्यहि सामान्तबादी नै हुन्छ जसमा आफ्नो समुह जहिले पनि केन्द्रिय ब्यबस्थामा हुनु पर्छ भन्ने सोच बाट नै परिचालित हुन्छ। त्यसैले यी सबै धर्म विचारधारा चाहे ति पुँजीवादको रुपमा आउन, चाहे ति समाजबाद या साम्यबाद सबै त्यहि मानिस बिशेष गरि अहिलेको आधुनिक मानब प्रजाति सेपियनले कथेको झुटको खेतीका विभिन्न अभौतिक सरंचनाहरु नै हुन् जसले यसलाई पृथ्वीको र अन्य प्रजातिमाथि राज्यको निरन्तरता रही रहोस।
Share:

आधारभूत कणहरु

 

व्रम्हाण्डका पदार्थहरुको सरँचना शुक्ष्म कणहरुले बनेको हुन्छ भन्ने बिचारधारा निकै पुरानो हो तथापी धर्मका ठेकेदारहरुले पागलको सज्ञा नै किन नदिउन। प्राचिनकाल देखिनै विश्वाशको भर नपर्ने जान्न चाहनेहरु ज्यान को बाजी लगाएर खोजी गर्न तत्पर रहन्थे। पारमाणविक सरँचनाको प्राचिन बिचारधारा हिन्दूदर्शनमा महर्षी कणाद, वौद्ध दर्शनमा दिगनाग, धर्मकिर्ती, मुस्लिम दर्शनमा इब्न अल ह्यथम, इब्न शिना, मोहम्मद अल गजाली र ग्रीक दार्शनिकहरु ल्युसिपस, डेमोक्रिटस र इपिकरस जस्ता अन्वेषकहरु मार्फत छैटौ शताब्दी इशा पुर्व देखि नै बिकास भएको देखिन्छ।

आधुनिक कालमा भएका बिकासमा बैज्ञानीकहरुले शैद्धान्तिक र प्रयोगात्मक दुबै बिधिवाट गरिएका परमाणुको सँरचनाको अनुसन्धानमा सुरुमा प्रत्येक बस्तुहरु अणु परमाणु हुँदै परमाणुको सम्रचनामा सर्वप्रथम एलेक्ट्रोन (ऋणात्मक आवेशयुक्त कण )पत्तो लाग्यो भने त्यसपछीको प्रयोगहरुले प्रोटोन (धनात्मक आवेशयुक्त कण) र न्युट्रोन(बिना आवेशयुक्त कण) जुन कुनै पनि परमाणुको नाभिकेन्द्रमा अवस्थित हुन्छन त्यस्लाई एलेक्ट्रोनले परिक्रमा गर्छ भन्ने देखायो र नाभिमा अवस्थित प्रोटोन र एलेक्ट्रोनको सँख्याले नै ब्रम्हाण्डमा अहिले सम्म अवस्थित बिभिन्न तत्वहरु हाइड्रोजन देखी युरेनियमहरुको निर्धारण गर्छ भन्ने पनि पत्ता लगायौ।

एलेक्ट्रोनले गर्ने परिक्रमा चक्रको पनि निश्चित कक्षा हुँदै कक्षाको सम्भाब्यता बितरण हुँदै हामी क्वार्क कण सम्म पुग्यौ। हालसम्म हामीले आधारभुत कणहरु जस्को सम्रचनाको बिषयमा हामी अहिले सम्म अनभिज्ञ छौ अर्थात शुरुमा हामी बस्तुको आधारभुत इकाइ अणु, अणुको आधारभुत इकाइ परमाणु, परमाणुको आधारभुत इकाइ न्युट्रोन, प्रोटोन र एलेक्ट्रोन कणहरु हुँदै अणु र कण विच्छेदनका अनेकन प्रकृया बाट हामीले १६ वटा एस्ता कणहरु खोजीगरेका छौ जस्को सम्रचनाको बिषयमा हामी अनभिज्ञ छौ यानीकी तिनिहरु केले बनेका छन अहिले सम्म हामीलाई थाहा छैन त्यसैले तिनी १६ बटा कणहरुलाई हामी आधारभुत कण भनेर भन्दछौ। ति आधारभुत कणहरुको सम्रचना पत्ता लगाएर तिनिहरुको निर्माणगर्ने अन्य कणहरु पत्तो लाग्यो भने हाल आधारभुत भनिएका कणहरुले त्यो सज्ञा गुमाउने छन र ति नयाँ कणहरु आधारभुत हुनेछन।

आधारभुत कणहरुको वर्गिकरण गर्दा हामीले पदार्थको सम्रचनाका भौतिक आधारभुत कणहरु
Matter particle
जसले हाम्रो वरिपरिका बस्तुहरुको निर्माण भएका छन भने अन्य आधारभुत कणहरु जसलाई शक्तीकण(
Force particle
) भनिन्छ ले भौतिक आधारभुत कणहरुको बिचमा अन्तर्कृया गराउछन। ति शक्तीकणहरुलाई ४ भागमा वर्गिकरण गरिएको छ गुरुत्वशक्ती, विद्युत चुम्वकिय शक्ती, सवल शक्ती र दुर्वल शक्ती। यि परमाणुका बिच्छेदनमात्र (
Nuclear fission
)नभै अहिले काला छिद्रहरु, विशाल ताराहरुको अन्त्य पश्चातका न्युट्रोन ताराहरु झिपझिपे पल्सर ताराहरु बाट आएका उच्चउर्जायुक्त बिकिरणहरुको (High energy Radiation) अध्ययन प्रति पदार्थ (
Anti Matter
) , कृष्ण पदार्थ (
Dark matter
) र कृष्ण ऊर्जा (
Dark energy
) का अनुसन्धानवाट पनि यि आधारभुत कणहरु को खोजी जारी नै रहेको छ।
Share:

विकिरण: भ्रम र बास्तविकता

यता तिर अहिले ज्योतिषी, वास्तुशास्त्री, तन्त्रमन्त्र देखि लिएर केही वैज्ञानिक दावीगर्ने बाबा गुरुहरु सहित वैदिक विज्ञानी हरुको मुखमा एउटा शब्द अलि बढी नै झुण्डिएको छ जसको प्रयोग उनीहरूले अरुलाई तर्साउन अथवा आफ्नो प्रवचनमा मसलाको रूपमा खूब प्रयोग गर्छन् त्यो हो रेडिएसन अर्थात् विकिरण। यिनीहरूले भने जस्तै चिज हो त विकिरण (Radiation):

साधारण अर्थमा Radiation अथवा विकिरण भनेको कुनै पनि पदार्थले उत्सर्जन (emit) अर्थात् निस्किएको शक्ति (energy) हो जुन प्रशारण (transmission) हुनको लागि कुनै माध्यम चाहिँदैन। जस्तै प्रकाश। जस्तो सूर्यको प्रकाश, बलेको दाउराबाट निस्केको प्रकाश ताप या हाम्रो शरीरको तातो इत्यादि। अहिले सामान्य रुपमा बिकिरणलाई २ प्रकारमा वर्गीकरण गरेर विष्लेषण गरौँ:
१. विद्युत चुम्बकीय विकिरण (Electromagnetic Radiation)
२. नाभिकीय विकिरण (Nuclear Radition)
१. विद्युत चुम्बकीय विकिरण
यो तरङ्ग (wave) मा आधारित विकिरणको विश्लेषण हो। हामीलाई थाहा छ कि प्रकाश, ताप, ध्वनि आदि तरङ्गको रुपमा यात्रा गर्दछन्। सोही तरङ्गको तिब्रता त्यसको आवृत्ति (frequency) र तरङ्ग लम्बाइमा (Wave length) आधारित हुन्छ। उदाहरणको लागि मानिसहरु एक ठाउबाट अर्को ठाउमा जादा विभिन्न तरिकाले हिड्छन, कसैले लामा पाइला चाल्छन ढिलो खुट्टा चाल्छन भने कोइ छोटो छोटो पाइला चाल्छन तर छिटो पाइला चाल्छन्। त्यस्तै शूक्ष्म कण को स्तरमा पनि त्यहि हुन्छ। हामीले पाइला लामो छोटो भने जस्तै कुनै तरङ्ग संचार हुदा पहिलेको अवस्थामा फर्कनका लागि कति दुरी पार गर्छ, त्यसको लम्बाईलाइ तरंगलम्बाई (wavelength) भनिन्छ भने त्यस्तै तरंगहरु कुनै निश्चित समयमा कति पटक दोहोरिन्छ त्यसलाई आवृत्ति (Frequency) भनिन्छ। कतिलामो पाइला चाल्छ त्यो तरंग लम्बाई हो भने निश्चित समय जस्तो १ सेकेन्डमा कति पटक पाइला चाल्छ त्यो आवृत्ति हो।

कुनै पनि तरङ्गले बोक्ने शक्ति त्यसको तरंगलम्बाई र आवृत्तिमा भर पर्छ। तरंग लम्बाई लामो भएकाको आवृत्ति कम हुन्छ र त्यसले बोक्ने शक्ति पनि कम हुन्छ भने तरंग लम्बाई छोटो भएकोको आवृत्ति धेरै हुन्छ त्यसले बोक्ने शक्ति पनि धेरै हुन्छ। यसै आधारमा हामीले सबै प्रकारका संचारहरुलाई विभिन्न भागमा बाडेका छौ जसलाई बिद्युत चुम्बकीय बिस्तार या नक्सा (Electromagnetic Spectrum) भनिन्छ। अहिलेसम्म हाम्रो जानकारीमा रहेको सबै भन्दा लामो तरंग लम्बाई भएको तर आवृत्ति सबै भन्दा कम भएको ELF(Extremely Low Frequency), SLF (Super low frequency), ULF (Ultra Low Frequency) हो। यस पछि रेडियो तरंग (Radio wave) आउछ जसको तरंग लम्बाई १० किमि देखि १०० किमि सम्म हुन्छ र आवृत्ति ३ किलोहर्ज देखि ३०० मेगाहर्ज सम्म हुन्छ जसले धेरै न्युन शक्ति बोकेको हुन्छ।

मोबाइल देखि हामीले बजाउने रेडियो, वाइफ़ाइको सिग्नल सबै यहि रेडियो तरंगमा आधारित हुन्छन। त्यसपछि तरङ्ग लम्बाई लम्बाई जति घट्दै जान्छ त्यति आवृत्ति बढ्दै जान्छ र त्यसले बोक्ने शक्ति पनि बढ्दै जान्छ अर्थात तरंग लम्बाई र आवृति उल्टो समन्धित हुन्छन र आवृति र शक्तिको बीचमा सुल्टो समन्ध हुन्छ।
रेडियो तरंग पछि आउछ माइक्रोवेभ (Microwave) जसको शक्ति रेडियो तरंग भन्दा बढी हुन्छ। माइक्रो वेभ भन्ने मेसिन जसमा हामि खाना पकाउछौ त्यसले यहि माइक्रो वेभको प्रयोग गर्छ। त्यसपछि आउछ इन्फ्रारेड (Infrared) तरंग जसको प्रयोग रिमोट कन्ट्रोलर र ब्लुटूथ आउनु पुर्व एउटा मोबाइल बाट अर्को मोबाइलमा फोटोहरु सार्न प्रयोग गरिन्थ्यो। त्यसपछि आउछ हामीले देख्न सक्ने प्रकाश (Visible light)।

यसपछि पनि तरंगलम्बाई घट्दै जाने आवृत्ति बढ्दै जाने गर्दा आउछ परावैजनी किरण ( UV ray) , यक्स किरण(X-ray) अनि गामा किरण (Gamma ray), यिनीहरुले बोक्ने शक्ति पनि बढ्दै जान्छ। यिनीहरुको तरंग लम्बाई क्रमिक रुपमा छोटो र आवृत्ति बढ्दै जाने भएकोले शक्ति पनि तिब्र हुदै जान्छ। हामीले देख्ने प्रकाश भन्दा शक्तिशाली यिनीहरुको संग शक्ति यति हुन्छ कि यिनीहरुले कुनै पनि पदार्थको परमाणुलाइ शक्ति प्रदान गर्न सक्छन या परमाणु भित्रको सरंचनालाइ परिवर्तन गर्न तोड्न सक्छन। त्यसैले मानिसको कोष भित्र गएर शक्ति प्रदान गर्दा अर्थात तताईदिदा क्यान्सर हुन सक्छ भने DNA को सरंचनालाइ पनि तोड्न सक्ने हुनाले प्राणिको वंशानुगत गुणनै परिवर्तन हुन्छ। पदार्थको आणविक सरंचनालाइ शक्ति प्रदान गरिदिन सक्ने भएकाले UV, X र Gamma किरणलाइ आयोनाइजिङ्ग Ionizing radiation पनि भनिन्छ। त्यो भन्दा कम्जोरलाइ non ionizing radiation भनिन्छ जसले पदार्थको आणविक सरंचनामा केहि गर्न सक्दैन।

सुर्य बाट उत्सर्जित प्रकाशमा यी सबै किसिमका विद्युत चुम्बकीय तरंगहरू हर हमेशा आइरहन्छन्। तर Ionizing raditions लाइ पृथ्वीको चुम्बकीय क्षेत्र (Magnetic Field) र ओजन तहले (Ozone layer) ले पृथ्वीमा प्रवेश गर्न नदिने भएकाले पृथ्वीमा जीवन सम्भव भएको हो।


२. नाभिकीय विकिरण
यो विकिरणको सुक्ष्म कणमा आधारित (particle based) विकिरण हो। कतिपय पदार्थहरू जुन तत्वले (Element) ले बनेका छन् उनीहरूको केन्द्रको (Nucleus) अस्थिरताले तिनीहरूले निरन्तर रुपमा सुक्ष्म कणहरू (subatomic particles) उत्सर्जन अर्थात् फ्याँकिरहेका हुन्छन्। त्यस्तो पदार्थलाई हामी रेडियोधर्मी वस्तुहरू (Radioactive Substances) भन्छौ। जब ती सुक्ष्म कणहरू उत्सर्जित हुन्छन् त्यसलाई हामी atomic decay via Radioactivity भन्छौ त्यसको आधारमा सामान्यतया यसलाई ४ प्रकारमा वर्गीकरण गर्न सकिन्छ।

a. अल्फा विकिरण (Alfa Radiation)

रेडियोधर्मी वस्तुहरूको केन्द्रबाट जब अत्यधिक विद्युतीय आवेश सहितको (with high electric charge) २ न्यूट्रोन र २ प्रोटोन (2N2P) अर्थात् हेलियम (Helium) तत्वको केन्द्र उत्सर्जित हुन्छ भने त्यसलाई अल्फा विकिरण भनिन्छ। यो धेरै मास (Mass) र धेरै विद्युत आवेश (electrical charge) भएको सबै भन्दा ढिलो गति भएको विकिरण हो जसलाई साधारण पातलो कागजले पनि रोकिदिन सक्छ किनकी यसको छेड्न सक्ने क्षमता Penetration capacity) कम हुन्छ लामो दूरी तय गर्न पनि सक्दैन। तर यसको मास धेरै भएकाले प्राणीको कोषमा ठूलो क्षति (biological damage) गराउन भने सक्छ।

b. बेटा विकिरण (Beta Radiation)

रेडियोधर्मी वस्तुको केन्द्रमा रहेको न्यूट्रोन जब प्रोटोनमा परिणत हुन्छ त्यो बेला केन्द्रबाट इलेक्ट्रोन उत्सर्जित हुन्छ त्यसलाई हामी बेटा विकिरण भन्छौ। इलेक्ट्रोन धेरै हलुको हुने भएकाले यो विकिरणको मास पनि हलुकै हुन्छ भने विद्युतीय आवेश पनि हुन्छ। यसको छेड्न सक्ने क्षमता अल्फा विकिरणको भन्दा धेरै हुन्छ तरपनि पातलो धातुको पत्रले यसलाई रोक्न सकिन्छ।

c. गामा/ एक्स विकिरण (Gamma/X Radiation)

रेडियोधर्मी वस्तुको केन्द्रबाट उच्च शक्ति भएको प्रकाशकणहरु (Photons) उत्सर्जित हुन्छ जसलाई हामी गामा विकिरण भन्छौ। यो कुनै पदार्थले छोडेको साधारण प्रकाश जस्तो होइन यो सँग अति उच्च शक्ति भएकाले वरिपरिको वस्तुहरूलाई क्षति पूराउँछ। गामा विकिरणमा अति तिव्रगतिको कणहरू (Photon) जस सङ्ग कुनै विद्युत आवेश (Electrical charge) नहुने भएकाले यसले विद्युतीय क्षेत्रको उत्सर्जन (emissions of electric field) गर्दैन जसले गर्दा अन्य पदार्थहरूसँग अन्तर्क्रिया हुँदैन। त्यसैले यसलाई रोक्न अलि गाह्रो हुन्छ। गामा विकिरण रोक्न बाक्लो र सघन धातुको आवश्यकता पर्छ जस्तो Lead (Pb) को बाक्लो प्लेट।


d. न्यूट्रोन विकिरण (Neutron Radiation)

रेडियोधर्मी वस्तुको केन्द्रबाट न्यूट्रोन नै पनि उत्सर्जित हुन्छ जसलाई न्यूट्रोन विकिरण भनिन्छ। यो खालको बिकिरणमा कुनै विद्युत आवेश (Electrical charge) हुँदैन किनकि न्यूट्रोन आवेश विहिन (Chargeless) हुन्छ। त्यसैले यो पनि कुनै पनि पदार्थ सँग अन्तर्क्रिया नगरी लामो दूरीसम्म जस्तो किलोमीटर नै पनि यात्रा गर्न सक्छ। नाभिकीय भौतिकी (Nuclear Physics) मा यसको ठूलो महत्व छ। धेरै जसो रेडियोधर्मी वस्तुहरूको केन्द्रमा यही विकिरणले हिर्काएर नाभिकीय प्रतिक्रिया (Nuclear Reactions) गराइन्छ। आणविक भट्टिहरू, परमाणु बमहरुको प्रयोगमा शुरुवात गर्ने यही विकिरण हो। यसलाई रोक्न हाइड्रोजन (H2) को मात्रा बढी भएका वस्तुहरूको प्रयोग गर्नु पर्छ जस्तो पानी, प्लास्टिक आदि।
यी नाभिकीय विकिरण हरु सबै माथि उल्लेख गरिएको Ionizing raditions हरु हुन्।

हामीले सबै प्रकारका विकिरणहरुको बारेमा विश्लेषण गर्यौ। विकिरण भनेको कुनै अचम्मको वस्तु होइन हामीले सामान्य जनजीवनमा देखि आएका भोगी आएका चिज र प्रक्रिया नै हुन्। दिनको उज्यालो, चन्द्रमा बाट आएको प्रकाश, बिजुली बत्तीको उज्यालो, मोबाइल फोनको सिग्नल, वाइफाइ आदि आदि सबै रेडिएसन अर्थात् विकिरण हुन्।

मानिसको कोषलाई क्षति पुराउने विकिरणहरु रेडियोधर्मी वस्तुको सम्पर्क या नजीकमा पुगियो भने मात्र जोखिम हुने हो। यदि हामी त्यस्ता वस्तुको नजीकमा छौ सम्पर्कमा छौ भने तुलसी पत्र, कुश जस्ता चिजले त्यसलाई रोक्न सक्दैन बरु ती चिज नै रेडियसनको चपेटमा आउँछन्।

ज्योतिषले भने जस्तो ग्रहण लाग्दा रेडिएसन आउँछ होइन सूर्यबाट सधैं विभिन्न प्रकारका विकिरण हरु सधैं पृथ्वीमा आउँछन्। अन्य ग्रहहरू सुर्यभन्दा धेरै साना र निकै टाढा पनि छन् र उनीहरूसँग विकिरणको स्रोत पनि छैन किनकी उनीहरू नाभिकीय प्रतिक्रिया गर्नसक्ने सूर्य जस्ता तारा होइनन्। उनीहरू सूर्यको प्रकाशलाई परावर्तन गरेर चम्कने मात्र हुन्। त्यसैले उनीहरूले विकिरण उत्सर्जन गर्छन् पूजा जप गरेर औँठी लगाएर घट्छ भन्नु पनि हास्यास्पद मात्रै हो। अन्त्यमा तिनै ठग गुरुहरुले भने जस्तै मानिसले पत्ता लगाएका नियम सिद्धान्तहरू प्रकृतिका नियम होइनन् भन्दै भीरमा जाने हो भने काँध थाप्न त राम नै आउछन्
Share:

जलवायु परिवर्तनका हिमाली जोखिम

 

हिमनदीहरू (Glaciers) अष्ट्रेलिया महादेश बाहेक सबै महादेश हरुमा पाइन्छन्। हिमनदीहरु हजारौँ लाखौँ वर्ष पुराना पनि हुन्छन्। तिनीहरू हिउँका पत्र पत्र थुप्रिएर बनेका हुन्छन् भने गुरुत्व र आसपासको चट्टानको सापेक्ष हिउँ नरम भएकाले इनिहरु बिस्तारै बग्छन् जस्तो कि वर्षमा केही इन्च देखि केही मीटरको दूरी पार गर्छन्। हिमनदीको लम्बाई सयौँ किलोमीटर सम्म हुनसक्छ जुन उच्च हिमाली भागबाट शुरू भएको हुन्छ र यसको हिउँ थुप्रने दर र पग्लने दरमा यसको आकार लम्बाई निर्धारण हुन्छ।

हिउँ हिमाली खोंच उपत्यका हुँदै तलतिर बिस्तारै बग्छ अझ कतै त हिमनदीहरू समुन्द्र सम्मै पनि पुग्छन् जस्तो कि ध्रुवीय हिमनदीहरु (Arctic Glaciers) जो आश्चर्यजनक रूपमा विशाल छन्। हिमालय क्षेत्रमा पनि उल्लेखनीय रुपमा हिमनदीहरू अवस्थित छन् जसले नेपालका नदीहरुलाई उल्लेख्य रुपमा पानी प्रदान गर्छन भने कयौँ हिमाली ताल तलैयाहरू पनि यसैबाट पग्लिएको पानीमा निर्भर छन्। 

जब हिमनदीहरुमा हिउँ जम्मा हुने दर भन्दा पग्लने दर धेरै हुन थाले पछि हिमनदीहरू खुम्चन थाल्छन् अर्थात् छोटिन थाल्छन्। यसले गर्दा हिमनदीको पुछारमा हिमतालहरू बन्न थाल्छन्। हिमनदीको बहावले घचेटिएर थुप्रिएका मसिना बालुवा गिट्टी देखि विशाल विशाल चट्टानहरुले त्यस्ता हिमतालहरूलाई प्राकृतिक बाँधको रुपमा काम गरिदिन्छन् भने कतिपय हिमतालहरू धेरै समय विशाल तौलले गर्दा हिमनदीको क्षेत्रमा बनेका विशाल खाल्टाहरुमा पनि हिमनदीको पग्लिएको पानी जम्मा भएर पनि बन्छन। अहिलेको जलवायु परिवर्तनको कारणले गर्दा भएको तिब्र तापक्रम वृद्धिले हिमनदीहरुको पग्लने क्रम तिव्र छ भने यस्ता हिमतालहरू पनि तिव्रगतिले बढिरहेछन्। 

हिमतालमा बढीरहेको पानीको चाप, विभिन्न भौगर्भिक कारणहरूले ती तालहरुको संरचनामा आएको कमजोरीले गर्दा ती तालहरू फुट्छन् जसले गर्दा पानीको विशाल मात्राको साथै ती चट्टान अनि गिट्टीबालुवा पनि नदीहरूमा मिसिन्छन् जसले तल्लो क्षेत्रमा विनाशकारी ताण्डव मच्चिन्छ। उच्च तापक्रम र घट्दो हिमपातको कारण हिउँको पग्लने दर तिब्र हुँदै गएको छ जसले हिमतालमा पानीको सतह निकै खतरनाक रूपले बढीरहेको अध्ययनहरूले देखाएका छन्। जलवायु परवर्तन र बढ्दो तापक्रमले पछिल्लो समय हिमनदीहरु पग्लने र खुम्चने दर आश्चर्यजनक रूपले बढेको छ त्यसमा पनि हिमालय क्षेत्रमा हुने टेक्टोनिक प्लेट्सको टकरावले हुने भौगर्भिक गतिविधिले हिमतालको सरंचनालाई निरन्तर कमजोर बनाइरहेको छ।  

नेपालका धेरै बस्तीहरू नदीका छेउमा अवस्थित छन् भने प्रायः जसो सबै नदीहरुलाई पानी प्रदान हिमनदी र हिमतालहरुले गरिरहेका छन्। विद्युतीय ऊर्जा उत्पादनका लागि नदिहरुका पहाडी देखि उच्च पहाडी भागसम्मै कृतिम बाँधहरु बाँधिएका छन्। चाहे जलविद्युत उत्पादन परियोजना हुन् या बस्तीहरू कसैले पनि त्यो भयानक भविष्य प्रति यथेष्ट ध्यान दिएका छन् भनेर हामीले विश्वास गर्ने कुनै आधार देखिँदैन। व्यापारिक प्रयोजनका लागि सहज ठानेर, सुविधाजन्य भएर नदी किनारमा बसाइएक बस्तीहरू, सामान्य जनताको पैसाले पैसा कमाउनका लागि हरेक खतराहरु नजर अन्दाज गरेर बनाइएका परियोजनाहरुले जनधन दुवैको क्षति गर्ने सम्भावना उच्च छ। यी विषयहरुले कहिले पनि कतै पनि कसैको ध्यान खिच्न नसक्नुको पछाडि रहेको निहित स्वार्थ बुझ्न गाह्रो छैन। 

जलवायु परिवर्तन र बढ्दो तापक्रम वृद्धिको प्रमुख कारणहरूको पछाडि रहेका वातावरणको विनाश, प्राकृतिक स्रोत र साधनको दुरुपयोगको बारे सोच्नु त कता हो कता जलवायु परिवर्तनलाई नै अस्वीकार गर्दै धार्मिक र राजनैतिक रूपमा धर्मान्ध हुनेहरूले पनि चेत्ने दिन धेरै टाढा त छैन नै, तर अब त्यो धेरै ढिलो भइसक्यो।

Share:

कतै बौद्ध संस्कृति माथि दमन गरिएको त थिएन?



सिन्धु घाँटी सभ्यताको जुन गौतम बुद्ध भन्दा पनि धेरै पुरानो थियो त्यहाँ उत्खनन गर्दा छुट्टै संस्कृति सम्यक संस्कृतिको अवशेष मात्र भेटिएको छ। मोहन जोडदो को उत्खननमा बरु बिहार, धर्मचक्र जस्ता बौद्ध संस्कृतिसँग जोडिएका वस्तुहरू भेटिए। 

यो शहर भेटिकन भन्दा पनि ठूलो थियो पानी, ढल निकास सहितको तथा एकदम व्यवस्थित शहर थियो। त्यहाँको शहरको संरचनाको विश्लेषण गर्दा सबै बासिन्दा समानताको आधारमा बस्थे भन्ने पत्तो लाग्यो अर्थात् समाजमा कुनै पनि उच्च नीच वर्गमा वर्गीकृत नभएको सम्यक संस्कृति थियो। अर्को उत्खनन हडप्पामा पनि हिन्दू संस्कृतिको कुनै पनि अंश भेटिएन। 

सिन्धु घाँटीको सभ्यता कस्तो हो भन्ने अझै अज्ञात नै छ तर हिन्दू सभ्यता थिएन भन्नेमा चाहिँ स्पष्ट भइसकेको छ। मोहन जोडदोमा फेला परेका केही माटोको ट्याब्लेटहरुमा लेखिएको लिपि अहिले सम्म अर्थ्याउन सकिएको छैन तर अहिलेको भाषा विज्ञान र कम्प्युटर मोडलिङ् बाट त्यो इण्डो द्रविड भाषा र लिपि हुने सम्भावना अत्याधिक छ। त्यो त भयो गौतम बुद्ध अघिको कुरो। 

बुद्ध पछि लिखित भेटिएको भनेको सम्राट अशोकको स्तम्भहरुमा लेखिएको लिपि हो सो लिपि भने पढिसकिएको छ सो हो ब्राह्मी लिपि र भाषा हो पाली अर्थात् प्राकृत। सबै भन्दा पुराना ग्रन्थ जति पनि भेटिएका छन् ती बौद्ध ग्रन्थहरू हुन जसको भाषा पाली नै छ। पाली भाषाका शब्दहरू संस्कृतमा आएका छन् भने अहिले सम्म संस्कृतको कुनै पनि शब्द पालीमा नजानुले संस्कृत सबै भन्दा पुरानो भाषा होइन यो पाली भन्दा नयाँ हो भन्ने कुरालाई येथेष्ट बल पुग्छ। 

प्राय संस्कृत लेखिने देवनागरी त धेरै पछि विकसित भएको प्रमाणित नै भइसकेको छ जसको स्रोत ब्राह्मी लिपि हो। जुन लिपिमा (ब्राह्मी) संस्कृत पनि लेखिएको मौर्यकालिन केही ट्याब्लेटहरु पनि फेला नपरेको भने होइन तर यसमा केही विवाद छन् तर पनि यदि त्यो संस्कृत नै हो भने पनि यो बुद्ध पछिको हो। 

भाषा विज्ञान अनुसार संस्कृत ईशा पूर्व ५०० देखि १५०० सम्ममात्र अर्थात् बढी भए ३५०० वर्ष अघि बोलिने संस्कृत (Oral Tradition) थियो कि भन्ने अनुमान गरिन्छ जुन सिन्धु घाँटीको सभ्यता (ईशा पूर्व ३३००- १३००) भन्दा धेरै नयाँ हुन जान्छ। 

अहिले सम्म फेला परेको सबैभन्दा पुरानो निर्विवाद संस्कृत भाषाको लेख चाहिँ चीनमा १९०६ मा फेला परेको हो जुन palm को पातमा लेखिएको छ जसलाई Spitzer Manuscript भनिन्छ। यसको कार्बन डेटिङ्ग गर्दा यो ८० - २३० इस्वीमा लेखिएको हुनुपर्छ। यो पनि बौद्ध धर्मसंग समन्धित तथा ब्राह्मी लिपिमा छ। 

सम्राट अशोक (ईशापूर्व २६८ - २३२) ले जति पनि स्तम्भहरू निर्माण गरे त्यसमा पनि प्राकृत अर्थात् पाली भाषा अनि लिपि चाहिँ ब्राह्मी, खारोस्थि, ग्रीक र अरमाईक छन् यसले पनि त्यतिबेला संस्कृत भाषा त्यो बेला थिएन की भन्ने सम्भावनालाई बल पुग्छ। 

भारतमा जति पनि विश्वविद्यालय थिए जसमा सबभन्दा बढी चर्चित भनेको पाँचौं शताब्दीमा बनेको नालन्दा विश्वविद्यालय हो जुन बिहार राज्यमा पर्छ त्यसको उत्खनन बाट के स्पष्ट भइसक्यो भने त्यो बौद्ध अध्ययन केन्द्र थियो । 

सोही विश्वविद्यालयमा अध्ययन गरी चिनियाँ भिक्षुहरु Faxian, Xuanzang र Yijing ले विभिन्न अन्तरालमा धेरै बौद्ध ग्रन्थहरू चिनियाँ भाषामा उल्था गरेर नालन्दाबाट चीन लगेका थिए। यो विश्वविद्यालय मा चीन कोरिया इन्डोनेसिया जस्ता देशहरू बाट समेत विद्यार्थी अध्ययनको लागि आउँथे। जसको ढोकैमा बसेका द्वारपालले नयाँ आउने विद्यार्थीको प्रवेश परीक्षा लिन्थे जुन उत्तीर्ण हुनै पर्ने अनिवार्यता थियो। 

यो विश्वविद्यलयमा १०००० विद्यार्थी र २००० शिक्षक थिए, Xuanzang ले झण्डै १ वर्ष शिक्षक भएर अध्यापन गरेका थिए। ती तिनै भिक्षुहरुको नियात्रा निबन्ध अहिले पनि पढ्न पाइन्छ जस्तो Record of Buddhistic Kingdoms (Faxian), The Silk Road Journey ( Xuanzang) जुन त्यो बेलाको सम्पूर्ण भारत वर्ष मात्र नभई चीनकै कयौ ऐतिहासिक सभ्यताको अध्ययनको आधार पनि हो। (यी पुस्तकहरू अङ्ग्रेजी भाषामा पनि इन्टरनेटमा उपलब्ध छन्)*l 

Xuanzang ले नेपालको लिच्छविकालीन (अंशुवर्मा) कैलाशकुट भवनको भव्यताको पनि वर्णन गरेका छन्। त्यस्तै तक्षीला (तक्षशिला), विक्रमशिला, अमरावती, अजन्था आदि बौद्ध अध्ययन केन्द्रहरू पनि थिए जसको उत्खनन प्रमाणबाट स्पष्ट भइसकेको छ। नालन्दा विश्वविद्यालय सन् ११९९ मा नष्ट भइसकेको थियो। भनिन्छ त्यहाँको पुस्तकालयमा ९० लाख पाण्डुलिपि थिए जसमा लगाइएको आगो ६ महिनासम्म बलिरहेको थियो। 

शुरुमा हुण राजवंश अनि अन्त्यमा तुर्क आक्रमणकारी बख्तियार खिल्जीले सो कुकर्म गरेका थिए। यिनै बौद्ध भिक्षुहरुको पुस्तक अनुसार नै यो विश्वविद्यालयको अवस्थिति पत्ता लगाएर उत्खनन गरिएको थियो।    

तिब्र गतिमा फैलिरहेको बौद्ध अध्ययन र संस्कृति सबैभन्दा बढी हिन्दूहरूको आँखामा खट्किएको थियो त्यसैले नालन्दा विश्वविद्यालयको पतनको कारण हिन्दूहरूको आक्रमण नै थियो भन्ने दावी पनि बौद्ध विद्वानहरूको छ। यसलाई बल शंकराचार्यको शंकर दिग्विजय भन्ने पुस्तकबाट पनि पुग्छ। जुन यसप्रकार छ 
आसेतोरातुषाराद्रेर्बौद्धानावृद्धबालकाम्.
न हंति यः स हंतव्यो भृत्यानित्यन्वशान्नृपः.
स्कंदानुसारिराजेन जैना धर्मद्विषो हताः.
योगींद्रेणेव योगघ्ना विघ्नास्तत्वावलंबिना १/९३,९५
अर्थात्
राजाले आफ्ना सेवकहरूलाई आज्ञा दिए कि हिमालय देखि समुन्द्रसम्म सबै भूभागमा जति पनि बौद्ध भेटिन्छन्, चाहे ती बालक होस् या वृद्ध उनीहरूको हत्या गरिदिनु, यदि त्यो जसले गर्दैन त्यसको हत्या म गरिदिन्छु (९३)
यसरी कार्तिकेय का अवतार कुमारिल भट्ट (एक हिन्दु दार्शनिक लगभग ६५० इस्वी) को आदेश मान्दै राजा (सुधन्वा, तत्कालीन राजा) ले धर्मद्वेषी जैनहरु (जैन यहाँ बौद्ध अर्थकको रुपमा प्रयुक्त छ) हरुलाई नष्ट गरिदिए जसरी तत्वज्ञानी योगी योगको बाधाहरुलाई नष्ट गर्छन् (९५) 
कुमारिल भट्टले आत्मदाह गरेका थिए भनिन्छ बौद्ध गुरुबाट शिक्षा लिएर बौद्धकै विरुद्ध गएँ भन्ने पश्चातापले गरेका पनि भनिन्छ तैपनि उनकै समर्थक अनुसार उनको आत्मदाह बौद्धहरूको विरुद्धमा जनतालाई उत्साहित गर्नु (भड्काउनु) थियो। 

सोही आत्मदाह हेरिरहेका शंकराचार्यले यस कामलाई निरन्तरता दिए। त्यसैले नालन्दा विश्वविद्यालयको पतनमा यही समुहको हात थिएन भन्न सकिँदैन। शंकराचार्यले गौतम बुद्धलाई विष्णुको अवतार को रुपमा चित्रित गर्नु त्यही षड्यन्त्रको स्वरूप हो बुझ्न गाह्रो पर्दैन। 

जति पनि बुद्धकालीन र सो भन्दा पुराना सभ्यताको उत्खनन भएका छन् हिन्दू सभ्यताको अंशमात्र पनि भेटिएको छैन। त्यसैले भारतमा सबै भन्दा पुरानो सभ्यता हिन्दू थिएन बरु बौद्ध सभ्यता पुरानो सभ्यता हो भन्ने प्रशस्त आधारहरू छन्। यो भव्य रुपमा फलेको फूलेको पनि थियो। यसमाथि हिन्दूहरूको आक्रमण शुरू भयो यसको पतन पनि सोही गतिमा भयो। बरु पूर्वी एसियामा यो फैलियो। 

शंकराचार्यकै बाटोमा हिँडेको भारतीय जनता पार्टीको सरकारले यस समन्धि धेरै शोधहरु लुकाएको छ। एउटा उदाहरण २०११ तिर मैले Archaeological Survey of India (ASI) कै वेबसाइटमा आधुनिक संस्कृत २००० वर्ष भन्दा पुरानो छैन भन्ने आशयको शोध पढेको थिएँ तर त्यो अहिले खोज्दा हटिसकेको रहेछ। मोदी अहिले पनि बुद्ध बुद्ध भनेर हिडिरहन्छन् तर शंकराचार्यको पथमा हिँडेर बुद्धको नाम लिनु त्यो कोराे पाखण्ड बाहेक केही होइन। 
Share:

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

About Me

My photo
देउराली, चिती, लमजुङ्ग, गण्डकी , Nepal

Translate