A diary of Pedestrian on Mother Nature

Showing posts with label Science. Show all posts
Showing posts with label Science. Show all posts

ज्योतिष: अन्तरिक्ष विज्ञानको कसीमा


ज्योतिष! चाहे पूर्वीय होस् या पश्चिमा या कुनै पनि क्षेत्रको होस्, यसको विश्लेषण गर्दा विभिन्न आकाशीय पिण्डहरूको गति र अवस्थिति सङ्ग मानव जीवनका र पृथ्वीमा घटित विभिन्न घटनाक्रमको समन्धलाई केलाइन्छ। अर्थात् ती आकाशीय पिण्डहरूको अवस्थिति र गतिले (कारण) नै मानिसका जीवनका र पृथ्वीका प्रत्येक घटनाको (परिणाम) निर्धारण गर्छ भन्ने फलित ज्योतिषीय धारणा छ।

ज्योतिषका दुई भाग मध्ये एक गणित ज्योतिष हो जसले ग्रहहरूको अवस्थिति र चालहरुको गणना गर्छ भने अर्को फलित ज्योतिषले ती अवस्थिति र चालले मानिसको जीवनमा कस्तो प्रभाव पार्छ भन्ने कुराको विश्लेषण गर्दै भविष्यवाणी समेत गर्छ। यहाँ हामीले विश्लेषण गर्न खोजेको यही फलित ज्योतिष हो। यही कारण र परिणामको समन्धले (Causality) गर्दा यसलाई विज्ञान जस्तो लाग्न सक्छ। के यो विज्ञान नै हो त? हामी यही प्रश्नको विश्लेषण यहाँ गर्दैछौँ।
मनोवैज्ञानिक B F Skinner ले एउटा प्रयोग गरेका थिए। सो प्रयोगमा एउटा बन्द बाकसमा भोका परेवाहरू राख्थे। बेला बेलामा त्यो बाकसमा खाना हालिदिन्थे। अलिक समय पछि परेवाहरुमा अनौँठो तर निश्चित तथा लगातारको व्यवहार देखिन थाल्यो। एउटा एकै ठाउँमा फनफनी घुम्थ्यो, एउटा घडीको उल्टो दिशा तर्फ वृत्ताकार घुम्थ्यो। ७५% परिवारहरूले त्यस्तै अनौँठो व्यवहार लगातार देखाइरहन्थे। यहाँ परेवाहरु अब अन्धविश्वासी भइसकेका थिए। परेवाहरु बन्द बाकसमा भएकाले Skinner ले उनीहरूको व्यवहार देख्न सक्दैनथे। उनीहरूले जे सुकै गरे पनि खाना लगातार दिई नै रहेका थिए। परेवाहरु चाहिँ निश्चित व्यवहार देखाउँदा खाना आउने रैछ भन्ने अन्धविश्वासमा परिसकेका थिए। जसरी परेवा अन्धविश्वासी भए मानिसहरू पनि त्यसरी नै अन्धविश्वासी हुन्छन्। 

बिज्ञान के हो?

बिज्ञान वास्तवमा कुनै निश्चित शास्त्र भन्दा पनि एउटा व्यवस्थित विधिशास्त्र हो जसले कुनै पनि प्राकृतिक परिघटनाहरु र त्यसका कारक तत्वहरूको बीचमा रहेको समन्धकाे तथ्यगत विश्लेषण गर्छ। बिज्ञानको आधारभूत (Fundamental) तथा संरचनागत (Structural) नियम भनेकै कुनै पनि घटना प्रक्रियागत रुपमा घटित हुन्छ, हरेक परिणामका कारणहरु हुन्छन र त्यो परिणाम पनि अर्को नया परिणामको लागि कारण हुन्छ।

यसरी प्रत्येक प्राकृतिक घटनाक्रमका प्रक्रियाहरु सञ्चालन हुन्छन। परिणाम र कारकहरु बिचको कार्यपरक (Functional relationship) समन्धहरुको अध्ययन अनुसन्धान नै भौतिक विज्ञान मात्र नभई सम्पूर्ण बिज्ञानको क्षेत्र हो। अब बिज्ञानले कुनै पनि प्रक्रिया बिना या कारण बिना घटनाक्रमको उपस्थितिलाई पूर्ण रुपमा अस्वीकार गर्छ। ति कार्यपरक समन्धहरुलाई पटक पटक बिभिन्न परिस्थितिमा परिकल्पना (Null hypothesis) र त्यसैको बैकल्पिक परिकल्पना (Alternative hypothesis) तथा सिमा सहित परिक्षण गरिन्छ।

यदि अनेकन पटक गरिएका परिक्षणले प्रत्येक पटक एकै किसिमको परिणाम दिन्छ भने सोही कार्यात्मक समन्धलाई कहिलेकाही निश्चित सिमा तोकेर नियमको (Scientific law) रूप दिन्छौ। यदि बहुसंख्यक परिणामहरु जुन परिकल्पना संग मेल खान्छन त्यही परिकल्पनालाइ त्यसको सही साबित हुने मात्रा या संभाव्यता (Probability) र सिमा सहित त्यसलाई सामान्यतया सिद्धान्तको (Scientific theory) स्वरुप दिइन्छ।

चाहे नियम नै किन नहुन र सिद्धान्त परिमार्जनका हरेक ढोका पुनः अनुसन्धान र अन्वेषणले कुनै पनि बेला खोल्न सकिन्छ। जुन घटनाक्रमको अनुसन्धान या ब्याख्यामा बैकल्पिक परिकल्पनाको कुनै सम्भावना छैन भने त्यस्तो परिकल्पनाको अनुसन्धानको कुनै औचित्य छैन र त्यो बैज्ञानिक प्रक्रिया हुनै सक्दैनन।

बिज्ञान हुनको लागि तथ्य र कारणहरुको समन्ध पहिल्याउन सक्नु पर्छ र तथ्य-कारणहरुको समन्ध अविरोधी र संगत पनि हुनुपर्छ। यसमा आदर्श विश्लेषण (normative analysis) र भ्यालु जजमेन्टको (value judgement) अनुपात कम से कम हुनुपर्छ। अब ज्योतिषका आधारभूत तथा अभिन्न अङ्गको संरचनाहरुको बारेमा चर्चा गरौ।

तारा तथा ग्रहहरू

ताराहरु विशाल आकारका हाइड्रोजन ग्यासका डल्लाहरु हुन्। उनीहरूको विशाल पिण्डको कारणले उत्पन्न चापको कारण हाइड्रोजन अणुहरु एक आपसमा संयोजित हुन् र हेलियममा परिणत हुन्छन् त्यस प्रक्रियालाई हामी नाभिकीय संयोजन (nuclear fusion) भन्छौ। त्यही अणु संयोजनको प्रक्रियाबाट विशाल मात्रामा शक्ति उत्पन्न हुन्छ। त्यसैले उनीहरुको स्व:उत्सर्जित ताप तथा प्रकाश हुन्छ। सुर्य एक मध्यम आकारको तारा हो।

त्यस्तै ग्रहहरू विभिन्न धातुहरू ढुङ्गा माटोले बनेका त्यस्तै पिण्डहरू हुन्। पृथ्वी (Earth), बुध (Mercury), शुक्र (Venus), मङ्गल (Mars) आदि त्यस्तै ग्रहहरू हुन् भने ग्यासले बनेका केही ग्रहहरू (Gas Giants) पनि हुन्छन् जस्तो बृहस्पति (Jupiter), शनि (Saturn), अरुण (Uranus), वरुण (Neptune) आदि चाहिँ सूर्य जस्तै ग्यासले बनेका हुन् तर उनीहरूमा नाभिकीय संयोजनबाट शक्ति उत्पन्न गर्न सक्ने मात्राको पिण्ड हुँदैन। 

त्यसैले ग्रहहरूको आफ्नो प्रकाश त ताप हुँदैन। तर केही ग्रहहरू आफ्नो भौगर्भिक क्रियाकलापबाट (Geological Activities) ताप उत्पन्न भने गर्न सक्छन् जस्तो पृथ्वी। हाम्रो चन्द्रमा पनि त्यस्तै ढुङ्गा माटोले बनेको पृथ्वीको झण्डै एक तिहाई आकारको उपग्रह हो।

राशी के हो?

हामीले आकाश तिर हेर्दा चम्किरहेका ताराहरुलाई हेरेर अध्ययन गर्न सजिलो होस् भनेर बिभिन्न आकारको कल्पना गरेर समुह बनाइएका छन जसरी हामीले बादल हेर्दै बिभिन्न आकारको कल्पना गर्दछौ। त्यस्तै ताराहरुका काल्पनिक आकारहरुलाई हामी तारामन्डल constellation भन्छौ। ती तारामण्डलहरुका सदस्यहरू ताराहरु मात्र नभई आकाशगङ्गा (Galaxies), निहारिकाहरू (Nebula) हरु पनि पर्दछन्। 

त्यस्तै ती काल्पनिक आकारहरु ब्यक्ती पिच्छे फरक हुन सक्छन तर एकरुपता होस भन्ने ध्येयले हामीले केही विश्वप्यापी आकारहरु दिएका छौ जस्तो शिकारी तारामन्डल Orion, भालु तारामन्डल Ursa Major, सिँह तारामन्डल Leo आदी आदी।
तारामण्डलहरु (Constellation)
यसरी सम्पूर्ण आकाशलाई हामीले ८८ वटा बिभिन्न आकार दिएका छौ ति मध्ये १३ वटा तारामण्डल या आकारहरु चाँही पृथ्वी आफ्नो अक्षमा पश्चिमबाट पुर्व तिर घुम्दा सुर्य पुर्वबाट उदाउदै पश्चिम तिर जुन बाटो Ecliptic भएर अस्ताउछ त्यही बाटोमा पर्दछन ति मध्ये १२ बटालाई हामीले राशी Zodiac Constellation भन्दछौ। जस्तो Capricorn, Leo, Scorpio इत्यादि।



                          राशि तारामण्डल (Zodiac Constellation)
विक्रम सम्वतका प्रत्येक महिना तिनै १२ बटा आकारहरुमा सूर्यको अवस्थितिमा भर पर्छ। सूर्य जुन तारामण्डलमा देखिन्छ त्यही अनुसार हामी महिना निर्धारण हुन्छ। सुर्य मेष तारामण्डलमा छ भने त्यो वैशाख महिना हो भने मिन तारामण्डलमा रहेमा चैत्र। जस्तो वैशाख सक्रान्तीलाई मेष सक्रान्ती पनि भनिन्छ जुन दिन सुर्य उदाउदा मिन तारामण्डल बाट मेष तारामण्डलमा सँक्रमण या गएको दिन हो त्यसैले त्यो बेलालाइ हामी सक्रान्ति भन्छौँ अर्थात् सूर्यले गरेको संक्रमण। यो १ गते नै पर्छ भन्ने पनि हुँदैन। तर प्राय: यो १ गते नै पर्छ किनकि पृथ्वीको सूर्य परिक्रमाको कक्षिय गति, आफ्नो अक्षिय गति र ती तारामण्डलहरुको सापेक्षित स्थिरताले गर्दा त्यस्तो हुन्छ।

विशाल दूरी

एकै समुहका ताराहरु पनि एक आपसमा धेरै टाढा हुन सक्छन। एउटै तारामण्डलका ताराहरु मध्ये कसैको आपसी दूरी त तिनीहरूको पृथ्वीसँगको दूरी भन्दा पनि टाढा छ। जस्तो मेष तारामण्डल जुन राशि पनि हो। त्यसको एउटा सदस्य तारा Beta Arietis (Sheratan) जम्मा ५९ प्रकासबर्ष टाढा छ भने अर्को सदस्य त आकाशगंगा NGC 772 छ जो १३० मिलियन प्रकाश वर्ष टाढा छ। त्यसैले Apparent (देखिने) र Absolute (वास्तविक) दूरी छुट्याउन धेरै व्यवस्थित विधि चाहिन्छन्।

कति राशिहरुमा हामीले तारा जस्तो देखेर झुक्किने वस्तु धेरै टाढाको वस्तु हाम्रो आकाशगङ्गा Milkyway भन्दा हजारौँ गुणा ठूलो आकाशगंगा पनि हुन सक्छ। किनकि Apparent Magnitude मा सानो देखिए पनि Absolute Magnitude त्यो विशाल हुन्छ। जस्तो सूर्य र चन्द्रमा आकाशमा उत्रै देखिन्छन् तर चन्द्रमा सूर्यको अगाडि नगन्य आकारको आकाशीय पिण्ड हो अर्थात् सूर्य ४०० गुणा ठूलो छ। तिनीहरू एकै स्थानमा देखिए भन्दैमा हामीले एउटै समुहमा राखेर त्यसको प्रभाव मूल्याङ्कन गर्नु कदापि वैज्ञानिक हुन सक्दैन।

कहिलेकाहीँ धेरै टाढाबाट आएको प्रकाशको बाटोमा विशाल पिण्ड भएको वस्तुहरू जस्तो विशाल तारा, कृष्ण विवर (Black hole) रहेछन् भने त्यहाँको स्पेस बाङ्गिएको हुन्छ त्यसैले प्रकाश पनि त्यस्तै हुन्छ जसले गर्दा त्यो तारा ठूलो देखिन सक्छ, अर्कै स्थानमा देखिन सक्छ, एउटै वस्तु धेरैवटा देखिन सक्छ। जुन प्रक्रियालाई हामी Gravitational Lensing भन्छौ। जुन सापेक्षता सिद्धान्तको वास्तविक प्रमाण हो। त्यसैले जे देखिन्छ त्यो वास्तविकताबाट धेरै पर हुन सक्छ।
Gravitational Lensing को कारणले एउटै तारा भिन्न भिन्न स्थानमा, भिन्न आकारमा देखिन्छ

प्रेत तारा

कोइ ताराहरुले आफ्नो जीवनको अन्त्य पनि गरिसकेका हुन सक्छन तर धेरै टाढा भएकाले र प्रकाशको गती पनि सिमित भएको कारणले गर्दा अझै ति अस्तित्वमा देखीइरहेका हुन्छन किनकी हामीसम्म आइरहेका प्रकाशका किरणहरु ताराहरु अस्तित्वमा हुँदैमा निस्केर पृथ्वी तर्फ आएका हुन्छन। जस्तो सुर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न ८ मिनेट लाग्छ अहिले हामीले देखेको सुर्य ८ मिनेट पुरानो हो र सुर्य क्षितिजमा हराएको या अस्ताएको ८ मिनेट पछी मात्र हामीले सो घटना देख्छौ।

हाम्रो आकाशगंगाको केन्द्रमा रहेको कुनै तारा बाट उत्सर्जित प्रकाश हामी सम्म आइपुग्न झण्डै २५००० वर्ष लाग्छ। अहिले हामीले देखेको ती ताराहरूको प्रकाश पृथ्वी तिर यात्रा गर्न शुरू गर्दा हामी बल्ल माटोको भाँडा बनाउन सिक्दै थियौँ। अन्तरिक्षमा सबै भन्दा तिब्र गतिमा सञ्चार हुने प्रकाशले बोकेर ल्याउने असर पनि यहाँ आइपुग्न २५००० वर्ष नै लाग्छ।

त्यसैले ती राशि भनिएका तारामण्डलका कतिपय ताराहरु महाबिष्फोट (Supernova) भइसकेका पनि हुनसक्छन् तर तिनीहरूको प्रकाश ताराको रुपमा हामीले देखिरहेका छौ किनकि उनीहरू तारा हुँदा उत्सर्जित प्रकाश बल्ल यहाँ आइपुगेको छ। त्यसैले यसको ज्योतिषीय गणनाले यहाँ पृथ्वीमा पर्ने प्रभावको मूल्याङ्कन गर्नु वैज्ञानिक मान्न सकिँदैन।
Supernova and Nebula (सुपरनोभा तथा निहारिका)

सीमित तारामण्डल

ज्योतिषको अहिले सम्म प्राप्त सुचनाहरुले किन ति १२ बटा मात्र तारामन्डलको मानिसको जीवनमा महत्व छ किन अन्य तारामन्डलहरुको छैन जुन आकारहरु पूर्णतया काल्पनिक हुन त्यस्को जानकारी दिदैनन।

जबकि हिउँदको रातको शानदार तारामण्डल Orion उज्वल तारा Betelgeuse सूर्य भन्दा ९५० गुणा ठूलो र ६४२ प्रकाशवर्षकाे दूरीमा छ भने उत्रै उत्रै तारा वृश्चिक राशिको तारा Anteres सूर्य भन्दा ७०० गुणा ठूलो ५५४.५ प्रकाशवर्ष टाढा छ। तर Betelgeuse कुनै पनि राशिमा पर्दैन न Orion जस्तो विशाल विशाल ताराहरूको समुह (अझ यसको निहारिका (Orion Nebula) मा नयाँ ताराहरूको जन्म हुन्छ) त्यसको ज्योतिषमा कुनै महत्व छैन। उनीहरुको प्रभाव पनि अन्य राशिको सापेक्ष उस्तै हुनु पर्ने हो तर ज्योतिषले अन्य धेरै तारामण्डल लाइ महत्व दिएको छैन जवकि अन्य तारा मण्डलहरुका ताराहरु सापेक्षित विशाल, नजिक पनि छन् साथै तारामण्डल पनि ठूला छन्।

यसको कुनै व्यवस्थित तथा ठोस कारण ज्योतिषले दिएको छैन। ताराहरूको वर्गीकरण धेरै जटिल छ। जुन शास्त्रले सूर्यलाई ग्रहको रुपमा बुझ्छ त्यसबाट यति धेरै जटिलताको विश्लेषणको आशा गर्नु पनि हुँदैन।

निरन्तर परिवर्तन

ति तारामन्डलका सदस्य ताराहरु पृथ्वीबाट मात्र होइन एक आपसमा पनि धेरै धेरै टाढा छन जसको गुरुत्व तरङ्गहरु समेत कमजोर हुन्छन। ति ताराहरु निरन्तर गतिमा अर्थात लाखौं किलोमिटर प्रतिघण्टाको गतीमा व्रम्हाण्डमा यात्रा गरिरहेका हुन्छन। ति ताराहरु धेरै टाढा भएकाले ति स्थिर देखिएका हुन। निश्चित समय पछी ति ताराहरुको स्थान परिवर्तन हुन्छ र तारामण्डलको आकार पनि परिवर्तन हुन्छ। हजारौँ बर्ष अघी आकाशमा ताराहरुको अवस्थिती अर्कै थियो भने पछी पनि अर्कै हुनेछ।

जस्तो कि अहिले उत्तरको तारा जुन ध्रुव ताराको (Polaris) नामले चिनिन्छ अबको १२००० बर्ष पछी त्यस्को स्थान भेगा (Vega) भन्ने अर्को ताराले लिने छ भने अर्को १२००० वर्षमा पुन: Polaris ध्रुव ताराको रुपमा फर्किन्छ। यसरी Vega र Polaris लगातार करिब १२००० वर्षको अन्तरालमा आफ्नो स्थान परिवर्तन गरिरहन्छन्। त्यती बेला आकाशको अहिलेको ताराहरुको अवस्थिती पनि अर्कै हुनेछ। यसको कारण पृथ्वी आफ्नो अक्षमा घुम्दा २३.४ डिग्री (Axial tilt) ढल्केर घुम्छ त्यसैले पृथ्वीको उत्तरी ध्रुव र दक्षिणी ध्रुवको जुन अक्ष (Rotational axis) पनि वृत्ताकार आकारमा एक फन्को करिब २६००० वर्षको अन्तरालमा लगाउँछ।
पृथ्वीको Rotational axis को झुकाईले प्रत्येक १२००० वर्षमा ध्रुवतारा परिवर्तन हुन्छ।
यही ढल्काईको कारणले मौसम निर्धारण हुन्छ भने सूर्योदय हिउँद र वर्षायाममा अलग अलग स्थानबाट उदाउछ अर्थात् हिउँदमा उदाउने स्थान हल्का दक्षिण तिर सर्छ त्यसैले यसमा कुनै पनि शंका गर्ने स्थान छैन। त्यसैले ताराहरूको निरन्तर चाल र पृथ्वीको Axial tilt ले गर्दा आकाशको तारामण्डल को आकार प्रकार र अवस्थिति पनि निरन्तर परिवर्तन हुन्छ। यसले ज्योतिषको मुख्य आधारलाई नै अस्थिर तथा असङ्गत बनाउँछ साथै यो ज्योतिषको ईतिहास दावी गरे जस्तो लामो पनि छैन भन्ने पनि दर्शाउँछ।

राशि स्वभाव

हामीले बिना आधार कल्पना गरेर जनावर तथा वस्तुहरूको काल्पनिक आकार दिइएका ती राशिमण्डलहरु त्यसैको आधारमा कोई स्थिर स्वभावको राशि कोई चपल अर्थात् अस्थिर राशि भनेर भन्छौ। उदाहरणको लागि मकर राशि चपल, कुम्भ राशि स्थिर। उस्तै तारा हरुले बनेका यी राशी मण्डलहरू अर्थात् तारामण्डलहरु कसरी स्थिर या चपल हुन्छन्। कसरी उनीहरूको जनावर वस्तुहरूको गुणहरुलाई प्रक्षेपण गर्न सकिन्छ? त्यसको आधार के हो? 

यसको उत्तर व्यवस्थित उत्तर ज्योतिष सङ्ग छैन। मेष अर्थात् भेडो भएर चपल, कुम्भ घैटो भएर स्थिर जवकि ती राशिहरूको आकार त बिल्कुल काल्पनिक छ। हामीले बादललाइ हेरेर कोई घोडा कोई बाघ, कोई हिमाल जस्तो काल्पनिक आकार बनाउँछौं। त्यो बादल बाघ हो चपल छ, त्यो हिमाल हो त्यो स्थिर छ भन्नु कत्तिको वैज्ञानिक हुन्छ आफै विचार गरौँ।

राशि स्वामी

जस्तो सिँह तारामन्डलको स्वामी सुर्य हो (जबकी सुर्य पनि एक प्रकारको तारा नै हो त्यो अन्य ग्रहहरु जस्तो होइन) मकर, कुम्भको स्वामी शनि हो। त्यो कसरी भयो भन्ने कुरामा पनि ज्योतिष सन्तोषप्रद उत्तर दिन सकेको छैन। ग्रहको अवस्थितीहरु चाँही जुन तारामण्डल सँगै जुन ग्रह हुन्छ त्यो त्यही राशीको हुन्छ। 

ति उच्च निच हुने अवस्था के कारणले हुन्छ जस्तो सुर्य मेशमा उच्च हुने तुलामा निच हुने, शनि तुलामा उच्च र मेशमा निच हुने कारणहरु के हुन ति पनि उच्चारित गरिएको छैन। ज्योतिषले राशिहरू स्वामी र ग्रहहरूको गुण दोषको विचार पनि केही धार्मिक ग्रन्थका पात्रहरूको आधारमा गरेको छ। तर धर्म ग्रन्थका पात्र केही पृथ्वीका केही व्यक्तिहरू थिए भने तारा तथा ग्रहहरू भनेका आकाशीय पिण्डहरू हुन्।

ग्रहहरूको वर्गीकरण

हामीलाई थाहा छ ज्योतिषीय सिद्धान्तका आधारमा ग्रहहरू ९ वटा छन्। सुर्य, चन्द्रमा, बुध, शुक्र, मंगल, बृहस्पति, शनि, राहु र केतु। यो वर्गीकरण पूर्णतया हास्यास्पद छ। यही वर्गीकरणले ज्योतिषको खिल्ली उडेको छ। अब यही वर्गीकरणलाइ विश्लेषण गरौँ।

सुर्य: एक तारा

ज्योतिषले सूर्यलाई ग्रहको स्थानमा राखे पनि सूर्य ती राशिका सदस्य नक्षत्र जस्तै एक मध्यम आकारको तारा हो। यो विशाल हाइड्रोजन ग्यासको डल्लो हो जसले नाभिकीय संयोजन (Nuclear Fusion) बाट शक्ति उत्पन्न गरिरहेको छ जुन प्रकाश र तापको रुपमा अन्य ग्रहहरुले पनि प्राप्त गरिरहेका छन्। सम्पूर्ण सौर्यमण्डललाइ आफ्नो गुरुत्वशक्तिले नियन्त्रण गरिरहेको छ  सम्पूर्ण सूर्य मण्डल चाहे बृहस्पति या शनि या कम्तीमा १ प्रकाशवर्ष भित्र रहेका हरेक आकाशीय पिण्डले सूर्यको परिक्रमा गर्छन्। सुर्य यति विशाल छ कि सूर्यमण्डलको सम्पूर्ण पिण्डको ९९.९६ प्रतिशत पिण्ड सुर्यसङ्ग मात्र छ। 

अरु ग्रहहरू चाहे पृथ्वी होस् या बृहस्पति या शनि या अरुण या वरुण सबै वस्तुहरूको योगफल मात्र सूर्यको दाँजोमा ०.०४ प्रतिशत हुन आउँछ। यस्तो विशाल वस्तुलाइ ग्रह भनेर पृथ्वीको एक तिहाई भाग चन्द्रमा सङ्ग एउटै वर्गमा राख्नु कुनै पनि हालतमा वैज्ञानिक हुन सक्दैन। सूर्यको प्रभाव सङ्ग अरु ग्रहको प्रभावको कुनै तुलना नै हुन सक्दैन। सम्पूर्ण सौर्यमण्डल सूर्य आश्रित हो।

अन्य ग्रहहरू

टेलिस्कोपको विकासले गर्दा हामीलाई थाहा छ कि हाम्रो सौर्यमण्डल कम्तीमा १ प्रकाशबर्ष फैलिएको छ। त्यो अन्तिम घेरो जहाँ साना साना वस्तुहरू जो बरफजस्तै चिसा छन् त्यसले पनि सूर्यको परिक्रमा गर्छन जसलाई हामी काइपर बेल्ट (Kuiper belt) तथा ओर्ट बादल (Oort Cloud) भन्छौ। त्यो पनि हामी अहिले देख्न सक्छौँ। 
हाम्रो सौर्यमण्डलको विस्तार

जव ज्योतिषको विकास हुँदै थियो सुर्य र चन्द्र सहित अन्य ७ वटा ग्रहको धारणा विकसित भयो। यसलाई विश्लेषण गर्ने हो भने राहु र केतु बाहेक अन्य पाँच ग्रहहरू नाङ्गो आँखाले देख्न सकिन्थ्यो त्यही नै ज्योतिषमा राखियो। ती हुन् बुध, शुक्र, मङ्गल, बृहस्पति र शनि। जबकि बुध, शुक्र, मङ्गल र स्वयम् पृथ्वी भन्दा ठूला २ ग्रहहरू सौर्यमण्डलमा अवस्थित थिए। ती हुन् अरुण (Uranus) र वरुण (Neptune)। 

तिनीहरू नाङ्गो आँखाले नदेखिने भएकाले ती ज्योतिषमा अटाएनन्। टेलिस्कोपको विकासले गर्दा ती ग्रहहरू हाम्रो नजरमा आए। ज्योतिषको निर्माण यदि अहिलेको भन्दा बढी वैज्ञानिक सभ्यताले गरेको थियो भने ती २ ग्रह छुट्ने थिएनन्।

चन्द्रमा एक्लो छैन

चन्द्रमा पृथ्वीको एक तिहाई भन्दा थोरै सानो छ। यसलाई अन्य ग्रह त्यसमाथि सुर्य सङ्गै राख्नु एक प्रकारले हास्यास्पद नै हो। तैपनि चन्द्रमा यो हाम्रो सौर्य मण्डलमा एक्लो चन्द्रमा होइन। पृथ्वी बाहेक अरु ग्रहहरू जस्तो मङ्गल, बृहस्पति, शनि सङ्ग पनि चन्द्रमाहरू छन्। बृहस्पति र शनि सङ्ग त अनगिन्ती चन्द्रमाहरु छन्। 

ग्यालिलियोले आफ्नो सानो टेलिस्कोपबाट नदेखिन्जेल बृहस्पतिका चारवटा विशाल चन्द्रमाहरुको जानकारी कसैलाई थिएन। अहिले हामीलाई थाहा छ मङ्गल सङ्ग २ वटा, बृहस्पति सङ्ग ७९ र शनि सङ्ग ८२ वटा कम्तीमा चन्द्रमा रहेका छन्। पृथ्वीको हाम्रो चन्द्रमा पाँचौं स्थानमा पर्छ। यो भन्दा ठूलो Ganymede (बृहस्पति), Titan (शनि), Callisto र Io (बृहस्पति) क्रमश: पर्छन्। 

सौर्यमण्डलमा विशाल चन्द्रमाहरु छन्  २ वटा त बुध ग्रह भन्दा पनि ठूला छन्

अझ Ganymede (२६३४.१ किमि अर्धव्यास), Titan (२५७४.७ किमि) त बुध ग्रह (२४३९ किमि) भन्दा ठूला छन् भने Callisto (२४१०.३ किमि) बुध जत्रै छ। त्यसैले पृथ्वीको चन्द्रमालाई महत्व दिएर ती ग्रह भन्दा पनि ठूला अरु चन्द्रहरुलाई नजरअन्दाज गर्न त पक्कै मिल्दैन। किन गरियो त? 

उत्तर साधारण छ तिनीहरू नाङ्गो आँखाले देखिँदैन थिए। त्यसैले त विशाल ग्रहहरू अरुण र वरुण पनि छुटे। यसबाट हामीले के भन्न सक्छौं भने ज्योतिषको निर्माण अहिलेको भन्दा विकसित सभ्यताले गरेको थिएन।

राहु र केतु

खासमा राहु र केतु के हुन् भन्ने कुरा अहिले सम्म त्यति स्पष्ट छैन। ज्योतिषले यिनिहरुलाई छायाँ ग्रह भनेर भनेको छ। तिनीहरूको ज्योतिषले गणना गरेको अवस्थिति हेर्दा अहिले सम्म पत्तो लागेको छैन। भन्नलाई पृथ्वीले सूर्यलाई घुम्ने कक्ष र चन्द्रले पृथ्वीलाई घुम्ने कक्ष एक आपसमा काटिएको बिन्दु भन्ने पनि गरिन्छ। 

यसको कारणले सूर्य र चन्द्र ग्रहण लाग्छ र यी छायाँ ग्रह हो भनेको हुनाले कतै सूर्य र चन्द्र ग्रहणमा सूर्यमा र चन्द्रमा परेको छायाँलाइ त भनिएको होइन? भन्ने आशङ्का उत्पन्न हुन्छ। हामीलाई थाहा भइसक्यो कि चन्द्रग्रहणमा पृथ्वीले सूर्यको प्रकाश छेक्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्छ। सुर्य ग्रहणमा पृथ्वी र सूर्यको बीचमा चन्द्रमा आउँछ अनि चन्द्रमाले सूर्यको प्रकाश छेक्छ।

ग्रहहरूको व्यवहार

ग्रहहरूको व्यवहार र आपसी समन्धहरु पनि मिथकहरुमा नै आधारित छन्। जस्तो बुध चन्द्रमा र बृहस्पति पत्नी ताराको अवैध समन्धबाट जन्मिएको व्यक्तिको चित्रण गरिएको छ। शनिलाई सूर्य पुत्रको रुपमा चित्रित गरिएको छ। 

गुजमुजे तारामण्डल (Pleiades) जो सात दिदीबहिनीका कथा, त्यसैको आडको अर्को तारामण्डल शिकारी तारामण्डल (Orion) अनि भालू तारामण्डल (Ursa Major) बीचका कथा उत्तर अमेरिकी रैथाने समुदायमा पनि चलेको पाइन्छ। 
शिकारी (Orion) वृष (Taurus) तथा गुजमूजे (Pleiades) तारामण्डल जसको मिथक हरेक सभ्यतामा पाइन्छ।
राहु र केतु झुक्याएर अमृतपान गर्दा सूर्य चन्द्रको इशारामा गला काटिएको हुनाले सूर्य र चन्द्र ग्रहणमा राहु केतुको उपस्थितिको जनाइन्छ। सुर्य र राहु जब एउटै राशिमा अवस्थित भए ग्रहणदोष योगको विश्लेषण गरिन्छ। यसरी मिथकको आधारमा ग्रहको समन्ध, तारामण्डलका समन्धहरुको विश्लेषण गरिन्छ। 

तारा हाइड्रोजनको डल्लो, चन्द्र र बुध चट्टानी पिण्डहरू हुन्। मिथकले ग्रह र तारामण्डलको बीचको समन्धहरु परिभाषित गर्ने कार्य वैज्ञानिक हुन सक्दैन।

यसरी ज्योतिषको राशि र ग्रह जस्ता आधारभूत संरचना नै वैज्ञानिक छैन। यसले तारामण्डलहरुको अवधारणा नै बुझ्न सकेको छैन भने ग्रहहरूको वर्गीकरण त झनै हास्यास्पद छ। त्यसैले फलित ज्योतिष जुन यस्तो अवैज्ञानिक विधिमा आधारित छ त्यसलाई विज्ञान मान्न सकिँदैन। कुण्डली निर्माण, ग्रहको अवस्थिति, चाल तथा संक्रमण र आपसी मैत्रिसमन्ध, आपसी योग समन्ध लगायत यसका अवैज्ञानिकताको विषय सहित यसका मनोवैज्ञानिक पाटोहरुको चर्चा लेखमा विस्तृत रुपमा गर्ने नै छु।


Share:

आधारभूत कणहरु

 

व्रम्हाण्डका पदार्थहरुको सरँचना शुक्ष्म कणहरुले बनेको हुन्छ भन्ने बिचारधारा निकै पुरानो हो तथापी धर्मका ठेकेदारहरुले पागलको सज्ञा नै किन नदिउन। प्राचिनकाल देखिनै विश्वाशको भर नपर्ने जान्न चाहनेहरु ज्यान को बाजी लगाएर खोजी गर्न तत्पर रहन्थे। पारमाणविक सरँचनाको प्राचिन बिचारधारा हिन्दूदर्शनमा महर्षी कणाद, वौद्ध दर्शनमा दिगनाग, धर्मकिर्ती, मुस्लिम दर्शनमा इब्न अल ह्यथम, इब्न शिना, मोहम्मद अल गजाली र ग्रीक दार्शनिकहरु ल्युसिपस, डेमोक्रिटस र इपिकरस जस्ता अन्वेषकहरु मार्फत छैटौ शताब्दी इशा पुर्व देखि नै बिकास भएको देखिन्छ।

आधुनिक कालमा भएका बिकासमा बैज्ञानीकहरुले शैद्धान्तिक र प्रयोगात्मक दुबै बिधिवाट गरिएका परमाणुको सँरचनाको अनुसन्धानमा सुरुमा प्रत्येक बस्तुहरु अणु परमाणु हुँदै परमाणुको सम्रचनामा सर्वप्रथम एलेक्ट्रोन (ऋणात्मक आवेशयुक्त कण )पत्तो लाग्यो भने त्यसपछीको प्रयोगहरुले प्रोटोन (धनात्मक आवेशयुक्त कण) र न्युट्रोन(बिना आवेशयुक्त कण) जुन कुनै पनि परमाणुको नाभिकेन्द्रमा अवस्थित हुन्छन त्यस्लाई एलेक्ट्रोनले परिक्रमा गर्छ भन्ने देखायो र नाभिमा अवस्थित प्रोटोन र एलेक्ट्रोनको सँख्याले नै ब्रम्हाण्डमा अहिले सम्म अवस्थित बिभिन्न तत्वहरु हाइड्रोजन देखी युरेनियमहरुको निर्धारण गर्छ भन्ने पनि पत्ता लगायौ।

एलेक्ट्रोनले गर्ने परिक्रमा चक्रको पनि निश्चित कक्षा हुँदै कक्षाको सम्भाब्यता बितरण हुँदै हामी क्वार्क कण सम्म पुग्यौ। हालसम्म हामीले आधारभुत कणहरु जस्को सम्रचनाको बिषयमा हामी अहिले सम्म अनभिज्ञ छौ अर्थात शुरुमा हामी बस्तुको आधारभुत इकाइ अणु, अणुको आधारभुत इकाइ परमाणु, परमाणुको आधारभुत इकाइ न्युट्रोन, प्रोटोन र एलेक्ट्रोन कणहरु हुँदै अणु र कण विच्छेदनका अनेकन प्रकृया बाट हामीले १६ वटा एस्ता कणहरु खोजीगरेका छौ जस्को सम्रचनाको बिषयमा हामी अनभिज्ञ छौ यानीकी तिनिहरु केले बनेका छन अहिले सम्म हामीलाई थाहा छैन त्यसैले तिनी १६ बटा कणहरुलाई हामी आधारभुत कण भनेर भन्दछौ। ति आधारभुत कणहरुको सम्रचना पत्ता लगाएर तिनिहरुको निर्माणगर्ने अन्य कणहरु पत्तो लाग्यो भने हाल आधारभुत भनिएका कणहरुले त्यो सज्ञा गुमाउने छन र ति नयाँ कणहरु आधारभुत हुनेछन।

आधारभुत कणहरुको वर्गिकरण गर्दा हामीले पदार्थको सम्रचनाका भौतिक आधारभुत कणहरु
Matter particle
जसले हाम्रो वरिपरिका बस्तुहरुको निर्माण भएका छन भने अन्य आधारभुत कणहरु जसलाई शक्तीकण(
Force particle
) भनिन्छ ले भौतिक आधारभुत कणहरुको बिचमा अन्तर्कृया गराउछन। ति शक्तीकणहरुलाई ४ भागमा वर्गिकरण गरिएको छ गुरुत्वशक्ती, विद्युत चुम्वकिय शक्ती, सवल शक्ती र दुर्वल शक्ती। यि परमाणुका बिच्छेदनमात्र (
Nuclear fission
)नभै अहिले काला छिद्रहरु, विशाल ताराहरुको अन्त्य पश्चातका न्युट्रोन ताराहरु झिपझिपे पल्सर ताराहरु बाट आएका उच्चउर्जायुक्त बिकिरणहरुको (High energy Radiation) अध्ययन प्रति पदार्थ (
Anti Matter
) , कृष्ण पदार्थ (
Dark matter
) र कृष्ण ऊर्जा (
Dark energy
) का अनुसन्धानवाट पनि यि आधारभुत कणहरु को खोजी जारी नै रहेको छ।
Share:

विकिरण: भ्रम र बास्तविकता

यता तिर अहिले ज्योतिषी, वास्तुशास्त्री, तन्त्रमन्त्र देखि लिएर केही वैज्ञानिक दावीगर्ने बाबा गुरुहरु सहित वैदिक विज्ञानी हरुको मुखमा एउटा शब्द अलि बढी नै झुण्डिएको छ जसको प्रयोग उनीहरूले अरुलाई तर्साउन अथवा आफ्नो प्रवचनमा मसलाको रूपमा खूब प्रयोग गर्छन् त्यो हो रेडिएसन अर्थात् विकिरण। यिनीहरूले भने जस्तै चिज हो त विकिरण (Radiation):

साधारण अर्थमा Radiation अथवा विकिरण भनेको कुनै पनि पदार्थले उत्सर्जन (emit) अर्थात् निस्किएको शक्ति (energy) हो जुन प्रशारण (transmission) हुनको लागि कुनै माध्यम चाहिँदैन। जस्तै प्रकाश। जस्तो सूर्यको प्रकाश, बलेको दाउराबाट निस्केको प्रकाश ताप या हाम्रो शरीरको तातो इत्यादि। अहिले सामान्य रुपमा बिकिरणलाई २ प्रकारमा वर्गीकरण गरेर विष्लेषण गरौँ:
१. विद्युत चुम्बकीय विकिरण (Electromagnetic Radiation)
२. नाभिकीय विकिरण (Nuclear Radition)
१. विद्युत चुम्बकीय विकिरण
यो तरङ्ग (wave) मा आधारित विकिरणको विश्लेषण हो। हामीलाई थाहा छ कि प्रकाश, ताप, ध्वनि आदि तरङ्गको रुपमा यात्रा गर्दछन्। सोही तरङ्गको तिब्रता त्यसको आवृत्ति (frequency) र तरङ्ग लम्बाइमा (Wave length) आधारित हुन्छ। उदाहरणको लागि मानिसहरु एक ठाउबाट अर्को ठाउमा जादा विभिन्न तरिकाले हिड्छन, कसैले लामा पाइला चाल्छन ढिलो खुट्टा चाल्छन भने कोइ छोटो छोटो पाइला चाल्छन तर छिटो पाइला चाल्छन्। त्यस्तै शूक्ष्म कण को स्तरमा पनि त्यहि हुन्छ। हामीले पाइला लामो छोटो भने जस्तै कुनै तरङ्ग संचार हुदा पहिलेको अवस्थामा फर्कनका लागि कति दुरी पार गर्छ, त्यसको लम्बाईलाइ तरंगलम्बाई (wavelength) भनिन्छ भने त्यस्तै तरंगहरु कुनै निश्चित समयमा कति पटक दोहोरिन्छ त्यसलाई आवृत्ति (Frequency) भनिन्छ। कतिलामो पाइला चाल्छ त्यो तरंग लम्बाई हो भने निश्चित समय जस्तो १ सेकेन्डमा कति पटक पाइला चाल्छ त्यो आवृत्ति हो।

कुनै पनि तरङ्गले बोक्ने शक्ति त्यसको तरंगलम्बाई र आवृत्तिमा भर पर्छ। तरंग लम्बाई लामो भएकाको आवृत्ति कम हुन्छ र त्यसले बोक्ने शक्ति पनि कम हुन्छ भने तरंग लम्बाई छोटो भएकोको आवृत्ति धेरै हुन्छ त्यसले बोक्ने शक्ति पनि धेरै हुन्छ। यसै आधारमा हामीले सबै प्रकारका संचारहरुलाई विभिन्न भागमा बाडेका छौ जसलाई बिद्युत चुम्बकीय बिस्तार या नक्सा (Electromagnetic Spectrum) भनिन्छ। अहिलेसम्म हाम्रो जानकारीमा रहेको सबै भन्दा लामो तरंग लम्बाई भएको तर आवृत्ति सबै भन्दा कम भएको ELF(Extremely Low Frequency), SLF (Super low frequency), ULF (Ultra Low Frequency) हो। यस पछि रेडियो तरंग (Radio wave) आउछ जसको तरंग लम्बाई १० किमि देखि १०० किमि सम्म हुन्छ र आवृत्ति ३ किलोहर्ज देखि ३०० मेगाहर्ज सम्म हुन्छ जसले धेरै न्युन शक्ति बोकेको हुन्छ।

मोबाइल देखि हामीले बजाउने रेडियो, वाइफ़ाइको सिग्नल सबै यहि रेडियो तरंगमा आधारित हुन्छन। त्यसपछि तरङ्ग लम्बाई लम्बाई जति घट्दै जान्छ त्यति आवृत्ति बढ्दै जान्छ र त्यसले बोक्ने शक्ति पनि बढ्दै जान्छ अर्थात तरंग लम्बाई र आवृति उल्टो समन्धित हुन्छन र आवृति र शक्तिको बीचमा सुल्टो समन्ध हुन्छ।
रेडियो तरंग पछि आउछ माइक्रोवेभ (Microwave) जसको शक्ति रेडियो तरंग भन्दा बढी हुन्छ। माइक्रो वेभ भन्ने मेसिन जसमा हामि खाना पकाउछौ त्यसले यहि माइक्रो वेभको प्रयोग गर्छ। त्यसपछि आउछ इन्फ्रारेड (Infrared) तरंग जसको प्रयोग रिमोट कन्ट्रोलर र ब्लुटूथ आउनु पुर्व एउटा मोबाइल बाट अर्को मोबाइलमा फोटोहरु सार्न प्रयोग गरिन्थ्यो। त्यसपछि आउछ हामीले देख्न सक्ने प्रकाश (Visible light)।

यसपछि पनि तरंगलम्बाई घट्दै जाने आवृत्ति बढ्दै जाने गर्दा आउछ परावैजनी किरण ( UV ray) , यक्स किरण(X-ray) अनि गामा किरण (Gamma ray), यिनीहरुले बोक्ने शक्ति पनि बढ्दै जान्छ। यिनीहरुको तरंग लम्बाई क्रमिक रुपमा छोटो र आवृत्ति बढ्दै जाने भएकोले शक्ति पनि तिब्र हुदै जान्छ। हामीले देख्ने प्रकाश भन्दा शक्तिशाली यिनीहरुको संग शक्ति यति हुन्छ कि यिनीहरुले कुनै पनि पदार्थको परमाणुलाइ शक्ति प्रदान गर्न सक्छन या परमाणु भित्रको सरंचनालाइ परिवर्तन गर्न तोड्न सक्छन। त्यसैले मानिसको कोष भित्र गएर शक्ति प्रदान गर्दा अर्थात तताईदिदा क्यान्सर हुन सक्छ भने DNA को सरंचनालाइ पनि तोड्न सक्ने हुनाले प्राणिको वंशानुगत गुणनै परिवर्तन हुन्छ। पदार्थको आणविक सरंचनालाइ शक्ति प्रदान गरिदिन सक्ने भएकाले UV, X र Gamma किरणलाइ आयोनाइजिङ्ग Ionizing radiation पनि भनिन्छ। त्यो भन्दा कम्जोरलाइ non ionizing radiation भनिन्छ जसले पदार्थको आणविक सरंचनामा केहि गर्न सक्दैन।

सुर्य बाट उत्सर्जित प्रकाशमा यी सबै किसिमका विद्युत चुम्बकीय तरंगहरू हर हमेशा आइरहन्छन्। तर Ionizing raditions लाइ पृथ्वीको चुम्बकीय क्षेत्र (Magnetic Field) र ओजन तहले (Ozone layer) ले पृथ्वीमा प्रवेश गर्न नदिने भएकाले पृथ्वीमा जीवन सम्भव भएको हो।


२. नाभिकीय विकिरण
यो विकिरणको सुक्ष्म कणमा आधारित (particle based) विकिरण हो। कतिपय पदार्थहरू जुन तत्वले (Element) ले बनेका छन् उनीहरूको केन्द्रको (Nucleus) अस्थिरताले तिनीहरूले निरन्तर रुपमा सुक्ष्म कणहरू (subatomic particles) उत्सर्जन अर्थात् फ्याँकिरहेका हुन्छन्। त्यस्तो पदार्थलाई हामी रेडियोधर्मी वस्तुहरू (Radioactive Substances) भन्छौ। जब ती सुक्ष्म कणहरू उत्सर्जित हुन्छन् त्यसलाई हामी atomic decay via Radioactivity भन्छौ त्यसको आधारमा सामान्यतया यसलाई ४ प्रकारमा वर्गीकरण गर्न सकिन्छ।

a. अल्फा विकिरण (Alfa Radiation)

रेडियोधर्मी वस्तुहरूको केन्द्रबाट जब अत्यधिक विद्युतीय आवेश सहितको (with high electric charge) २ न्यूट्रोन र २ प्रोटोन (2N2P) अर्थात् हेलियम (Helium) तत्वको केन्द्र उत्सर्जित हुन्छ भने त्यसलाई अल्फा विकिरण भनिन्छ। यो धेरै मास (Mass) र धेरै विद्युत आवेश (electrical charge) भएको सबै भन्दा ढिलो गति भएको विकिरण हो जसलाई साधारण पातलो कागजले पनि रोकिदिन सक्छ किनकी यसको छेड्न सक्ने क्षमता Penetration capacity) कम हुन्छ लामो दूरी तय गर्न पनि सक्दैन। तर यसको मास धेरै भएकाले प्राणीको कोषमा ठूलो क्षति (biological damage) गराउन भने सक्छ।

b. बेटा विकिरण (Beta Radiation)

रेडियोधर्मी वस्तुको केन्द्रमा रहेको न्यूट्रोन जब प्रोटोनमा परिणत हुन्छ त्यो बेला केन्द्रबाट इलेक्ट्रोन उत्सर्जित हुन्छ त्यसलाई हामी बेटा विकिरण भन्छौ। इलेक्ट्रोन धेरै हलुको हुने भएकाले यो विकिरणको मास पनि हलुकै हुन्छ भने विद्युतीय आवेश पनि हुन्छ। यसको छेड्न सक्ने क्षमता अल्फा विकिरणको भन्दा धेरै हुन्छ तरपनि पातलो धातुको पत्रले यसलाई रोक्न सकिन्छ।

c. गामा/ एक्स विकिरण (Gamma/X Radiation)

रेडियोधर्मी वस्तुको केन्द्रबाट उच्च शक्ति भएको प्रकाशकणहरु (Photons) उत्सर्जित हुन्छ जसलाई हामी गामा विकिरण भन्छौ। यो कुनै पदार्थले छोडेको साधारण प्रकाश जस्तो होइन यो सँग अति उच्च शक्ति भएकाले वरिपरिको वस्तुहरूलाई क्षति पूराउँछ। गामा विकिरणमा अति तिव्रगतिको कणहरू (Photon) जस सङ्ग कुनै विद्युत आवेश (Electrical charge) नहुने भएकाले यसले विद्युतीय क्षेत्रको उत्सर्जन (emissions of electric field) गर्दैन जसले गर्दा अन्य पदार्थहरूसँग अन्तर्क्रिया हुँदैन। त्यसैले यसलाई रोक्न अलि गाह्रो हुन्छ। गामा विकिरण रोक्न बाक्लो र सघन धातुको आवश्यकता पर्छ जस्तो Lead (Pb) को बाक्लो प्लेट।


d. न्यूट्रोन विकिरण (Neutron Radiation)

रेडियोधर्मी वस्तुको केन्द्रबाट न्यूट्रोन नै पनि उत्सर्जित हुन्छ जसलाई न्यूट्रोन विकिरण भनिन्छ। यो खालको बिकिरणमा कुनै विद्युत आवेश (Electrical charge) हुँदैन किनकि न्यूट्रोन आवेश विहिन (Chargeless) हुन्छ। त्यसैले यो पनि कुनै पनि पदार्थ सँग अन्तर्क्रिया नगरी लामो दूरीसम्म जस्तो किलोमीटर नै पनि यात्रा गर्न सक्छ। नाभिकीय भौतिकी (Nuclear Physics) मा यसको ठूलो महत्व छ। धेरै जसो रेडियोधर्मी वस्तुहरूको केन्द्रमा यही विकिरणले हिर्काएर नाभिकीय प्रतिक्रिया (Nuclear Reactions) गराइन्छ। आणविक भट्टिहरू, परमाणु बमहरुको प्रयोगमा शुरुवात गर्ने यही विकिरण हो। यसलाई रोक्न हाइड्रोजन (H2) को मात्रा बढी भएका वस्तुहरूको प्रयोग गर्नु पर्छ जस्तो पानी, प्लास्टिक आदि।
यी नाभिकीय विकिरण हरु सबै माथि उल्लेख गरिएको Ionizing raditions हरु हुन्।

हामीले सबै प्रकारका विकिरणहरुको बारेमा विश्लेषण गर्यौ। विकिरण भनेको कुनै अचम्मको वस्तु होइन हामीले सामान्य जनजीवनमा देखि आएका भोगी आएका चिज र प्रक्रिया नै हुन्। दिनको उज्यालो, चन्द्रमा बाट आएको प्रकाश, बिजुली बत्तीको उज्यालो, मोबाइल फोनको सिग्नल, वाइफाइ आदि आदि सबै रेडिएसन अर्थात् विकिरण हुन्।

मानिसको कोषलाई क्षति पुराउने विकिरणहरु रेडियोधर्मी वस्तुको सम्पर्क या नजीकमा पुगियो भने मात्र जोखिम हुने हो। यदि हामी त्यस्ता वस्तुको नजीकमा छौ सम्पर्कमा छौ भने तुलसी पत्र, कुश जस्ता चिजले त्यसलाई रोक्न सक्दैन बरु ती चिज नै रेडियसनको चपेटमा आउँछन्।

ज्योतिषले भने जस्तो ग्रहण लाग्दा रेडिएसन आउँछ होइन सूर्यबाट सधैं विभिन्न प्रकारका विकिरण हरु सधैं पृथ्वीमा आउँछन्। अन्य ग्रहहरू सुर्यभन्दा धेरै साना र निकै टाढा पनि छन् र उनीहरूसँग विकिरणको स्रोत पनि छैन किनकी उनीहरू नाभिकीय प्रतिक्रिया गर्नसक्ने सूर्य जस्ता तारा होइनन्। उनीहरू सूर्यको प्रकाशलाई परावर्तन गरेर चम्कने मात्र हुन्। त्यसैले उनीहरूले विकिरण उत्सर्जन गर्छन् पूजा जप गरेर औँठी लगाएर घट्छ भन्नु पनि हास्यास्पद मात्रै हो। अन्त्यमा तिनै ठग गुरुहरुले भने जस्तै मानिसले पत्ता लगाएका नियम सिद्धान्तहरू प्रकृतिका नियम होइनन् भन्दै भीरमा जाने हो भने काँध थाप्न त राम नै आउछन्
Share:

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

About Me

My photo
देउराली, चिती, लमजुङ्ग, गण्डकी , Nepal

Translate