A diary of Pedestrian on Mother Nature

Showing posts with label Misconception. Show all posts
Showing posts with label Misconception. Show all posts

विकिरण: भ्रम र बास्तविकता

यता तिर अहिले ज्योतिषी, वास्तुशास्त्री, तन्त्रमन्त्र देखि लिएर केही वैज्ञानिक दावीगर्ने बाबा गुरुहरु सहित वैदिक विज्ञानी हरुको मुखमा एउटा शब्द अलि बढी नै झुण्डिएको छ जसको प्रयोग उनीहरूले अरुलाई तर्साउन अथवा आफ्नो प्रवचनमा मसलाको रूपमा खूब प्रयोग गर्छन् त्यो हो रेडिएसन अर्थात् विकिरण। यिनीहरूले भने जस्तै चिज हो त विकिरण (Radiation):

साधारण अर्थमा Radiation अथवा विकिरण भनेको कुनै पनि पदार्थले उत्सर्जन (emit) अर्थात् निस्किएको शक्ति (energy) हो जुन प्रशारण (transmission) हुनको लागि कुनै माध्यम चाहिँदैन। जस्तै प्रकाश। जस्तो सूर्यको प्रकाश, बलेको दाउराबाट निस्केको प्रकाश ताप या हाम्रो शरीरको तातो इत्यादि। अहिले सामान्य रुपमा बिकिरणलाई २ प्रकारमा वर्गीकरण गरेर विष्लेषण गरौँ:
१. विद्युत चुम्बकीय विकिरण (Electromagnetic Radiation)
२. नाभिकीय विकिरण (Nuclear Radition)
१. विद्युत चुम्बकीय विकिरण
यो तरङ्ग (wave) मा आधारित विकिरणको विश्लेषण हो। हामीलाई थाहा छ कि प्रकाश, ताप, ध्वनि आदि तरङ्गको रुपमा यात्रा गर्दछन्। सोही तरङ्गको तिब्रता त्यसको आवृत्ति (frequency) र तरङ्ग लम्बाइमा (Wave length) आधारित हुन्छ। उदाहरणको लागि मानिसहरु एक ठाउबाट अर्को ठाउमा जादा विभिन्न तरिकाले हिड्छन, कसैले लामा पाइला चाल्छन ढिलो खुट्टा चाल्छन भने कोइ छोटो छोटो पाइला चाल्छन तर छिटो पाइला चाल्छन्। त्यस्तै शूक्ष्म कण को स्तरमा पनि त्यहि हुन्छ। हामीले पाइला लामो छोटो भने जस्तै कुनै तरङ्ग संचार हुदा पहिलेको अवस्थामा फर्कनका लागि कति दुरी पार गर्छ, त्यसको लम्बाईलाइ तरंगलम्बाई (wavelength) भनिन्छ भने त्यस्तै तरंगहरु कुनै निश्चित समयमा कति पटक दोहोरिन्छ त्यसलाई आवृत्ति (Frequency) भनिन्छ। कतिलामो पाइला चाल्छ त्यो तरंग लम्बाई हो भने निश्चित समय जस्तो १ सेकेन्डमा कति पटक पाइला चाल्छ त्यो आवृत्ति हो।

कुनै पनि तरङ्गले बोक्ने शक्ति त्यसको तरंगलम्बाई र आवृत्तिमा भर पर्छ। तरंग लम्बाई लामो भएकाको आवृत्ति कम हुन्छ र त्यसले बोक्ने शक्ति पनि कम हुन्छ भने तरंग लम्बाई छोटो भएकोको आवृत्ति धेरै हुन्छ त्यसले बोक्ने शक्ति पनि धेरै हुन्छ। यसै आधारमा हामीले सबै प्रकारका संचारहरुलाई विभिन्न भागमा बाडेका छौ जसलाई बिद्युत चुम्बकीय बिस्तार या नक्सा (Electromagnetic Spectrum) भनिन्छ। अहिलेसम्म हाम्रो जानकारीमा रहेको सबै भन्दा लामो तरंग लम्बाई भएको तर आवृत्ति सबै भन्दा कम भएको ELF(Extremely Low Frequency), SLF (Super low frequency), ULF (Ultra Low Frequency) हो। यस पछि रेडियो तरंग (Radio wave) आउछ जसको तरंग लम्बाई १० किमि देखि १०० किमि सम्म हुन्छ र आवृत्ति ३ किलोहर्ज देखि ३०० मेगाहर्ज सम्म हुन्छ जसले धेरै न्युन शक्ति बोकेको हुन्छ।

मोबाइल देखि हामीले बजाउने रेडियो, वाइफ़ाइको सिग्नल सबै यहि रेडियो तरंगमा आधारित हुन्छन। त्यसपछि तरङ्ग लम्बाई लम्बाई जति घट्दै जान्छ त्यति आवृत्ति बढ्दै जान्छ र त्यसले बोक्ने शक्ति पनि बढ्दै जान्छ अर्थात तरंग लम्बाई र आवृति उल्टो समन्धित हुन्छन र आवृति र शक्तिको बीचमा सुल्टो समन्ध हुन्छ।
रेडियो तरंग पछि आउछ माइक्रोवेभ (Microwave) जसको शक्ति रेडियो तरंग भन्दा बढी हुन्छ। माइक्रो वेभ भन्ने मेसिन जसमा हामि खाना पकाउछौ त्यसले यहि माइक्रो वेभको प्रयोग गर्छ। त्यसपछि आउछ इन्फ्रारेड (Infrared) तरंग जसको प्रयोग रिमोट कन्ट्रोलर र ब्लुटूथ आउनु पुर्व एउटा मोबाइल बाट अर्को मोबाइलमा फोटोहरु सार्न प्रयोग गरिन्थ्यो। त्यसपछि आउछ हामीले देख्न सक्ने प्रकाश (Visible light)।

यसपछि पनि तरंगलम्बाई घट्दै जाने आवृत्ति बढ्दै जाने गर्दा आउछ परावैजनी किरण ( UV ray) , यक्स किरण(X-ray) अनि गामा किरण (Gamma ray), यिनीहरुले बोक्ने शक्ति पनि बढ्दै जान्छ। यिनीहरुको तरंग लम्बाई क्रमिक रुपमा छोटो र आवृत्ति बढ्दै जाने भएकोले शक्ति पनि तिब्र हुदै जान्छ। हामीले देख्ने प्रकाश भन्दा शक्तिशाली यिनीहरुको संग शक्ति यति हुन्छ कि यिनीहरुले कुनै पनि पदार्थको परमाणुलाइ शक्ति प्रदान गर्न सक्छन या परमाणु भित्रको सरंचनालाइ परिवर्तन गर्न तोड्न सक्छन। त्यसैले मानिसको कोष भित्र गएर शक्ति प्रदान गर्दा अर्थात तताईदिदा क्यान्सर हुन सक्छ भने DNA को सरंचनालाइ पनि तोड्न सक्ने हुनाले प्राणिको वंशानुगत गुणनै परिवर्तन हुन्छ। पदार्थको आणविक सरंचनालाइ शक्ति प्रदान गरिदिन सक्ने भएकाले UV, X र Gamma किरणलाइ आयोनाइजिङ्ग Ionizing radiation पनि भनिन्छ। त्यो भन्दा कम्जोरलाइ non ionizing radiation भनिन्छ जसले पदार्थको आणविक सरंचनामा केहि गर्न सक्दैन।

सुर्य बाट उत्सर्जित प्रकाशमा यी सबै किसिमका विद्युत चुम्बकीय तरंगहरू हर हमेशा आइरहन्छन्। तर Ionizing raditions लाइ पृथ्वीको चुम्बकीय क्षेत्र (Magnetic Field) र ओजन तहले (Ozone layer) ले पृथ्वीमा प्रवेश गर्न नदिने भएकाले पृथ्वीमा जीवन सम्भव भएको हो।


२. नाभिकीय विकिरण
यो विकिरणको सुक्ष्म कणमा आधारित (particle based) विकिरण हो। कतिपय पदार्थहरू जुन तत्वले (Element) ले बनेका छन् उनीहरूको केन्द्रको (Nucleus) अस्थिरताले तिनीहरूले निरन्तर रुपमा सुक्ष्म कणहरू (subatomic particles) उत्सर्जन अर्थात् फ्याँकिरहेका हुन्छन्। त्यस्तो पदार्थलाई हामी रेडियोधर्मी वस्तुहरू (Radioactive Substances) भन्छौ। जब ती सुक्ष्म कणहरू उत्सर्जित हुन्छन् त्यसलाई हामी atomic decay via Radioactivity भन्छौ त्यसको आधारमा सामान्यतया यसलाई ४ प्रकारमा वर्गीकरण गर्न सकिन्छ।

a. अल्फा विकिरण (Alfa Radiation)

रेडियोधर्मी वस्तुहरूको केन्द्रबाट जब अत्यधिक विद्युतीय आवेश सहितको (with high electric charge) २ न्यूट्रोन र २ प्रोटोन (2N2P) अर्थात् हेलियम (Helium) तत्वको केन्द्र उत्सर्जित हुन्छ भने त्यसलाई अल्फा विकिरण भनिन्छ। यो धेरै मास (Mass) र धेरै विद्युत आवेश (electrical charge) भएको सबै भन्दा ढिलो गति भएको विकिरण हो जसलाई साधारण पातलो कागजले पनि रोकिदिन सक्छ किनकी यसको छेड्न सक्ने क्षमता Penetration capacity) कम हुन्छ लामो दूरी तय गर्न पनि सक्दैन। तर यसको मास धेरै भएकाले प्राणीको कोषमा ठूलो क्षति (biological damage) गराउन भने सक्छ।

b. बेटा विकिरण (Beta Radiation)

रेडियोधर्मी वस्तुको केन्द्रमा रहेको न्यूट्रोन जब प्रोटोनमा परिणत हुन्छ त्यो बेला केन्द्रबाट इलेक्ट्रोन उत्सर्जित हुन्छ त्यसलाई हामी बेटा विकिरण भन्छौ। इलेक्ट्रोन धेरै हलुको हुने भएकाले यो विकिरणको मास पनि हलुकै हुन्छ भने विद्युतीय आवेश पनि हुन्छ। यसको छेड्न सक्ने क्षमता अल्फा विकिरणको भन्दा धेरै हुन्छ तरपनि पातलो धातुको पत्रले यसलाई रोक्न सकिन्छ।

c. गामा/ एक्स विकिरण (Gamma/X Radiation)

रेडियोधर्मी वस्तुको केन्द्रबाट उच्च शक्ति भएको प्रकाशकणहरु (Photons) उत्सर्जित हुन्छ जसलाई हामी गामा विकिरण भन्छौ। यो कुनै पदार्थले छोडेको साधारण प्रकाश जस्तो होइन यो सँग अति उच्च शक्ति भएकाले वरिपरिको वस्तुहरूलाई क्षति पूराउँछ। गामा विकिरणमा अति तिव्रगतिको कणहरू (Photon) जस सङ्ग कुनै विद्युत आवेश (Electrical charge) नहुने भएकाले यसले विद्युतीय क्षेत्रको उत्सर्जन (emissions of electric field) गर्दैन जसले गर्दा अन्य पदार्थहरूसँग अन्तर्क्रिया हुँदैन। त्यसैले यसलाई रोक्न अलि गाह्रो हुन्छ। गामा विकिरण रोक्न बाक्लो र सघन धातुको आवश्यकता पर्छ जस्तो Lead (Pb) को बाक्लो प्लेट।


d. न्यूट्रोन विकिरण (Neutron Radiation)

रेडियोधर्मी वस्तुको केन्द्रबाट न्यूट्रोन नै पनि उत्सर्जित हुन्छ जसलाई न्यूट्रोन विकिरण भनिन्छ। यो खालको बिकिरणमा कुनै विद्युत आवेश (Electrical charge) हुँदैन किनकि न्यूट्रोन आवेश विहिन (Chargeless) हुन्छ। त्यसैले यो पनि कुनै पनि पदार्थ सँग अन्तर्क्रिया नगरी लामो दूरीसम्म जस्तो किलोमीटर नै पनि यात्रा गर्न सक्छ। नाभिकीय भौतिकी (Nuclear Physics) मा यसको ठूलो महत्व छ। धेरै जसो रेडियोधर्मी वस्तुहरूको केन्द्रमा यही विकिरणले हिर्काएर नाभिकीय प्रतिक्रिया (Nuclear Reactions) गराइन्छ। आणविक भट्टिहरू, परमाणु बमहरुको प्रयोगमा शुरुवात गर्ने यही विकिरण हो। यसलाई रोक्न हाइड्रोजन (H2) को मात्रा बढी भएका वस्तुहरूको प्रयोग गर्नु पर्छ जस्तो पानी, प्लास्टिक आदि।
यी नाभिकीय विकिरण हरु सबै माथि उल्लेख गरिएको Ionizing raditions हरु हुन्।

हामीले सबै प्रकारका विकिरणहरुको बारेमा विश्लेषण गर्यौ। विकिरण भनेको कुनै अचम्मको वस्तु होइन हामीले सामान्य जनजीवनमा देखि आएका भोगी आएका चिज र प्रक्रिया नै हुन्। दिनको उज्यालो, चन्द्रमा बाट आएको प्रकाश, बिजुली बत्तीको उज्यालो, मोबाइल फोनको सिग्नल, वाइफाइ आदि आदि सबै रेडिएसन अर्थात् विकिरण हुन्।

मानिसको कोषलाई क्षति पुराउने विकिरणहरु रेडियोधर्मी वस्तुको सम्पर्क या नजीकमा पुगियो भने मात्र जोखिम हुने हो। यदि हामी त्यस्ता वस्तुको नजीकमा छौ सम्पर्कमा छौ भने तुलसी पत्र, कुश जस्ता चिजले त्यसलाई रोक्न सक्दैन बरु ती चिज नै रेडियसनको चपेटमा आउँछन्।

ज्योतिषले भने जस्तो ग्रहण लाग्दा रेडिएसन आउँछ होइन सूर्यबाट सधैं विभिन्न प्रकारका विकिरण हरु सधैं पृथ्वीमा आउँछन्। अन्य ग्रहहरू सुर्यभन्दा धेरै साना र निकै टाढा पनि छन् र उनीहरूसँग विकिरणको स्रोत पनि छैन किनकी उनीहरू नाभिकीय प्रतिक्रिया गर्नसक्ने सूर्य जस्ता तारा होइनन्। उनीहरू सूर्यको प्रकाशलाई परावर्तन गरेर चम्कने मात्र हुन्। त्यसैले उनीहरूले विकिरण उत्सर्जन गर्छन् पूजा जप गरेर औँठी लगाएर घट्छ भन्नु पनि हास्यास्पद मात्रै हो। अन्त्यमा तिनै ठग गुरुहरुले भने जस्तै मानिसले पत्ता लगाएका नियम सिद्धान्तहरू प्रकृतिका नियम होइनन् भन्दै भीरमा जाने हो भने काँध थाप्न त राम नै आउछन्
Share:

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

About Me

My photo
देउराली, चिती, लमजुङ्ग, गण्डकी , Nepal

Translate