A diary of Pedestrian on Mother Nature

गुराँसहरु फुल्दैनन्: अब सहज छैन अवस्था


माघमै गुराँस फुल्यो, चैत्र बैशाखमा गुराँस, चुत्रो फुलेनन्, एक दशक अघिसम्म वसन्त ऋतु चैत्र बैशाखमा बनै भरी फूल फुल्थे, जङ्गलको बाटो हिँड्दा मौरी ठोक्किन्थे, पुतलीको झिलिमिली र भवँराको  भुनभुन् गर्मीमा शितलता दिन्थ्यो अनि शिशिरको चिसो भुलाउँथ्यो। अहिले शिशिरको सिरेठो त  शुरू हुनै नपाई सकिन्छ। यस्ता कुरा धेरै समय देखि सामान्य भइसकेका छन्। हो हिउँद छोटिदै छ। वनस्पतिहरू चाँडो फुल्छन्, छिटो मर्छन्। यो विश्वव्यापी घटना हो जसलाई विभिन्न अध्ययनहरूले पुष्टि गरेका छन्।

यो किन भइरहेको छ त? उत्तर धेरै स्पष्ट छ, हामीले उत्सर्जन गरेको हरितगृह ग्यास (Greenhouse Gases) ले विश्वव्यापी रुपमा पृथ्वीको तापमान बढिरहेछ। त्यसैले हिउँद छोटिँदै गएको छ भने वसन्त ऋतु धेरै गर्मी । यसले सबै भन्दा बढी वनस्पतिलाई असर गरेको छ। वनस्पतिहरूमा छिटो फूल खेले पनि चाँडो पालुवा खेल्दा वातावरणबाट कार्बन डाई अक्साइड (CO2) अवशोषित हुन्छ, त्यसले फाइदा नै पुग्ला भन्ने अनुमान गरिएको थियो। तर अहिलेका अध्ययनहरूले त्यसको विपरीत निष्कर्ष निकालेका छन्। वास्तवमा वनस्पतिहरू छिटो छिटो मरिरहेका छन् अर्थात् आयु पनि घटिरहेछ अनि नयाँ वृद्धि अर्थात् नयाँ बिरुवा उम्रने दर पनि उल्लेख्य रुपमै घटिरहेछ।

वैज्ञानिकहरूले ३० वर्ष देखिका विभिन्न ठाउँहरूको भू-उपग्रह आधारित तस्वीरहरु र तथ्यहरूको क्रमिक विश्लेषण गर्दा वनस्पतिहरू वसन्त ऋतुमा (Spring) जति वृद्धि हुनु पर्ने हो त्यो हुन पाएको छैन। हिउँदको अन्त्य छिटो हुने भएकाले जमीनमा भएको चिस्यानलाई वनस्पतिले छिटो अवशोषित गरिसक्छ अर्थात् जमीन छिटो सुख्खा हुन्छ। बसन्तमा खडेरी पर्ने र जमीन पनि छिटो सुक्खा हुने कारणले फूल फुल्न, नयाँ पालुवा लाग्न सक्दैन।

USA National Phenology Network (USNPN)  ले सङ्कलन गरेको तथ्याङ्क अनुसार पछिल्लो दश वर्षमै वनस्पतिका फूल फुल्ने क्रम झण्डै ३ हप्ता अगाडि सरेको छ। कतिपय वनस्पतिहरू त यो सराइलाई आत्मसाथ गर्नै सक्दैनन् र फुल्नै सक्दैनन्। यो सञ्जालले दशकौँ देखिको अमेरिकाको विभिन्न क्षेत्रको वनस्पतिको फूल फुल्ने समयको तथ्यहरु राखिरहेको छ।

Bostan University का जीव वैज्ञानिक Richard Primack ले लेखक Henry David Thoreau को १८४० देखिको Notes हरु (जसमा Massachusetts मा अवस्थित उनको वरिपरिको वनस्पतिहरूको बारेमा तथ्यहरु संकलित छन्) केलाउँदा अहिले ती वनस्पतिहरू १८४० को तुलनामा औषतमा ३ हप्ता अगावै फूल्न थालेको स्पष्ट गरेका छन्।

Plos One नामक जर्नलमा प्रकाशित सो अध्ययनमा Massachusetts र Wisconsin राज्यमा गरिएको सर्वेक्षण अनुसार जुन वनस्पति मे महिनाको मध्यतिर फुल्नु पर्ने हो अर्थात् १८५० को समयमा  मे महिनाको मध्यमा (Mid May) फुल्थ्यो सो २०१२ मा अप्रिल १ मै फुलेको पाइयो। Ericaceae परिवारका वनस्पतिहरूको त्यस्तो परिवर्तन देखियो जस्तो High Bush Blueberry (Vaccinium corymbosum)। हाम्रो गुराँस जाती पनि सोही परिवार अर्थात् Ericaceae अन्तर्गत नै पर्छ।

Bostan University कि जीव वैज्ञानिक Elizabeth Ellwood भन्छिन्, "वसन्त ऋतुको औषत तापक्रम को वृद्धि सङ्ग फूल फुल्ने समयको प्रत्यक्ष गणितीय समन्ध छ। यो समयमा भएको १ डिग्री सेल्सियस तापक्रम वृद्धिले वनस्पतिको फूल फुल्ने समयलाई ३.२ दिन अगाडि सार्छ। यो समन्ध यति स्पष्ट र बलियो छ कि कुनै पनि अरु तत्वहरूले सो समन्धलाइ असर पार्नै सक्दैन।"उनी अझै थप्छिन्, " कुनै प्रजातिहरू समय अगावै पनि फूल्न सक्छन्, तर सबैको त्यस्तो क्षमता हुँदैन। केही प्रजातिलाइ सापेक्षित लामो शीतकाल (Cooling period) चाहिन्छ। त्यो नपुग्दा उनीहरू फूल्नै सक्दैनन्।"

यसरी आवश्यक शितकालको अभावमा फूल्न नसक्ने वनस्पतिहरू प्रायः सबै समशीतोष्ण (Temparate zone) र शित प्रदेश (Alpine zone) का बढी हुन्छन्। त्यसैले विश्वभरिका यिनै प्रदेशका वनस्पतिहरू तीव्रगतिमा ह्रास भइरहेछन्। यसको उदाहरण हाम्रो लेकमा रहेका सदाबहार कोणधारी जङ्गललाइ लिन सकिन्छ। यी वनस्पतिको उम्रने दर यसै ढिलो हुन्छ त्यसमा पनि फूल फूल्न नपाउँदा यिनीहरू विलुप्त हुने क्रम अकल्पनीय छ।

U.S. Department of Agriculture ले जारी गरेको Plant Hardiness Zone Map मा पछिल्लो २२ वर्षको तथ्य हेर्ने हो भने दक्षिणी उष्ण प्रदेशका वनस्पतिहरू उत्तरी समशीतोष्ण क्षेत्र तिर उक्लिरहेका देख्न सकिन्छ। त्यस्तै नेपालको उदाहरण नै हेर्ने हो भने पनि यो वृक्ष रेखाको सराई महसुस गर्न सकिन्छ। उष्ण प्रदेशका वनस्पति समशीतोष्ण क्षेत्रमा, समशीतोष्ण क्षेत्रका शित प्रदेश तिर उक्लेका छन् भने, शित प्रदेशका वनस्पतिहरू अब पाइन छोडेको छ।

यही १५ वर्षको मेरो भेडीगोठ बसाईको क्रममा अतिस प्रजाति (Aconitum sp), सुनपाती भनेर चिनिने सुनपाती (Rhododendron anthopogon),  पदमचालका केही प्रजातिहरू  (Rheum sp), पाखनवेद (Bergenia sp) र Saussurea का प्रजाति आदि वनस्पतिहरुले नपत्याउँदो तरिकाले उचाइ लिएको म स्वयंले भेटेको छु। कतिपय शित प्रदेशका वनस्पतिहरू आजकाल भेटिन छोडेको म स्वयंको अनुभव छ। आजकाल चिलाउने, कटुसहरुले गुराँसका वनलाई प्रतिस्थापन गरिरहेका छन् भने पहाडी जङ्गलहरूमा मिचाहा वनस्पतिहरू कालिमुन्टे (Ageratina adenophora), वनफाँडे (Lantana camara), गाजरे घाँस (Parthenium hysterophorus), Mikania sp, Chromolaena sp जस्ता वनमारा जातिहरूले क्षति पुराइरहेका छन्।

फूल्नै छोडेका वनस्पतिको समस्या भन्दा समय अगावै फूल्ने वनस्पतिको समस्या पनि सानो छैन। धेरै वनस्पतिहरू आफ्नो फूलमा हुने परागसेचन प्रक्रियाको लागि निश्चित किटपतङ्ग,  पुतलीहरुमा भर पर्छन्। ती वनस्पतिहरूमा फूल फुल्दा ती किटपतङ्ग,  पुतलीहरु आफ्नो जीवनचक्रको प्युपा अवस्थामा मै हुन्छन् भने कति सुषुप्त अवस्थामा हुन्छन्। जव ती प्राणीहरू सक्रिय हुन्छन् त्यो बेला फूलहरु झरिसकेका हुन्छन्। त्यसले गर्दा एकातर्फ परागसेचन हुन पाउँदैन त्यसैले वनस्पतिको बीज उत्पादन हुँदैन भने अर्को तर्फ खानाको अभावमा ती प्राणीहरू पनि विलुप्त हुन्छन्। यो प्रक्रिया झन् भयानक छ जसले तिब्र गतिमा वनस्पति र प्राणीहरू विलुप्त हुन्छन् र पुरै वातावरणीय सन्तुलन बिग्रन्छ।

हामीले यी अवस्थाहरूको गम्भीर भएर सोच्ने विश्लेषण गर्ने आवश्यकता छ। जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिका प्रभावहरू प्रत्यक्ष देखिने भन्दा पनि परोक्ष देखिने बढी गम्भीर छन्। जलवायु परिवर्तनले जति वनस्पतिलाई प्रभावित गर्छ त्यति पृथ्वीको वातावरण बिग्रन्छ। हामीले फेर्ने श्वासको आपूर्ति देखि खाद्य श्रृङ्खलामा आउने विचलनको परिणाम भयानक हुन्छ। मानव प्रजातिको सामुन्ने भोलि गएर स्वजाती भक्षणको भयानकता फेरि नदोहोरिएला भन्न कसले सक्छ र? त्यसैले यस्ता परिवर्तनहरूको विश्लेषण बेलैमा गरौँ र आफूले सक्दो प्रयास आफ्नो स्तर बाट थालौँ।


Share:

प्लाष्टिक: एक खतरनाक बोन्ड

 


प्लाष्टिक! अहिले विश्वस्तरमा हामीले सामना गरिरहेको सबै भन्दा घातक प्रदूषण यही हो त्यसमा कुनै अतिशयोक्ति रहेन। हाम्रो अभिन्न अङ्ग बनेर बसेको जो बिना हाम्रो काम नै नचल्ने गरी आवश्यक भनेको वस्तु बनिसकेको चिज हो प्लाष्टिक। सगरमाथाको उचाइ देखि मरियाना ट्रेन्चको गहिराइमा पुगेको यो प्लाष्टिक अब प्राणीहरूको कोषमा समेत प्रवेश गरिसकेको छ। हामीले खाने वनस्पति, प्राणीहरू र पिउने पानीमा नदेखिने गरी मिसिएको यो प्लाष्टिक शायद हाम्रो कोषमा समेत प्रवेश गरेको हुनुपर्छ जसरी अन्य प्राणी र वनस्पतिको कोषमा छिर्यो।

गत १९५० सम्म २.३ मिलियन टन प्लाष्टिक को उत्पादन गरेका हामी २०१९ मा आइपुग्दा ३६८ मिलियन टन उत्पादन गर्ने भयौँ भने २०५० सम्म त हामी यसको दुई गुणा पुर्याउने प्रक्षेपण गरिएको छ। प्रत्येक वर्ष समुद्रमा मात्र ८ मिलियन टन प्लाष्टिक जान्छ भने प्लाष्टिकका बोन्ड टुक्रिन औषतमा ४०० वर्ष लाग्छ।

मानिसहरूले प्रत्येक वर्ष टन का टन पुनः प्रयोग हुन नसक्ने प्लाष्टिक फाल्छन्। हुन त मानिसले जति प्लाष्टिक प्रयोगमा ल्याउछ त्यसको ९१ प्रतिशत प्लाष्टिक पुनः प्रयोग गर्न मिल्दैन र मिल्ने पनि पुन: प्रयोगमा ल्याउने खर्च भन्दा सस्तो र सहज पर्ने नयाँ उत्पादनलाई प्राथमिकता दिइन्छ। कोकाकोला (Coca-Cola) नेश्ले (Nastle) जस्ता कम्पनीहरु यस विषयमा आलोचित छन्। उनीहरूले विज्ञापनमा Recycled Plastics को बारेमा उल्लेख गर्छन् तर व्यवहारमा लागू गर्दैनन।

२०१९ मा गरिएको सफाई अभियानको एक प्रतिवेदन हेर्ने हो भने कोकाकोला विश्व नम्बर एक प्लाष्टिक प्रदुषक भएको थियो। छ बटै महादेशका ५१ वटा देशहरूको समुन्द्री किनारमा गरिएको ८४८ वटा सफाई अभियानमा ७२५४१ जना स्वयंसेवकहरु  खटिएका थिए। जसमा Coca-Cola सङ्ग समन्धित प्लाष्टिक फोहोर सबै भन्दा बढी  थियो। त्यसपछि Nestle, PepsiCo लगायत छन्।

हाम्रो देशकै अवस्था हेर्ने हो भने पनि यही तस्वीर हामीले देख्न सक्छौँ। हाम्रा डम्पिङ साइटहरुमा तयारी वस्तुहरूलाई प्याकेजिङ्ग गरिएका प्लाष्टिक कै मात्रा अत्यधिक छ। यसमा पनि उद्योगीहरुको जवाफ Coca-Cola कै जस्तो हुन्छ। यही प्रश्नको जवाफ दिँदै कोकाकोला ले भनेको थियो, "समुन्द्र अथवा कुनै पनि ठाउँमा हामी सङ्ग समन्धित प्लाष्टिक भेटिन्छ भनेपनि हामी यसको जिम्मेवार त कसरी हुन सक्छौँ र? जबकि यो लापरवाहीको जिम्मेवार त अर्को पक्ष होइन र? बरु हामीले यो गम्भीर समस्यालाई पहिचान गरेर सफाई अभियान देखि यी वस्तु हरु समुन्द्र अथवा कुनै पनि स्थानमा नपुगोस् भनेर अनेकौँ उपायहरू अपनाएका छौँ।"

हुन त उद्योगको यो प्रतिरक्षा पनि नाजायज नै हो भन्न त सकिन्न।प्लास्टिकका फोहोरहरुको व्यवस्थापनको जिम्मेवार त अरु पक्ष पनि त छन्। प्लाष्टिक बाहेक अरूले प्याकेजिङ्ग गर्दा बढ्न जाने लागत खर्चले बजार मूल्यलाई पनि त असर त गर्छ नै। जिम्मेबारी एकले अर्कोको काँधमा थोपरेर चोखिन खोजे पनि प्लाष्टिक प्रदूषणको समस्या र यसको गम्भीर परिणाम त सबैले भोग्नु त पर्छ। दोष एक अर्कोलाई पन्छाएर यो विश्वव्यापी गम्भीर खतराबाट जोगिने त कोई पनि होइन।

खोला नाला पाखा पोखरी सडक खेत खलियान हिमाल पहाड आँगन कोठा चोटा कहाँ छैन प्लाष्टिक। संसार प्लाष्टिकमय छ। हामीले २०१९ मा आइपुग्दा ३६८ मिलियन टन प्लाष्टिक उत्पादन गरेछौँ। युरोप एक्लैले ५७.९ मिलियन टन प्लाष्टिक उत्पादन गर्यो भने चीनले एक्लैले विश्वको ३१ प्रतिशत प्लाष्टिक र प्लास्टिकजन्य पदार्थको उत्पादन गर्छ। प्लाष्टिकजन्य पदार्थको ९१ प्रतिशत पुन: प्रयोग अर्थात् रिसाइकल गरिँदैन भने पछि यी कहाँ जान्छन् त? यहीँ जमीन पानी हावामा ती प्लाष्टिक विभिन्न स्वरूप र आकारमा थुप्रीदै जान्छन्।

प्लाष्टिक प्रदूषणको कारण समुन्द्री देखि स्थल प्राणीहरूको मृत्यु प्लाष्टिकका फोहोरमा अल्झिएर, खान नपाएर, प्लाष्टिक खाँदा पचाउन नसकेर विषाक्तताको कारणले धेरै भएको छ भने अहिले विभिन्न अध्ययनहरूले प्लाष्टिक टुक्रिएर बनेका सुक्ष्म कणहरू झनै घातक हुने देखाउँछन्।

प्लाष्टिक जब १ इन्चको पाँचौं भागमा टुक्रिन्छ त्यसलाई microplastics (सुक्ष्म कण प्लाष्टिक) अझ त्यो भन्दा पनि सुक्ष्म कणमा प्लाष्टिक टुक्रिन्छ तिनीहरूलाई nanopalstics (अति सुक्ष्म कण) भनिन्छ। यसरी अति सुक्ष्म कणमा प्लाष्टिक टुक्रने  कारण जैविक अजैविक दुवै हुनसक्छन्। ठूला आकारका प्लाष्टिक भन्दा यस्ता सुक्ष्म कणहरू झन् घातक हुन्छन्। यी टुक्रिएर नदेखिने हुनुको साथै एक ठाउँबाट अर्को ठाउँमा सहज तरिकाले पुग्छन् र विभिन्न सुक्ष्म स्तरमा अन्तरकृया गर्न सक्षम हुन्छन्।

वैज्ञानिकहरूले प्लाष्टिकका सुक्ष्म कणहरु साना साना crustaceans (Crabs, Lobsters, Shrimp, Crayfish, Prawns इत्यादि) देखि ठूला ठूला व्हेल माछाहरूका मांशपेशीमा फेला पारेका छन्। साना जिवमा थोरै भेटिएला तर ठूला जीवले साना जीवलाई उपभोग गर्दा ठूलै मात्रामा प्लाष्टिक पनि उपभोग गर्छन्।

जर्मनीको University of Bayreuth का अनुसन्धानकर्ताहरुको एक रिपोर्ट अनुसार प्लाष्टिकका अति सुक्ष्म कणहरू जीवित प्राणीहरूद्वारा उत्सर्जित कोषिय कणहरू (Biomolecules) को आवरणमा भेटिएका छन्। Science Advance नामक जर्नलमा प्रकाशित सो अध्ययनका अनुसार प्लाष्टिकका सुक्ष्म कणहरू २ देखि ४ हप्ता समुन्द्रको पानी या अन्य ताजा पानीमा रहे पछि प्राणीको कोषमा प्रवेश गर्नको लागि तयार हुन्छन्।  त्यसैले जति लामो समयसम्म ती पानीमा रहन्छन् त्यति नै जैविक कोषमा प्रवेशकोलागी यिनीहरू उपयुक्त हुँदै जान्छन्।

यसको लागि अध्ययनकर्ता वैज्ञानिकहरूले दुवै खाले पानी ताजा र समुन्द्रको नुनिलो पानीका कृतिम पोखरी बनाएर परीक्षण गरेका थिए। उनीहरूले  ३ माइक्रो मिटरका प्लाष्टिकका सुक्ष्म कणहरूलाइ केही घण्टा देखि ४ हप्ता सम्म ती पानीका पोखरीमा राखेका थिए। २ हप्तामा नै दुवै खाले पानीमा यसको प्रभाव देखिएको थियो। ताजा पानीको सतहको रङ्गनै परिवर्तित थियो भने नुनिलो पानीमा नुनहरु सतहमा जम्मा भएका थिए।

यसको अर्थ के हो भने ती प्लाष्टिकका सुक्ष्म कणहरू जैविक कणहरुको आवरणमा लुक्छन्। जब प्लाष्टिकका सुक्ष्म कणहरुले जैविक कणहरुलाइ अवशोषित गर्छन् उनीहरू जीवित कोषहरूमा प्रवेशको लागि उत्प्रेरकको कार्य गर्छन्। जति धेरै समय ती पानीमा रहन्छन् त्यति नै जैविक कणहरू अवशोषित हुन्छ त्यतिनै ती प्लाष्टिक सुक्ष्म कणहरू जीवित वस्तुको कोषमा प्रवेशको लागि योग्य हुँदै जान्छन्।

त्यसैले करोडौँ टन वर्षेनी हामीले खोला नाला देखि समुद्र प्लाष्टिकले भरेका छौँ। ती टुक्रिएर सुक्ष्म कणहरूको रुपमा पानीमा मिसिएर बसेका छन्। तिनले जलचरका शरीरका कोषहरूमा प्रवेश गर्ने त सामान्य नै भइहाल्यो। हामीले पानी र ती जलचरहरुको उपभोगको क्रममा हाम्रो शरीरका कोषले पनि प्लाष्टिक कणहरू लिएका छन्। त्यसको प्रभाव हामीले सोचे भन्दा धेरै गम्भीर छ।

इङ्गल्याण्डको University of Plymouth को अर्को अध्ययनले के देखाएको छ भने प्लाष्टिकका सुक्ष्म कणहरू जब समुन्द्री जीवको कोषमा प्रवेश गरे त्यसले तिनीहरूको DNA 🧬 को क्रमलाई तोडिदिएको छ। यसको फलस्वरूप ती प्राणीहरूको Gills, पाचन नलीहरू (Digestive tubes) हरु विकृत (Deformity) भएको अनुमान गरिएको छ। समुन्द्री सुक्ष्म जीवहरूको अवशोषण गरेको प्लाष्टिकका सुक्ष्म कणहरू खाद्य श्रृङ्खलाको तहमा रहेका सबै प्राणीहरू सम्म पुग्छन्। यसरी ती प्लाष्टिकका कणहरू हामी भित्र पिउने पानी देखि खाने खानाको स्वरूपमा सहज नै प्रवेश गर्ने भइहाले।

प्लास्टिकबाट समुन्द्र मात्र होइन हाम्रा नदी नाला पनि उत्तिकै प्रदूषित छन् भने हाम्रो जमीनमा पनि उत्तिकै थुप्रिएका छन्। अब प्लाष्टिकका सुक्ष्म कणहरूले जमीनमा भएका सुक्ष्म जीवहरू पनि बच्ने कुरा नरहने भयो। यी कणहरू ती जमीनी सुक्ष्म जीवको कोषमा पनि प्रवेश गर्ने भइहाले। चीनको Chongqing University का र फ्रान्सको National Research Institute for Agriculture, Food and Environment, INRAE का २ अनुसन्धानकर्ताहरुले २०२० मा एक अध्ययन गरेका थिए। जसमा उनीहरूले मानवबस्तीबाट टाढाको माटोमा एउटामा प्लाष्टिकका सुक्ष्म कणहरू मिसाइयो भने अर्कोमा यत्तिकै राखियो। पछि दुवै माटोमा रहेका सुक्ष्म जीवाणु देखि केही ठूला जीवहरूको तुलनात्मक अध्ययन गर्दा प्लाष्टिक मिसाइएको माटोमा रहेका केही जिवाणुहरुको इन्जाइम उत्पादन क्षमता उल्लेख्य मात्रामा वृद्धि भएको पाइयो।

यसको मतलब के हुन्छ भने माटोमा प्लाष्टिक कणहरुको उपस्थितिले पोषण प्रदान गर्ने क्षमता अर्थात् माटोको रासायनिक पदार्थहरुमा उल्लेख्य परिवर्तन भएको हुनु पर्छ। यसको असर अलि ठूला जीवहरू जस्तै धमिरा, कमिलाहरुलाई परेको हुनुपर्छ विशेषगरी ती जिवाणुहरु जसले जैविक पदार्थ कुहाउने कार्य गर्दछन्। किनकि त्यस्ता जीवहरूको जनसङ्ख्या उल्लेख्य रुपमा घटेको पाइएको छ। यसले माटोको उर्वराशक्ति मा झनै गम्भीर असर गर्छ। किनकि माटोको उर्वराशक्ति यस्तै सुक्ष्म जिवाणुहरुको क्रियाकलापमा भर पर्छ। यसले कृषि क्षेत्रको उत्पादकत्व र जैविक विविधतामा घातक असर पर्छ।

प्लाष्टिक को समस्या अब धेरै सुक्ष्म स्तरमा पुगिसकेको छ। यसबाट ठूला जीव देखि सुक्ष्म जीबहरुसम्म यसको विषाक्तता फैलिसकेको छ। प्लाष्टिक उत्पादन गर्दा निस्कने प्रदूषणको हिसाब किताब त अझै अर्कै छ। अमेरिकी सर्वेक्षण अनुसार १ केजी प्लाष्टिक उत्पादन गर्न झण्डै ६२ देखि १०८ mega joules शक्ति खर्च हुन्छ। एकातर्फ आवश्यक शक्ति उत्पादन र खर्च हुँदाको प्रदूषणको हिसाब त अर्को छ।

कार्बन अणुहरुको शक्तिशाली बोन्ड यो प्लाष्टिकको मनुष्य सङ्गको बोन्ड पनि त्यस्तै बलियो नै छ। हामीले प्लाष्टिक प्रयोगलाई निरुत्साहित गर्न सक्छौँ तर कमाउने लालच र सहजताको लोभले हामीले गर्न सक्ने पनि गरिरहेका छैनौँ। जसको लागि अहिलेका मानिसले कमाए भोलि यो प्लाष्टिकले ध्वस्त पारेको वातावरणमा कसरी बच्लान? के उनीहरूले हामीलाई सम्झेर गर्व गर्लान् त? प्रश्न अनुत्तरित नै छ। हामीले यी प्रश्न सङ्ग मुख लुकाएर बस्दैमा समस्या समाधान हुने त पक्कै छैन।

Share:

विज्ञान : एक गम्भीर उत्तरदायित्व


भनिन्छ विज्ञानले वास्तविकतालाई उजागर गर्छ। त्यो साँचो पनि हो तर विज्ञान या तर यसमा धेरै समस्याहरू नभएका होइनन्। कतिपय अवस्थामा वैज्ञानिक अनुसन्धान र वैज्ञानिक कथित विज्ञहरु बीच निष्कर्ष हरु बाझिने हुन्छ। कति त गलत अनुसन्धान पद्धतिको (Research Methodology) को कारणले हुन्छन् भने कतिपय वैज्ञानिक तथा अनुसन्धानकर्ताको आफ्नै सँज्ञान पूर्वाग्रह (Cognitive biasness) को कारणले हुन्छ।

यी भन्दा पनि खतरनाक अवस्था भनेको प्रायोजित वैज्ञानिक र अनुसन्धान अर्थात् प्रायोजन गर्दिने या अनुसन्धानको लागि पैसा स्रोत उपलब्ध गराउनेहरुको निजी स्वार्थ पोस्ने नियतले गरिएको अनुसन्धान हो। यसको एउटा जल्दो बल्दो उदाहरण अमेरिकी वैज्ञानिक Clair Cameron Patterson र त्यस्तै उद्योगपतिहरू बीचको १९६० र ७० को दशकमा चलेको Lead (Pb) Poisoning ले मानव स्वास्थ्य र पृथ्वीको वातावरणमा परिरहेको असरको समन्धमा भएको विवादलाई लिन सकिन्छ।

दोस्रो विश्वयुद्धको समयमा अमेरिकी आणविक हतियार विकास परियोजना The Manhattan Project मा भूगर्भ रसायनशास्त्री (Geochemist) का रुपमा Clair Cameron Patterson कार्यरत रहेका थिए। Clair Patterson उनको PhD सुपरिवेक्षक Harrison Brown सङ्गै सोही परियोजनामा सम्मिलित थिए। उनी सो परियोजनामा युरेनियमको नाभिकीय क्षयको (Atomic Decay) विश्लेषण गर्ने कार्य गर्थे। यही क्रममा उनी पृथ्वीको आयु पनि पत्ता लगाउने Harrison Brown को काममा उनले महत्वपूर्ण भूमिका खेलेका थिए। 

Patterson ले युरेनियम का निश्चित isotopes हरुको अणु क्षयिकरण (Atomic Decay) को गणितीय तथ्यहरुलाई पृथ्वीमा अहिले रहेका युरेनियम र लिडको मात्रा र स्थितिलाई पृथ्वीको रचना हुँदाको मात्रा र स्थितिलाई सटीक गणितीय समन्धको रुपमा स्थापित गर्न उनी सफल भएका थिए। यसै बाट पृथ्वीको आयु पत्ता लगाउन सकिन्छ भन्ने उनको तर्क थियो। आज यही विधिबाट पृथ्वीको होस् या आकाशीय पिण्डहरूको आयुको विश्लेषण गरिन्छ।

पृथ्वीको आयु पत्ता लगाउने क्रममा Clair Cameron Patterson ले जब Zircon का टुक्रामा रहेका युरेनियमका अणुहरुको क्षय (Atomic decay) भएर लिडमा Lead(Pb) रुपान्तरण (Transmutation) हुने दरको हिसाब किताब गर्दै थिए। लिडको मात्राको प्रत्येक पटक गरिएको जाँचमा धेरै असंगत नतिजा (Inconsistent results) मात्र आयो अर्थात् प्रत्येक पटक लिडको मात्रामा धेरै उतारचढाव आउँथ्यो। त्यसैले उनले कयौँ पटक धेरै विधि र निर्मलीकरणका उपाय अपनाउँदै प्रयोग जारी राखे। तर नतिजा त उस्तै असँगत नै रहिरह्यो। 

धेरै समय र अथक प्रयास पछी California Institute of Technology - Caltech को अत्यन्त उच्च, अत्यन्त स्वच्छ प्रयोगशालामा एक उल्कापिण्डमा रहेको लिडको मात्राको (जुन युरेनियम अणुको क्षयिकरणबाट लिडमा रुपान्तरण भएको थियो) संगत मापन (Consistent measurement) गर्न सफल भए जसले पृथ्वीको वास्तविक उमेर करिब ४ अर्ब ६० करोड भएको देखायो। 

यही क्रममा अब उनले अचम्मको कहिले नसोचेको परिस्थितिको सामना गर्नु पर्यो। पहिलाको परिक्षणमा आएको उच्च लिडको मात्रा र त्यसमा देखिएको उतार चढावले एक भयानक खतराको महसुस गरायो कतै त्यस्तो नजिताको पछाडि पृथ्वीको वातावरण मै रहेको लिडको मात्रा त जिम्मेवार छैन? यदि हो भने त यो निकै अस्वाभाविक रुपमा बढीरहेको छ। 

Patterson लाइ के थाहा थियो भने लीड एक विषालु धातु हो। यसले मानव र प्राणीहरूको स्वास्थ्यमा घातक प्रभाव पार्छ। यसले मानिसको शारीरिक मात्र नभई स्नायु प्रणालीमा समेत असर पार्दै मानिसको मानसिक स्वास्थ्यमा पार्ने असर झनै गम्भीर हुन्छ। त्यसैले उनले पृथ्वीको वातावरणमा अवस्थित लिडको मात्रा प्राकृतिक हो कि मानवीय कारणले हो भन्ने कुरा पत्ता लगाई छोड्ने निधो गरे। 

सो कुरा उनले १९५५ मा एउटा सम्मेलनमा प्रस्तुत गरे त्यसपछि पनि उनले यो नतिजालाई अनेक प्रयोग र विधि बाट परिष्कृत गर्दै लगे। २०१५ मा CalTech Media Relation ले प्रकाशित गरेको Getting the Lead Out नामक लेखमा उनको प्रयासबारे विस्तारमा उल्लेख गरिएको छ। 

उनले पृथ्वीमा लिडको मात्रा अप्राकृतिक रुपमा अति धेरै छ र यो मानवीय कारणले नै हो भन्ने त स्पष्ट पारे तर उनको प्रमुख चुनौती चाहिँ यसको स्रोतको पहिचान गर्दै त्यसमा स्पष्ट गणितीय समन्ध स्थापित गर्नु थियो।१९२० देखि नै पेट्रोलियम कम्पनीहरुले पेट्रोलियममा Tetraethyl Lead (C8H20Pb) मिसाएर Internal Combustion इन्जिनको कार्यमा सुधार ल्याइएको थियो। लिडको यस्तो प्रभाव थियो कि पानीका पाइपदेखि रङ्गहरू, खानाका डिब्बाहरु र बच्चाका खेलौनाहरु सबैमा लिड नै मिसाइएका हुन्थे। पत्र पत्रिका देखि रेडियो टिभीमा लिड मनुष्यको लागि बरदान जस्तै गरी प्रचार गरिएको थियो। लिड हाम्रो साथी भन्ने नारा नै भैसकेको थियो।

अब Patterson को अनुसन्धानको नजिताहरुले बिस्तारै उद्योगपतिहरुको निन्द्रा खल्बलिन थालिसकेको थियो विशेषगरी पेट्रोकेमिकल उद्योगहरूको। १९६५ मा Patterson ले Contaminated and Natural Lead Environments of Man नामक शोधपत्र प्रकाशित गरे। त्यसबाट जोगिन Ethyl Corporation ले अर्का वैज्ञानिक Robert A. Kehoe लाई लिड एकदम सुरक्षित छ, र बातावरणमा लिडको मात्रा प्राकृतिक रुपमै रहेको छ भनेर प्रचार गराउने अथक प्रयास गर्‍यो।

Robert A Kehoe ले विभिन्न प्रकाशन र कार्यक्रम मार्फत Clair Cameron Patterson को अनुसन्धानको विरुद्धमा आफ्ना अनुसन्धानहरु प्रस्तुत गर्न थाले। सबै उद्योगपति Patterson को विरुद्धमा लागि परे उनलाई पागल सावित गर्न कुनै ठाउँ बाँकी राखेनन्, उनका अनुसन्धानलाई चाहिने स्रोत र साधन सके जति रोके। तर Clair Cameron Patterson यस्को बिरुद्धमा डटेर नै लागे, अब उनले जसरी पनि पृथ्वीको वातावरणमा जुन स्तरको लीड को मात्रा छ त्यो नयाँ थपिएको हो जो नयाँ प्रदूषण (Fresh Contamination) नै हो भनेर तथ्य सहित प्रमाणित गर्नु पर्ने भयो। Patterson लाइ मानिसहरूले आलोचना मात्र होइन उनलाई उपहास र ठट्टाको पात्र बनाए। तर Patterson ले सबैलाई वास्ता नगरिकन आफ्नो अनुसन्धान जारी राखे। 

अब उनलाई ठोस प्रमाण चाहिएको थियो। यसलाई प्रमाणित गर्न उनले समुद्रको सतही पानीमा गहिरो पानीमा भन्दा सयौ गुना लिड रहेको पत्ता लगाए, पेरुको चिहानबाट १६०० वर्ष अघि गाडिएको मानिसको हड्डीमा अहिलेको भन्दा धेरै न्यून लिडको मात्रा रहेको प्रमाण प्रस्तुत गरे, एन्टर्टिकाको हिउको पहाड खोतालेर ३०० बर्ष पहिला खसेको हिउको परिक्षणबाट पनि उनले लिड प्राकृतिक रुपमा बातावरणमा फैलिएको नभै मानिसले उत्पादनगरेको लिडयुक्त बस्तुहरुले पृथ्वीको बातावरण विषाक्त बनाइरहेको छ भन्ने प्रमाणित गरिदिए। 

जब उनको यो शोधपत्र The Nature भन्ने जर्नलमा छापियो त्यसपछी पनि उनलाई उद्योगपतीहरुले बिशेषगरी पेट्रोकेमिकल उद्योगले खेद्न सम्म खेदे, उनका बैज्ञानीक अन्वेषणका सबै बजेट रोके, पागल नै साबित गर्न खोजे। तर उनको शोधपत्रमा औँला उठाउने ठाउँ चाहिँ थिएन। उनले स्पष्ट प्रमाण सहित पृथ्वीमा बढीरहेको लिडको मात्रा मानव उत्सर्जित प्रदूषण नै हो भनेर प्रमाणित गरिदिए भने यसको दुष्प्रभावहरुको बारेमा पनि प्रष्ट पारिदिए। 

यिनै प्रयासको फलस्वरूप उनको अनुसन्धानले के सावित गरिदियो भने उत्तरी गोलार्धको वातावरणमा लिडको प्राकृतिक स्तरभन्दा झण्डै १ हजार गुणा लिडको मात्रा रहेको छ। यसको स्रोत भनेकै Tetraethyl Lead मिसिएको पेट्रोलियम, कीटनाशक, खानेपानीका पाइप, तयारी खानाका डिब्बाहरु, रङ्गहरू आदि नै हुन्। यसले मानिसको शारीरिक र मानसिक स्वास्थ्य अति भयानक जोखिममा छन्।

यति बेला सम्म त उनलाई पनि मानिसहरूले सुन्न थालिसकेका थिए। उद्योगपतिहरुले प्रायोजित गरेका कथित वैज्ञानिक र अनुसन्धानहरुसङ्ग Patterson को प्रश्नको जवाफ थिएन तर Patterson सङ्ग लिड प्रदूषणको स्पष्ट प्रमाण थियो। अन्त्यमा सौभाग्यबश अमेरिकी बिभिन्न सस्थाहरु जस्तै अमेरिकी सेना (United States Army), The United States Department of Health & Human Services -HHS (स्वास्थ्य मन्त्रालय जस्तै) ,आणविक उर्जा आयोग (United States Atomic Energy Commission) र National Science Foundation(NSF) हरुका वैज्ञानिकहरू सहित केही अमेरिकी सांसदहरु उन्को पक्षमा बलियो सँग उभिए।

अन्त्यमा उनी सफल भए अमेरिकी संसद्ले १९७० मा Clean Air Act पास गर्यो। १९७७ मा घर रङ्गाउने रङ्गबाट र १९८६ मा Tetraethyl Lead पेट्रोलियम पदार्थमा पनि निषेध गरियो। १९२२ जुन २ मा अमेरिकाको Iowa राज्यको ग्रामीण इलाकामा जन्मिएका Patterson दोस्रो विश्वयुद्धको खतरनाक हतियार अणुबम निर्माण परियोजना The Manhattan Project हुँदै एक वातावरण योद्धाको रुपमा परिणत भए।२० औँ शताब्दीको सबै भन्दा गम्भीर प्रदूषण लिडलाइ प्रतिबन्धित गर्ने लक्ष्य हाँसिल गर्दै उनी १९९५ डिसेम्बर ५ का दिन अस्ताए। 

अहिले शक्तिशाली उद्योगपतीहरु सँग अधिकार छ। विश्वमा बैज्ञानीक अन्वेषण भन्दा चरमपन्थी बिचारधाराहरु र धर्मान्ध शक्तिहरू बढी भन्दा बढी शक्तीशाली हुँदै गइरहेछन। निकृष्ट लक्ष्य भएका उद्योगपति, चरमपन्थी र धर्मान्ध राजनैतिक नेतृत्वले स्वतन्त्र वैज्ञानिक अनुसन्धानलाई प्रभावित पार्न थालिसकेका छन्। जस्तो कि स्पष्ट रुपमा हामीले जलवायु परिवर्तनका प्रभावहरू देखिरहेका छौ, हाम्रो लोभ लालच र प्रदूषण, प्राकृतिक साधन स्रोतको अत्याधिक शोषण कारक तत्व हुन् भन्ने कुरा अब त बिना वैज्ञानिक अनुसन्धान पनि भन्न सक्ने अवस्था छ। तर पनि प्रयोजकहरु विभिन्न प्रपोगण्डा गर्न छोडेका छैनन्। हामी धेरै कुरामा सावधान सजग हुनु पर्ने अवस्था छ। 

त्यो बेलाको लिड प्रदूषण जस्तै अहिले प्लास्टिक हाम्रो लागि त्यस्तै गम्भीर प्रदूषण सावित भएको छ। प्लास्टिकका सुक्ष्म कणहरू आज पानीमा घुलिसकेका छन् प्राणीहरू र वनस्पतिको कोषमा पुगिसकेका छन्। त्यो बेला लिड प्रति रहेको झुकाव जस्तै प्लास्टिकलाई हामी त्याग्न नसक्ने अवस्थामा पुगेका छौँ भने उद्योगीहरु त प्लास्टिकको विरोध पनि सुन्न नसक्ने भइसकेका छन्। Patterson लाइ समयमा नसुनेर, अझ उपहास गरेर जुन गल्ती मानव समाजले गरेको थियो त्यो त आखिर सच्चियो। अहिले पनि पर्यावरणको पक्षमा बोल्नेहरुलाइ उपहास मात्र होइन आक्रमण नै गर्ने क्रियाकलाप बढीरहेको छ। समय र अवस्था बिग्रेर हातबाट फुस्कनु अघि सोच्नु पर्ने होइन र? 






Share:

पृथ्वी: निरन्तर गतिशीलता

 

तपाईँले jigsaw 🧩 puzzle खेल्नु भएको छ। हामी बोर्डमा विभिन्न टुक्राहरूलाई यता उता सार्दै एउटा निश्चित चित्र बनाउँछौँ। त्यस्तै झै पृथ्वी पनि त्यस्तै एउटा jigsaw puzzle बोर्ड हो। विभिन्न चित्र बनाइएका यसका गोटीहरू पृथ्वीका टेक्टोनिक प्लेटहरू हुन्। तिनै टेक्टोनिक प्लेटहरू माथि महासागरहरु र महादेशहरु स्थित छन्। हामीले puzzle का गोटीहरू सारे जस्तै ती विशाल प्लेटहरू पनि निरन्तर चलायमान हुन्छन्। एक आपसमा ठोक्किन्छन्, रगडिन्छन्, एक अर्काको तल माथि घुस्छन्। यसरी नै jigsaw बोर्ड मा चित्र बने जस्तै हामीले पृथ्वीको सहतको स्वरूप देख्छौँ। 

करीब ३० करोड बर्ष अघि पृथ्वीमा आज जस्तो ७ वटा महादेशहरु थिएनन(८ वटा जीलाण्डिया Zealandia सहित)। त्यो बेला एउटै वृहत महादेश थियो प्यान्जिया (Pangaea) थियो जसलाई एउटै वृहत माहासागर प्यान्थलासा (Panthalassa)ले घेरेको थियो। पृथ्वीको गर्भमा भैरहने गतिशीलताको कारण करीब २० करोड वर्ष अघि तीर यो प्यान्जिया टूक्रिन थाल्यो। 

पृथ्वीको मेन्टल Mantle मा फलाम, एल्मुनियम, सिलिका जस्तै अनेक धातु, चट्टान आदि बस्तुहरु अत्यन्त तातो र अर्धतरल अवस्थामा हुन्छन्। तिनै अर्धतरलमाथि तैरिरहेका ठुला ठुला ७ बटा स्ल्याबहरु छन्। तिनै स्ल्याबहरुलाई टेक्टोनिक प्लेट्स Tectonic plates भनिन्छ। तिनै टेक्टोनिक प्लेटहरुमाथि महासागरहरु र महादेशहरु रहेका छन्। ति टेक्टोनिक प्लेट्सहरुको गतिशीलताको कारणले यि महादेश र माहासागरहरु बिस्तारै टूक्रिदै गएर प्यान्जिया अहिले ७ महादेशको रूप लिएको छ भने प्यान्थलासा महासागर पनि त्यसरी नै विभाजन भएको छ।

पृथ्वीको mantle निरन्तर गतिशील छ र टेक्टोनिक प्लेटहरू पनि गतिशील नै हुने भएकोले कालान्तरमा पृथ्वीको यो रूप पनि त्यही गतिशीलताको कारण अर्कै हुनेछ। जब टेक्टोनिक प्लेट्सहरु एक अर्कोमा ठोक्किन्छन र एक अर्को संग घर्षण गर्छन अनि पृथ्वीका जमीनका आवरणहरु परिवर्तन हुन्छन। उदाहरणको लागि भारतीय टेक्टोनिक प्लेट तिब्बती टेक्टोनिक प्लेट या यूरेशियन प्लेट Eurasian Plate लाई धकेल्ने क्रममा सापेक्षित स्थिर तिब्बती प्लेटको मुन्तिर घुसिरहेको छ जसले Tethys sea टेथिस सागरलाई माथि उठाएर नेपाल र हिमालयको निर्माण भएको हो। हालसालै बढेको सगरमाथाको उचाइ पनि यही प्रक्रिया अन्तर्गत आउँछ।

हाम्रो हिमालय क्षेत्र अस्तित्वमा आउन थालेको आजभन्दा करिब ४ -५ करोड वर्ष पूर्वबाट हो। त्यो भन्दा अगाडि यो क्षेत्रमा (Tethys sea) टेथिस सागर अवस्थित थियो। कालीगण्डकीको किनारमा पाइएका र हाम्रा पूजाकोठामा सजीएका शालिग्रामहरु त्यसैका प्रमाणहरु हुन। तिनीहरू त्यसबेलाको समुन्द्री जीवहरूका जिवाशेष (Fossils) हरु हुन। 

टेक्टोनिक प्लेटहरुलाई गतिशील बनाउने शक्ति गुरुत्व नै हो। पृथ्वीको बाहिरी सतहबाट (Crust) भन्दा ६ किमी (समुन्द्री सतह) देखि ४० किमी (महादेशीय) भित्र भिषण तापमा पृथ्वी यो सबै पकाइरहेको हुन्छ। त्यो भागलाई मेन्टल (Mantle) भनिन्छ जसको मोटाई झण्डै २९०० किमी छ। यो भागमा फलाम, अल्मुनियम, सिलिका (Silicon dioxide) लगायतका विभिन्न यौगिकहरु अर्धतरल अवस्थामा हुन्छन्। जब टेक्टोनिक प्लेटहरू विशेषगरी महासागरीय प्लेट अर्को सङ्ग ठोकिन्छन्, सापेक्षित गरुङ्गो प्लेटहरू त्यही अर्धतरलमा डुब्छन्। यस प्रक्रियालाई Subduction भनिन्छ। जस्तो हामीले केही तरल पकाउँदा भाँडोको बीचमा बढी तापको कारणले पदार्थ माथि आउँछ भने किनाराको पदार्थ सापेक्षित काम तातो हुने हुनाले डुब्छ। यसले एउटा लगातारको प्रक्रिया सृजित हुन्छ। त्यसलाई हामी Convection Current भन्छौँ। हाम्रो भान्सामा त्यसलाई छड्किनु अर्थात् उम्लिनु भन्छौ। त्यस्तै पृथ्वीको मेन्टलमा पनि हुन्छ। त्यही Convection current ले गर्दा टेक्टोनिक प्लेटहरू निरन्तर चलायमान हुन्छन्। 

महासागरीय टेक्टोनिक प्लेटहरूको यो गतिशीलताले महादेशीय टेक्टोनिक प्लेटहरुलाई पनि टुक्राउने, धकेल्ने अर्को सङ्ग ठोक्काउने देखि घर्षण गराउने गर्छन्। जसले पृथ्वीमा नयाँ नयाँ संरचनाहरु बन्छन्, कति बनेका सरंचनाहरु भत्किन्छन्। प्लेटहरू ठोक्किँदा, घर्षण हुँदा टुक्रिदा जुन शक्ति निष्कासन हुन्छ त्यसले भूकम्पहरु जान्छन् भने crust च्यातिएर ज्वालामुखी मार्फत ती तातो तरल पृथ्वीको सतहमा आउँछन्। पृथ्वीको सतहमा पाइएका विभिन्न धातुहरू, खनिजहरूको स्रोत पनि यस्तै प्रक्रिया हो भने यसले पृथ्वीको गर्भ भित्र रहेका तत्वहरू र प्रक्रियाको बारेमा अध्ययन गर्न सकिन्छ। 

पृथ्वीको मेन्टल र बाहिरी केन्द्र (Outer core) मा हुने यही प्रक्रिया अर्थात् Convection Current को कारणले पृथ्वीको वरिपरि विशाल चुम्बकीय क्षेत्रको रचना पनि हुन्छ। पृथ्वीको सतह बाट झण्डै ३००० किमीको गहिराइ अर्थात् मेन्टलमा रहेका तरल फलाम र निकेल (Iron, Nickel) अनि यिनैका मिश्रणहरुको Convection Current ले विद्युतीय आवेशहरु (Electric Charges) हरु पैदा गर्छन्। जसले पृथ्वीलाई विशाल डाइनामो (Dynamo) मा रूपान्तरण गर्छन्। 

यही चुम्बकीय क्षेत्रले अन्तरिक्ष बाट निरन्तर अझ विषेशगरी सूर्य प्रेषित उच्च शक्तियुक्त कणहरू (High energy particles), र ब्रह्माण्डिय रश्मीहरु (Cosmic rays) हरुलाई पृथ्वीमा प्रवेश गर्न दिँदैन। त्यसैले पृथ्वीमा जीवन सम्भव भएको हो। नत्र यी तत्वहरूले पृथ्वीमा जीवनको सम्भावना नै शून्य बनाइदिन्थे। सूर्य प्रेषित उच्च शक्तियुक्त कणहरुले उच्च उच्च अक्षांशिय क्षेत्रहरू (High Latitude regions) अर्थात् ध्रुवीय क्षेत्रहरूमा पृथ्वीको चुम्बकीय क्षेत्रसँग अन्तरकृया गर्दै पृथ्वीको वायुमण्डलमा शक्ति सञ्चार गर्छन् जसबाट त्यहाँ सुन्दर Light Show देखिन्छ, जसलाई हामी ध्रुवीय प्रकाश (Polar Lights) भन्छौँ। 

यसरी पृथ्वीले आफ्नो रचनाको प्रक्रिया र आफु नि:सृत जीवनको रक्षा गर्दछ। भूकम्प, ज्वालामुखी जस्ता क्रियाकलापहरू पृथ्वीको सृजनशीलता र जीवित हुनुको प्रमाणहरू हुन् भने पृथ्वीमा निहित जीवनको सुरक्षाको प्रत्याभूति पनि हो। पृथ्वीको यही गुण सबै ग्रहमा पाइँदैन, त्यसैले त भनिन्छ नी त्यहाँ अहिले सम्म कुनै दोस्रो पृथ्वी छैन जहाँ गएर आफ्नो तारा सूर्य तिर फर्केर हामी जीवनको महसुस गर्न सकौँ। हाम्रो कर्तव्य र आवश्यकता पृथ्वीको जैविक विविधताको रक्षा गर्दै हाम्रो पर्यावरणलाइ कत्ति पनि बिग्रन नदिनु हो। 


Share:

रेडियोधर्मी वस्तु अनि हाम्रो चेतना


युरेनियम-२३८ को साँढे दुई किलो परिमाण सहित केही व्यक्ति पक्राउ परे। उनीहरुलाई विष्फोटक पदार्थ समन्धी कानुनी प्रावधानको आधारमा पक्राउ गरियो। खासमा यसको लागि छुट्टै कानुन बनाउनु पर्ने हो किनकी यस्ता रेडियोधर्मी पदार्थहरू सामान्य विष्फोटक पदार्थ भन्दा भिन्दै तथा निकै गम्भीर प्रकारका पदार्थहरू हुन्।

नेपालमा रेडियोधर्मी पदार्थहरू (Radio active substances) लाइ नियमन र प्रयोग समन्धि छुट्टै विशेष कानुनहरूको निर्माण गर्नुपर्छ भने माग विभिन्न क्षेत्रबाट नउठेको होइन तर सरकार फेरिए तर कसैलाई यसको बारेमा चासो छैन। बस नेपालमा युरेनियमको खानी छ भन्यो भाषण गर्यो तालिमै मख्ख पर्ने हाम्रा नालायक नेताहरुको बानी छ। हामी सामान्य जनतामा पनि ज्ञानको यति अभाव छ कि यूरेनियम जस्ता रेडियोधर्मी वस्तुहरू सुन जस्तै हुन् , यसको बेचबिखन गरेर देश तुरुन्त धनी हुन्छ। अझ यसको गहना लगाएर हिडौँला झै गरेका छन्। अझ रेडियोधर्मी वस्तुलाई खुल्ला राखेर सार्वजनिक गर्ने त्यसैसङ्ग फोटो खिचाउने हाम्रो उदेकलाग्दो चेतनाको स्तर छ। यसको बारेमा विज्ञानका विद्यार्थीले तुरुन्त यसको बारेमा सचेतना फैलाउनु पर्ने आवश्यकता देखिन्छ। 

रेडियोधर्मी वस्तुलाई नियमन गर्ने कानुनको अभावमा स्वास्थ्य क्षेत्र जस्तो Radiation therapy प्रयुक्त हुने कोबाल्ट -६०(Cobalt-60), उद्योग, निर्माण उद्योगमा जस्तो Non Destructive Testing (NDT) गर्दा Gamma Radiation लागि प्रयोग गरिने वस्तुहरूको प्रयोग पनि गर्न मुस्किल परिरहेको छ। प्रत्येक सरकारले पटक पटक त्रिभुवन विश्वविद्यालय प्राध्यापक देखि नाष्ट सम्मका वैज्ञानिक राखेर विज्ञ समुह बनाउँछ तर त्यो छलफलमा मात्र सीमित हुन्छ। यसको बारेमा धेरै चासो कसैले देखाउँदैनन्। 

रेडियोधर्मी विकिरण हामीले दिनदिनै सामना गर्ने विद्युत् चुम्बकीय विकिरण (Electromagnetic Radiation) होइन। अस्थिर भारी तत्वहरू जसको केन्द्रको (Nucleus) अस्थिरताले तिनीहरूले निरन्तर रुपमा सुक्ष्म कणहरू (subatomic particles) उत्सर्जन अर्थात् फ्याँकिरहेका हुन्छन्। त्यस्तो पदार्थलाई हामी रेडियोधर्मी वस्तुहरू (Radioactive Substances) भन्छौ। नाभिकीय बिकिरणहरु यस्तै रेडियोधर्मी वस्तुहरूको परमाणु क्षय हुँदा (Atomic decay of unstable heavy element) बाट उत्सर्जित हुने उच्च शक्तियुक्त कणहरू हुन्। यिनीहरूले उत्सर्जन गर्ने कणहरुका प्रकारका हामीले इनिहरुलाई निम्न भागमा वर्गीकरण गर्छौ।

१. अल्फा विकिरण (Alfa Radiation)

रेडियोधर्मी वस्तुहरूको केन्द्रबाट जब अत्यधिक विद्युतीय आवेश सहितको (with high electric charge) २ न्यूट्रोन र २ प्रोटोन (2N2P) अर्थात् हेलियम (Helium) तत्वको केन्द्र उत्सर्जित हुन्छ भने त्यसलाई अल्फा विकिरण भनिन्छ। यो धेरै मास (Mass) र धेरै विद्युत आवेश (electrical charge) भएको सबै भन्दा ढिलो गति भएको विकिरण हो जसलाई साधारण पातलो कागजले पनि रोकिदिन सक्छ किनकी यसको छेड्न सक्ने क्षमता (Penetration capacity) कम हुन्छ लामो दूरी तय गर्न पनि सक्दैन। तर यसको मास धेरै भएकाले प्राणीको कोषमा ठूलो क्षति (biological damage) गराउन भने सक्छ। जसले क्यान्सर जस्ता जोखिम मात्र होइन हाम्रो कोष भित्रको DNA समेत क्षति गर्छ। 

२. बेटा विकिरण (Beta Radiation)

रेडियोधर्मी वस्तुको केन्द्रमा रहेको न्यूट्रोन जब प्रोटोनमा परिणत हुन्छ त्यो बेला केन्द्रबाट इलेक्ट्रोन उत्सर्जित हुन्छ त्यसलाई हामी बेटा विकिरण भन्छौ। इलेक्ट्रोन धेरै हलुको हुने भएकाले यो विकिरणको मास पनि हलुकै हुन्छ भने विद्युतीय आवेश पनि हुन्छ। यसको छेड्न सक्ने क्षमता अल्फा विकिरणको भन्दा धेरै हुन्छ तरपनि पातलो धातुको पत्रले यसलाई रोक्न सकिन्छ।

३. गामा/ एक्स विकिरण (Gamma/X Radiation)

रेडियोधर्मी वस्तुको केन्द्रबाट उच्च शक्ति भएको प्रकाशकणहरु (Photons) उत्सर्जित हुन्छ जसलाई हामी गामा विकिरण भन्छौ। यो कुनै पदार्थले छोडेको साधारण प्रकाश जस्तो होइन यो सँग अति उच्च शक्ति भएकाले वरिपरिको वस्तुहरूलाई क्षति पूराउँछ। गामा विकिरणमा अति तिव्रगतिको कणहरू (Photon) जस सङ्ग कुनै विद्युत आवेश (Electrical charge) नहुने भएकाले यसले विद्युतीय क्षेत्रको उत्सर्जन (emissions of electric field) गर्दैन जसले गर्दा अन्य पदार्थहरूसँग अन्तर्क्रिया हुँदैन। त्यसैले यसलाई रोक्न अलि गाह्रो हुन्छ। गामा विकिरण रोक्न बाक्लो र सघन धातुको आवश्यकता पर्छ जस्तो Lead (Pb) को बाक्लो प्लेट

४. न्यूट्रोन विकिरण (Neutron Radiation) 

रेडियोधर्मी वस्तुको केन्द्रबाट न्यूट्रोन नै पनि उत्सर्जित हुन्छ जसलाई न्यूट्रोन विकिरण भनिन्छ। यो खालको बिकिरणमा कुनै विद्युत आवेश (Electrical charge) हुँदैन किनकि न्यूट्रोन आवेश विहिन (Chargeless) हुन्छ। त्यसैले यो पनि कुनै पनि पदार्थ सँग अन्तर्क्रिया नगरी लामो दूरीसम्म जस्तो किलोमीटर नै पनि यात्रा गर्न सक्छ। नाभिकीय भौतिकी (Nuclear Physics) मा यसको ठूलो महत्व छ। धेरै जसो रेडियोधर्मी वस्तुहरूको केन्द्रमा यही विकिरणले हिर्काएर नाभिकीय प्रतिक्रिया (Nuclear Reactions) गराइन्छ। आणविक भट्टिहरू, परमाणु बमहरुको प्रयोगमा शुरुवात गर्ने यही विकिरण हो। यसलाई रोक्न हाइड्रोजन (H2) को मात्रा बढी भएका वस्तुहरूको प्रयोग गर्नु पर्छ जस्तो पानी, प्लास्टिक आदि।


यी नाभिकीय विकिरण हरु सबै माथि उल्लेख गरिएको Ionizing raditions हरु हुन्। यिनीहरू मानव स्वास्थ्यको लागि अत्यन्तै हानिकारक छन्। यिनिहरुलाई न हामीले देख्न सक्छौँ न राम्रोसँग महसुस गर्न नै सक्छौँ। यिनीहरू जीवहरूको शरीरमा प्रवेश गर्दा शरीरको कोषहरूमा क्षति पुराइदिन्छन् जसले त्यो कोषको मृत्यु हुन्छ अथवा जुन नोक्सान हुन्छ त्यसले क्यान्सर, मुटुको रोगहरू लाग्छ। यसको असर विकिरणको मात्रा र प्रकार हेरेर लामो समयसम्म रहिरहन्छ। ठूलो मात्राको विकिरणले मानिसको छाला उप्किने, रौँ झर्ने देखि तत्काल मृत्यु हुने पनि हुन्छ। अझ सबै भन्दा खतरनाक अवस्था भनेको यिनीहरूले जनावरको DNA मा कुनै क्षति पुर्याए भने त्यसबाट जैविक सूचना (Genetic Informations) प्राप्त गर्ने त्यसको सन्तानहरू रोगी, अचम्मको स्वरूपको जन्मिन सक्छ। रुसको चेर्नोविल (Chernobyl) आणविक भट्टी विष्फोट पश्चात त्यहाँ फैलिएको विकिरणको कारणले मानिसहरू मात्र नभई अन्य जनावरहरू जस्तो माछाहरू समेतमा जैविक परिवर्तन हुँदा अचम्मका आकार र स्वरूपका जन्मिएका थिए भने क्यान्सर लगायत मुटु नशा समन्धि रोगहरुले मानिसले दुर्दान्त कष्ट भोग्नु परेको थियो। 

दोस्रो विश्वयुद्धमा जापानमा खसाइएको आणविक बमले अहिले पनि मानिसले अनेक स्वास्थ्य समस्या झेल्नु परेको छ, वनस्पति र अन्य जैविक विविधता समेतले यसको ठूलो मूल्य चुकाउनु परेको छ। जापानको फुकुशिमा, तात्कालिक सोभियत संघको चर्नोबील आदि जहाँ विद्युत् उत्पादनको लागि पानी तताउन राखिएका आणविक भट्टीहरु जहाँ यूरेनियम-२३५ जस्ता शक्तिशाली र सक्रिय रेडियोधर्मी तत्वहरू प्रयोग गरिएको हुन्छ ती विष्फोट हुँदा मानवीय क्षति मात्र होइन त्यो ठाउँ नै मानव बस्तीको लागि अनुपयुक्त भएका छन्। त्यहाँ उत्पादित वनस्पति र अन्य प्राणीहरूको पनि सम्पर्कमा आउन पनि नहुने हुन्छ। 


पृथ्वीले आफ्नो तापक्रम पनि यस्तै रेडियोधर्मी तत्वहरू जस्तो थोरियम-२३२, पोटासियम -४० , यूरेनियम -२३८ जस्ता तत्वहरूको अणु क्षयिकरण प्रक्रिया बाट नै उत्पन्न गर्छ। यी तत्वहरूको पछाडि लागेको जुन अंक छ जस्तो यूरेनियम -२३८, यो तत्वको केन्द्रमा रहेको न्यूट्रोन र प्रोटिनको कुल योगफल हो। जस्तो युरेनियमको केन्द्रमा प्रोटोनको सङ्ख्या ९२ हुन्छ भने न्यूट्रोनको संख्या १४६ हुन्छ। केन्द्रमा रहेको न्यूट्रोनको संख्याले त्यसको वर्ग निर्धारण गर्छ त्यसलाई त्यस तत्वको आइसोटोप (Isotope) भनिन्छ। जस्तो अर्को निकै सक्रिय र खतरनाक युरेनियमको प्रकार चाहिँ युरेनियम -२३५ हो जसको केन्द्रमा ९२ प्रोटोन सहित १४३ वटा न्यूट्रोन हुन्छ। माथि भनिए जस्तै परमाणु क्षयिकरण भनेको चाहिँ यसको केन्द्रबाट तिनै कणहरू उत्सर्जित हुने प्रक्रियालाई भनिन्छ। जस्तो युरेनियम -२३५ को अल्फा क्षय (Alpha decay) भयो भने यो Thorium -231 र Helium -4 मा परिणत हुन्छ र निश्चित शक्ति सहितको Gamma किरण उत्सर्जित हुन्छ। युरेनियम - २३८ लाइ न्यूट्रोनले यसको केन्द्रमा हिर्कायो भने यो युरेनियम - २३९ मा परिणत हुन्छ र यसबाट बेटा क्षय ( Beta decay) भएर यो Neptunium - 239 (Atomic no: 93) बन्छ फेरि यो पनि बेटा क्षय भएर यो Plutonium - 239 (Atomic no: 94) बन्छ जसलाई निकै शक्तिशाली आणविक हतियारमा प्रयोगमा ल्याइन्छ। 

यस्ता पदार्थहरू कोई धेरै छिटो अणु क्षयिकरण भएर नष्ट हुने या रूपान्तरण हुन्छन् भने कोई धेरै ढिलो क्षय हुन्छन्। प्राय छिटो क्षय हुने तत्वहरू धेरै अस्थिर हुन्छन् क्षय हुँदा ऊर्जा पनि धेरै निकाल्छन् भने ढिलो हुने सापेक्षित रुपमा कम ऊर्जा उत्सर्जित गर्छन्। कुनै निश्चित मात्रा तत्व क्षय भएर आधा बाँकि रहने समयलाई त्यस तत्वको अर्ध जीवन (half life) भनिन्छ। जस्तो Francium -223 (Atomic no: 87) को २२ मिनेट half life हुन्छ भने Uranium-238 को 10^16 वर्ष हुन्छ भने Uranium -235 को 703.8 million वर्ष तथा Plutonium -239 को 24100 वर्षको हुन्छ। त्यसैले यस्ता पदार्थहरूले निकै लामो समयसम्म विकिरणहरू फालिरहन्छन्। त्यसैले गर्दा यी तत्वहरू प्रयोगमा ल्याएको धेरै वर्ष पछि पनि यिनीहरूको असर कायम रहन्छ। त्यसैले आणविक भट्टीबाट निस्किएका यस्ता तत्वहरू, हतियारको रुपमा प्रयोग गरिएका या तयार गरिएका यस्ता वस्तुहरूको जोखिम मानव सभ्यताले अनन्त काल सम्म झेलिरहनु पर्ने नियति स्पष्ट छ।

त्यसैले यस्ता पदार्थहरुको प्रयोग तथा व्यवस्थापनमा ठूलो सावधानी र उच्चस्तरको ज्ञान, सीप, प्रविधिको आवश्यकता हुन्छन्। हामीले सुन जस्तो noble धातु जस्तै सोच्यौ भने ती तत्वहरूले हाम्रो सभ्यतालाई एक पलमा नाश गर्न सक्छन् भने भोलि आनुवांशिक विकृत प्राणीहरू मानवको जन्म पनि गराइदिन सक्छन्। त्यसैले यस्ता तत्वहरूको गलत प्रयोगलाई रोक्नु हामी सबैको कर्तव्य हो। हामीले शक्तिराष्ट्र हरुलाई पनि यस्ता तत्वहरूको प्रयोगको बारे निरन्तर खबरदारी गर्नु पर्छ। 





Share:

सिन्धु सभ्यताको विनाश : जलवायु परिवर्तन?

जलवायु परिवर्तनले प्राचीन सभ्यताहरूको उत्थान र पतनमा निकै उल्लेखनीय भूमिका खेलेको छ। बसाइँसराइ देखि खेतीको प्रकार र खानपान रहनसहन समेतमा यसको असर स्पष्ट देख्न सकिन्छ। विशेष गरी दक्षिण एसियाको एक महत्वपूर्ण सभ्यता सिन्धु उपत्यकाको सभ्यतामा मनसुनी प्रणाली र यसको आकस्मिक परिवर्तनले पुर्याएको असरलाई अहिलेका केही अध्ययनहरूले पुष्टि गर्दछन्। 

सिन्धु उपत्यकाको सभ्यता (Indus Valley Civilization) एक शानदार कास्य युग (Bronze Age) को सभ्यता थियो । यसका प्रमुख स्थानहरू हरप्पा (Harappa), मोहन जोदडो (Mohenjo-daro), धोलाविरा (Dholavira), गणेरिवाला (Ganeriwala), राखिगढी (Rakhigarhi) पर्छन् । आजभन्दा ४६०० देखि ३९०० (ई पु २६०० देखि १९००) सम्म वर्ष अगाडिको समयमा यो आफ्नो चरम विकासमा थियो ।

अहिलेको उत्खननबाट के देखिन्छ भने मोहन जोदडो र हरप्पा साठी हजार भन्दा बढी जनसंख्या रहेका, पानी, कुवा, ढल निकासको व्यवस्था भएका धेरै व्यवस्थित महनगरहरु थिए । तर यो ३३०० वर्ष (ई पु १३००) अघि तिरबाट पतन हुन शुरू भयो । 

यसका धेरै कारणहरू अनुमानहरु अहिले पनि अनुसन्धानको क्रममा छन् । ती मध्ये एक अनुमान जलवायु परिवर्तनलाई पनि मानिन्छ । Climate of Past नामक जर्नलमा छापिएको एक अनुसन्धान 4.2 ka BP climatic event ले पनि त्यही परिस्थितिलाई पुष्टि गर्छ।आजभन्दा ५४०० देखि ३००० वर्ष पहिले सिन्धु उपत्यकामा भएको वर्षाको प्रकृतिसङ्ग समन्धित तथ्यहरु सिन्धु नदीले अरब सागरमा मिसिदा बनेको डेल्टामा थुप्रिएका विभिन्न पत्रहरुको अध्ययनहरुबाट पाइएको छ, भने सागरको पिँधका पत्रहरुले हिउँदे वर्षा तथा बायुप्रणालिको बारेमा बताउँछन्। करीब ४२०० वर्ष अघि मनसुनी वर्षाको बेलामा त्यहाँ भिषण खडेरी भएको थियो जसले सिन्धु उपत्यकाको सभ्यतामा ठूलै उथलपुथल आएको थियो। 
अनुसन्धानकर्ता Prof. Michael Staubwasser ( University of Cologne) भन्छन् " यी नमुनाहरुको विश्लेषणबाट हामीले ४२०० वर्ष देखि ३९०० वर्ष पहिलेको वर्षे तथा हिउँदको वर्षाको प्रकृतिको बारेमा धेरै तथ्यहरु फेला पारेका छौ। ४१०० वर्ष पहिलेको समयमा त वर्षा त्यो समयको सबै भन्दा न्यून पनि पुगेको थियो। मानिसहरूले प्रशस्त वर्षाबाट एकएक चरम खडेरीको सामना गर्नु परेको थियो।" 

मोहन जोडदो जस्तो विशाल महानगरलाइ कृषि उत्पादन त आवश्यक नै हुने भयो भने विशाल नहरको माध्यमबाट नदीको पानी पनि आपूर्ति गरिन्थ्यो। एकाएक मनसुन रिभर्स सिफ्ट हुँदा भएको चरम खडेरीले अवस्था नाजुक हुन पुगेको थियो। जसले यो सभ्यतालाई चरम चुनौती दियो ती विशाल शहरहरू त्यागेर जनसंख्याको ठूलो मात्रा बसाइँसराइ गरेको हुनु पर्छ। 
त्यस्तै Chaos: An Interdisciplinary Journal of Nonlinear Science भन्ने जर्नलमा प्रस्तुत गरिएको शोधले जलवायु परिवर्तनको नै त्यसको पतनको कारण थियो भन्ने पक्षमा गणितीय प्रमाण नै दिएको छ ।

गणित वैज्ञानिक निशान्त मलिक (Rochester Institute of Technology) ले सो शोधमा मनसुन मौसममा आएको परिवर्तन (Shift in Monsoon season) र खडेरीले सो शानदार सभ्यताको पतनको शुरुवात हो भन्ने यथेष्ट गणितीय तथ्यहरु प्रस्तुत गरेका छन् ।

विभिन्न कालखण्डमा भएको मनसुनी वर्षाको स्तर, यसको प्रकृति र समयमा आएको परिवर्तनलाई आधार बनाएर गणितीय विश्लेषण गर्दा सिन्धु उपत्यकाको सभ्यताको उत्थान र पतनको एक स्पष्ट मार्गचित्र देखिन्छ। जसले यो सभ्यताको पतनमा मनसुनी वर्षातको प्रकृतिलाई प्रमुख कारण मान्न सकिन्छ। 
 
गुफाहरुका छतबाट पानी चुहिँदा खनिजहरूको एक संरचना बन्छ त्यसलाई भुइँमा बनेको संरचनालाई Stalagmite भनिन्छ भने छतमा झुन्डिए जसरी बनेकोलाई Stalactite भनिन्छ । हाम्रा गुफा हरुमा पनि त्यस्तो संरचनाहरु हुन्छन् जसलाई हामी गाईको थुन र शिवलिङ्ग तथा अन्य देवीदेवताको रूप भन्दै पूजा गर्छौं । ती संरचनाहरु हजारौं वर्षको समयमा बनेका हुन्छन् र बिस्तारै बढ्दै गइरहेका पनि हुन्छन् । 
त्यहाँ भएका खनिज तत्वका निश्चित आइसोटप (Isotopes) हरुलाई विश्लेषण गर्ने हो भने हामीले हजारौँ वर्षदेखि त्यो क्षेत्रमा भइरहेको वर्षातको स्तर पत्ता लगाउन सक्छौं । वैज्ञानिकहरूले त्यही Stalagmite को अध्ययनबाट सो क्षेत्रमा ५७०० वर्षदेखिको वर्षातको स्तरलाई आँकलन गर्न सक्षम भएका छन् । त्यही क्षेत्रमा रहेका गुफाहरुका तिनै संरचनाको अध्ययन गर्दै मलिकले गणितीय विश्लेषणबाट त्यो क्षेत्रको मनसुनी अवस्थाको आँकलन गर्न सफल भएका छन् ।
 
मलिकले आफ्नो शोधमा त्यो क्षेत्रमा भएको सो सभ्यताको उदय, विकास र पतनको समय अवधीहरुमा रहेको उल्लेख्य मनसुनी मौसमको परिवर्तनको तथ्यहरु विश्लेषण गर्दा एक निश्चित स्वरूप पत्ता लगाएका छन् । जस्तो कि यस सभ्यताको उत्थान र पतनको अवधिमा मनसूनको निश्चित Pattern स्पष्ट देखिन्छ । यस सभ्यताको पतनको बेला मनसुन पनि नियमित रुपमा Reverse Shift भएको थियो ।
 
शोधकर्ता मलिक भन्छन, प्राय "Paleoclimatic* तथ्यहरूलाई विश्लेषण प्राप्त हुने तथ्यहरु छोटो अवधिका साथै अनिश्चित र स्पष्ट हुँदैनन् । तर यसैलाई गणितीय मोडलिङ्ग को सहायताले पर्यावरणीय र यसको लामो अवधिमा हुने परिवर्तनशिलता समेत बढी सटीक ढङ्गले विश्लेषण गर्न सक्छौं जबकि यही कुरा Paleoclimatic विश्लेषणमा भने प्राय कठिन हुन्छ। त्यसैले गणितीय विधिबाट गरिने तथ्य विश्लेषणले नियमित समयक्रममा वातावरणमा आएको परिवर्तनहरू चाहे त्यो छोटो अवधिको होस् या लामो अवधिको, धेरै स्पष्ट र सटीक रुपमा आँकलन गर्न सकिन्छ ।
 
(*Paleoclimatology: ढुङ्गाहरू, हिउँका पत्रहरु, रुखका विशेषगरी फेदका भित्री पत्रहरुको, गुफाहरुमा थुप्रिएका खनिज आदिको विश्लेषण गरेर हजारौँ वर्ष अघि पृथ्वीको वातावरण कस्तो थियो भनेर अध्ययन गर्ने विधि हो।)
 
मलिक यहाँ कसरी वातावरणीय व्यवस्थाको गतिशील परिवर्तन भएको छ र ती दुर्लभ परिवर्तनहरू एक्कासी कसरी नियमित हुन पुगे भन्ने कुरामा बढी केन्द्रित छन् ।
 
ती तथ्यहरूलाई गणितीय मोडलिङ्ग गरेर अल्गोरिदमको सहायताले मलिकले त्यतिबेलाको वातावरणीय परिवर्तन र मनसुनको सराइलाई स्पष्ट रुपमा सिन्धु उपत्यकाको उत्थान र पतन दुवैमा तुलना गर्दा यो मेल खान्छ।
 
सिन्धु उपत्यकाको पतनको कारणहरुमा युद्ध, भूकम्प, व्यापारको स्थितिको परिवर्तन आदिलाई अनुमान गरिए पनि अहिलेको अनुसन्धानले यसको पतनको कारण जलवायु परिवर्तनलाई बलियो सँग उभ्याएको छ । मनसुन पछि पछि सर्दै जानु नै सिन्धु उपत्यकाको पतनको मुख्य कारण हुने सम्भावना प्रवल हुँदै गएको छ । यसैले गर्दा सिन्धु उपत्यकाका मानिसहरू बाध्य भएर त्यस ठाउँको परित्याग गर्दै अन्य स्थानमा बसाइँसराइ गरेको हुनुपर्छ । 
 
अहिलेका धेरै अनुसन्धानले रेशम मार्गमा रहेका धेरै शानदार सभ्यताहरू जुन एक समय अवधिमा धेरै समृद्ध र शक्तिशाली अवस्थामा पुगेका थिए, तिनीहरूको एकाएक पतन पनि युद्ध, व्यापारको अवस्थाको परिवर्तन भन्दा पनि जलवायु परिवर्तनको अवस्था थिए भन्ने कुरा देखाउँछन् । ती परिकल्पनालाई पनि मलिकको यो शोधले बल पुग्छ ।
 
हाल विश्वले भोग्नु परेको सबै भन्दा डरलाग्दो अवस्था पनि यही जलवायु परिवर्तनकै समस्या हो । अहिले पनि विभिन्न स्थानहरूमा भएका मानिसका बसाइँसराइहरु यसैको कारणले भएको स्पष्ट देख्न सक्छौं । त्यसैले जलवायु परिवर्तनले आजमात्र होइन इतिहासका विभिन्न काल खण्डका सभ्यताको उत्थान र पतन दुवैमा मुख्य भूमिका खेलेको छ। त्यसैले यसलाई गम्भीर रुपमा लिनु अबको मुख्य आवश्यकता हो ।
Share:

पृथ्वी: एक जीवन्त ग्रह


विभिन्न ठाउँमा रहेका तातो पानीका कुण्डहरुमा नुहाउँदा धेरै रोगहरू निको हुन्छन् भन्ने विश्वास नेपालमा मात्र होइन विश्वभरि नै रहेको पाइन्छ। जमीनबाट निस्किएका ती तातोपानीका मुलहरूको कारक के होला? यसको जवाफ हो स्वयम् "पृथ्वी"

पृथ्वी एक जीवित ग्रह हो। यो सुन्दा आश्चर्य पनि लाग्न सक्छ फेरि पृथ्वीसँग रहेको जैविक विविधता देखेर सामान्य पनि लाग्न सक्छ। तर ठीक सुन्नु भयो, पृथ्वी जीवित ग्रह हो जसले आफ्नै आन्तरिक भौगर्भिक क्रियाकलाप (Geological activity) बाट ताप उत्पन्न गर्न सक्छ। सबै ग्रह या आकाशीय पिण्ड त्यस्तो गर्न नसक्ने पनि हुन सक्छन्। जस्तो हाम्रो चन्द्रमाले त्यस्तो गर्न सक्दैन।

पृथ्वीको जति गहिराइमा गइन्छ त्यति नै तापक्रम बढ्दै जान्छ। यदि २५ किमी गहिराइमा पुगियो तापक्रम ७५० डिग्री सेल्सियस पुग्छ भने यसको केन्द्रको तापक्रम ४००० डिग्री सेल्सियस पुग्छ। विभिन्न प्रकारका भौगर्भिक क्रियाकलापहरुले गर्दा विभिन्न तातोपानीका कुण्डहरू,मुलहरुको मज्जा पनि हामीले लिन्छौँ। ज्वालामुखी देखि भूकम्पसम्म, तातो पानीका ती मूल र फोहोरा देखि कम्पासको सुई घुमाउने चुम्बकीय क्षेत्र र हाम्रो भान्सामा रहेको खाना पकाउने ग्यास देखि राजमुकुटमा झल्किने हिरासम्म सबैको कारक पृथ्वीको गर्भमा भएका हलचल नै हुन् जसले पृथ्वी स्वयंलाई विशाल शक्तिको स्रोत बनाउँछन्।

पृथ्वीको सतहमा तापशक्तिको औसत सञ्चार ८७ मेगावाट प्रति वर्ग मीटर हुन्छ जो सूर्यबाट प्राप्त शक्तिको १/१०००० भाग हुन आउँछ। यसको मतलब पृथ्वीले कुल ४७ टेरावाट तापशक्ति उत्सर्जन गर्छ जुन हजारौँ आणविक भट्टिहरुले उत्सर्जन गर्ने शक्ति हो। पृथ्वीको यो मौलिक तापशक्तिको स्रोतको बारेमा धेरै अनिश्चितताहरु थिए तर अहिले भने प्रमुख स्रोतहरु यस प्रकार छन्।

१. पृथ्वीको रचनाको क्रममा थुनिएको ताप (Heat trapped during Earth formation)

२. रेडियोधर्मी तत्वहरूको अणु क्षयिकरण (Atomic decay of radioactive substances)

३. भुगर्भमा स्थित विभिन्न सघन पदार्थहरू केन्द्र तिर डुब्दा हुने घर्षणले उत्पन्न ताप (frictional heating, caused by denser core material sinking to the center of the planet)

***

तापशक्ति उत्पन्न कसरी हुन्छ त्यो बुझ्नको लागि हामी १३ बिलियन वर्ष अगाडि फर्कनु पर्छ। ब्रह्माण्डीय शुरुवातको महाबिष्फोट (Big Bang) पश्चात पदार्थको रचना प्रोटोन (Proton), न्यूट्रोन (Neutron), इलेक्ट्रोन (Electron) र न्युट्रिनो (Neutrino) को स्वरूपमा भएको थियो। त्यसपछि झण्डै ३७०,००० वर्ष पश्चात पहिलो हाइड्रोजनको अणु बनेको हुनुपर्छ जब प्रोटोनले इलेक्ट्रोनलाई आकर्षित गरेको थियो। त्यति नै बेला अलि भारी अणु पनि बनेका हुनुपर्छ जस्तो ड्युटेरियम (Deuterium), हेलियम (Helium) इत्यादि। यो प्रक्रियालाई महाविष्फोटको अणुसंयोजन (Big Bang Nucleosynthesis) भनिन्छ।

सरल शब्दमा भन्ने हो भने यिनै हाइड्रोजन र हेलियमका अणुहरू नजिकिदैँ जाँदा अर्थात् गुरुत्वबलले तिनीहरूलाई बाँध्दा ताराहरु जन्मिए। यसको लागि करोडौँ वर्षहरू लाग्ने यो प्रक्रिया अहिले पनि निरन्तर चलिरहेको छ। विशाल ताराहरु जो आफ्नो जीवनकालमा त्यही हाइड्रोजन र हेलियमलाई संयोजन (stellar nucleosynthesis ) गर्दै प्रकाश र ताप उत्सर्जन गर्दै चमकन्छन्। जब यिनीहरुसँग यही इन्धन सकिँदै जान्छ यिनीहरू अर्को विष्फोटको (Supernova) को प्रक्रियाबाट गुज्रन्छन् र अझ भारी तत्वहरूको सृजना हुन्छ। तिनै सृजित तत्वहरूको बादलहरू गुरुत्वको कारण एकत्रित हुँदै ग्रहहरू जन्मिन्छन्। पृथ्वीको रचना पनि त्यसै प्रक्रिया बाट भएको हो। त्यही बेला ताप शक्ति पनि पृथ्वीमा थुनिएको थियो जुन अझै भुगर्भका विभिन्न तहमा निक्षेपित रहेको छ। 

***

पृथ्वीको रचना पनि त्यस्तै प्रक्रियाबाट भएकोले पृथ्वीको बनावट त्यति सहज त छैन तर ती सबै प्राकृतिक तत्वहरुको संयोजनले बनेको हुन्छ जसमा सबै भन्दा सरल तत्व हाइड्रोजन र भारितत्व युरेनियम (Uranium) छन् अर्थात्  पिरियोडिक टेबलका सम्पूर्ण तत्वहरू। ती तत्वहरू पृथ्वीका प्रत्येक पत्रहरूमा सजिएर बसेका छन्। पृथ्वीको रचनामा भारी र अस्थिर तत्वहरू पनि उल्लेखनीय मात्रामा पाइन्छन् जसले पृथ्वीलाई विशाल आणविक भट्टीमा रूपान्तरण गर्छन्। 

रेडियोधर्मी क्रियाकलाप पृथ्वीको सामान्य प्रक्रिया हो। पृथ्वीमा प्रत्येक बस्तु रेडियोधर्मी छन्। मानिसले समेत केही हजार मूलकण (Elementary Particles) हरू उत्सर्जन गर्छन्। हामीले कुन स्तर र घनत्वमा परीक्षण गरिरहेका छौँ त्यसमा रेडियोधर्मीताको तिब्रता भर पर्छ। अर्थात् Geiger counter को कान कति बटार्ने हो त्यसैमा भर पर्छ।

रेडियोधर्मिता विभिन्न प्रकारको हुन्छ, प्रत्येकले उत्सर्जन गर्ने मूलकणहरू, तिब्रता र शक्ति अलग अलग हुन्छन् जसलाई त्यसले निक्षेपण अर्थात् थुपारेको तापबाट मापन गर्न सकिन्छ। तिनै विभिन्न रेडियोधर्मी विकिरणहरु मध्ये बेटा विकिरण (beta radiation) बढी महत्वपूर्ण छ जसमा एउटा इलेक्ट्रोन र न्युट्रिनो (Neutrino) उत्सर्जित हुन्छ। इलेक्ट्रोन त उत्सर्जित हुनासाथ अवशोषित (Absorbed) भइहाल्छ तर न्युट्रिनो भने विभिन्न पदार्थहरुलाई छेडेर पार हुनसक्छ। पुरै पृथ्वी नै न्युट्रीनोको लागि पारदर्शी जस्तै हुन्छ। अन्तरिक्षबाट पनि अनगिन्ती मात्रामा न्युट्रीनोहरु बर्षिरहेका हुन्छन् र ती हाम्रो शरीर लगायत पृथ्वी हुँदै लगातार पार भएर जान्छन्। अर्थात् पृथ्वीको कुनै पनि गहिराइ न्युट्रीनोको लागि सामान्य हो। त्यसैले तिनै न्युट्रिनोहरुको अध्ययनबाट पृथ्वीको गर्भमा भएको प्रत्येक क्रियाकलाप विशेषत रेडियोधर्मी प्रक्रियाको बारेमा जानकारी प्राप्त गर्न सकिन्छ।

 ती अति सुक्ष्म कणहरुलाई Geoneutrinos भनिन्छ जुन पृथ्वीको गर्भमा भएको अणु क्षयिकरणबाट उत्सर्जित हुन्छन्। यिनीहरू पृथ्वीको सुदुर गहिराइको अध्ययन गर्ने माध्यम भए पनि यिनिहरुलाई पत्ता लगाएर अध्ययन गर्न कत्ति पनि सजिलो छैन। प्रमुख समस्या भनेको नै यसले पदार्थहरू सङ्ग अति न्यून अन्तरकृया गर्छ। तर पनि अहिले इनिहरुलाई आवश्यक मात्रामा पत्ता लगाउने संरचना चाहिँ उपलब्ध छ। 

Geoneutrinos विशेषगरी भारी तत्वहरुवाट उत्सर्जित हुन्छ जसको हाफ लाईफ (Half life) धेरै लामो हुन्छ जस्तो कि युरेनियम (Uranium), पोटासियम (Potassium) , थोरियम (Thorium) । उदाहरणको लागि युरेनियम - २३८ ले औसतमा ६ वटा न्युट्रीनो उत्सर्जित गर्छ जसले करिब ५२ मेगाइलेक्ट्रोनभोल्ट शक्ति वहन गर्छन् जसले सम्पर्कमा आएका पदार्थमा सोही शक्ति तापको स्वरूपमा निक्षेपण गर्छन्। प्रत्येक न्युट्रीनोले २ मेगाइलेक्ट्रोनभोल्ट शक्ति वहन गर्छ। १ मेगाइलेक्ट्रोनभोल्ट बराबर १.६ x १०^(-१३) जुल हुन्छ त्यसैले पृथ्वीको कुल तापक्रम पुग्नको लागि १०^२५ वटा परमाणु क्षयिकरण (Atomic decay) हुनुपर्छ।

पृथ्वीमा न्युट्रीनो हरु सबै दिशा तिरबाट बर्सन्छन्। त्यो पृथ्वीमै भएका अणु क्षयिकरण हुन् सक्छन् भने अन्तरिक्ष बाट पनि असङ्ख्य न्युट्रिनो हरु पृथ्वीमा वर्षिरहन्छन्। त्यसैले हाम्रो अगाडिको प्रमुख चुनौती भनेकै पृथ्वीको गर्भमा उत्सर्जित न्युट्रीनो कुन चाहिँ हो किनकि त्यो कुन दिशा बाट आइरहेको छ त्यो हामी भन्न सक्दैनौ। तैपनि हामीले ती अणु क्षयिकरणहरुको Energy Spectrum को Computer Simulation गर्दै पृथ्वीको विभिन्न तह समुहमा यसको घनत्व र स्थितिलाई विश्लेषण गर्न सक्छौं। जसलाई अध्ययन गर्नको लागि जापान, इटाली, अमेरिकामा स्थित विभिन्न Neutrino detectors हरुको सहायताबाट उपलब्ध तथ्यहरूको प्रयोग गरिन्छ। 

***

अहिलेसम्म हाम्रो गहिरो खानी भनेको जम्मा १० किलोमीटर गहिरो छ जबकि पृथ्वीको अर्धव्यास ६५०० किमी रहेको छ। यसको मतलब हामी आफ्नै पृथ्वीको बारेमा नगन्य मात्र जान्दछौ। हामीले पृथ्वीको गर्भमा हुने प्रक्रियाहरुलाई भूकम्पीय मापन प्रविधि (Seismic Measurements) बाट बुझ्छौ। यसैका तथ्यहरूको आधारमा पृथ्वीको संरचनालाई विभिन्न समुहमा विभाजन गरिएको हुन्छ। बीचमा केन्द्र (Core) जो भित्र अत्याधिक चापको कारण ठोस हुन्छ, बाहिर लेदो तरल outer core, तल्लो र उपल्लो Mantle अनि सबै भन्दा माथिको सतह Crust जसको बाहिरी सतहमा हामी हाम्रा जमीन र महासागरहरु स्थित छन्। 

पृथ्वीको mantle र outer core जो तरल छ त्यसमा भारी पदार्थहरू डुब्ने हलुका पदार्थ उत्रने गर्दै जाँदा एक निरन्तर लहर पैदा हुन्छ। जसले mantle माथि तैरिरहेका टेक्टोनिक प्लेट्सहरुलाई पनि गतिशील राख्छन् भने पदार्थहरू बीच घर्षण पनि निरन्तर हुन्छ। ती घर्षणहरुले ताप पनि उत्सर्जन गर्छन्। तिनै घर्षणको फलस्वरूप भूकम्प, ज्वालामुखीहरु पनि निरन्तर सक्रिय हुन्छन्। 

Mantle र outer core मा रहेका तरल धातुहरुको हलचलले ताप मात्र होइन पृथ्वीको चुम्बकीय क्षेत्र समेत पैदा हुन्छ। यही चुम्बकीय क्षेत्रले पृथ्वीलाई सूर्यबाट उत्सर्जित उच्च शक्ति र गति भएका खतरनाक कण हरुको वर्षाबाट पनि जोगाउँछ जसले पृथ्वीमा कार्बन आधारित जीवन सम्भव भएको छ। 

पृथ्वीको यही मौलिक गुणहरुले पृथ्वी एक जीवित ग्रह हो। जसले निरन्तर हाम्रो पालन पोषण गरिरहेको छ। करिब ४.६ बिलियन वर्ष देखि यो ग्रहको मुटु निरन्तर धड्किरहेको छ। पृथ्वीको यो ढुकढुकी हामीले पनि महसुस गर्न सक्छौँ। 


Share:

के हाम्रा पुर्खा प्रकृति प्रदत्त थिए?

 
हाम्रा पुर्खा प्रकृति प्रेमी थिए, हाम्रो धर्म, रीतिथिति र जीवनशैली प्राकृतिक थियो, प्रकृतिसँग सामञ्जस्य भएर उनीहरू जीवनयापन गर्थे भन्ने कतिपय दाविहरु गर्ने समुदायहरू पनि नभएका होइनन्। अहिले हाम्रो पुस्ताले गरेको प्राकृतिक विनाश देख्दा हामीलाई त्यस्तो लाग्नु स्वाभाविक पनि हो। हामीले कतै हाम्रा पुर्खाहरूको जीवनशैलीलाई अपनाउन नसक्दा यो प्रकृतिको विनाश भएको त होइन? हाम्रो मनमा प्रश्न उठ्न सक्छ। कतिपय विद्वानहरूले त्यस्तै सोच र धारणाको आधारमा अनेकन प्राकृतिक जीवन पद्धति भन्दै विभिन्न समुहहरु, संघ संस्था र सम्प्रदाय पनि बनाएका छन्। 

अब जिज्ञासा उठ्न सक्छ, के हाम्रा पुर्खा प्रकृति प्रदत्त जीवनशैली अपनाउँथे? के उनीहरू प्रकृतिसङ्ग सामञ्जस्य र एकाकार थिए त? यसैको बारेमा जति पनि अनुसन्धान भएका छन् तिनीहरूले त्यसो भन्दैनन्। बरु विपरीत निष्कर्ष निकाल्छन्। प्रकृतिमाथि दोहन र प्राणीका विभिन्न जाति तथा प्रजातिहरूको विनाश आधुनिक मानवको मात्र कुकर्म थिएन, यो खेल त झण्डै ४० लाख वर्ष अघि देखि मानव जातिका विभिन्न प्रजातिले खेल्दै आएका छन्। अहिले त त्यसको निरन्तरता मात्रै हो। 

प्राणीहरू विलुप्त हुने क्रम त हाम्रो प्रजाति अर्थात् आधुनिक मानव प्रजाति सेपियन (Homo sapiens) अस्तित्वमा आउनु पूर्व मानवका अन्य प्रजातिहरूकै कालमा शुरू भएको प्रमाणहरू फेला परेका छन्। तर आधुनिक मानव प्रजातिको विकासक्रम हेर्ने हो भने त यसले आफ्नो विस्तार यस्तो तिव्र र घातक दरमा गरेको देखिन्छ। यस क्रममा अन्य धेरै स्तनधारी प्राणीहरू सहित मानवका अन्य प्रजातिहरू समेत सेपियनको विस्तार क्रममा विलुप्त भयो जस्तो नियण्डरथल (Homo neanderthalensis) जो शारीरिकरुपमा सेपियन भन्दा निकै सुदृढ थियो।

विभिन्न कालखण्डका मानव बस्तिहरुमा प्राप्त भएका जिवाशेष (Fossil)हरुको अध्ययनका क्रममा जुन नियमित स्वरूप अर्थात् pattern देखिएको छ त्यसलाई मात्र सँयोग थिए भन्न सकिँदैन। हरेक महादेशहरु चाहे एसिया हो या अफ्रिका या उत्तरी अमेरिका देखि साइबेरिया या अष्ट्रेलिया या म्याडागास्कर टापु। जुनसुकै स्थानमा मानिसको यो प्रजातिले खुट्टा टेक्यो त्यसको लगत्तै त्यहाँका प्राणीहरू विशेषगरी विशालकाय स्तनधारीहरु विलुप्त नै भएका थिए।

Ecology Letters जर्नलमा छापिएको एक अनुसन्धान रिपोर्टमा अनुसन्धानकर्ता University of Gothenburg का वैज्ञानिक डा. सोरेन फर्वि (D.r Soren Faurby) भन्छन् , "हो साँचो हो हामीले  पहिलेका प्रजातिहरू र हाम्रै पुर्खाहरू भन्दा अत्याधिक दरमा पर्यावरण र पृथ्वीको नाश गरिरहेका छौँ तर यसको मतलब चाहिँ यो पक्कै होइन कि उनीहरू प्रकृतिसँग सामञ्जस्य थिए या प्रकृतिप्रदत्त जीवन यापन गर्दथे। हामीले अहिले जसरी प्राकृतिक साधन स्रोत माथि एकाधिकार स्थापित गरेका छौँ, त्यस्तै व्यवहार हाम्रा पुर्खाको पनि थियो।"

अष्ट्रेलियाको विशालकाय जीवहरूको विनाशलाइ हामीले आधुनिक मानव (Homo sapiens) ले छोडेको गम्भीर खतको रुपमा लिन सकिन्छ। पछिल्लो १० लाख वर्षका तथ्यलाई केलाउने हो भने पृथ्वीमा औसतन् हरेक १ लाख वर्षको अन्तरालमा हिमयुग अर्थात् Ice age आएको छ। पछिल्लो हिमयुग झण्डै आजभन्दा ७५००० वर्ष देखि १५००० वर्ष सम्म रहेको थियो। अष्ट्रेलियाका ती विशाल स्तनधारी Diprotodon जाे आजभन्दा १६ लाख वर्ष अघि देखि दशौं वटा हिमयुग जस्तो विषम परिस्थिति सफलतापूर्वक झेलेको प्राणी एकएक आधुनिक मानवले पाइला टेक्ना साथ करिब ४५००० वर्ष अघि विलुप्त भयो। त्यो त एउटा उदाहरण मात्र हो। यस सङ्गै झण्डै ९० % अष्ट्रेलियाका विशालकाय जीवहरू विलुप्त भएका थिए। तर समुन्द्रका विशाल जीवहरू त्यो बेला पनि फलिफुली रहेका थिए। त्यसैले यसमा जलवायु परिवर्तनकै हात थियो भन्ने सम्भावना यसैको आधारमा नकार्न सकिन्छ।

हीमयुगको अर्को विशालकाय स्तनधारी उनी हात्ती म्यामथ (Wolly Mammoth) जो साइबेरियाको तट देखि २०० किमी उत्तरी क्षेत्र Wrangel Island जो ध्रुवीय समुन्द्रमा स्थित छ त्यहाँ करोडौँ वर्षदेखि फलीफुली रहेको थियो आज भन्दा १०००० वर्ष पहिले बाट तिब्र गतिमा घट्न शुरू गर्यो जब आधुनिक मानिसको पाइला त्यहाँ पर्यो। अनि करिब ४००० बर्षबाट यो  विलुप्त नै भयो।

अष्ट्रेलिया कै उदाहरण दिने हो भने आज भन्दा करिब ४५००० वर्ष पहिले Eucalyptuses वनस्पति दुर्लभ थियो तर अहिले यो अष्ट्रेलियाको प्रमुख वनस्पति हो। यसको अस्वाभाविक फैलावटमा मानिसकै हात रहेको थियो। मानिसले आफ्नो बासस्थानको विस्तारको क्रममा आगो लगायो। ठूला रुख र झाडी मासिए पछि Eucalyptuses अग्नि प्रतिरोधी भएकाले यो सजिलै तिब्र गतिमा फैलियो। यसमा धेरै पोषक तत्व नहुने भएकाले यसले विशालकाय शाकाहारी स्तनधारी जनावरहरुलाई पर्याप्त भएन।

१६००० वर्ष अघि साइबेरियाबाट उत्तरी अलास्का हुँदै उत्तर अमेरिका पसेको आधुनिक मानवले प्रवेश गरेको २००० वर्ष बीचमा ठूलो दाह्रे बाघ (sabre-tooth tiger), ८ टन सम्म हुने विशाल Sloth, अमेरिकी रैथाने घोडा, उँट, म्यामथ र विशाल मूसा जातिका जनावरहरू सकिदियो जो दशौं लाख वर्षदेखि पृथ्वीको विषम वातावरणीय परिवर्तनहरू झेलेर सफलतापूर्वक फलिफूली रहेका थिए।


म्याडागास्कर टापु जो अफ्रिकाको पूर्वी तट बाट ४०० किमी पूर्व पर्छ त्यहाँ रहेका हात्ती चरा Elaphent bird (उड्न नसक्ने विशाल चरो), विशाल बाँदर (Lemur) आदी १५०० वर्ष अघि सम्म उत्कर्ष मै थिए तर जब मानिसले त्यहाँ पनि कदम राख्यो आज ती प्राणीहरू पनि इतिहासमै सीमित भए।

चाहे क्यारेबियन टापु हुन् या सोलोमन टापु हुन् या प्रशान्त महासागरीय टापु सबै तिर जहाँ जहाँ मानव प्रवेश गर्यो त्यहाँ यसले आफ्नो विनाश लीला मच्चाएको छ। अग्नि दहनको आधारमा उभिएको मानव बस्ती र कृषि क्रान्तिको आकार यति विस्तृत थियो कि पृथ्वीले आफ्नो जैविक विविधताको ठूलो भाग गुमाएको स्पष्ट छ। त्यस क्रममा  Sapiens पुस्तकका लेखक हरारी लेख्छन्, "पुर्खाको दुहाई दिँदै रुखलाई अङ्गालो मार्दै प्रेम प्रकट गरेर प्रकृति प्रेमी देखिने व्यक्तिहरूलाई विश्वास गर्न पर्दैन उनीहरू पनि त्यही आधुनिक मानव नै हुन्।"

यही अध्ययनका क्रममा अर्को तथ्य पनि फेला परेको छ जसले मानिसको मस्तिष्कको आकार र ती जनावरहरूको विलुप्त हुने दरमा उच्च सकारात्मक समन्ध छ। जति तिब्र गतिमा मानव प्रजातिको मस्तिष्क विकसित हुँदै गयो त्यति नै तिब्र गतिमा प्राणीहरूको विनाश भएको थियो जबकि त्यो समयमा त्यस्तो उल्लेख्य वातावरणीय परिवर्तन भएको थिएन जसले ती प्राणीहरुलाई जोखिममा पार्न सक्थ्यो। त्यसैले पूर्वी अफ्रिकामा भएको प्राणीहरूको विनाशलाई हाम्रो पुर्खाको क्रियाकलापसँग स्पष्ट जोड्न सकिन्छ।

मानिसले त्यो बेला दाह्रे बाघले मारेको शिकार मात्र चोरेन उसले खाद्य श्रृखलामा ठूलो हस्तक्षेप गर्यो। मांशाहारी शिकारी जनावरहरू त शिकार नपाएर नै सकिए होलान्। ती विशाल शाकाहारी स्तनपायी जनावरहरू पनि चरनको अभाव अनि लामो सन्तानोत्पादन अवधिको कारणले गर्दा जोगिन सकेनन्। अर्थात् ती प्राणीहरूको सन्तानोत्पादन दर पनि कम र अवधि पनि धेरै हुने हुँदा एउटा आमा जनावरको मृत्युले जनसङ्ख्यामा उल्लेखनीय कमी ल्याउँछ।

अहिलेका अध्ययनहरूले त बढ्दो शहरीकरण, बन विनाश, प्रकृतिक साधनको दोहन र गम्भीर प्रदूषणले जैविक विविधताको धेरै ठूलो भाग चाहे जमीन होस् या समुन्द्री होस् तिब्र गतिमा नष्ट गरेको प्रत्यक्ष देखाउँछन्। अहिले त मानव प्रजाति आफै जोखिममा परेको छ। तर यो मानवले अहिले आएर गरेको क्रियाकलाप चाहिँ होइन, यो त लाखौं वर्षदेखि आफ्नो क्रम विकासको निरन्तरतामा गर्दै आएको हो। अझ Homo sapiens को अघि त मानवकै अन्य प्रजाति समेत टिक्न सकेनन्। अहिले मानवको यही प्रजाति मात्र जीवित छ। तर कहिले सम्म? यो प्रश्न त अहिले Sapiens आफैलाई चुनौती बनेको छ।

Share:

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

About Me

My photo
देउराली, चिती, लमजुङ्ग, गण्डकी , Nepal

Translate