A diary of Pedestrian on Mother Nature

बाजी : कथा अनुवाद

 



The Bet : Anton Chekhov, Translation: Deepes Moorti Pant

शरद ऋतुको अँध्यारो रात थियो एउटा बुढो बैंकर आफ्नो अध्ययन कक्षमा टहलिदै १५ बर्ष अघीको यस्तै शरद ऋतुको एक साँझ सम्झने प्रयास गर्दै थियो जुन दिन उसले एउटा भोजको आयोजना गरेको थियो। त्यो साँझ भोजमा धेरै बुद्धिजिवीहरु धेरै निकै चाखलाग्दा बिषयमा छलफल गरिरहेका थिए, त्यो मध्ये एक बिषय मृत्युदण्ड पनि थियो। 

त्यहा उपस्थित अधिकांश पाहुनाहरू पत्रकारहरू र बुद्धिजीवीहरू थिए उनिहरू मृत्यूदण्डको बिरुद्धमा थिए। उनिहरू यस्तो सँजाय रुढीवादी, अनैतिक र कुनै पनि क्रिश्चीयन राज्यको लागी उपयुक्त छैन भन्ने सोचाइ राख्थे भने कसैको बिचारमा मृत्युदण्डलाई विश्वब्यापि रुपमै जन्मकैदले प्रतिस्थापन गर्नु पर्छ भन्ने थियो। "म तपाईंसँग सहमत छैन", बैँकरले भन्यो "यि दुबै सजायहरु मैले प्रयोग गरेको त छैन तर जन्मकैद भन्दा मृत्‍युदण्ड बढी नैतीक र मानविय छ किनकी मृत्‍युदण्डले तुरुन्त मार्छ तर जन्मकैदले बिस्तारै र भन्नुहोस् कुन सँजाय बढी नैतीक छ् जसले तुरुन्त मार्छ कि बिस्तारै धेरै बर्ष लगाएर तड्पाइ तड्पाइ? त्यस्तैमा एउटा पाहुनाले भन्यो "दुबै उस्तै अनैतीक र आमानविय छन, दुबैको लक्ष्य अर्काको ज्यान लिने नै हो, राज्य भगवान होइन जुन कुरो यसले फिर्ता गर्न सक्दैन यसलाई त्यो लिने अधिकार पनि छैन" 

पाहुना मध्ये एक युवा वकिल जो त्यस्तै २५ बर्ष हाराहारीको हुँदो हो भन्यो,"दुबै मृत्‍युदण्ड र जन्मकैद बराबर अनैतीक र अमानविय छन तर मैले रोज्नु परे म जन्मकैद नै रोज्छु किनकी मर्नु भन्दा त जसरी भए पनि बाच्नु नै उपयुक्त हुन्छ"

यसरी छलफल उत्कर्षमा पुगेको थियो, बैँकर पनि त्यतीबेला युवा र अली बढी आक्रामक उत्सुक थियो निकै उत्साहित हुदैं टेबल ठोक्दै चिच्यायो," म २० लाखको बाजी लगाउछु कि तिमी ५ बर्ष पनि एकल बन्दीगृहमा बस्न सक्ने छैनौ" सो युवा वकिलले भन्यो "इमान्दारिता साथ भनेको हो भने यसको लागि म ५ बर्ष होइन १५ बर्ष बस्न तयार छु"। "१५ बर्ष" बैँकर चिच्यायो, "भद्र भलाद्मी हो, मैले २० लाख दाउमा राखे" युवकले पनि भन्यो,"ठिक छ तपाईं आफ्नो लाखौं दाउमा लगाउनुस् म आफ्नो स्वतन्त्रता" यसरी एउटा जङ्गली र अनर्थक बाजी लगाइयो। 

बैँकर यस्तो खराव बेबकुफ बाजी जसमा उसको लागि २० लाख केही थिएन अत्यन्त खुशी थियो। उसले रात्रीभोजमा युवकलाई गिज्याउदै भन्यो, "अझै राम्रो सँग सोच अझै समय छ, २० लाख त मेरो लागि तुच्छ हो तर तिमी बेकारमा आफ्नो अमुल्य ३ ४ बर्ष त्यसै खेर फाल्दै छौ। मैले ३ ४ बर्ष भने किनकी तिमी त्यो भन्दा बढी बस्न सक्ने छैनौ किनकी हे दु:खी आत्मा अनिवार्य कैद भन्दा स्वैच्छिक कैद काट्न धेरै गार्हो हुन्छ, तिमी स्वतन्त्र भएर बाच्ने अधिकारको बिचारले मात्रपनी तिमीलाई कैदमा तिम्रो सम्पूर्ण अस्तित्वलाई विषाक्त गर्ने छ, मलाई क्षमा गर"

बैँकर यता उता गर्दै १५ बर्ष अघिको कुरो सम्झिरहेछ, आँफैलाई प्रश्न गरिरहेछ, "कुन उद्धेश्यले त्यस्तो बाजी राखियो, यसले त्यो ब्यक्तीलाई १५ बर्ष र मलाई २० लाख अनाहकमा खेर फाल्दा के राम्रो भो? के यसले मृत्‍युदण्ड जन्मकैद भन्दा राम्रो या नराम्रो भनेर सावित गर्न सक्छ? अँह सक्दैन यो बाजी पूर्णतया निरर्थक र अर्थहिन बाजी थियो। मेरो तर्फबाट पुल्पुलिएको मान्छेको उन्माद थियो भने त्यस्को तर्फ बाट २० लाखको लालच"

अनी उसले सम्झियो कि त्यो रात के के भयो। सो युवकले तय गरिएको बर्षहरु बैँकरकै बगैँचामा रहेको सानो घरमा निकै कडा पहरामा बिताउनु पर्ने निर्णय गरियो। सो युवकले सो घरको दैलो काट्ने छैन, कुनै मानिसलाई देख्न भेट्न नपाउने, कुनै पनि मानिसको आवाज पनि सुन्न नपाउने र चिट्ठी समाचारपत्रहरु पनि पनि नपाउने कडा शर्त राखियो। तर उसले वाद्ययन्त्रहरु र पुस्तकहरु भने उपलब्ध गरिने, उसले चिट्ठीपत्रहरु लेख्न पठाउन, रक्सी पिउन र धुम्रपान गर्न भने अनुमती दिइयो। सम्झौता अनुसार युवकले सो घरमा रहेको सानो झ्याल जुन यही उद्देश्यका लागि बनाइएको थियो त्याहाबाट मात्र बाहिर संपर्क गर्न सक्थ्यो।

उसले माँगे अनुसार बिभिन्न प्रकारका पुस्तकहरु, वाद्ययन्त्रहरु रक्सीहरु त्यही झ्यालबाट माग गर्थ्यो अनी त्यही बाट माँगे जती पाउथ्यो।त्यो सम्झौता पत्रमा प्रत्येक सामान्य भन्दा सामान्य विवरणहरु उल्लेख गरिएको थियो जसमा उसको कैदी जीवन अत्यन्त कडा एकान्तमा ठीक्क १५ बर्ष बिताउनु पर्ने जुन नोभेम्बर १४ १८७० को बाह्र बजे देखी शुरु भएर नोभेम्बर १४ १८८५ को बाह्र बजे समाप्त हुन्थ्यो। यि शर्तहरुको सामान्य उल्लँघन तोकिएको समय भन्दा २ मिनेट अघी भए पनि बैन्कर २० लाख तिर्नुपर्ने दायित्व बाट मुक्त हुन्थ्यो।

कारावास जीवनको पहिलो बर्ष उसका नोटहरु बाट उ एकदमै एक्लोपना र अवसाद अर्थात डिप्रेसन बाट ग्रस्त छ भनेर जो कसैले पनि अनुमान गर्न सक्थ्यो। त्यो सानो घरबाट दिन रात पियानोको आवाज लगातार सुनिन्थ्यो। उसले सुर्तीजन्य र रक्सी लिन अस्विकार गर्यो किनकी उसले लेखे अनुसार इनिहरुले मान्छेका इच्छाहरुलाई बढाउछन, उक्साउछन जुन एउटा कैदीको लागि गम्भिर शत्रुहरु हुन साथै राम्रो रक्सी एक्लै पिउनु र कसैलाई भेट्न नपाउनु भन्दा जीवनहिन अरु केही हुन सक्दैन र धुम्रपानले उसको कोठाको बातावरण बिगार्छ। 

पहिलो बर्ष उसलाई प्रदान गरिएक पुस्तकहरु प्राय हल्का थिए, जटिल प्रेमकथा भएका, काल्पनिक,सनसनिखेज र हास्यप्रधान कथा भएका उपन्यासहरु थिए। 

दोस्रो बर्ष पियानो बज्न छोड्यो र उसले शास्त्रीय संगीतमात्र मगायो। पाँचौ बर्ष फेरी संगीत गुन्जिन थाल्यो, उसले रक्सी मगायो। झ्यालबाट चिहाउनेहरुले भने अनुसार ति बर्षहरु उसले खाने, रक्सी पिउने र ओछ्यानमा हाइ काडेर पल्टिएर मात्र बितायो र उ प्राय आँफैसँग रिसाएर झर्किन्थ्यो, उसले केही गरेन। उसले कुनै किताबहरु पढेन। कहिलेकाही राती उ घण्टौ लेख्थ्यो र बिहान ति सबै च्यातचुत पारेर फाल्दिन्थ्यो। उ रोएको पनि सुनिन्थ्यो।

छैटौ बर्षको अन्तिम ६ महिना उसले अत्यन्त उत्साहका साथ बिभिन्न भाषा, दर्शनशास्त्र र ईतिहास पढ्न थाल्यो। उसले यसरी गहन अध्ययन गर्न थाल्यो कि ब्यान्करलाई ति पुस्तकहरु जुटाउन धरै मेहनत गर्नु पर्‍यो। उसले ४ बर्षमा ६०० संस्करणहरु किन्नु पर्‍यो। यही अवधीमा ब्यान्करले उसले लेखेको एउटा पत्र पायो, "मेरो प्यारो जेलर, मैले यि हरफहरु बिभिन्न ६ वटा भाषामा लेखेको छु। यसका विशेषज्ञहरुलाइ पढ्न लगाउनु, यदी उनिहरुले यसमा कुनै पनि गल्ती फेला पारेनन भने एक गोली बगैचामा चलाईदिनु जसले मेरो यो प्रयास सफल भएको मैले थाहा पाउने छु। बिभिन्न उमेरका बिभिन्न देशका विद्वानहरुले भिन्न भिन्न भाषा बोल्छन तर उनिहरुमा एउटै ज्योति बलेको हुन्छ, यदी हजुरहरूले यो बुझ्नु भयो भने यसले मैले पनि उनिहरुलाई बुझ्न सक्छु भनेर मेरो आत्माले अलौकिक आनन्द प्राप्त गर्ने छ" कैदीको इच्छा पुरा गरियो बगैचामा एउटा गोली चलाइयो।

अनि १० औं वर्षपछी उ निश्चल भएर पढ्ने टेबल अघि निकै एकाग्र भएर बाइबल पढीरह्यो। जसले चार बर्षमा ६०० पुस्तक शृंखलाहरूमा निपूर्णता हासिल गर्यो लगभग एक वर्ष एउटा पुस्तकमा अल्झेको देखेर बैंकर छ्क्क पर्यो। त्यस पछी त्यो बाइबल छोडेर उसले धर्म र धर्मशास्त्रका इतिहास समन्धी पुस्तक पढ्न थाल्यो। 

कैदका पछिल्ला २ वर्ष उसले असाधारण तरिकाले अध्ययन गर्न थाल्यो उसले प्राकृतिक बिज्ञान, रसायनशास्त्र, चिकित्सा बिज्ञानका पुस्तक सहित सेक्सपियर र बाईरोनका पुस्तक र दर्शनशास्त्रका पुस्तकहरू यसरी पढ्यो यस्तो लाग्थ्यो की कोई समुँन्द्रमा आफ्नो ज्यान बचाउन छटपटाऊँदै भत्केको जाहाजका अवशेष हरू भने पनि समातीरहेको छ। 

बैंकर यो सब सम्झीरहेको छ, भोली १२ बजे उ स्वतन्त्र हुने छ। मैले शर्त अनुसार उसलाइ २० लाख तिर्नू पर्छ। म त सदाका लागी बर्बाद हुने छु। 

१५ वर्ष अघि उ सँग धेरै लाखहरू थिये तर उसलाइ सम्पति र ऋणको हिसाब आफैलाइ सोध्न पनि हिचकिचाहट हुन थालीसकेको छ।जोखिमयुक्त शेयरबजार, सट्टेबाज़ीबाट अहिले बुढो हुदा पनि आफुलाइ अलग राख्न सकेको छैन जसले उसको ब्यबसाय धराशायी भैसकेको छ। उ पहिलाको आत्मविश्वाशी, निडर र घमण्डी ब्यक्ति अहिले बजारमा आएको सामान्य उतारचढ़ाव बाट पनि थरथर काप्ने भएको छ। 

"त्यो अभिशप्त बाजी" बुढो आफ्नो कपाल लुछ्दै बढबढायो " त्यो अहिले सम्म किन मरेन? त्यो भर्खर ४० वर्षको भएको छ।त्यसले मेरो बचेको सम्पति पनि लग्ने भो। त्यसले बिहे गर्छ, शेयरबजारमा लगानी गर्छ, मलाई आरिशे मगन्ते बनाउने भो अनि दिनदिनै मलाई त्यसले मेरो यो सुखी जीवन तपाइले गर्दा भएको म तपाइलाइ सहयोग गर्न चाहान्छु भनेर कति सुनाउला।ओहो यो सहन सकिदैन, म टाट पल्टन र त्यो अपमानबाट जोगिन त्यसले मर्नै पर्छ।" 

घडिले ३ बजेको घण्टी बजायो।बैंकर सुनिरह्यो, त्यो घरमा सबै सुतिरहेछन, बाहीर चिसिएका रूखहरूका सूक्सुकाहट मात्र सुनिएको छ। उसले आवाज नआऊने गरी बिस्तारै दराजबाट जुन उसले १५ बर्षदेखी खोलेको थिएन साँचो निकालेर आफ्नो ओभरकोटको गोजिमा राख्यो र घरबाट बाहिर निस्कियो। 

बगैचा चिसो र अध्यारो थियो। पानि परिरहेको थियो। आद्र हावाको चिच्याहटले रूखहरूलाइ एक छिन आराम गर्न दिएको छैन। बैंकरले आँखा च्यातेर हेर्दा पनि न भुई देख्न सक्थ्यो न त्यो सेतो मूर्ति न बगैचाको सानो घर न त रूखहरू नै। बगैचाको कुनामा पुगेर उसले सुरक्षा गार्डलाई २ पल्ट बोलायो तर कुनै प्रत्युत्तर पाएन। शायद खराब मौसमले गर्दा गार्डले भान्सा या हरितगृह तिर आश्रय लियो होला अनि त्यही निदाएको हुनु पर्छ। 

"यदि मैले आफ्नो इरादा पूरा गर्ने साहास गरें भने शंका त सुरक्षा गार्ड माथी नै जान्छ" बुढोले सोच्यो। अध्यारोमा बुढो बिस्तारै बगैचाको कुनोको मार्गतिर बढ्यो, सलाइ कोर्यो, त्याहा तन्ना नभएको खाट छ, कुनामा फलामको कालो चुलो झुण्डिरहेको छ। कैदिको कोठाको ढोकामा लगाइएको छाप पनि जस्ताको तस्तै छ। 

सलाइ बिस्तारै निभ्यो, बुढो भावनाले गर्दा थरथर काँपीरहेछ। उसले बिस्तारै झ्यालबाट भित्र चिहायो।कोठामा मधुरो मैंनबत्ती बलिरहेछ, उ टेबलको अघि निश्चल बसिरहेछ।उसको कपाल र पीठमात्र देखिएको छ।टेबलमा किताबहरू पल्टीएका छन।भुईमा २ बटा कुर्सीहरू उभिएका छन। 

पाँच मीनेट बित्यो अँह त्यो कैदी कत्ति पनि चलेन। १५ बर्षको कैदी जीवनले उसलाइ स्थिर बस्न सिकाए जस्तै छ।बुढोले झ्यालमा औंलाहरूले बिस्तारै थपथपायो कैदिले कुनै प्रतिक्रिया नै जनाएन उ निश्चल बसिरह्यो। बैंकरले छाप फुटायो अनि साबधानिपूर्वक ताला खोल्यो। खिया लागेको ताला ख्याराक्क आवाज निकाल्दै खुल्यो अनि ढोका पनि चरमराउदै खुल्यो। बैंकरले पदचाप यो कैदी आश्चर्यले चिच्याएको सुन्ने आशा गरेको थियो तर ३ मीनेट बित्यो कोठा पहिले जस्तै शान्त छ मानौ केही भएकै छैन। उसले भित्र जाने निश्चय गर्यो। 

टेबलको अघिल्तिर कुनै साधारण मानिस भन्दा भिन्न उ निश्चल स्थिर बसिरहेछ। उ असाध्यै दुब्लो छ मात्र अस्थिपिंजर जसमा छाला तनक्क तन्काएर टाँसेको जस्तै छ। उसको कपाल महिलाको जस्तै घुम्रिएको छ दारी पनि त्यस्तै छ। उसको अनुहार पहेलो जसमा उमेरका धब्बा स्पष्ट छन। उसका गालाहरू खोपिल्टा परेका छन। उसको ढाड लामो र साँघूरो छ। उ हातमा चींउड़ो अड्याएर अगाड़ि झुकेको छ। उसको दुब्लो र कपाल भएको टाउको हेर्दा साँच्चीकै टिठलाग्दो देखिन्छ। उसको कपालहरू चाँदीजस्तै सेता भइसकेका छन। उसको त्यो वृद्ध दुर्वलता देखेर उसलाइ कसैले पनि चालीस वर्ष उमेरको भनेर बिश्वास गर्दैन।उसको अघिल्तिर टेबलमा एउटा कागज थियो जसमा उसका साना हातले केही लेखेको थियो। 

"बिचरा" बैंकरले सोच्यो, " यसले भोली लाखौ पाउने सुखद सपना देखीरहेको होला, यो आधा मरिसकेको मान्छेलाई बस ओछ्यानमा हुर्याएर सिरानीले एकछिन मुख थुनिदिने हो भने कस्तै विशेषज्ञ अनुसन्धानकर्ताले पनि यसको हत्या भएको हो भनेर भन्न सक्दैन। यो भन्दा अघि यसले के लेखेको रैछ पढौ न" बैंकरले त्यो कागज उठायो अनि पढ्न थाल्यो। 

"भोली बाह्र बजे म आफ्नो स्वतन्त्रता प्राप्त गर्ने छू, मानिसहरूलाइ भेट्न पाउने छु। भोली सूर्योदय देख्नु अघि मैले तपाइँलाई केही भन्नू आवश्यक ठानेको छू।म भगवान जसले मलाई हेरिरहेछ उसको अघिल्तिर जस्तै आफ्नो पूर्ण होस र विवेकमा यो घोषणा गर्छु की भोलिको त्यो स्वतन्त्रता, जीवन, स्वास्थ्य, ति तिमिले दिएका ति पुस्तकहरू जसलाइ मानिस यो संसार आशीर्वाद ठान्छ ति सबै तुच्छ छन। मैले १५ बर्षसम्म यी सांसारिक जीवनहरूलाइ मेहनतपूर्वक अध्ययन गरे। हो यो सत्य हो मैले संसार सूर्य आदिलाइ भैतिक रुपमा देखिन तर तिमिले दिएका पुस्तकहरुको माद्यमबाट मीठा मीठा सुगन्धित रक्सीहरू पिएँको छु, मैले कयौं गीतहरू गाएको छु। 

मैले जंगलमा हरिण र बंदेलहरुको शिकार गरेको छु, मैले तिनै पुस्तकको माध्यमबाट सुन्दर से सुन्दर मायालु स्त्रीहरू सँग प्रेममा पनि डूबेको छु अलौकिक दिव्य रश्मि जस्तै सुन्दरीहरू जसलाइ तिम्रा कविहरू र विद्वानहरूले तिनै पुस्तकहरूमा रचना गरेका छन उनिहरू सधै रातमा म छेउ आउछन अनि मेरा कानमा अद्भुत कथाहरू सुनाउछन जसले मेरो मस्तिष्कलाई नै आनन्द विभोरको भुमरिमा लैजान्छ।

मैले तिम्रा पुस्तकहरू बाट एलबुर्ज, मोन्ट ब्लान्क र सागरमाथाहरू उक्लेको छु जहाँबाट मैले सूर्योदयहरू हेरेको छु, साँझहरूले आकाशलाई छोपेको हेरेको छु, सागरहरू, हिमालका सुनौला र श्वेत चुचुराहरू हेरेको छु। मैले त्याहांबाट मेरो शीरमाथी प्रकाश चम्काएर गएको चट्यांग, आकासका ति चक्रवातहरूहरू देखेको छु। मैले हरिया घना जंगलहरू, खेत खलियानहरू , नदी, ताल र शहरहरू देखेको छु। मैले सुदर्शनधारीका पखेटाहरूलाइ छोएको छु, मैले ति पुस्तकहरूबाट अथाह गहिरा खोचहरूमा उड़ेको छु, जादू देखाएको छु अनि बर्बर हत्याहरू गरेको छु, शहरहरू जलाएको छु अनि नया धर्महरूको रचना र स्थापना पनि गरेको छु,नया राज्यहरूको स्थापना गरेको छू........

तिम्रा पुस्तकहरूले मलाई अनन्त ज्ञान दिएका छन। ति निरन्तर खोज गरिरहेका, अन्वेषण गरिरहेका मानिसहरूले बनाएका ति सम्पूर्ण ज्ञानहरू मेरो सानो मस्तिष्कमा खादिएका छन।मलाई थाहा छ तिमी भन्दा म निश्चय पनि बुद्धिमान छु। आज आएर ति तिम्रा पुस्तकहरू पनि मलाई तुच्छ लागेका छन, ति ज्ञान ,बुद्धिमत्ता र ति आशीर्वादहरु पनि तुच्छ लागेका छन। तिनिहरु पनि बेकार, क्षणिक क्षणभंगुर, मृगतृष्णा जस्तै भ्रमित र छली रहेछन। तिमी जती बुद्धिमान हौ, जतिसुकै गर्व गर, जतीसुकै स्वस्थ र राम्रो हौ मृत्युले तिमिलाइ यो संसारबाट सजिलै बढार्दिने छ जसरी मुसो जमिनको प्वालमा बिलाउछ। तिम्रो उपलब्धि, तिम्रा भावीपिंढी, तिम्रा अमर नायकहरू पनि जलेर खरानी हुनेछन या पृथ्वीमै स्थिर भएर सकिने छन। 

तिमिले आफ्नो प्रयोजन या लक्ष्य गुमाइसकेको छौ र गलत बाटो तिर हिडीरहेको छौ, सत्य त्यागेर असत्य बोकेर हिडीरहेछौ, सुन्दरता छोडेर कुरूपता स्वीकारीरहेछौ। गुलाबको फूलबाट घोडाको पसीनाको गन्ध आयो भने, सुन्तला स्याउका बोटमा भ्यागूता र छेपारा फले भने त्यसलाइ तिमी चमत्कार ठानेर पूज्छौ। म त तिमी देखेर चमत्कृत छु जो पृथ्वीलाई स्वर्गसंग बिनिमय गर्छ।म तिमिलाइ बुझ्न चाहान्न। 

यसलाइ वास्तविकतामा देखाइदिन की यी सबै कुरा अब तुच्छ भैसके म त्यही २० लाख जुन मैले स्वर्गसदृश्य आनन्ददायक ठानेको थिये त्यस्को तुच्छता सावित गरिदिन र त्यो पुरस्कार बाट वन्चित हुनको लागी म निश्चित समयको पाँच घण्टा आगावै यो ठाऊ छोडेर जाने छु ताकि यो शर्तको उल्लंघन होस।"

बैंकरले जब त्यो पढ्यो उसले त्यो कागज टेबलमा राख्यो, त्यो अनौठो मान्छेको निधारमा चुम्यो र रूदै त्यो सानो घरबाट बिस्तारै बाहिर निस्कियो। उसलाइ शेयरबजारमा गम्भीर घाटा हुदा पनि त्यस्तो आहात भएको थिएन। उसलाइ आफु प्रति चरम घृणा लागीरहेको थियो।उ ओछ्यानमा त पल्टियो तर मनमा खेलेका भावनाले उ निदाऊनै सकेन।

भोली पल्ट बिहानै उसको सुरक्षा गार्डले हस्यांगफस्यांग गर्दै आएर सो कैदी त्यो सानो घरको झ्याल बाट उक्लियेर मूलगेट हुदै निस्केको खबर सुनायो।बैंकर सुरक्षा गार्ड संगै गएर कैदीले आफ्नो शर्त तोडेर निस्केको प्रमाणित गर्यो अनि कसैले धेरै कुरा नकाटोस हल्ला नगरोस भनेर सो कागज सुटुक्क उठायो जसमा लाखौ त्यागिएको थियो लगेर आफ्नो सेफमा सुरक्षित राख्यो।

अनुवाद : दीपेस मूर्ति पन्त



Share:

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

About Me

My photo
देउराली, चिती, लमजुङ्ग, गण्डकी , Nepal

Translate