A diary of Pedestrian on Mother Nature

Showing posts with label Climate Change. Show all posts
Showing posts with label Climate Change. Show all posts

गुराँसहरु फुल्दैनन्: अब सहज छैन अवस्था


माघमै गुराँस फुल्यो, चैत्र बैशाखमा गुराँस, चुत्रो फुलेनन्, एक दशक अघिसम्म वसन्त ऋतु चैत्र बैशाखमा बनै भरी फूल फुल्थे, जङ्गलको बाटो हिँड्दा मौरी ठोक्किन्थे, पुतलीको झिलिमिली र भवँराको  भुनभुन् गर्मीमा शितलता दिन्थ्यो अनि शिशिरको चिसो भुलाउँथ्यो। अहिले शिशिरको सिरेठो त  शुरू हुनै नपाई सकिन्छ। यस्ता कुरा धेरै समय देखि सामान्य भइसकेका छन्। हो हिउँद छोटिदै छ। वनस्पतिहरू चाँडो फुल्छन्, छिटो मर्छन्। यो विश्वव्यापी घटना हो जसलाई विभिन्न अध्ययनहरूले पुष्टि गरेका छन्।

यो किन भइरहेको छ त? उत्तर धेरै स्पष्ट छ, हामीले उत्सर्जन गरेको हरितगृह ग्यास (Greenhouse Gases) ले विश्वव्यापी रुपमा पृथ्वीको तापमान बढिरहेछ। त्यसैले हिउँद छोटिँदै गएको छ भने वसन्त ऋतु धेरै गर्मी । यसले सबै भन्दा बढी वनस्पतिलाई असर गरेको छ। वनस्पतिहरूमा छिटो फूल खेले पनि चाँडो पालुवा खेल्दा वातावरणबाट कार्बन डाई अक्साइड (CO2) अवशोषित हुन्छ, त्यसले फाइदा नै पुग्ला भन्ने अनुमान गरिएको थियो। तर अहिलेका अध्ययनहरूले त्यसको विपरीत निष्कर्ष निकालेका छन्। वास्तवमा वनस्पतिहरू छिटो छिटो मरिरहेका छन् अर्थात् आयु पनि घटिरहेछ अनि नयाँ वृद्धि अर्थात् नयाँ बिरुवा उम्रने दर पनि उल्लेख्य रुपमै घटिरहेछ।

वैज्ञानिकहरूले ३० वर्ष देखिका विभिन्न ठाउँहरूको भू-उपग्रह आधारित तस्वीरहरु र तथ्यहरूको क्रमिक विश्लेषण गर्दा वनस्पतिहरू वसन्त ऋतुमा (Spring) जति वृद्धि हुनु पर्ने हो त्यो हुन पाएको छैन। हिउँदको अन्त्य छिटो हुने भएकाले जमीनमा भएको चिस्यानलाई वनस्पतिले छिटो अवशोषित गरिसक्छ अर्थात् जमीन छिटो सुख्खा हुन्छ। बसन्तमा खडेरी पर्ने र जमीन पनि छिटो सुक्खा हुने कारणले फूल फुल्न, नयाँ पालुवा लाग्न सक्दैन।

USA National Phenology Network (USNPN)  ले सङ्कलन गरेको तथ्याङ्क अनुसार पछिल्लो दश वर्षमै वनस्पतिका फूल फुल्ने क्रम झण्डै ३ हप्ता अगाडि सरेको छ। कतिपय वनस्पतिहरू त यो सराइलाई आत्मसाथ गर्नै सक्दैनन् र फुल्नै सक्दैनन्। यो सञ्जालले दशकौँ देखिको अमेरिकाको विभिन्न क्षेत्रको वनस्पतिको फूल फुल्ने समयको तथ्यहरु राखिरहेको छ।

Bostan University का जीव वैज्ञानिक Richard Primack ले लेखक Henry David Thoreau को १८४० देखिको Notes हरु (जसमा Massachusetts मा अवस्थित उनको वरिपरिको वनस्पतिहरूको बारेमा तथ्यहरु संकलित छन्) केलाउँदा अहिले ती वनस्पतिहरू १८४० को तुलनामा औषतमा ३ हप्ता अगावै फूल्न थालेको स्पष्ट गरेका छन्।

Plos One नामक जर्नलमा प्रकाशित सो अध्ययनमा Massachusetts र Wisconsin राज्यमा गरिएको सर्वेक्षण अनुसार जुन वनस्पति मे महिनाको मध्यतिर फुल्नु पर्ने हो अर्थात् १८५० को समयमा  मे महिनाको मध्यमा (Mid May) फुल्थ्यो सो २०१२ मा अप्रिल १ मै फुलेको पाइयो। Ericaceae परिवारका वनस्पतिहरूको त्यस्तो परिवर्तन देखियो जस्तो High Bush Blueberry (Vaccinium corymbosum)। हाम्रो गुराँस जाती पनि सोही परिवार अर्थात् Ericaceae अन्तर्गत नै पर्छ।

Bostan University कि जीव वैज्ञानिक Elizabeth Ellwood भन्छिन्, "वसन्त ऋतुको औषत तापक्रम को वृद्धि सङ्ग फूल फुल्ने समयको प्रत्यक्ष गणितीय समन्ध छ। यो समयमा भएको १ डिग्री सेल्सियस तापक्रम वृद्धिले वनस्पतिको फूल फुल्ने समयलाई ३.२ दिन अगाडि सार्छ। यो समन्ध यति स्पष्ट र बलियो छ कि कुनै पनि अरु तत्वहरूले सो समन्धलाइ असर पार्नै सक्दैन।"उनी अझै थप्छिन्, " कुनै प्रजातिहरू समय अगावै पनि फूल्न सक्छन्, तर सबैको त्यस्तो क्षमता हुँदैन। केही प्रजातिलाइ सापेक्षित लामो शीतकाल (Cooling period) चाहिन्छ। त्यो नपुग्दा उनीहरू फूल्नै सक्दैनन्।"

यसरी आवश्यक शितकालको अभावमा फूल्न नसक्ने वनस्पतिहरू प्रायः सबै समशीतोष्ण (Temparate zone) र शित प्रदेश (Alpine zone) का बढी हुन्छन्। त्यसैले विश्वभरिका यिनै प्रदेशका वनस्पतिहरू तीव्रगतिमा ह्रास भइरहेछन्। यसको उदाहरण हाम्रो लेकमा रहेका सदाबहार कोणधारी जङ्गललाइ लिन सकिन्छ। यी वनस्पतिको उम्रने दर यसै ढिलो हुन्छ त्यसमा पनि फूल फूल्न नपाउँदा यिनीहरू विलुप्त हुने क्रम अकल्पनीय छ।

U.S. Department of Agriculture ले जारी गरेको Plant Hardiness Zone Map मा पछिल्लो २२ वर्षको तथ्य हेर्ने हो भने दक्षिणी उष्ण प्रदेशका वनस्पतिहरू उत्तरी समशीतोष्ण क्षेत्र तिर उक्लिरहेका देख्न सकिन्छ। त्यस्तै नेपालको उदाहरण नै हेर्ने हो भने पनि यो वृक्ष रेखाको सराई महसुस गर्न सकिन्छ। उष्ण प्रदेशका वनस्पति समशीतोष्ण क्षेत्रमा, समशीतोष्ण क्षेत्रका शित प्रदेश तिर उक्लेका छन् भने, शित प्रदेशका वनस्पतिहरू अब पाइन छोडेको छ।

यही १५ वर्षको मेरो भेडीगोठ बसाईको क्रममा अतिस प्रजाति (Aconitum sp), सुनपाती भनेर चिनिने सुनपाती (Rhododendron anthopogon),  पदमचालका केही प्रजातिहरू  (Rheum sp), पाखनवेद (Bergenia sp) र Saussurea का प्रजाति आदि वनस्पतिहरुले नपत्याउँदो तरिकाले उचाइ लिएको म स्वयंले भेटेको छु। कतिपय शित प्रदेशका वनस्पतिहरू आजकाल भेटिन छोडेको म स्वयंको अनुभव छ। आजकाल चिलाउने, कटुसहरुले गुराँसका वनलाई प्रतिस्थापन गरिरहेका छन् भने पहाडी जङ्गलहरूमा मिचाहा वनस्पतिहरू कालिमुन्टे (Ageratina adenophora), वनफाँडे (Lantana camara), गाजरे घाँस (Parthenium hysterophorus), Mikania sp, Chromolaena sp जस्ता वनमारा जातिहरूले क्षति पुराइरहेका छन्।

फूल्नै छोडेका वनस्पतिको समस्या भन्दा समय अगावै फूल्ने वनस्पतिको समस्या पनि सानो छैन। धेरै वनस्पतिहरू आफ्नो फूलमा हुने परागसेचन प्रक्रियाको लागि निश्चित किटपतङ्ग,  पुतलीहरुमा भर पर्छन्। ती वनस्पतिहरूमा फूल फुल्दा ती किटपतङ्ग,  पुतलीहरु आफ्नो जीवनचक्रको प्युपा अवस्थामा मै हुन्छन् भने कति सुषुप्त अवस्थामा हुन्छन्। जव ती प्राणीहरू सक्रिय हुन्छन् त्यो बेला फूलहरु झरिसकेका हुन्छन्। त्यसले गर्दा एकातर्फ परागसेचन हुन पाउँदैन त्यसैले वनस्पतिको बीज उत्पादन हुँदैन भने अर्को तर्फ खानाको अभावमा ती प्राणीहरू पनि विलुप्त हुन्छन्। यो प्रक्रिया झन् भयानक छ जसले तिब्र गतिमा वनस्पति र प्राणीहरू विलुप्त हुन्छन् र पुरै वातावरणीय सन्तुलन बिग्रन्छ।

हामीले यी अवस्थाहरूको गम्भीर भएर सोच्ने विश्लेषण गर्ने आवश्यकता छ। जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिका प्रभावहरू प्रत्यक्ष देखिने भन्दा पनि परोक्ष देखिने बढी गम्भीर छन्। जलवायु परिवर्तनले जति वनस्पतिलाई प्रभावित गर्छ त्यति पृथ्वीको वातावरण बिग्रन्छ। हामीले फेर्ने श्वासको आपूर्ति देखि खाद्य श्रृङ्खलामा आउने विचलनको परिणाम भयानक हुन्छ। मानव प्रजातिको सामुन्ने भोलि गएर स्वजाती भक्षणको भयानकता फेरि नदोहोरिएला भन्न कसले सक्छ र? त्यसैले यस्ता परिवर्तनहरूको विश्लेषण बेलैमा गरौँ र आफूले सक्दो प्रयास आफ्नो स्तर बाट थालौँ।


Share:

के हाम्रा पुर्खा प्रकृति प्रदत्त थिए?

 
हाम्रा पुर्खा प्रकृति प्रेमी थिए, हाम्रो धर्म, रीतिथिति र जीवनशैली प्राकृतिक थियो, प्रकृतिसँग सामञ्जस्य भएर उनीहरू जीवनयापन गर्थे भन्ने कतिपय दाविहरु गर्ने समुदायहरू पनि नभएका होइनन्। अहिले हाम्रो पुस्ताले गरेको प्राकृतिक विनाश देख्दा हामीलाई त्यस्तो लाग्नु स्वाभाविक पनि हो। हामीले कतै हाम्रा पुर्खाहरूको जीवनशैलीलाई अपनाउन नसक्दा यो प्रकृतिको विनाश भएको त होइन? हाम्रो मनमा प्रश्न उठ्न सक्छ। कतिपय विद्वानहरूले त्यस्तै सोच र धारणाको आधारमा अनेकन प्राकृतिक जीवन पद्धति भन्दै विभिन्न समुहहरु, संघ संस्था र सम्प्रदाय पनि बनाएका छन्। 

अब जिज्ञासा उठ्न सक्छ, के हाम्रा पुर्खा प्रकृति प्रदत्त जीवनशैली अपनाउँथे? के उनीहरू प्रकृतिसङ्ग सामञ्जस्य र एकाकार थिए त? यसैको बारेमा जति पनि अनुसन्धान भएका छन् तिनीहरूले त्यसो भन्दैनन्। बरु विपरीत निष्कर्ष निकाल्छन्। प्रकृतिमाथि दोहन र प्राणीका विभिन्न जाति तथा प्रजातिहरूको विनाश आधुनिक मानवको मात्र कुकर्म थिएन, यो खेल त झण्डै ४० लाख वर्ष अघि देखि मानव जातिका विभिन्न प्रजातिले खेल्दै आएका छन्। अहिले त त्यसको निरन्तरता मात्रै हो। 

प्राणीहरू विलुप्त हुने क्रम त हाम्रो प्रजाति अर्थात् आधुनिक मानव प्रजाति सेपियन (Homo sapiens) अस्तित्वमा आउनु पूर्व मानवका अन्य प्रजातिहरूकै कालमा शुरू भएको प्रमाणहरू फेला परेका छन्। तर आधुनिक मानव प्रजातिको विकासक्रम हेर्ने हो भने त यसले आफ्नो विस्तार यस्तो तिव्र र घातक दरमा गरेको देखिन्छ। यस क्रममा अन्य धेरै स्तनधारी प्राणीहरू सहित मानवका अन्य प्रजातिहरू समेत सेपियनको विस्तार क्रममा विलुप्त भयो जस्तो नियण्डरथल (Homo neanderthalensis) जो शारीरिकरुपमा सेपियन भन्दा निकै सुदृढ थियो।

विभिन्न कालखण्डका मानव बस्तिहरुमा प्राप्त भएका जिवाशेष (Fossil)हरुको अध्ययनका क्रममा जुन नियमित स्वरूप अर्थात् pattern देखिएको छ त्यसलाई मात्र सँयोग थिए भन्न सकिँदैन। हरेक महादेशहरु चाहे एसिया हो या अफ्रिका या उत्तरी अमेरिका देखि साइबेरिया या अष्ट्रेलिया या म्याडागास्कर टापु। जुनसुकै स्थानमा मानिसको यो प्रजातिले खुट्टा टेक्यो त्यसको लगत्तै त्यहाँका प्राणीहरू विशेषगरी विशालकाय स्तनधारीहरु विलुप्त नै भएका थिए।

Ecology Letters जर्नलमा छापिएको एक अनुसन्धान रिपोर्टमा अनुसन्धानकर्ता University of Gothenburg का वैज्ञानिक डा. सोरेन फर्वि (D.r Soren Faurby) भन्छन् , "हो साँचो हो हामीले  पहिलेका प्रजातिहरू र हाम्रै पुर्खाहरू भन्दा अत्याधिक दरमा पर्यावरण र पृथ्वीको नाश गरिरहेका छौँ तर यसको मतलब चाहिँ यो पक्कै होइन कि उनीहरू प्रकृतिसँग सामञ्जस्य थिए या प्रकृतिप्रदत्त जीवन यापन गर्दथे। हामीले अहिले जसरी प्राकृतिक साधन स्रोत माथि एकाधिकार स्थापित गरेका छौँ, त्यस्तै व्यवहार हाम्रा पुर्खाको पनि थियो।"

अष्ट्रेलियाको विशालकाय जीवहरूको विनाशलाइ हामीले आधुनिक मानव (Homo sapiens) ले छोडेको गम्भीर खतको रुपमा लिन सकिन्छ। पछिल्लो १० लाख वर्षका तथ्यलाई केलाउने हो भने पृथ्वीमा औसतन् हरेक १ लाख वर्षको अन्तरालमा हिमयुग अर्थात् Ice age आएको छ। पछिल्लो हिमयुग झण्डै आजभन्दा ७५००० वर्ष देखि १५००० वर्ष सम्म रहेको थियो। अष्ट्रेलियाका ती विशाल स्तनधारी Diprotodon जाे आजभन्दा १६ लाख वर्ष अघि देखि दशौं वटा हिमयुग जस्तो विषम परिस्थिति सफलतापूर्वक झेलेको प्राणी एकएक आधुनिक मानवले पाइला टेक्ना साथ करिब ४५००० वर्ष अघि विलुप्त भयो। त्यो त एउटा उदाहरण मात्र हो। यस सङ्गै झण्डै ९० % अष्ट्रेलियाका विशालकाय जीवहरू विलुप्त भएका थिए। तर समुन्द्रका विशाल जीवहरू त्यो बेला पनि फलिफुली रहेका थिए। त्यसैले यसमा जलवायु परिवर्तनकै हात थियो भन्ने सम्भावना यसैको आधारमा नकार्न सकिन्छ।

हीमयुगको अर्को विशालकाय स्तनधारी उनी हात्ती म्यामथ (Wolly Mammoth) जो साइबेरियाको तट देखि २०० किमी उत्तरी क्षेत्र Wrangel Island जो ध्रुवीय समुन्द्रमा स्थित छ त्यहाँ करोडौँ वर्षदेखि फलीफुली रहेको थियो आज भन्दा १०००० वर्ष पहिले बाट तिब्र गतिमा घट्न शुरू गर्यो जब आधुनिक मानिसको पाइला त्यहाँ पर्यो। अनि करिब ४००० बर्षबाट यो  विलुप्त नै भयो।

अष्ट्रेलिया कै उदाहरण दिने हो भने आज भन्दा करिब ४५००० वर्ष पहिले Eucalyptuses वनस्पति दुर्लभ थियो तर अहिले यो अष्ट्रेलियाको प्रमुख वनस्पति हो। यसको अस्वाभाविक फैलावटमा मानिसकै हात रहेको थियो। मानिसले आफ्नो बासस्थानको विस्तारको क्रममा आगो लगायो। ठूला रुख र झाडी मासिए पछि Eucalyptuses अग्नि प्रतिरोधी भएकाले यो सजिलै तिब्र गतिमा फैलियो। यसमा धेरै पोषक तत्व नहुने भएकाले यसले विशालकाय शाकाहारी स्तनधारी जनावरहरुलाई पर्याप्त भएन।

१६००० वर्ष अघि साइबेरियाबाट उत्तरी अलास्का हुँदै उत्तर अमेरिका पसेको आधुनिक मानवले प्रवेश गरेको २००० वर्ष बीचमा ठूलो दाह्रे बाघ (sabre-tooth tiger), ८ टन सम्म हुने विशाल Sloth, अमेरिकी रैथाने घोडा, उँट, म्यामथ र विशाल मूसा जातिका जनावरहरू सकिदियो जो दशौं लाख वर्षदेखि पृथ्वीको विषम वातावरणीय परिवर्तनहरू झेलेर सफलतापूर्वक फलिफूली रहेका थिए।


म्याडागास्कर टापु जो अफ्रिकाको पूर्वी तट बाट ४०० किमी पूर्व पर्छ त्यहाँ रहेका हात्ती चरा Elaphent bird (उड्न नसक्ने विशाल चरो), विशाल बाँदर (Lemur) आदी १५०० वर्ष अघि सम्म उत्कर्ष मै थिए तर जब मानिसले त्यहाँ पनि कदम राख्यो आज ती प्राणीहरू पनि इतिहासमै सीमित भए।

चाहे क्यारेबियन टापु हुन् या सोलोमन टापु हुन् या प्रशान्त महासागरीय टापु सबै तिर जहाँ जहाँ मानव प्रवेश गर्यो त्यहाँ यसले आफ्नो विनाश लीला मच्चाएको छ। अग्नि दहनको आधारमा उभिएको मानव बस्ती र कृषि क्रान्तिको आकार यति विस्तृत थियो कि पृथ्वीले आफ्नो जैविक विविधताको ठूलो भाग गुमाएको स्पष्ट छ। त्यस क्रममा  Sapiens पुस्तकका लेखक हरारी लेख्छन्, "पुर्खाको दुहाई दिँदै रुखलाई अङ्गालो मार्दै प्रेम प्रकट गरेर प्रकृति प्रेमी देखिने व्यक्तिहरूलाई विश्वास गर्न पर्दैन उनीहरू पनि त्यही आधुनिक मानव नै हुन्।"

यही अध्ययनका क्रममा अर्को तथ्य पनि फेला परेको छ जसले मानिसको मस्तिष्कको आकार र ती जनावरहरूको विलुप्त हुने दरमा उच्च सकारात्मक समन्ध छ। जति तिब्र गतिमा मानव प्रजातिको मस्तिष्क विकसित हुँदै गयो त्यति नै तिब्र गतिमा प्राणीहरूको विनाश भएको थियो जबकि त्यो समयमा त्यस्तो उल्लेख्य वातावरणीय परिवर्तन भएको थिएन जसले ती प्राणीहरुलाई जोखिममा पार्न सक्थ्यो। त्यसैले पूर्वी अफ्रिकामा भएको प्राणीहरूको विनाशलाई हाम्रो पुर्खाको क्रियाकलापसँग स्पष्ट जोड्न सकिन्छ।

मानिसले त्यो बेला दाह्रे बाघले मारेको शिकार मात्र चोरेन उसले खाद्य श्रृखलामा ठूलो हस्तक्षेप गर्यो। मांशाहारी शिकारी जनावरहरू त शिकार नपाएर नै सकिए होलान्। ती विशाल शाकाहारी स्तनपायी जनावरहरू पनि चरनको अभाव अनि लामो सन्तानोत्पादन अवधिको कारणले गर्दा जोगिन सकेनन्। अर्थात् ती प्राणीहरूको सन्तानोत्पादन दर पनि कम र अवधि पनि धेरै हुने हुँदा एउटा आमा जनावरको मृत्युले जनसङ्ख्यामा उल्लेखनीय कमी ल्याउँछ।

अहिलेका अध्ययनहरूले त बढ्दो शहरीकरण, बन विनाश, प्रकृतिक साधनको दोहन र गम्भीर प्रदूषणले जैविक विविधताको धेरै ठूलो भाग चाहे जमीन होस् या समुन्द्री होस् तिब्र गतिमा नष्ट गरेको प्रत्यक्ष देखाउँछन्। अहिले त मानव प्रजाति आफै जोखिममा परेको छ। तर यो मानवले अहिले आएर गरेको क्रियाकलाप चाहिँ होइन, यो त लाखौं वर्षदेखि आफ्नो क्रम विकासको निरन्तरतामा गर्दै आएको हो। अझ Homo sapiens को अघि त मानवकै अन्य प्रजाति समेत टिक्न सकेनन्। अहिले मानवको यही प्रजाति मात्र जीवित छ। तर कहिले सम्म? यो प्रश्न त अहिले Sapiens आफैलाई चुनौती बनेको छ।

Share:

जलवायु परिवर्तनका हिमाली जोखिम

 

हिमनदीहरू (Glaciers) अष्ट्रेलिया महादेश बाहेक सबै महादेश हरुमा पाइन्छन्। हिमनदीहरु हजारौँ लाखौँ वर्ष पुराना पनि हुन्छन्। तिनीहरू हिउँका पत्र पत्र थुप्रिएर बनेका हुन्छन् भने गुरुत्व र आसपासको चट्टानको सापेक्ष हिउँ नरम भएकाले इनिहरु बिस्तारै बग्छन् जस्तो कि वर्षमा केही इन्च देखि केही मीटरको दूरी पार गर्छन्। हिमनदीको लम्बाई सयौँ किलोमीटर सम्म हुनसक्छ जुन उच्च हिमाली भागबाट शुरू भएको हुन्छ र यसको हिउँ थुप्रने दर र पग्लने दरमा यसको आकार लम्बाई निर्धारण हुन्छ।

हिउँ हिमाली खोंच उपत्यका हुँदै तलतिर बिस्तारै बग्छ अझ कतै त हिमनदीहरू समुन्द्र सम्मै पनि पुग्छन् जस्तो कि ध्रुवीय हिमनदीहरु (Arctic Glaciers) जो आश्चर्यजनक रूपमा विशाल छन्। हिमालय क्षेत्रमा पनि उल्लेखनीय रुपमा हिमनदीहरू अवस्थित छन् जसले नेपालका नदीहरुलाई उल्लेख्य रुपमा पानी प्रदान गर्छन भने कयौँ हिमाली ताल तलैयाहरू पनि यसैबाट पग्लिएको पानीमा निर्भर छन्। 

जब हिमनदीहरुमा हिउँ जम्मा हुने दर भन्दा पग्लने दर धेरै हुन थाले पछि हिमनदीहरू खुम्चन थाल्छन् अर्थात् छोटिन थाल्छन्। यसले गर्दा हिमनदीको पुछारमा हिमतालहरू बन्न थाल्छन्। हिमनदीको बहावले घचेटिएर थुप्रिएका मसिना बालुवा गिट्टी देखि विशाल विशाल चट्टानहरुले त्यस्ता हिमतालहरूलाई प्राकृतिक बाँधको रुपमा काम गरिदिन्छन् भने कतिपय हिमतालहरू धेरै समय विशाल तौलले गर्दा हिमनदीको क्षेत्रमा बनेका विशाल खाल्टाहरुमा पनि हिमनदीको पग्लिएको पानी जम्मा भएर पनि बन्छन। अहिलेको जलवायु परिवर्तनको कारणले गर्दा भएको तिब्र तापक्रम वृद्धिले हिमनदीहरुको पग्लने क्रम तिव्र छ भने यस्ता हिमतालहरू पनि तिव्रगतिले बढिरहेछन्। 

हिमतालमा बढीरहेको पानीको चाप, विभिन्न भौगर्भिक कारणहरूले ती तालहरुको संरचनामा आएको कमजोरीले गर्दा ती तालहरू फुट्छन् जसले गर्दा पानीको विशाल मात्राको साथै ती चट्टान अनि गिट्टीबालुवा पनि नदीहरूमा मिसिन्छन् जसले तल्लो क्षेत्रमा विनाशकारी ताण्डव मच्चिन्छ। उच्च तापक्रम र घट्दो हिमपातको कारण हिउँको पग्लने दर तिब्र हुँदै गएको छ जसले हिमतालमा पानीको सतह निकै खतरनाक रूपले बढीरहेको अध्ययनहरूले देखाएका छन्। जलवायु परवर्तन र बढ्दो तापक्रमले पछिल्लो समय हिमनदीहरु पग्लने र खुम्चने दर आश्चर्यजनक रूपले बढेको छ त्यसमा पनि हिमालय क्षेत्रमा हुने टेक्टोनिक प्लेट्सको टकरावले हुने भौगर्भिक गतिविधिले हिमतालको सरंचनालाई निरन्तर कमजोर बनाइरहेको छ।  

नेपालका धेरै बस्तीहरू नदीका छेउमा अवस्थित छन् भने प्रायः जसो सबै नदीहरुलाई पानी प्रदान हिमनदी र हिमतालहरुले गरिरहेका छन्। विद्युतीय ऊर्जा उत्पादनका लागि नदिहरुका पहाडी देखि उच्च पहाडी भागसम्मै कृतिम बाँधहरु बाँधिएका छन्। चाहे जलविद्युत उत्पादन परियोजना हुन् या बस्तीहरू कसैले पनि त्यो भयानक भविष्य प्रति यथेष्ट ध्यान दिएका छन् भनेर हामीले विश्वास गर्ने कुनै आधार देखिँदैन। व्यापारिक प्रयोजनका लागि सहज ठानेर, सुविधाजन्य भएर नदी किनारमा बसाइएक बस्तीहरू, सामान्य जनताको पैसाले पैसा कमाउनका लागि हरेक खतराहरु नजर अन्दाज गरेर बनाइएका परियोजनाहरुले जनधन दुवैको क्षति गर्ने सम्भावना उच्च छ। यी विषयहरुले कहिले पनि कतै पनि कसैको ध्यान खिच्न नसक्नुको पछाडि रहेको निहित स्वार्थ बुझ्न गाह्रो छैन। 

जलवायु परिवर्तन र बढ्दो तापक्रम वृद्धिको प्रमुख कारणहरूको पछाडि रहेका वातावरणको विनाश, प्राकृतिक स्रोत र साधनको दुरुपयोगको बारे सोच्नु त कता हो कता जलवायु परिवर्तनलाई नै अस्वीकार गर्दै धार्मिक र राजनैतिक रूपमा धर्मान्ध हुनेहरूले पनि चेत्ने दिन धेरै टाढा त छैन नै, तर अब त्यो धेरै ढिलो भइसक्यो।

Share:

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

About Me

My photo
देउराली, चिती, लमजुङ्ग, गण्डकी , Nepal

Translate