A diary of Pedestrian on Mother Nature

प्रेम, आनन्द र उल्लासका रासायनिक प्रतिक्रिया

 

हामी कहिले ओशो तपोवन तिर गएका छौँ भने हामीलाई थाहा छ होला, त्यहाँ सङ्गीतको तालमा बेस्सरी नाचिन्छ ता कि हाम्रो शरीर थाकेर लस्तपस्त होस्।अनि शवासनमा पल्टेर शान्त भए पछि ओशोको प्रवचन बजाइन्छ। यसै उनको मधुर र शान्त स्वर कता कता अनन्तमा गुञ्जीन्छ। त्यहाँ उनले भने जस्तै एक आनन्द स्थिरता अनुभव हुन्छ।शरीरमा उर्जा सञ्चार अर्थात् कतै कुण्डलिनि शक्ति मूलाधार देखि सहस्त्रार चक्रसम्म नृत्य गर्दै छ कि भन्ने लाग्छ। 

पूर्वीय दर्शनको पतञ्जलि योग अन्तर्गत अष्टाङ्ग योगमा विभिन्न चरणहरू छन्। यो शारीरिक, मानसिक र आत्मिक शुद्धिकरणको एक मात्र प्रयोगात्मक बिधि हो भन्दा पनि फरक पर्दैन।यसै अनिसार मान्छे मुक्ति अर्थात बुद्धत्व प्राप्ति गर्न सक्छ भनिएको छ। यसका क्रमिक अङ्ग यसप्रकार छन्। 

१.यम (अहिंसा, सत्यवादन, अस्तेय(चोरी नगर्नु), व्रम्हचर्य, अपरिग्रह(आवश्यकता भन्दा बढी संचय नगर्नु) 

२.नियम (शरीर र मनको शुद्धि, सन्तुष्टि, अनुशासन, आत्मचिन्तन र प्रकृति प्रदत्तता)

३.आसन( योगासन र शारीरिक ब्यायाम द्वारा शरीरमाथि नियन्त्रण स्थापित गर्नु)

४.प्राणायाम (श्वासप्रश्वासको अभ्यासले यसलाई पनि नियन्त्रण स्थापित गर्नु)

५.प्रत्याहार (ज्ञानेन्द्रीय र कर्मेन्द्रियहरु माथि नियन्त्रण स्थापित गर्नु)

६.धारणा (मन र मष्तिस्कमाथि नियन्त्रण स्थापित गर्नु)

७.ध्यान 

८.समाधि अर्थात मुक्ति अर्थात वुद्धत्व 

यो प्रक्रिया क्रमिक रुपमा या चरणबद्ध रुपमा हुनुपर्छ भनेर अष्टाङ्ग योगले भन्छ। ध्यान भनेको पलेटी कसेर या जवर्जस्ती कुनै आसन चाहे बज्रासन होस् या सुखासन या पद्मासन घटित हुदैन। पहिला यम दोस्रो नियमको पालना गरे पछि बल्ल आसन अन्तर्गत शारीरिक ब्यायाम अनि प्राणायाम अन्तर्गत श्वासप्रश्वासको कडा मिश्रण पछि शरीर र मन दुवै स्वस्थ हुन्छन अनि मात्र प्रत्याहार मार्फत इन्द्रियको स्थिरता र धारणा अन्तर्गत मनको स्थिरता भए पछि मात्र ध्यान घटित हुन्छ।

अहिले धेरै आध्यात्मिक गुरुहरू देखि मानसिक तथा शारीरिक स्वास्थ्यमा हास्य चिकित्साको पनि प्रयोग गर्छन्, मज्जाले हाँस्ने, गाउने, भजनमा नाच्न लगाउने आदि शारीरिक क्रियाकलाप पनि खुब गराइन्छ। पतञ्जलि अष्टाङ्ग योगमा यसको रहस्य पाउन सकिन्छ। यम र नियमबाट अर्थात् खानपान र बानी व्यहोराबाट शरीर स्वस्थ भए पछि शुरू हुन्छ आसन र प्राणायाम जसले शरीरलाई भौतिकरुपमा थकाए पछि बल्ल ध्यानका प्रक्रिया शुरू हुन्छन्। त्यसै पलेटी कसेर आँखा चिम्म गर्दैमा ध्यान घटित हुँदैन। 

कुण्डलिनी योगमा ओशो रजनीश भन्छन् कडा परिश्रमबाट भौतिक शरीर थकाए पछि बल्ल सुक्ष्म शरीर अर्थात् आन्तरिक शरीरको जागरण हुन्छ। कुण्डलिनी योग भन्ने पुस्तक हेर्ने हो भने त्यहाँ कयौँ तरिकाको वर्णन गरिएको छ जसको लक्ष्य भनेकै भौतिक शरीर मज्जाले थकाउनु हो। 

म आफै मार्शल आर्टको अभ्यासी र साइकल यात्री भएकाले के स्पष्ट दावी गर्न सक्छु भने कुनै पनि कृतिम नशा भन्दा कडा शारीरिक परिश्रमले बढी आनन्ददायक नशा दिन्छ। त्यसैले त नशा दुर्व्यसनको उपचार गर्दा बढी शारीरिक परिश्रमलाई प्रमुख स्थान दिइन्छ। 

अब प्रश्न आउँछ आनन्द, ध्यान आदि के आत्मा परमात्मा सङ्ग जोडिएका छन् त? यदि स्नायु विज्ञानको विश्लेषण गर्ने हो भने प्रेम घृणा भक्ति देखि दुःख पीडा आनन्द ध्यान आत्मिक अनुभूति आदि सबै नितान्त शारीरिक प्रकृयाहरु हुन्। शरीरले आफैले उत्सर्जन गरेका केही रसायनहरू जसलाई हामी हर्मोन्स (Hormones) हरुको कार्य हो। 

जति सुकै महानताको गफ गरे पनि, आत्मा परमात्मा सङ्ग जोडे पनि स्नायुबिज्ञान अनुसार,  प्रेम पनि रिस, घृणा, भक्ति, करुणा जस्तै मानवीय संवेदना र ब्यबहार हो जसलाई मस्तिष्कको निर्देशनमा विभिन्न ग्रन्थिहरुले उत्सर्जन गर्ने निश्चित हर्मोनहरुको अर्थात रसायनहरुको कारणले नितान्त मान्छेको शरीरमा घटित हुने एक शुद्ध शारीरिक प्रक्रिया हो। यसमा आत्मा परमात्मा माहनता या नीचता केहि पनि छैन।

इन्डोर्फिन (Endorphin): धावकको नशा (the Runner's high) 

तपाईँ लामो दूरी दौडिनु भएको छ? दुई चार किलोमिटर होइन अझै लामो दूरी दौडिसके पछि यस्तो लाग्छ समय भए अझै दुई चार किमि केही होइन। थकित शरीरमा एउटा अचम्मको उल्लास, उन्माद (Euphoria) उत्पन्न हुन्छ, एकाएक मन अल्हादित हुन्छ। त्यसलाई हामी Runner's high भन्छौँ। त्यो थकित शरीरमा एकाएक उल्लास ल्याउने के हो त? त्यो हो इण्डोर्फिन् (Endorphin) जुन हाम्रो शरीरको केन्द्रीय स्नायु प्रणाली (Central Nervous System)  पिट्युटरी ग्रन्थी (Pituitary Gland) को सहकार्यमा हाम्रो शरीरमा उत्सर्जित हुन्छ। 

इण्डोर्फिनले अफिम अथवा मर्फिनले जस्तै हाम्रो शरीरमा कार्य गर्छ। कडा शारीरिक परिश्रमको कारणले शरीरको दुःखाईको सूचना मस्तिष्कमा पुग्छ मानव मस्तिष्कले त्यसैको प्रतिक्रिया स्वरूप इण्डोर्फिनको उत्पादन गर्छ जुन प्राकृतिक रुपमा दुखाइ कम गर्ने रसायन हो। यो रक्त प्रणालीमा घुल्नासाथ मानिसलाई चरम उल्लासित बनाउँछ त्यसैले कडा शारीरिक परिश्रम गर्ने व्यक्ति लामो समय सम्म काम गर्न सक्ने, अवसाद (depression) र चिन्ता व्यग्रता (Anxiety) बाट मुक्त हुन्छ। 

न्युरोट्रान्समिटर ((Neurotransmitter) के हुन्? 

एक जना कडा शारीरिक अभ्यास गर्ने चाहे त्यो मार्शल कलाका अभ्यासी हुन् या जिममा पसिना बगाउने हुन्। योगाभ्यास गर्ने योगी हुन् या कुनै नृत्याङ्गना या कुनै लामो दूरीका धावक सबैले प्राप्त गर्ने उन्माद एउटै हो आनन्द एउटै हो किनकी सबैको शरीरमा उत्पन्न इन्डोर्फिन लगायतका न्युरोट्रान्समिटरहरु हुन्।

Neurotransmitter हरु त्यस्ता रासायनिक पदार्थ हुन् जसले विभिन्न किसिमका सूचनाहरू एक स्नायु तन्त्रिका बाट अर्को स्नायु तन्त्रिका सम्म पुर्याउने काम गर्छन्। हाम्रो शरीर भरिनै यस्ता तन्त्रिकाहरुको जाल हुन्छ। शरीरको एउटा तन्त्रिकाले सङ्केत या सूचनालाई विद्युतिय सङ्केतबाट रासायनिक सङ्केतमा बदल्छ त्यही रासायनिक सङ्केतलाइ अर्को तन्त्रीकाले प्राप्त गर्छ। यसरी हाम्रा इन्द्रीयहरूले सूचनाहरू मस्तिष्कमा पुर्याउँछन् अनि फेरि मस्तिष्कले तिनै सूचनाहरुको आधारमा प्रतिकृया जनाउँछ। ती प्रतिक्रियाका आधारमा मस्तिष्कले पनि तिनै तन्त्रिकाहरुको माध्यम हुँदै विभिन्न अङ्गहरूलाई सूचना , निर्देशनहरू दिन्छन्। त्यही सूचना सङ्केत बोकेका रासायनिक पदार्थलाई हामी neurotransmitter भन्छौ। 

यिनीहरू जटिल रासायनिक संरचना भएका धेरै प्रकारका हुन्छन्। प्रमुख neurotransmitter हरुमा Dopamine, Serotonin, Dopamine, Acetylcholine, GABA, Glutamate, Norepinephrine, Endorphins आदि हुन्। यिनीहरूको संरचना कार्यक्षेत्रहरु जटिल छन् तैपनि हामीले के भन्न सक्छौँ भने यिनीहरूको असन्तुलनले मानिसमा धेरै प्रकारका शारीरिक तथा मानसिक असन्तुलनहरु आउँछन्। 

प्रेम: आत्मिक अनुभूति या जटिल रासायनिक प्रतिकृया? 

स्नायु बिज्ञान अनुसार प्रेम आकर्षण आदिको प्रक्रिया बुझ्न हामीले धेरै प्रेमिल मस्तिष्कको MRI गरेर हेर्यौ। त्यसमा मस्तिष्कको त्यो भाग बढी सक्रिय भएको पाइयो जसले डोपामाइन (Dopamine) भन्ने रसायनको उत्सर्जन गर्थ्यो जसलाई हामि आनन्ददायक न्युरोट्रान्समिटर (Neurotransmitter) भनेर चिन्छौ। प्रेमिल भावले पनि मस्तिष्कको त्यहि भागलाइ बढी सक्रिय गराएको पाईयो जुन भाग प्रेरणा (Stimuli) प्रतिक्रिया (Response) पुरस्कार (Reward) को चक्रले मानव ब्यबहारलाइ निर्देशित गर्छ।

त्यहि भागले मान्छेको ध्यान केन्द्रित गर्ने, आनन्दित पार्ने र पुरस्कारको ग्रहण गर्ने पनि गर्छ। जब मानिस यहि कथित प्रेमको चक्करमा पर्छ त्यो बेला मस्तिष्कको त्यहि भागले अन्य हर्मोनहरु विशेषगरि कोर्टिसोल (Cortisol) को उत्सर्जन गर्छ जसलाई हामि तनाव हार्मोन (Stress Hormone) भन्छौ जसले मानिसको श्वासप्रश्वास बढाउने, चिटचिट पसिना आउने, गाला रातो हुने, नशा एकोहोरो र डरको भावना पैदा गराउछ। जब कोर्टिसोलको मात्रा बढ्दै जान्छ यसले अर्को न्युरोट्रान्समिटर सिरोटोनिनको (Serotonin) मात्रा घटाईदिन्छ। सेरोटोनिन त्यो हार्मोन हो जसले मान्छेको मनोदशालाइ स्थिर र खुसि राख्छ, जसको असन्तुलनले मान्छे अवसाद अर्थात डिप्रेसनमा जान्छ। त्यसैले असन्तुलित सेरोटोनिनले व्यक्तिलाइ प्रेममा एकोहोराउन आक्रामक बनाउन र डिप्रेसनमा धकेल्दीन सक्छ।

प्रेमका अवस्थामा अक्सिटोसिन( Oxytocin ) जसलाई हामि प्रेम हार्मोन (Love Hormone) भन्छौ बढी यौनजन्य शारीरिक सम्पर्कको बेला बढी उत्सर्जित हुन्छ र भेसोप्रेसिन (vasopressin) जस्ता हर्मोनहरु पनि उत्सर्जित हुन्छन जुन गर्भावस्था र आमा र बच्चा बीचको समन्धलाइ प्रभावित गर्ने हार्मोनहरु हुन्। डोपामाइनको उत्सर्जनले मानिसमा कोकिन सेवन गर्दा जस्तैको उल्लासोन्माद ( Euphoria) गराउने भएकाले पुरस्कार चक्रमा मानिस प्रेमलाइ आत्मिक परमात्मिक अलौकिक सोच्न सक्छ। जे होस् यो प्रेम भन्ने चिज पूर्णतया शारीरिक अझ स्पष्ट भन्ने हो भने मानिसको यौनिक ब्यबहार सङ्ग नै जोडिएको छ।

प्रेरणा (Stimuli) प्रतिक्रिया (Response) पुरस्कार (Reward)

एकपल्ट कार्यक्रम दिशानिर्देशमा वरिष्ठ नृत्याङ्गना मिथिला शर्माले भनेकी थिइन् म नाच्दा नाच्दै यस्तो अवस्थामा पुग्छु जहाँ एकाएक शून्य हुन्छ। त्यसको जवाफमा विजय कुमारले पनि अन्तर्वार्ताको क्रममा उनी पनि एकाएक निशब्द हुन्छन् एक शून्य अर्थात् Void को अवस्थामा पुग्छन्। त्यो एक यस्तो उन्मादको (Euphoria) कै अवस्था हो जहाँ मनुष्यलाई एउटा छुट्टै अलौकिक जस्तो वर्णन नै गर्न नसकिने अनुभूति हुन्छ त्यसका कारक तत्वहरू तिनै neurotransmitter हरु हुन भन्न सकिन्छ।

योग र प्राणायामको कतिपय अवस्थामा आध्यात्मिक गुरुहरुले विचारशून्य मस्तिष्कको उल्लेख गरेका छन्। ती अलौकिक र आध्यात्मिक आत्मिक लाग्ने अनुभूतिहरुको पछाडि तिनै neurotransmitter हरुको खेल बुझ्न गाह्रो पर्दैन। 

मानिसहरू शारीरिक अभ्यास प्रति किन मोहित छन् त? यसको लागि हामी एउटा उदाहरण लिन सक्छौं। चिनियाँ मार्शल कला कुङ्ग फु (Kung Fu) को जननी मानिने Shaolin Temple मा रहेका भिक्षुहरूले आत्मरक्षाको लागि शुरू गरेको यो कलाको कठिन अभ्यासले उनीहरूको शारीरिक क्षमताको विकास त छँदै छ, उनीहरूको मानसिक स्वास्थ्य र स्थिरतामा इन्डोर्फिनको भुमिका हुन्छ। कडा शारीरिक श्रम पश्चात उनीहरूले ध्यानको अवस्था प्राप्त गर्दछन् जुन आत्मिक या परमात्मिक नभई Endorphin लगायतका शरीरमै बनेका आनन्ददायक न्यूरोट्रान्समिटरहरु प्रदत्त रासायनिक प्रतिक्रियाहरु हुन्।

प्रेरणा (Stimuli) प्रतिक्रिया (Response) पुरस्कार (Reward) यस्तो एउटा चक्र हो जुन मानव लगायत प्रत्येक जनावरको व्यवहार र क्रम विकास दुवैलाई निर्देशित गर्छ। हामीले जनावरलाई तालिम दिँदा यही चक्रको प्रयोग गर्छौं। जनावरको कुनै व्यवहारलाई हामीले सुदृढीकरण (Reinforcement) या निराकरण गर्न हामीले पुरस्कार चक्रको प्रयोग गर्छौं। कुनै व्यवहार देखाउँदा पुरस्कार दिने गर्नाले जनावरमा बिस्तारै त्यस व्यवहार सुदृढ हुँदै जान्छ भने नकारात्मक पुरस्कारले निश्चित व्यवहार निराकरण हुन्छ। 

गाँजा जस्ता वनस्पतिमा केही त्यस्ता रसायन हुन्छन् जसले तिनै neurotransmitter हरुको जस्तै कार्य गर्न सक्छन्। जस्तो गाँजामा हुने THC ले स्नायु प्रणालीको त्यो क्षेत्रलाई उत्तेजित बनाउँछ जसले Dopamine काे उत्सर्जन गर्छ। मानिसको गाँजा तान्ने व्यवहार अब सुदृढ हुँदै जान्छ किनकी THC ले गर्दा शरीरले पुरस्कारको रुपमा शानदार neurotransmitter Dopamine प्राप्त गरेको छ जसले मानिसलाई आनन्दको अनुभूति गराउँछ।

त्यस्तै गाउँदा, गहन अध्ययन गर्दा, कडा शारीरिक अभ्यास गर्दा चाहे त्यो नृत्य होस्, या मार्शल कलाको अभ्यास या योग होस् या प्राणायाम या अन्य कुनै शारीरिक कार्य गर्दा होस्, यिनै neurotransmitter हरु उत्सर्जित हुन्छन्। त्यो पुरस्कारको लागि ती व्यवहार तथा कार्यहरू बिस्तारै सुदृढ हुँदै जान्छन्। यो एक दुई व्यक्तिमा मात्र नभई मनुष्य लगायत सम्पूर्ण प्राणीहरूको क्रम विकासको प्रत्येक चरणमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।

हाम्रो शरीरमा रहेका स्नायु तन्त्रीकाहरु र हर्मोनहरु उत्सर्जित गर्ने ग्रन्थि अनि दुवैलाई एक व्यवस्थित स्वरुपमा सञ्चालन गर्ने मानव मस्तिष्कको कार्य धेरै जटिल छ। हाम्रा संवेदनाहरु, अनुभूतिहरु जो हामी अलौकिक आत्मिक भन्ने ठान्छौँ। यिनै जटिल रासायनिक यौगिकहरुका असन्तुलनले देखिने मानिसका अचम्मका र असन्तुलित व्यवहारहरु पनि हामीले अलौकिक, पराप्राकृतिक र असाधारण मानेर भ्रमित पनि हुन्छौँ। यसैको आधारमा धेरै व्यक्तिहरू, आध्यात्मिक गुरुहरू र अलौकिक शक्ति सम्पन्न भएको दावी गर्ने हरुको भ्रमजालमा हामी फस्न पुग्छौँ। बोक्सि, भूत, प्रेत लागेको देखि माता देवता चढेको जस्ता हास्यास्पद कुराहरूको चक्करमा हामी पर्छौँ।

आफ्नै शरीरले उत्सर्जन गर्न सक्ने neurotransmitter हरुको लागि अफिम, कोकिन, गाँजा आदि लागू औषधको दुर्व्यसनमा फसेँर धेरैले आफ्नो जिन्दगी सखाप पारेका छन् भने डिप्रेसन र इञ्जाइटीको कारणले कति मानिसहरू आफ्नो जीवन बाँच्न संघर्ष गरिरहेका छन्। हाम्रो शरीरमा भएका हर्मोनहरुको असन्तुलनले गर्दा उत्पन्न यस्ता परिस्थितिहरूलाइ बेलैमा बुझ्नु जरुरी छ। 

अझ चर्को समस्या त यस्तै हर्मोनका कारणले अनुभूति भएका उन्माद, नाद र प्रेम भक्तिका आधारमा चर्चका पादरीहरु, कृष्णभक्त बाबाहरु, मौलानाहरुले निर्दोष व्यक्तिहरुको यौनशोषण समेत गरेका छन्। कति महिला पुरुषहरु यसैको घनचक्करमा परेर बर्बाद भएका छन्।  यो सबै आफ्नै शरीरका विभिन्न प्रकृयाहरु चिन्न नसकेर यिनै प्रक्रियालाइ माहान आत्मिक परमात्मिक भनेर भजाउँदा आज धेरै व्यक्तिहरू शोषणको जालमा परेका छन्।

आफ्नो शरीरलाई सक्रिय राखौ। त्यसको लागि नृत्य गर्नुहोस् या खेल खेल्नुहोस् या मार्शल कलाको अभ्यास गर्नुहोस् या योग प्राणायाम गर्नुस् या पढ्नुहोस् या बाजा बजाउनुहोस् या चित्र बनाउनुहोस्। जसरी पनि यी neurotransmitter हरुको उत्सर्जन शरीरमा भइरखोस् अनि पुरस्कार उत्प्रेरणा र प्रतिक्रियाको प्राकृतिक चक्र चलिरहोस्। आनन्दित हुनुहोस, अल्हादित र मस्त रहनुहोस्। त्यो तपाईंको आफ्नै शरीरमा छ। 

Share:

No comments:

Post a Comment

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

About Me

My photo
देउराली, चिती, लमजुङ्ग, गण्डकी , Nepal

Translate