A diary of Pedestrian on Mother Nature

विज्ञान : एक गम्भीर उत्तरदायित्व


भनिन्छ विज्ञानले वास्तविकतालाई उजागर गर्छ। त्यो साँचो पनि हो तर विज्ञान या तर यसमा धेरै समस्याहरू नभएका होइनन्। कतिपय अवस्थामा वैज्ञानिक अनुसन्धान र वैज्ञानिक कथित विज्ञहरु बीच निष्कर्ष हरु बाझिने हुन्छ। कति त गलत अनुसन्धान पद्धतिको (Research Methodology) को कारणले हुन्छन् भने कतिपय वैज्ञानिक तथा अनुसन्धानकर्ताको आफ्नै सँज्ञान पूर्वाग्रह (Cognitive biasness) को कारणले हुन्छ।

यी भन्दा पनि खतरनाक अवस्था भनेको प्रायोजित वैज्ञानिक र अनुसन्धान अर्थात् प्रायोजन गर्दिने या अनुसन्धानको लागि पैसा स्रोत उपलब्ध गराउनेहरुको निजी स्वार्थ पोस्ने नियतले गरिएको अनुसन्धान हो। यसको एउटा जल्दो बल्दो उदाहरण अमेरिकी वैज्ञानिक Clair Cameron Patterson र त्यस्तै उद्योगपतिहरू बीचको १९६० र ७० को दशकमा चलेको Lead (Pb) Poisoning ले मानव स्वास्थ्य र पृथ्वीको वातावरणमा परिरहेको असरको समन्धमा भएको विवादलाई लिन सकिन्छ।

दोस्रो विश्वयुद्धको समयमा अमेरिकी आणविक हतियार विकास परियोजना The Manhattan Project मा भूगर्भ रसायनशास्त्री (Geochemist) का रुपमा Clair Cameron Patterson कार्यरत रहेका थिए। Clair Patterson उनको PhD सुपरिवेक्षक Harrison Brown सङ्गै सोही परियोजनामा सम्मिलित थिए। उनी सो परियोजनामा युरेनियमको नाभिकीय क्षयको (Atomic Decay) विश्लेषण गर्ने कार्य गर्थे। यही क्रममा उनी पृथ्वीको आयु पनि पत्ता लगाउने Harrison Brown को काममा उनले महत्वपूर्ण भूमिका खेलेका थिए। 

Patterson ले युरेनियम का निश्चित isotopes हरुको अणु क्षयिकरण (Atomic Decay) को गणितीय तथ्यहरुलाई पृथ्वीमा अहिले रहेका युरेनियम र लिडको मात्रा र स्थितिलाई पृथ्वीको रचना हुँदाको मात्रा र स्थितिलाई सटीक गणितीय समन्धको रुपमा स्थापित गर्न उनी सफल भएका थिए। यसै बाट पृथ्वीको आयु पत्ता लगाउन सकिन्छ भन्ने उनको तर्क थियो। आज यही विधिबाट पृथ्वीको होस् या आकाशीय पिण्डहरूको आयुको विश्लेषण गरिन्छ।

पृथ्वीको आयु पत्ता लगाउने क्रममा Clair Cameron Patterson ले जब Zircon का टुक्रामा रहेका युरेनियमका अणुहरुको क्षय (Atomic decay) भएर लिडमा Lead(Pb) रुपान्तरण (Transmutation) हुने दरको हिसाब किताब गर्दै थिए। लिडको मात्राको प्रत्येक पटक गरिएको जाँचमा धेरै असंगत नतिजा (Inconsistent results) मात्र आयो अर्थात् प्रत्येक पटक लिडको मात्रामा धेरै उतारचढाव आउँथ्यो। त्यसैले उनले कयौँ पटक धेरै विधि र निर्मलीकरणका उपाय अपनाउँदै प्रयोग जारी राखे। तर नतिजा त उस्तै असँगत नै रहिरह्यो। 

धेरै समय र अथक प्रयास पछी California Institute of Technology - Caltech को अत्यन्त उच्च, अत्यन्त स्वच्छ प्रयोगशालामा एक उल्कापिण्डमा रहेको लिडको मात्राको (जुन युरेनियम अणुको क्षयिकरणबाट लिडमा रुपान्तरण भएको थियो) संगत मापन (Consistent measurement) गर्न सफल भए जसले पृथ्वीको वास्तविक उमेर करिब ४ अर्ब ६० करोड भएको देखायो। 

यही क्रममा अब उनले अचम्मको कहिले नसोचेको परिस्थितिको सामना गर्नु पर्यो। पहिलाको परिक्षणमा आएको उच्च लिडको मात्रा र त्यसमा देखिएको उतार चढावले एक भयानक खतराको महसुस गरायो कतै त्यस्तो नजिताको पछाडि पृथ्वीको वातावरण मै रहेको लिडको मात्रा त जिम्मेवार छैन? यदि हो भने त यो निकै अस्वाभाविक रुपमा बढीरहेको छ। 

Patterson लाइ के थाहा थियो भने लीड एक विषालु धातु हो। यसले मानव र प्राणीहरूको स्वास्थ्यमा घातक प्रभाव पार्छ। यसले मानिसको शारीरिक मात्र नभई स्नायु प्रणालीमा समेत असर पार्दै मानिसको मानसिक स्वास्थ्यमा पार्ने असर झनै गम्भीर हुन्छ। त्यसैले उनले पृथ्वीको वातावरणमा अवस्थित लिडको मात्रा प्राकृतिक हो कि मानवीय कारणले हो भन्ने कुरा पत्ता लगाई छोड्ने निधो गरे। 

सो कुरा उनले १९५५ मा एउटा सम्मेलनमा प्रस्तुत गरे त्यसपछि पनि उनले यो नतिजालाई अनेक प्रयोग र विधि बाट परिष्कृत गर्दै लगे। २०१५ मा CalTech Media Relation ले प्रकाशित गरेको Getting the Lead Out नामक लेखमा उनको प्रयासबारे विस्तारमा उल्लेख गरिएको छ। 

उनले पृथ्वीमा लिडको मात्रा अप्राकृतिक रुपमा अति धेरै छ र यो मानवीय कारणले नै हो भन्ने त स्पष्ट पारे तर उनको प्रमुख चुनौती चाहिँ यसको स्रोतको पहिचान गर्दै त्यसमा स्पष्ट गणितीय समन्ध स्थापित गर्नु थियो।१९२० देखि नै पेट्रोलियम कम्पनीहरुले पेट्रोलियममा Tetraethyl Lead (C8H20Pb) मिसाएर Internal Combustion इन्जिनको कार्यमा सुधार ल्याइएको थियो। लिडको यस्तो प्रभाव थियो कि पानीका पाइपदेखि रङ्गहरू, खानाका डिब्बाहरु र बच्चाका खेलौनाहरु सबैमा लिड नै मिसाइएका हुन्थे। पत्र पत्रिका देखि रेडियो टिभीमा लिड मनुष्यको लागि बरदान जस्तै गरी प्रचार गरिएको थियो। लिड हाम्रो साथी भन्ने नारा नै भैसकेको थियो।

अब Patterson को अनुसन्धानको नजिताहरुले बिस्तारै उद्योगपतिहरुको निन्द्रा खल्बलिन थालिसकेको थियो विशेषगरी पेट्रोकेमिकल उद्योगहरूको। १९६५ मा Patterson ले Contaminated and Natural Lead Environments of Man नामक शोधपत्र प्रकाशित गरे। त्यसबाट जोगिन Ethyl Corporation ले अर्का वैज्ञानिक Robert A. Kehoe लाई लिड एकदम सुरक्षित छ, र बातावरणमा लिडको मात्रा प्राकृतिक रुपमै रहेको छ भनेर प्रचार गराउने अथक प्रयास गर्‍यो।

Robert A Kehoe ले विभिन्न प्रकाशन र कार्यक्रम मार्फत Clair Cameron Patterson को अनुसन्धानको विरुद्धमा आफ्ना अनुसन्धानहरु प्रस्तुत गर्न थाले। सबै उद्योगपति Patterson को विरुद्धमा लागि परे उनलाई पागल सावित गर्न कुनै ठाउँ बाँकी राखेनन्, उनका अनुसन्धानलाई चाहिने स्रोत र साधन सके जति रोके। तर Clair Cameron Patterson यस्को बिरुद्धमा डटेर नै लागे, अब उनले जसरी पनि पृथ्वीको वातावरणमा जुन स्तरको लीड को मात्रा छ त्यो नयाँ थपिएको हो जो नयाँ प्रदूषण (Fresh Contamination) नै हो भनेर तथ्य सहित प्रमाणित गर्नु पर्ने भयो। Patterson लाइ मानिसहरूले आलोचना मात्र होइन उनलाई उपहास र ठट्टाको पात्र बनाए। तर Patterson ले सबैलाई वास्ता नगरिकन आफ्नो अनुसन्धान जारी राखे। 

अब उनलाई ठोस प्रमाण चाहिएको थियो। यसलाई प्रमाणित गर्न उनले समुद्रको सतही पानीमा गहिरो पानीमा भन्दा सयौ गुना लिड रहेको पत्ता लगाए, पेरुको चिहानबाट १६०० वर्ष अघि गाडिएको मानिसको हड्डीमा अहिलेको भन्दा धेरै न्यून लिडको मात्रा रहेको प्रमाण प्रस्तुत गरे, एन्टर्टिकाको हिउको पहाड खोतालेर ३०० बर्ष पहिला खसेको हिउको परिक्षणबाट पनि उनले लिड प्राकृतिक रुपमा बातावरणमा फैलिएको नभै मानिसले उत्पादनगरेको लिडयुक्त बस्तुहरुले पृथ्वीको बातावरण विषाक्त बनाइरहेको छ भन्ने प्रमाणित गरिदिए। 

जब उनको यो शोधपत्र The Nature भन्ने जर्नलमा छापियो त्यसपछी पनि उनलाई उद्योगपतीहरुले बिशेषगरी पेट्रोकेमिकल उद्योगले खेद्न सम्म खेदे, उनका बैज्ञानीक अन्वेषणका सबै बजेट रोके, पागल नै साबित गर्न खोजे। तर उनको शोधपत्रमा औँला उठाउने ठाउँ चाहिँ थिएन। उनले स्पष्ट प्रमाण सहित पृथ्वीमा बढीरहेको लिडको मात्रा मानव उत्सर्जित प्रदूषण नै हो भनेर प्रमाणित गरिदिए भने यसको दुष्प्रभावहरुको बारेमा पनि प्रष्ट पारिदिए। 

यिनै प्रयासको फलस्वरूप उनको अनुसन्धानले के सावित गरिदियो भने उत्तरी गोलार्धको वातावरणमा लिडको प्राकृतिक स्तरभन्दा झण्डै १ हजार गुणा लिडको मात्रा रहेको छ। यसको स्रोत भनेकै Tetraethyl Lead मिसिएको पेट्रोलियम, कीटनाशक, खानेपानीका पाइप, तयारी खानाका डिब्बाहरु, रङ्गहरू आदि नै हुन्। यसले मानिसको शारीरिक र मानसिक स्वास्थ्य अति भयानक जोखिममा छन्।

यति बेला सम्म त उनलाई पनि मानिसहरूले सुन्न थालिसकेका थिए। उद्योगपतिहरुले प्रायोजित गरेका कथित वैज्ञानिक र अनुसन्धानहरुसङ्ग Patterson को प्रश्नको जवाफ थिएन तर Patterson सङ्ग लिड प्रदूषणको स्पष्ट प्रमाण थियो। अन्त्यमा सौभाग्यबश अमेरिकी बिभिन्न सस्थाहरु जस्तै अमेरिकी सेना (United States Army), The United States Department of Health & Human Services -HHS (स्वास्थ्य मन्त्रालय जस्तै) ,आणविक उर्जा आयोग (United States Atomic Energy Commission) र National Science Foundation(NSF) हरुका वैज्ञानिकहरू सहित केही अमेरिकी सांसदहरु उन्को पक्षमा बलियो सँग उभिए।

अन्त्यमा उनी सफल भए अमेरिकी संसद्ले १९७० मा Clean Air Act पास गर्यो। १९७७ मा घर रङ्गाउने रङ्गबाट र १९८६ मा Tetraethyl Lead पेट्रोलियम पदार्थमा पनि निषेध गरियो। १९२२ जुन २ मा अमेरिकाको Iowa राज्यको ग्रामीण इलाकामा जन्मिएका Patterson दोस्रो विश्वयुद्धको खतरनाक हतियार अणुबम निर्माण परियोजना The Manhattan Project हुँदै एक वातावरण योद्धाको रुपमा परिणत भए।२० औँ शताब्दीको सबै भन्दा गम्भीर प्रदूषण लिडलाइ प्रतिबन्धित गर्ने लक्ष्य हाँसिल गर्दै उनी १९९५ डिसेम्बर ५ का दिन अस्ताए। 

अहिले शक्तिशाली उद्योगपतीहरु सँग अधिकार छ। विश्वमा बैज्ञानीक अन्वेषण भन्दा चरमपन्थी बिचारधाराहरु र धर्मान्ध शक्तिहरू बढी भन्दा बढी शक्तीशाली हुँदै गइरहेछन। निकृष्ट लक्ष्य भएका उद्योगपति, चरमपन्थी र धर्मान्ध राजनैतिक नेतृत्वले स्वतन्त्र वैज्ञानिक अनुसन्धानलाई प्रभावित पार्न थालिसकेका छन्। जस्तो कि स्पष्ट रुपमा हामीले जलवायु परिवर्तनका प्रभावहरू देखिरहेका छौ, हाम्रो लोभ लालच र प्रदूषण, प्राकृतिक साधन स्रोतको अत्याधिक शोषण कारक तत्व हुन् भन्ने कुरा अब त बिना वैज्ञानिक अनुसन्धान पनि भन्न सक्ने अवस्था छ। तर पनि प्रयोजकहरु विभिन्न प्रपोगण्डा गर्न छोडेका छैनन्। हामी धेरै कुरामा सावधान सजग हुनु पर्ने अवस्था छ। 

त्यो बेलाको लिड प्रदूषण जस्तै अहिले प्लास्टिक हाम्रो लागि त्यस्तै गम्भीर प्रदूषण सावित भएको छ। प्लास्टिकका सुक्ष्म कणहरू आज पानीमा घुलिसकेका छन् प्राणीहरू र वनस्पतिको कोषमा पुगिसकेका छन्। त्यो बेला लिड प्रति रहेको झुकाव जस्तै प्लास्टिकलाई हामी त्याग्न नसक्ने अवस्थामा पुगेका छौँ भने उद्योगीहरु त प्लास्टिकको विरोध पनि सुन्न नसक्ने भइसकेका छन्। Patterson लाइ समयमा नसुनेर, अझ उपहास गरेर जुन गल्ती मानव समाजले गरेको थियो त्यो त आखिर सच्चियो। अहिले पनि पर्यावरणको पक्षमा बोल्नेहरुलाइ उपहास मात्र होइन आक्रमण नै गर्ने क्रियाकलाप बढीरहेको छ। समय र अवस्था बिग्रेर हातबाट फुस्कनु अघि सोच्नु पर्ने होइन र? 






Share:

No comments:

Post a Comment

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

About Me

My photo
देउराली, चिती, लमजुङ्ग, गण्डकी , Nepal

Translate