कामनाहिन आँखाहरुले जब एउटा नास्तिकले मन्दिर तर्फ हेर्छ
तब मन्दिर पवित्रताको उज्यालोले धपक्क बल्छ,
किनकि, कसैले त हेर्यो जसको शिर याचनामा झुकेको छैन,
बरु आफ्नो निरपेक्ष सत्यमा इमान्दारपूर्वक उभिएको छ
अब प्रयास हुन्छ भगवानबाट सबै दिक्दारी त्यागेर
बाहिर निस्कने अनि स्वतन्त्र साथीको मुहारको ज्योति बन्ने
तव भगवानका शून्य आँखाहरुले निहार्छन् वरिपरि
हस्याङफस्याङ गर्दै रहेको भक्तहरूको भीड
अनि देख्छन् त्यहाँ कोई त छ सवल स्थिर सुदृढ तन
जो आफ्नो बोझ आफै उठाएर आकाश नीहारिरहेको
यसैको सन्तोषले गदगद हुन्छन् ती निर्जीव आँखाहरू पनि
चाहे त्यो आफ्नो प्रेममा लिप्त भक्त नहोस्, तैपनि झल्किन्छ
भरिभरी खुशी र सन्तोष त्यो निर्जीव मुर्तिवत स्वरूपमा
प्रष्ट देखिन्छ हतार त्यो निर्जिवतामा पनि सजीव र शाश्वत सत्सङ्गको
एक स्वतन्त्र र स्वच्छ साथीसँग आनन्दित उन्मादका साथ
तँ जिउँदो र स्वच्छ छस् र म पनि छु त्यस्तै आनन्दित र उल्लासित
तेरो अविश्वासको वर्षात् ले मेरो विश्वासको फूल फुल्छ साथी!
जव तेरो नास्तिकताको कमलो शितल हावाको स्पर्शले सुम्सुमाउछ
आस्तिकताको तुषारोले निरन्तर चिथोरेको मेरो अस्तित्व
कामना र याचनाका कर्कश आवाजले निर्जीव भएको म
जीवन्त हुन्छु एकाएक अनन्त अनन्त कालसम्म तेरै साथमा
निर्मल हुन्छ आस्तिकका कामना र वासनाले विषाक्त मेरो शरीर
कामनाहिन आँखाहरुले जब एउटा नास्तिकले मन्दिर तर्फ हेर्छ....