A diary of Pedestrian on Mother Nature

ब्रह्माण्डको एक वर्षे यात्रा

हामीले यो ब्रम्हाण्डको आयु १३ अर्ब ८०  करोडलाई १ बर्षको फ्रेममा झार्ने हो भने मान्छेले यो ब्रम्हाण्डमा आफ्नो हैसियतको पत्तो पाउछ र आफ्नो जन्म, आफ्नो सभ्यता आफ्ना भगवानहरु ज्ञान बिज्ञानहरु ब्रम्हाण्डको विशालताको अगाडि कती तुच्छ छन भनेर बुझ्न सकिन्थ्यो। 

यही प्रयास वैज्ञानिक Carl Sagan ले आफ्नो पुस्तक The Dragons of Eden (1977) मा गरेका छन् जसलाई हामी Cosmic Calendar भनेर चिन्छौ। Sagan ले यो ब्रह्माण्डको शुरुवात देखि अहिले सम्मको १३ अर्ब ८० करोड वर्षलाई एक वर्षमा घनीभूत गरेर अर्थात् जनवरी १ तारीखको शुरुवात मध्यरात ००:००:०० बजे बाट शुरू गरेर डिसेम्बर ३१ को मध्यरात २३: ५९:५९ मा अहिलेको समयलाई राखेका छन्। ब्रम्हाण्डमा घटेका प्रत्येक घटनालाइ त्यही एक वर्षको अन्तरालमा हेर्दा कस्तो देखिन्छ त्यही यात्रा हामी पनि शुरू गरौँ।

                                                                 Carl Sagan

शुरु गरौ यो ब्रम्हाण्डको १ वर्षे यात्रा

यदी व्रम्हाण्डको सुरुवात १ जनवरी ००:०० मा BigBang बाट भयो भने अहिले हामी डिसेम्बर ३१ को सिमान्त मध्यरात्री अर्थात मध्यरात्री भन्दा केही शुक्ष्म समय अघी छौ। यो स्तरमा ४३७.५ बर्षको १ सेकेण्ड, १५ लाख ७५ हजार बर्षको १ घण्टा र ३ करोड ७८ लाख बर्षको १ दिन हुन्छ। 

यसरी हामीले व्रम्हाण्डलाई हेर्ने हो भने १ जनवरी ००:०० मा बाट सुरु भएको हाम्रो व्रम्हाण्डमा १४ जनवरीमा पहिलो गामा किरणको प्रस्फोट(first Gamma ray bursts) भयो, २२ जनवरीको दिन पहिलो आकाशगंगा बन्यो, १६ मार्चको दिन हाम्रो आकाशगंगा Milky Way बन्यो भने २ सेप्टेम्बरमा सुर्यमण्डल अनी ६ सेप्टेम्बरमा पृथ्वीको चट्टानी स्वरुप बन्यो।

१४ सेप्टेम्बरमा पृथ्वीमा पहिलो जीवनको प्ररम्भिक अंश पैदा भयो, २१ सेप्टेम्बरमा पहिलो जीवनको Prokaryotes सुरुवात भयो। ३० सेप्टेम्बरमा सुक्ष्म बनस्पतिय जीवनले फोटोसेन्थेसिस Photosynthesis प्रकृया सुरु गर्‍यो जसले पृथ्वीको वातावरणमा २९ अक्टोबर सम्म अक्सिजनको आवश्यक मात्रा पैदा गर्‍यो। ९ नोवेम्बरमा बहुकोषको बिकास भयो भने ५ डिसेम्बरमा पहिलो बहुकोषिय जीवनको शुरुवात भयो। 

१७ डिसेम्बरमा माछा, २० डिसेम्बरमा स्थल वनस्पती, २२ डिसेम्बरमा उभयचरहरु, २३ डिसेम्बरमा सरीसृपहरु, २५ डिसेम्बरमा डाइनोसोर, २६ डिसेम्बरमा स्तनधारी जनावरहरु, २७ डिसेम्बरमा चरा, २८ डिसेम्बरमा फूलहरु पैदा भए। 

३० डिसेम्बरमा मानवको पहिलो पुर्खा, ३१ डिसेम्बरको बिहानको ६:०५ मा हाम्रो बादर पुर्खा, राती २२:२४ मा ढुङ्गाका औजार बनाउन मानिसले जान्यो, राती २३:४४ मा आगो बाल्न जान्यो, २३:५५ मा आधुनिक मानवको बिकास भयो, २३:५९:३२ मा बल्ल कृषिको बिकास भयो, २३:५९:४७ मा तामा पित्तलका भाडाकुँडा बनाउन जानियो, २३:५९:४९ मा लेख्न अक्षरहरुको बिकास भयो, २३:५९:५४ मा बुद्ध जन्मिए, २३:५९:५५ मा येशु, २३:५९:५६ मा मोहम्मद र ४३७.५ बर्ष देखी २३:५९:५९ लाग्यो र अहिले ००:०० बाट सिमान्त समयमा हामी छौ। 

यो प्राणी मान्छे आधुनिक स्वरुपमा आएको ५ मिनेट भयो, यसका भगवानहरु कृष्ण डिसेम्बर ३१ को २३:५९:४९ तिर, २३:५९:५४ मा बुद्ध जन्मिए, २३:५९:५५ मा येशु, २३:५९:५६ मा मोहम्मद, यसका महान भनाउदा राजनीतिज्ञहरु जन्मेको २३:५९:५९ मै हो। यसरी जति पनि मानव सभ्यता छ त्यो ब्रह्माण्डको एक वर्षे अवधिको अन्तिम दिनको अन्तिम सेकेन्डमा घटित भएको हो।

यही एक सेकेन्डमा यस प्राणीले पृथ्वीको २ तिहाइ प्रकृति त सखाप पारिसक्यो। ५ सेकेन्ड देखी १० सेकेन्ड भित्र जन्मेका यस्का भगवानहरुको लागि यो आफू आफूमा युद्धरत छ। यसले बुझेकै छैन कि मानव सभ्यताको विकास पृथ्वीको जीवनको नगन्य समयमा भएको छ। 



Share:

एउटा "बहुलाहा" र "आइमाई कुरा"ले बदलिदिएको भूगर्भशास्त्र

आज सगरमाथाको उचाई, कालीगण्डकीको किनारमा भेटिएका शालिग्राम भनिने ढुङ्गाहरूमा कोरिएका चित्रहरू र आङ्ग सिरिङ्ग हुने गरी जाने भूकम्पका धक्काहरू आदिको बारेमा हामी धेरै जानकार छौ। अन्धविश्वासीहरुले जे भने पनि आज टेक्टोनिक प्लेट्स (Tectonic plates)हरुको आपसमा भएका लगातारको घर्षण नै यसको जिम्मेबार हो भन्नेमा आज कुनै शंका छैन।

आजभन्दा २५१ मिलियन देखि ६५ मिलियन वर्ष पहिले नेपाल मात्र होइन पुरै हिमालयको कुनै अस्तित्व थिएन। थियो त मात्र विशाल टेथिस सागर (Tethys sea)। दक्षिण तिरबाट लगातार सर्दै आएको भारतीय प्लेटले विशाल तथा सापेक्षित स्थिर युरेसियन प्लेटको मुन्तिर घुस्न थाल्यो अनि त्यही क्रममा हिमालयको रचना भयो। आज काली गण्डकीका किनारमा भेटिएका ती शालिग्रामहरु वृन्दाद्वारा श्रापित विष्णुका अवतार होइनन् ती त्यही टेथिस सागरमा समुन्द्री जिवका जिवाषेशहरु हुन्।

यहाँ मात्र होइन यो पृथ्वीमा स्थित चाहे महादेशहरु हुन् या महासागरहरु हुन् सबै तिनै टेक्टोनिक प्लेट्स माथि अवस्थित छन्। तिनीहरूको निरन्तर गतिशीलताले पृथ्वीको भौगोलिक आकार परिवर्तनशील छ। आज यो कुरा हामीलाई सामान्य लाग्छ तर आज भन्दा सय वर्ष अघि यो कुरो हास्यास्पद ठानिन्थ्यो। जब एउटा साधारण जर्मन भूगर्भशास्त्री अल्फ्रेड वेजनरले Alfred Wegener (१८८०–१९३०) ले यसको प्रस्ताव राख्दा वैज्ञानिक जगत समेतले बहुलाहा भन्दै उनको खिल्ली उडाएको थियो।
                             अल्फ्रेड वेजनर : Alfred Wegener          
कथा त्यतिबेला शुरू हुन्छ जब मौसमविद् तथा भू विज्ञानी Alfred Wegener ले अफ्रिका तथा दक्षिण अमेरिका महादेशको नक्शा हेर्दै थिए। उनलाई कता कता ती महादेशहरुका आमुन्ने सामुन्नेका किनारहरू एक आपसमा ठ्याक्क मिल्छन् जस्तो लाग्यो जसरी jigsaw 🧩 पजलका टुक्राहरु मिलाए जस्तै गरी। हुन पनि दक्षिण अमेरिकाको पूर्वी किनारा र अफ्रिका महादेशको पश्चिम किनारालाई आपसमा मिलाइदिने हो भने ती आपसमा फिट हुन्छन्। फेरि दुवै महादेशमा ती किनारहरुमा पाइने जिवाशेषहरु मात्र नभई वनस्पति र जिवहरुमा भएको समानता देखेर उनलाई लाग्यो यो विशाल आन्ध्र महासागरका दुई किनाराहरु एक आपसमा टुक्रिएर सर्दै सर्दै गएर हालको अवस्थामा आइपुगेका हुन्।

उनले त्यो दुई महादेश मात्र नभई अहिले रहेका सबै महादेशहरुको अध्ययन गर्दै उनले के परिकल्पना गरे भने यी सबै महादेशहरु शुरुमा एकै ठाउँमा जोडिएको विशाल महादेश हुनु पर्छ। उनले त्यो विशाल महादेशको नाम Pangaea प्यान्जिया राखे जुन प्राचीन ग्रीक भाषाबाट व्युत्पत्ति भएको हो जसको अर्थ हुन्छ "सम्पूर्ण जमीन।"
                                  विशाल महाद्वीप प्याञ्जिया 
Wegener का अनुसार करोडौँ वर्षको अन्तरालमा त्यो विशाल महादेश टुक्रीएको हुनुपर्छ र बिस्तारै बग्दै या सर्दै छुट्टिएर अहिलेको जस्तो संरचना बनेको हो। Wegener को यो प्रस्ताव १९१२ मा जव आयो तव अन्य क्षेत्र मात्र नभई विज्ञान कै क्षेत्रमा नै सबै भन्दा हास्यास्पद कुरा बन्यो। कसैले यो कुरामा चासो दिएनन्, समयको अन्तरालमा त्यसलाई भुलाइयो।

अहिले विभिन्न तथ्यगत प्रमाणहरू हुँदा हुँदै त अझै पनि अन्धविश्वास अझ विशेष गरी धार्मिक अन्धविश्वासमा परेर कतिपय प्राकृतिक परिघटनाहरुलाई दैवीय दृष्टिकोणबाट हेर्दै खिल्ली उडाइन्छ भने त्यो त कसैले कल्पना गर्न नसकेको परिकल्पना थियो। विशाल आन्ध्र महासागर अनि विशाल महादेश हेर्दै त्यो सर्दै गएर त्यहाँ पुगेको भनेर किन मानिसहरू पत्याउँथे र। यहीँ पनि शालिग्राम विष्णुको अवतार होइन समुन्द्री जीवको जिवाशेष हो भन्यो भने अहिले युरोपियन दलाल देखि धर्म विरोधी बिल्ला लगाउन मानिसहरू तयार नै छन्। त्यस्तै अन्धविश्वास हिमालय पर्वतको रचना देखि भूकम्प सम्म छ। शिक्षित र विज्ञानकै क्षेत्रका मान्छेहरूले सगरमाथाको उचाइको .८६ मीटरको खिल्ली उडाएको धेरै समय भएको छैन। जसले भूगर्भ विज्ञानमा ठूलो महत्व राख्छ।
        शालिग्राम : समुन्द्री प्राणीका जिवाशेषहरु हुन्, जसलाई विष्णुको अवतारको रुपमा पुजिन्छन्
जसरी पृथ्वीको सुदुर गहिराइमा भएको निरन्तर हलचल जसले बाहिरी सतहमा देखिएका विशाल भूखण्डहरुलाई निरन्तर चलायमान गराइरहन्छन् र नवनिर्माणको प्रक्रिया चलिरहन्छ त्यस्तै Wegener को मस्तिष्कमा पनि त्यस्तै हलचल चल्यो होला जब उनले दुई महादेशका किनारा देखे होलान्। पृथ्वीको गर्भमा हुने विभिन्न प्रक्रियाले विशाल महादेश प्यञ्जिया टुक्रेर अहिलेको अवस्थामा आएको हो भन्ने उनको परिकल्पना बाहिर निस्किँदा पुराना कति मान्यताहरुको जग हल्लियो जसरी कपर्निकस र ग्यालिलियोको कुराले चर्चका जग हल्लिएका थिए। प्रतिक्रिया त्यस्तै भयो। 

Wegener सबैको लागि बहुलाहा सावित भए। आलोचना र ठट्टा–मजाकको एउटा पात्र जसले जताततै भोग्ने त छँदै छ व्यङ्ग बाण र उपहासको सामना त वैज्ञानिक जगतमा पनि गर्नु पर्यो, चार्ल्स डार्विनका क्रम विकासका सिद्धान्त देखि जलवायु परिवर्तनका मुद्दाहरूमा जसरी अहिले प्रतिक्रियाहरु भेटिन्छन्। 

हुन त ब्राजिल एक समयमा विशाल आन्ध्र महासागर पारी पश्चिम अफ्रिकाको भाग नाइजेरिया क्यामरुन सङ्गै थियो भन्दा चित्त बुझाउन पनि गाह्रो नै हुन्थ्यो होला। चरम उपहास र आलोचना झेले पछि उनका गुरु र हुनेवाला ससुरा Wladimir Köppen ले अहिले नै यसरी अगाडि बढ्नु उपयुक्त होला र? सुझाव दिएका थिए। Wegener ले जवाफ दिएका थिए, "पुराना मान्यताहरुलाई बाहिर हुर्राई दिन संकोच गर्नु हुँदैन यदि त्यहाँ स्पष्ट आवश्यकता देखियो भने चाहे त्यसको लागि जस्तो सुकै परिस्थितिको सामना गर्नु परोस्।"

उनी Marburg University का अवैतनिक प्राध्यापक थिए त्यो पनि उनको विशेषज्ञता भूगर्भशास्त्रको होइन उनी त मौसम विज्ञान र अन्तरिक्ष विज्ञानको थियो। आफ्नो विषय भन्दा बाहिर गएर पृथ्वीको नक्साको तस्बिर काटेर एक आपसमा जोडेर यो पहिला एउटै महादेश हुनु पर्छ भन्नु एक प्रकारको हास्यास्पद पागलपन नै हुन सक्छ। तर Wegener विषयगत सीमा भन्दा बाहिर निस्कन चाहन्थे। उत्तर ध्रुवीय क्षेत्र जस्तो कठिन क्षेत्रको गहन अन्वेषण गरेका Wegener त्यसै हार मानिहाल्ने मान्छे पनि कहाँ थिए र।

उनले महादेशहरुका नक्साहरू काटेर एक अर्कोमा मिलाएर विशाल महादेश प्याञ्जियाको आकारको परिकल्पना मात्र त कहाँ गरेका हुन र, उनले छुट्टाछुट्टै महादेशका समुन्द्री किनारका प्राणी तथा वनस्पतिहरूको तथ्य पनि जम्मा गरेका थिए। अष्ट्रेलिया र दक्षिण अमेरिकी Marsupials (ती स्तनधारी प्राणी जसले बच्चालाई पेटमा रहेको थैलीमा राखेर हुर्काउँछन् जस्तो कङ्गारु) प्राणिहरूमा समानता थियो भने उनीहरूलाई रहने परजीवी फित्ते जुकाहरुको संक्रमण समेत उस्तै थियो। त्यसैले उनले यो दावी गरे कि यो विशाल महादेशलाई पृथ्वीको कुनै शक्तिले पत्रिका च्याते जस्तै धरर च्यातेको हो।
               प्राणी तथा वनस्पतिहरूको विस्तारलाई एउटै महाद्वीपीय व्याख्या गर्न सकिन्छ
Wegener ले यो प्रक्रियालाई Continental Displacement (महाद्वीपीय विस्थापन) भन्दै Frankfort Geological Association मा १९१२ को लेक्चरमा प्रस्तुत गरे। यसमा त्यति साह्रै कसैले गम्भीर ध्यान दिएनन्। उनले यसलाई एउटा आर्टिकल को रुपमा पनि छपाए तर उपहास बाहेक कुनै गम्भीर ध्यान कसैको त्यसमा पनि गएन। पहिलो विश्वयुद्धमा जर्मनीको पक्षमा युद्धमा भाग लिँदा उनी घायल भएका थिए। 

उपचार पश्चात उनले १९१५ मा यसको पृथ्वीको यो अद्वितीय प्रक्रियाको बारेमा एउटा पुस्तक लेखे The Origin of Continents and Oceans जुन जर्मन भाषामा थियो र पछि १९२२ मा यो अङ्ग्रेजीमा पनि छापियो। त्यस पछि त मानौँ बम नै विस्फोट भयो। विश्वयुद्धमा पराजित जर्मनको लेखाइ त्यो पनि महाद्वीपको सराई Continental drift सबै तिर बाट तिखो प्रतिक्रिया र उपहास आउन थाल्यो।
                      Wegener ले बनाएको Continental drift को नक्सा 
बाहिर त जर्मनीलाई यसै घृणा गरिन्थ्यो जर्मनी भित्रै पनि यो विचारलाई Moving Crust Diseases, Wandering Pole Plague भनेर उपहास गरियो भने ब्रिटिशहरुले काजग काटेर महादेशको निर्माण गरे जस्तो साँच्चैको गर्नको लागि शक्ति पृथ्वीमा कसरी पैदा हुन्छ भनेर उपहास गरियो भने Royal Geographical Society मा "शायद त्यो शक्ति Professor Wegener आफैले आत्मघाती विस्फोट पो गरेर दिएका हुन कि" भन्दै उपहास गरियो। 

अझ अमेरिकीहरू यसमा अझै कडा प्रतिक्रिया जनाउथे। यसलाई जर्मन छद्म विज्ञान (German Pseudoscience) भन्थे र Wegener आफै यसको नशामा लठ्ठिएका छन्। Chicago का भूगर्भ शास्त्रीहरु त भन्थे Wegener को कुरो पत्याउने हो भने त हामीले ७० वर्षमा जे जे सिकेका छौ ती सबै रद्दीको टोकरीमा फालिदिए हुन्छ। 

अब Wegener को त्यो परिकल्पनालाई उनीहरूले एक काल्पनिक परीको कथा नै बनाइ छाडे। दोस्रो विश्वयुद्ध ताका सम्म पनि पुराना भूगर्भशास्त्रीहरु नयाँ आउनेहरुलाई Wegener को महाद्वीपको सराईको सिद्धान्तमा रुचि देखाउनु मात्र पनि तिमीहरूको भविष्य अन्धकार हुन्छ भन्दथे।

Wegener यी उपहास र आक्रमणबाट विचलित त भएनन्। बरु आफ्नो अध्ययनलाई अगाडि बढाउँदै लगे। उनले सकेसम्मको प्रमाणहरू जुटाउँदै चाहे ती जैविक हुन् या भुगर्भिय क्रियाकलापहरू नै हुन् आफ्नो सिद्धान्तलाइ लगातार परिमार्जन गर्दै लगे। १९२९ मा यसको अन्तिम संस्करण प्रकाशित गरे।

१९३० मा ग्रीनल्याण्डमा एक वैज्ञानिक अभियान कै क्रममा उनको मृत्यु भयो। उनी सङ्गै गएका साथी Rasmus Villumsen ले उनीलाई त्यही हिउँमा समाधिस्त गरेर अघि बढेका रहेछन् र उनी पनि हिउँमै हराए। छ महिना पछि उनका भाइले Wegener को समाधि पत्ता लगाए अनि १०० मीटर पर उनको डायरी।
            Greenland मा आफ्ना साथी Villumsen सङ्ग Wegener आफ्नो अन्तिम वर्षमा
उनी अत्यधिक धूम्रपान गर्थे र उनको मृत्यु हृदयाघातबाट भएको थियो। उनको मृत्यु हुँदा उनी ५० वर्षका थिए। उनको शव फेला पार्दा भनिन्छ उनको आँखा खुल्ला थियो मुहारमा मुस्कुराएको जस्तै शान्ति थियो। उनी सङ्गै गएका साथी Villumsen मात्र २३ वर्षका थिए। दुवै ग्रीनल्याण्डको हिउँमा जीवन बिसाए।

उनको यो महाद्वीपीय सराईको अवधारणा फेरि चर्चामा आयो। युद्धमा प्रयोगमा आएका विभिन्न प्रविधिहरु वैज्ञानिक अध्ययनको लागि प्रयोगमा ल्याउने क्रम बढ्दै थियो। कतै आणविक हतियारको परीक्षण तथा प्रयोग पत्ता लगाउन भूकम्प मापन गर्ने Seismometers, पनडुब्बीहरु पत्ता लगाउनको लागि प्रयोग गरिने Magnetometers हरुका तथ्यहरु वैज्ञानिक अनुसन्धानको लागि पनि उपलब्ध हुन थालेका थिए। 

यी प्रविधिहरूको प्रयोगले वैज्ञानिकहरुले के पत्ता लगाए भने भूकम्पहरु पृथ्वी भरी जहाँ तहाँ समान रूपले जाँदैनन्। केही क्षेत्रहरूमा भूकम्पहरु आश्चर्यजनक रूपले अत्यधिक जान्छन् भने समुन्द्रको गहिराईहरुमा पृथ्वीको चुम्बकीय क्षेत्रमा विचित्रको विविधता छ।

अब अनुसन्धानकर्ताहरुले Wegener का अवधारणाहरु सङ्ग मिल्दो तथ्यहरु पत्ता लगाउन थाले जसले पृथ्वीको crust साधारणतया २० वटा टेक्टोनिक प्लेट्समा विभाजित भएको हुनुपर्छ भन्ने तिर इङ्गित गरेको थियो। 

ज्वालामुखीबाट समुन्द्रमा मिसिएको लाभा (Lava) सेलाउँदा कतिपय खनिजहरू पृथ्वीको चुम्बकीय क्षेत्र अनुसार निश्चित दिशामा फर्किएका हुन्छन्। त्यसको अध्ययनबाट के थाहा भयो भने पृथ्वीको चुम्बकीय क्षेत्रमा कालान्तरहरुमा परिवर्तन भइरहेछ जसले पृथ्वीको सुदुर गहिराइमा निरन्तर हलचल छ जसले टेक्टोनिक प्लेट्सलाइ चलायमान गराइरहेछ।

आइमाई कुरा

जब टेक्टोनिक प्लेट्स र महाद्वीपीय सराईको कुरा जव आउँछन् एउटी महिला वैज्ञानिकको नाम पनि सङ्गै आउँछ। उनी थिइन् अमेरिकी भूगर्भविद् Marie Tharp(१९२०–२००६)। Wegener को अवधारणाले चर्चा पाउनुको पछाडि एउटा नक्साको विशेष हात रहेको भन्न सकिन्छ। त्यो नक्साले हामीले यो पृथ्वीलाई हेर्ने हाम्रो दृष्टिकोणलाई सम्पूर्ण रुपमा परिवर्तन गरिदियो भन्न सकिन्छ। 
                                        Marie Tharp             
१९५३ मा एक युवा भूगर्भशास्त्री Marie Tharp ले समुन्द्रको पिँधको नक्सा कोरेकी थिइन् जसले Wegener को महाद्वीपीय सराईको (Continental drift) अवधारणालाई पूर्ण रुपमा समर्थन गर्थ्यो।

१९२० मा अमेरिकामा जन्मिएकी Marie Tharp का पिता U.S. Department of Agriculture मा कार्यरत माटोको सुपरिवेक्षक थिए।त्यही पृष्ठभूमिले उनलाई पनि माटो सङ्ग जोडेको हुनु पर्छ। त्यो समय महिलाहरुलाई अन्य क्षेत्रमा त परै जाओस्, विज्ञानकै क्षेत्रमा पनि सहज रुपमा स्वीकार गरिदैनथ्यो। 

१९२० देखि १९७० सम्मको अवधिमा जम्मा ४ प्रतिशत महिलाहरुले भूविज्ञानको क्षेत्रमा विद्यावारिधी थिए। विज्ञानका सबै क्षेत्रमा त्यस्तै हालत थियो। विज्ञानका क्षेत्रमा कार्यरत महिलाहरु पनि बाहिर देखिँदैनथे या समुह या संस्था आफैले देखिन दिँदैनथ्यो। तैपनि उनी असाधारण प्रतिभा भएकाले नै होला, उनीले आफूलाई अब्बल उभ्याएकी थिइन्।

१९४० को विश्वयुद्धका बेला उनीले काम गर्ने अवसर पाइन्। University of Michigan बाट भू विज्ञानमा स्नातकोत्तर गर्न सफल भएकी उनी पुरुषहरूले समेत झन्झट मान्ने भूगर्भविद् को भुमिकामा आफूलाई उभ्याएकी थिइन्। त्यो बेलाको समयमा Wegener को अवधारणाले सबैको टाउको तताएको थियो। Wegener को आलोचनामा सबै भन्दा बढी कस्सिएर लागेका अमेरिकी भूगर्भविद्हरु नै थिए। पृथ्वीको क्रस्टको बाहिरी सतह भन्दा भित्र त्यति अध्ययन गरिएको पनि थिएन न समुन्द्रको पिँधको नै कुनै अध्ययन गरिएको थियो।

Lamont lab का संस्थापक Maurice Ewing लाइ कार्यालय र म्युजियम भित्र बसेर भौगर्भिक अध्ययन गर्न अब दिक्क लागि सकेको थियो। उनले अब अध्ययन समुन्द्रको पिँधमा हुने भौगर्भिक क्रियाकलापलाइ तत्कालीन प्रविधिको सहायताले सम्पन्न गर्ने तर्फ बढाए। Sonar (sound navigation and ranging) को प्रयोग युद्धक्षेत्रमा धेरै प्रयोगमा आइसकेको थियो। Lamont lab अब समुन्द्रमा थियो अर्थात् आन्ध्र महासागर।

Tharp त्यही प्रयोगशालाको टेबलमा सीमित भइन्। उनको काम Sonar बाट प्राप्त तथ्यलाई चित्रमा अर्थात् नक्सामा उतार्नु थियो।  यो कार्यको लागि उनी सङ्गै अर्का भूगर्भविद् थिए Bruce Heezen जो Sonar तथ्यहरु सङ्कलन गर्थे अनि Tharp लाइ दिन्थे। Tharp को काम ती तथ्यलाई चित्रमा उतार्नु थियो जुन उनले निरन्तर गर्दै गईन्।

आन्ध्र महासागरको पिँधको नक्सा बिस्तारै उनको अगाडि खुल्दै थियो। तव उनले आफ्नो क्यानभासमा एउटा आश्चर्यजनक संरचना बिस्तारै नक्सामा खुल्दै गएको देखिन्: ओह! विशाल उपत्यका, महासागरको पिँधमा रहेको विशाल पर्वतश्रृङ्खला बीचमा छ यस्तो लाग्छ पृथ्वीको क्रस्ट बिस्तारै च्यतिँदै गइरहेको छ। उनीले झट्ट Wegener र उनको महाद्वीपीय सराईको अवधारणा सम्झिईन् तव पृथ्वीको त्यो प्रक्रिया उनको अगाडी प्रत्यक्ष प्रमाण सहित उनको क्यानभासमा थियो। उनले धेरै पटक तथ्यहरु पुन: परीक्षण गरिन् तर पनि नतिजा त्यही आयो।
     Marie Tharp ले बनाएको समुन्द्री पिँधको नक्सा  जहाँ विशाल पर्वत श्रृङ्खला हरू देखिन्छन्
उनले त्यो कुरा Bruce Heezen लाइ सुनाइन्। १९९९ मा उनले लेखेको निबन्धमा उनी सम्झिन्छिन्, "जब मैले नक्सा Bruce लाइ देखाएँ, उसले ह्या! यो हुनै सक्दैन, यस्ता 'आइमाई कुरा' भनेर तुरुन्त अस्वीकार गर्यो।" उनले आफ्ना दाजुलाई यो कुरा सुनाइन्, दाजुले Wegener को अमेरिकी आलोचना नजिकबाट देखेका हुनाले बहिनीको हालत पनि त्यस्तै नहोस् चाहन्थे त्यसैले उनले धेरै परीक्षण पश्चात मात्र बोल्नु भन्ने सल्लाह दिए।

त्यसपछिका दिनमा एक वर्षसम्म लगातार Tharp काे कामको परीक्षण र नक्सा हेरे पछि Bruce पनि विश्वस्त भयो कि यो Wegener ले भने जस्तै महाद्वीपीय सराई (Continental drift) नै हो। Wegener को अवधारणा सही छ। जुन उपत्यका Tharp ले पत्ता लगाइन् त्यो पृथ्वीको सबै भन्दा ठूलो संरचना अन्तर्गत पर्छ।

Heezen ले १९५६ मा यो अनुसन्धानको प्रकाशन जब गरे त्यसको सबै श्रेय आफैले लिए। ती बेलाका अन्य अनुसन्धानमा जस्तै महिलाहरु पृष्ठभूमीमै अड्किए। उनी आफ्नो निबन्धमा भन्छिन्, "एउटा तस्विरले लाखौँ शब्द भन्दा बढी बोल्छ र त्यही हेरे पछि विश्वास हुन्छ।" अर्थात् Seeing is believing
                                   Marie Tharp 2006
अहिले त हामी सङ्ग यति धेरै प्रविधि र तथ्यहरु छन् कि कम्प्युटर सिमुलेशन गरेर प्रत्येक कालखण्डमा महाद्वीपहरु कस्ता थिए, कसरी टेक्टोनिक प्लेट्सको गतिशीलताले कुन कालखण्डमा कस्तो हुन्छ सजिलै भनिदिन सक्छौ। अहिले पृथ्वीको परिक्रमा गरिरहेका सयौँ भू उपग्रहहरुको तथ्यहरूले अहिले पृथ्वीको सरञ्चनाहरुको हरेक क्रियाकलापहरू स्पष्ट गर्न सकिन्छ। हामी पृथ्वीका सुदुर गहिराईहरुका रहस्यहरु बिस्तारै खुलाउँदै छौ।

अबको २५० मिलियन वर्ष पछि यी महाद्वीपहरु फेरि एकै ठाउँमा जुट्ने छन् त्यसलाई हामी Wegener ले जस्तै Pangaea Proxima भन्छौँ। त्यतिबेला ठूला ठूला पर्वत शृङ्खला पनि बन्लान् जव अफ्रिकी टेक्टोनिक प्लेट युरोपेली टेक्टोनिक प्लेट सङ्ग घर्षण गर्ला। हामीलाई अहिले ठ्याक्कै भन्न त सक्दैनौँ तैपनि टेक्टोनिक प्लेट्सको गतिशीलताले सबै महाद्वीपलाई एकै ठाउँ Pangaea Proxima मा जोडिदिने छ Wegener लाइ पनि।


Share:

जलवायु परिवर्तनका मुद्दा निस्तेज गर्ने गम्भीर तथा घातक प्रयास

 

चाहे नेपाल होस् या भारत या अमेरिका लगायत कुनै विकसित मुलुक नै किन नहोस्, वातावरण संरक्षण, जलवायु परिवर्तनका मुद्दामा बोल्नेहरुको बिरुद्ध घृणित अभिव्यक्ति सामान्य भइसकेको छ। यो लगातार तिब्र गतिमा बढ्दै गइरहेको छ। वातावरण र जलवायु परिवर्तन जस्तो संवेदनशील मुद्दामा त्यसैको पक्षमा जायज र वैज्ञानिक आधारमा उठाइएका आवाजहरुको विरुद्धमा व्यक्तिगत स्तरमा उत्रेर निम्नस्तरको गाली गलौज, भद्दा शारीरिक टिप्पणी, यौनिकता माथि निकृष्ट ठट्टाहरु दिनानुदिन सामान्य हुँदै गएका छन्। ती क्रियाकलापहरूलाई बढावा दिनको लागि उद्योगधन्धा मात्र नभई सरकारी संयन्त्र, धार्मिक संघ संस्था र राजनैतिक पार्टीहरुले समेत कस्सिएर लागेका छन्। 

भारतको किसान आन्दोलनको पक्षमा ट्वीट गरेकी स्वीडेनकी किशोरी वातावरण अभियन्ता ग्रेटा थनवर्गको त्यही एक ट्वीटले भारतीय राजनीति पुरै उथलपुथल भएको थियो। भारतमा भगवान जस्तै पुजिने क्रिकेटर सचिन तेन्दुलकर देखि स्वर साम्राज्ञी लता मंगेशकर लगायत धेरै सेलिब्रेटीहरुले एउटै भाषा अनि शब्द संयोजनमा भारतीय एकता र आन्तरिक मामिला भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए। थनवर्गको विरुद्धमा विदेश मन्त्रालय देखि सबै संयन्त्रले अखण्ड भारत र सार्वभौमिकता माथिको आक्रमण भन्दै कोकोहोलो मच्चाएका थिए। अझ प्रकृति पुजक भनेर चिनाउने हिन्दुवादी पार्टी भारतीय जनता पार्टीका समर्थक र कार्यकर्ताहरु त थनवर्ग पाकिस्तानी, कश्मीरी मुस्लिम भएको देखि उनलाई बलात्कार गरेर मार्ने सम्मको विष वमन गर्न भ्याए। यही पृष्ठ भूमिमा भारतीय वातावरण अभियन्ता दिशा रवि नामक युवती राष्ट्रद्रोहको आरोपमा गिरफ्तार भइन्। अहिले उनलाई जमानतमा रिहा गरिएको छ। 
                                      दिशा रविको गिरफ्तारीको विरोधमा गरिएको प्रदर्शन
ग्रेटा थनवर्गले १५ कै उमेर देखि स्वीडेनको संसद बाहिर धर्ना देखि विश्व भरिनै विद्यालय स्तरीय एक विरोध आन्दोलनको लहर ल्याएकी थिइन्। 2019 मा UN Climate Action Summit मा १६ वर्षे ग्रेटाले दिएको How dare you भन्ने सम्बोधन विश्व चर्चित भए पछि ग्रेटालाई होच्याउँदै तात्कालिक अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट समेत गरेका थिए। त्यस पछि उनी विश्वभरि नै ट्रम्पवादीहरुको आँखाको कसिंगर बनेकी थिइन्। 
                             स्विडिस किशोरी Greta Thunberg प्रदर्शनको क्रममा 
फिलिपिन्सकी वातावरण अभियन्ता रिनी करुनुँगनको पनि त्यस्तै अनुभव छ। उनलाई पनि सामाजिक सञ्जाल देखि बाहिर समेत मोटी, भद्दा शरीर भएकी भन्ने देखि लगातार बलात्कारको धम्की आउन थालेपछि देश नै छोड्न बाध्य भएको सुनाउँछिन्। 

नेपालमा पर्यावरण अभियानकर्ताहरुलाई विकास विरोधी भन्ने देखि युरोपियन दलाल आदि लगायत जातिगत, धर्मागत, पेशागत र शारीरिक यौनिक भद्दा टिप्पणी गर्ने कार्य चरम छ। यसको उदाहरण भर्खरै कमलपोखरी, रानीपोखरी आदिको मुद्दामा देखिएको छ भने डोजरे विकासको लागि खोतलिएका डाँडाकाँडा को विषयमा पनि देखिइसकेको छ।

मेक्सिको, होन्डुरस, ब्राजिल, ग्वाटेमाला जस्ता देशहरूमा त वातावरण अभियन्ता देखि आफ्नो बासस्थानको सुरक्षा, वर्षा जंगलको रक्षाको लागि उभिएका कयौँ आदिवासी अभियन्ताहरुको हत्या गरिएको छ भने पूर्वी एसियाका फिलिपिन्स, क्याम्बोडिया, इन्डोनेसिया जस्ता देशको पनि अवस्था त्यस्तै छ। 
                                       अमेजन बर्षावन अहिले तिब्र विनाश भइरहेको छ
ती देशहरूमा रहेका वर्षा जङ्गलहरुको तीव्रतर विनासमा त्यहाँका उद्योगपतिहरूलाइ सरकारले नै सघाएको छ। ती अभियन्ता र आदिवासीहरूको सुरक्षा गर्नु त कता हो कता उनीहरूको हत्यामा सरकारी संयन्त्र नै लागेको आरोप कुनै नौलो होइन। 
                                       इन्डोनेसिया का वर्षाबनको विनाश विश्वमै उच्च छ
भारत मै पनि सदगुरु भनिने जग्गी वासुदेवले पश्चिम घाट स्थित वेल्लियानिरी हिल्स अन्तर्गत हात्तीहरू विचरण गर्ने Elephant Corridor अतिक्रमणको कारणले हात्तीहरुको मृत्युको साथै हात्तीहरू नजिकको बस्तीमा पसेर वितण्डा मच्चाउने कुराको मुद्दा राष्ट्रीय हरित न्यायाधिकरण दक्षिण विभागमा अझै विचाराधीन छ। सत्ता सङ्ग साँठगाँठ गरेर ईशा फाउन्डेसनको अनधिकृत अतिक्रमणको विरुद्धमा आवाज उठाउनेहरुको आवाज दबाइएको आरोप उनलाई पनि लाग्छ। 

अभियन्ता मात्र होइन वातावरण पत्रकारहरु पनि यस्तै घृणाजन्य अभिव्यक्तिका शिकार हुनु त साधारण भइसकेको छ भने पछिल्लो १० वर्षमा २० जना पत्रकारहरुको नृशंस हत्या गरिएको छ। पछिल्लो समयको तथ्य हेर्ने हो भने भारतमा ४, कोलम्बियामा २ , मेक्सिको, फिलिपिन्स र म्यानमारमा एक एक जना पत्रकारहरु मारिएका छन्। जुन २०२० मा उत्तर प्रदेशमा शुभम् मणि त्रिपाठीको टाउको मै ३ गोली प्रहार गरेर हत्या गरिएको थियो। उनले हत्या पूर्व प्रसाशन मात्र नभई आफ्नो फेसबुक पोस्ट मै आफ्नो हत्याको सम्भावनाको जानकारी दिएका थिए। 
                                                                       शुभम् मणि त्रिपाठी
धेरै जसो हत्यामा प्रशासनको असहयोग, अझ पीडितहरुमाथि नै उल्टो खेद्ने सरकारी रबैया सबैको सामुन्ने स्पष्ट छ। नेपालमा पनि मिथिला नगरपालिका-५ श्रीपुरका ओमप्रकाशलाई टिपरले किचेर हत्या गरिएको थियो। सो हत्या त्यहीका बालुवा तस्करले गराएका थिए। उनी अवैध बालुवा उत्खनन रोक्न घटनास्थल गएका थिए।
                                                                              ओमप्रकाश 
२०१८ मा बुर्नियोको जेलमै हत्या गरिएका पत्रकार मोहम्मद युसुफलाइ स्थानीय पाल्म तेल उद्योगलाइ बद्नाम गरिएको आरोप लगाएर जेल पठाइएको थियो। फिलिपिन्समा कार्यरत अमेरिकी वातावरण पत्रकार ब्रेन्डन ली लाइ धेरै हत्या प्रयास पश्चात अगस्ट २०१९ मा एम्बुसमा पारी गोली हानेर हत्या गरिएको थियो।२०१९ मै दक्षिणी सुडानका जोसेफ ओडुहा लाइ सरकारले नै पक्रिएर चरम यातना दिए पछि देश नै छोडेर उनी भाग्नु पर्यो भने कोलम्बियाका वातावरण वातावरण पत्रकार Alberto Castaño  र María Lourdes Zimmermann दुवै हत्याको सम्भावना देखे पछि देश छोडेर भागे। 
                                                      Brendon Lee
अभियन्ता र पत्रकार माथि मुद्दा, हत्याको मामिलामा सबै भन्दा अगाडि भारतको नाम आउछ। पछिल्लो समय ४ जना पत्रकारको हत्या, ४ सांघातिक आक्रमण अनि ४ वटा मुद्दा प्रशासनमा दायर गरिएको छ। ती सबैमा बालुवा माफियाको हात रहेको छ। चीनको Fujian मा भएको औद्योगिक फोहोरको बारेमा कभरेज गरेको भन्दै पत्रकार Zhou Chen लाइ २०१८ मा प्रशासनबाट नै खुला धम्की दिइएको थियो।

जापानको फुकुशिमा आणविक भट्टीको दुर्घटनाको बारेमा कभरेज गर्ने पत्रिका माथि राम्रै दबाब सरकारी पक्षबाट गरिएको थियो २०२० को ओलम्पिक जुन कोरोनाको कारणले स्थगित भयो सो आयोजनालाई असर पर्छ भन्ने डर सरकारी पक्षले महसुस गर्यो। अहिले फुकुशिमा आणविक भट्टीको दुर्घटना पश्चात प्रदूषित भएको पानी लगायतका अन्य पदार्थ समुन्द्रमा मिसाउने जापानी फैसलाको विश्वव्यापी आलोचना भइरहेको छ। गृष्म ओलम्पिक खेलको आयोजक राष्ट्र जापानले सोही खेलको आयोजनाको पृष्ठ भूमिमा सो निर्णय लिएको छ। 
            फुकुशीमा: रेडियोधर्मी प्रदूषित पानीका ट्याङ्कीहरु जुन अब प्रशान्त महासागरमा छोडिने छ

अझ इजिप्टकी महिला पत्रकारको त अझ गम्भीर अनुभव छ, उनको सरकारी काम देखि विमानस्थलको चेकिङमा समेत उनलाई नियोजित दुर्व्यवहार गरिन्थ्यो। कारण थियो उनले मुगा तस्करीको बारेमा कभरेज गरेकी थिइन्। 

यसमा फ्रान्स र बेलायतको प्रसङ्ग पनि कम छैन। Alexandre-Reza Kokabi लाई २०१९ मा बेलायतमा र फ्रेन्च पत्रकार Hugo Clément जसले कोइला खानीको कभरेज गरेका थिए उनलाई फ्रान्समा पक्राउ गरेर घण्टौं राखिएको थियो। फ्रान्समा स्वतन्त्र लेखक Inès Léraud लाइ सघन खेतीको वातावरणीय असर भन्ने आलेखको लागि पटक पटक मुद्दा चलाइएको थियो। २०१७ मा थाइल्याण्डमा Pratch Rujivanarom नामक पत्रकारलाई पानीको प्रदूषणको बारेको लेखको लागी गम्भीर मुद्दा चलाइएको थियो।
                                   वेष्ट भर्जिनिया: कोइला खानीको लागि गरिएको विनाश

यी सबै प्रसङ्गहरु विश्लेषण गर्ने हो भने उद्योगी क्षेत्रले मात्र होइन सरकार धार्मिक संघ संस्थाहरुले वातावरण र जलवायु परिवर्तन अभियन्ता र पत्रकारमाथि एक प्रकारको धर्मयुद्ध नै शुरू गरेका छन्। अहिले समाजको हरेक तप्कामा यही संदेश पुगेको छ। 

चीन भारत जस्ता देश मात्र नभई नेपालमा नै पनि वातावरण संरक्षण र जलवायु परिवर्तनको बारेमा आवाज उठाउनेलाइ अमेरिकी र युरोपियन शक्तिकेन्द्रबाट संचालित देख्छन् र त्यही अनुसार उनीहरुलाई सरकार समाजको हरेक तप्काबाट जोखिम उत्पन्न गराउन उद्धत छन्। त्यही युरोप अमेरिकामा पनि सरकारी, उद्योगी र समाजले वातावरण र जलवायु परिवर्तनको मुद्दामा आवाज उठाउनेहरुको हालत उस्तै बनाएका छन्। त्यहाँ पनि जोखिमको स्तर उस्तै छ। 

अहिले विशेष गरी वातावरण र जलवायु परवर्तनसम्बन्धी मुद्दाहरूलाई दबाउन धार्मिक आस्थाको सहायता लिने जस्तो निकृष्ट कार्य दिनानुदिन बढ्दै गइरहेको छ। विशेष गरी भारतीय सरकारी रबैया त्यस्तै देखिन्छ। सरकारी र उद्योगीको एक संयुक्त प्रयास हरेक क्षेत्रमा देखिन्छ चाहे त्यो सामाजिक सञ्जाल होस् या भौतिक परिस्थिति होस्। 

हामीले कुनै निष्कर्षमा पुग्नु अगावै बुझ्नु पर्ने कुरा के हो भने वातावरण र जलवायु परिवर्तनका जोखिम भोलि हाम्रै आउँदो पिँढीले भोग्नु पर्ने नियति स्पष्ट छ। त्यसैले हामी आफै स्व: फूर्त यो अभियानमा जोडिने या आफ्नै अभियान नथाल्ने हो भने भविष्य भयानक छ। अझै पनि केही पुँजीपति, उद्योगी र दलाल पुँजीवादी सरकारी संयन्त्रको प्रोपागान्डामा भ्रमित भएर वातावरण संरक्षण र जलवायु परिवर्तनको मुद्दालाई दूषित नपारौं। भोलि पछुताउने हामी नै हो।

Share:

मौरी ! जीवनको आधार

 


मौरी! सानो झोला बोकेर भुन भुन गर्दै परागकण टिप्न र पुष्परस पिउन उडेको एउटा आर्थोपोडा, भनिन्छ यो हामीले खाने एक तिहाई खानामा यसैको योगदान छ। चाहे त्यो फलफूल हुन् या तरकारीहरू या कपास या घाँसे मैदानमा फैलिएका घाँसहरुको जीवनको निरन्तरता किटपतङ्गहरुमै आधारित हुन्छन्। 

फूल फुल्ने वनस्पतिहरुको प्रजनन या नयाँ जीवनको लागि विज उत्पादनको लागि परागसेचन हुनु अनिवार्य छ। फूलहरूको पुरुष अङ्ग पुँकेशर बाट परागकण फूलको स्त्रीअङ्ग स्त्रीकेशर सम्म पुर्याएर गर्भाधानको प्रक्रिया हुँदै विजको उत्पादनमा योगदान यिनै मौरी, पुतली, पतङ्ग आदिले गर्छन्। 

८७.५ प्रतिशत वनस्पतिको परागसेचन प्रक्रिया प्राणीहरूको क्रियाकलापले हुन्छ भने झण्डै ८४ प्रतिशत वनस्पतिहरूको परागसेचन विभिन्न प्रजातिका मौरीहरुले गर्छन्। युरोपियन मह मौरी Apis mellifera परागसेचनमा विश्वमै सर्वप्रथम स्थानमा आउँछ। त्यसैले हामीले खाने एक तिहाई खानामा यिनै मौरीको योगदान छ भनेर भनिन्छ।
                                     Apis cerana

सबै भन्दा महत्वपूर्ण परागसेचक

मौरीहरू किन सबै भन्दा राम्रा परागसेचक हुन् त? उत्तर सजिलो छ: मौरीको जीवनको सबैजसो समय पराग सङ्कलन गर्दैमा बित्छ किनकि मौरीले आफ्ना बच्चाहरूलाई खुवाउने प्रोटिनको मुख्य स्रोत नै यिनै परागहरु हुन्। जब मौरी कुनै फूलमा बस्छ, उसको शरीरमा रहेका रौँहरुले electrostatic forces को माध्यमबाट परागकणहरु आकर्षित गर्छन्। उनीहरूका खुट्टामा रहेका रौँहरुको सहायताले पराग थैलीहरुमा जम्मा गर्छन् अनि आफ्नो गोलामा ल्याउँछन्।

प्रायः एक समयमा एउटा मौरीले वनस्पतिको एकै प्रजातिको फूलहरूको भ्रमण गर्छ त्यसैले वनस्पतिको त्यो प्रजातिको निकै सफल परागसेचन हुने सम्भाव्यता धेरै उच्च हुन्छ। मौरीको फूलहरुलाई भ्रमण गर्ने दर पनि अन्य जीव भन्दा धेरै तिब्र हुन्छ। यस क्रममा मौरीले त्यो वनस्पतिको पनि सफल परागसेचन गराउन सक्छ जुन वनस्पतिको पुरुष अङ्ग र स्त्री अङ्ग छुट्टा छुट्टै फूलमा या बोटमा हुन्छ। 

वनस्पतिको विभिन्न प्रजातिको क्रस परागसेचन गर्दा प्राकृतिक मिश्रित प्रजाति पनि निस्कन्छ। त्यसैले मौरी परागसेचनको मामिलामा सबै भन्दा प्रभावशाली जीव हो भन्दा कुनै अत्युक्ति हुँदैन। यसको लागि मौरीले पनि अमूल्य पुष्परस प्राप्त गर्दछ। वातावरणीय चक्र यसरी नै सन्तुलित हुन्छ।

Amegilla zonata

ठूलो परिवार

विश्वमा २०००० भन्दा बढी प्रजातिका मौरीहरू पाइन्छन् जसलाई सात वटा ठूला परिवारमा बाँडिएको छ। कोई ठूलो गाेला बनाएर समाजमा बस्छन् जस्तो महमौरी (Honey Bee) भमरा (Bumblebee) भने कोई एक्लै पनि बस्छन्। मौरीहरू एन्टारटीका महादेश बाहेक सबै महादेशमा पाइन्छन्। 

हाम्रो घरमा पालिने सानो एसियाली प्रजाति Apis cerana हो भने जङ्गलमा पाइने पातमा गोला बनाउने अझै सानो मौरीलाई कठ्यौरी (Apis florea) भनिन्छ। आजकाल व्यवसायिक रुपमा अलिक ठूलो युरोपेली मौरी (Apis mellifera) पनि अत्यधिक रुपमा पालिन थालिएको छ। 

नेपालमा मह शिकार भनेर वर्षेनी मह सङ्कलन गरिने रिसाहा र निकै ठूलो मौरी जुन विशाल भिरहरुमा गोला बनाएर बस्छ त्यसलाई भिर मौरी (Apis laboriosa), बन मौरी (Apis  dorsata) भनिन्छ। 
                                 Apis dorsata.  image: Wikipedia
यो बाहेक पनि धेरै जातिका मौरी, भमराहरु नेपालमा पाइन्छन् जसले हाम्रो कृषि क्षेत्र देखि बन्यबनस्पतीहरुको परागसेचन गराई हाम्रो खाद्य शृङ्खला देखि जैविक विविधताको सन्तुलन कायम राखेका छन्। यति हुँदाहुँदै पनि मौरीहरुको विनासको क्रम निकै डरलाग्दो छ जसले सम्पूर्ण वनस्पति तथा प्राणी जगत एक गम्भीर सङ्कटको किनारमा उभिएको छ।

मौरीको विनाश: विश्वव्यापी गम्भीर संकट

जलवायु परिवर्तन, बढ्दो कीटनाशक विषादीको प्रयोग र तीव्रगतिमा घट्दै गइरहेको वनस्पतिहरूको कारणले मौरीको सबै प्रकारका जाती प्रजातिहरूको संख्यामा तीव्रतर ह्रास आइरहेको छ। यो ह्रास कुनै एक खास क्षेत्रमा मात्र नभएर विश्वव्यापीरुपमा निकै गम्भीर स्तरमा छ।

२०२० मा गरिएको University of Ottawa को एक अध्ययन अनुसार मौरीको जनसङ्ख्या एक मानव पुस्ताको अन्तरालमा औसतमा ३० प्रतिशत सम्म घटेको छ। यसले परागसेचनको व्यवस्थामा गम्भीर प्रभाव पर्ने स्पष्ट छ।  एसिया क्षेत्रको उदाहरण दिने हो भने सबै भन्दा बढी मारमा परेको मौरीको प्रजाति Apis cerana हो जुन हामीले स्थानिय जातको मौरी भनेर घरमा पनि राखेका छौँ।
 
त्यसपछि ठूलो आकारको जङ्गली मौरी Apis  dorsata र हिमाली भिर मौरी Apis laboriosa को जनसङ्ख्या पनि उत्तिकै घटिरहेको छ। एसिया क्षेत्रमा मौरीको जनसंख्याको बारेमा धेरै अध्ययन नगरिएको भए पनि युरोप र अमेरिका मौरीको घट्दो जनसङ्ख्या र त्यसको प्रभावहरूको व्यवस्थित अध्ययन गरिएको छ।

जलवायु परिवर्तन

जलवायु परिवर्तनले मौरी मात्र होइन हरेक प्राणी, वनस्पति र वातावरणीय चक्रलाई गम्भीर असर पारिरहेको छ। छोटा हिउँदहरुले जमीनमा पानीको चिस्यानको समयलाई पनि छोटा बनाइरहेका छन् भने फूल फुल्ने मौसम पनि समय अगावै आइदिन्छ र फूल फुल्ने मौसम पनि निकै छोटा छन्। यसले वनस्पतिको फूलमा आधारित प्राणी जगतलाई धेरै गम्भीर असर पारिरहेको छ। वृक्ष रेखाहरूको सराई, वनस्पतिहरूको मृत्यु, बर्षा र तापक्रमको असन्तुलन आदिले मौरीलाई उत्तिकै प्रभाव पार्छन्। जलवायु परिवर्तनको प्रत्यक्ष र अप्रत्यक्ष दुवै प्रभावहरू धेरै गहन र जटिल छन्।

बन विनाश

तिब्र गतिमा भइरहेको बन विनासले रुखहरूको धोत्रोमा गोला बनाउने मौरीहरूलाई बासस्थान कै अभाव भइरहेको छ। Apis dorsata जस्ता रुखका ठूला बलिया हाँगामा गोला लगाउने मौरी पनि उत्तिकै समस्यामा छन्। कठ्यौरि मौरी (Apis florea) लाइ झाडिदार वनस्पतिहरू चाहिन्छन् भने Apis andreniformis लाइ घना जङ्गलको आवश्यकता हुन्छ। बढ्दो बन विनासले यी मौरीको बासस्थान नै नष्ट हुन पुगेको छ।
                                       Apis florea.  image: Wikipedia
एकातिर बन विनासले बासस्थान मात्र होइन मौरीको चरन क्षेत्र पनि नष्ट भइरहेको छ।  कृषिको विस्तारले गर्दा एकातिर बन विनास भइरहेको छ, चरन क्षेत्रमा वनस्पतिहरूको सन्तुलनमा असर परिरहेको छ। विस्तारित खेतीमा अर्थात् ठूलो क्षेत्रमा लगाइएका एकै किसिमका केही वनस्पतिहरूले मौसममा अत्यधिक चरन क्षेत्र त सृजना गर्छन् तर त्यो लामो समयको लागि हुँदैन। यसले मौरीको वर्षैभरी उनीहरूको आवश्यकताको परिपूर्ति हुँदैन।

विषादीको प्रयोग

चरन क्षेत्र कृषि क्षेत्रका तरकारी तथा फलफूल खेतीमा प्रयोग गरिने कीटनाशक, विषादी जस्ता रासायनिक पदार्थहरू पनि मौरी विनासको अर्को कारण हो। एसियाका रैथाने प्रजातिमा कीटनाशक विषादीको असरको बारेमा त्यति अध्ययन गरिएको पाइएन तापनि हामीले मौरीमा परेको असरलाई नजर अन्दाज गर्न सकिँदैन। Contact Poison हरुले मौरी फूलमा भ्रमण गर्दा नै असर गरेर तत्कालै मार्न सक्छ भने Systemic Poison हरुले फूल, पराग र पुष्परसलाइ विषाक्त बनाएर मौरीको पुरै समुहलाई नै गम्भीर असर पार्छ। जव मौरीले ती विषाक्त पराग र पुष्परस आफ्नो गोलामा लैजान्छ त्यसको उपभोग रानी मौरी देखि अन्यले गर्छन्। 

केही अध्ययनहरूले ती विषाक्त पदार्थले मौरीको ती बच्चाहरुको मस्तिष्कको विकासमा नराम्रो असर पर्ने स्पष्ट पारेका छन्। यसैले पुरै गोला नै नष्ट (Colony Collapse Disorder) हुन्छ। Systemic विषादी neonicotinoids ले गर्ने प्रभाव सबै भन्दा गम्भीर तथा लामो हुन्छ। 

धेरै जसो systemic विषादीहरु U.S. Environmental Protection Agency (EPA) ले तोकेको मापदण्ड भन्दा 3 गुणा बढी प्रभाव पर्ने छन्। जस्तो १ चम्चा neonicotinoids ले १,२५०,०००,००० मौरीहरुको मृत्यको लागि प्रशस्त हुन्छ। बिजको संरक्षणको लागि प्रयोगमा आउने यस्ता विषादीहरु वनस्पतिहरूले सजिलै ग्रहण गर्छन्। ती रसायनहरू सजिलै वनस्पतिको फूल, पराग र पुष्परसमा पुग्छन्। त्यसको शोषणले मौरी तुरुन्त मरेन भने पनि उसले आफ्नो गोलालाई पनि असर पुर्याउँछ।

महशिकार

मौरीको विनासको अर्को कारण विनासकारी मह शिकार हो जसमा मह काड्नेले मह भएको भाग मात्र होइन पुरै चाका नै नष्ट गर्छन् जसमा मौरीका बच्चाहरु पनि रहेका हुन्छन्। यसले जङ्गली मौरीको जनसङ्ख्यामा  तिब्र दवाव परिरहेको छ।
                                    Apis laboriosa.  image: Wikipedia
नेपालको हिमाली पहाडी भेगमा रहेका भिर मौरी (Apis laboriosa), ठूलो बन मौरी (Apis dorsata) र कठ्यौरी (Apis florea) छन्। यसरी अवैज्ञानिक ढङ्गले मह काड्दा रानी मौरी नै पनि मर्छ अनि पुरै समुह अस्तव्यस्त हुन्छ। समुहको विभाजनको लागि हुर्किदै गरेका रानी बच्चा पनि नासिन्छन्। यसले मौरीको समुह विस्तारमा मात्र होइन पुरै व्यवस्थामा असन्तुलन ल्याउछ। अझ रातमा गरिने मौरी शिकार जसमा आगो, विषालु रसायन आदिले पार्ने गम्भीर प्रभाव छदैँछ। 

अंगीकृत मौरीहरूको बढ्दो प्रभाव

केही किसानहरू जसले एसियाली रैथाने मौरीको (Apis cerana) को व्यवसायिक पालन गरिरहेका छन् उनीहरुले आफ्नो अनुभवमा युरोपेली मौरी (Apis mellifera) पनि सङ्गै पाल्दा त्यसले Apis cerana लाइ गम्भीर प्रभाव पारेको सुनाएका छन्। उनीहरूको विचारमा Apis cerana ले Apis mellifera सङ्ग प्रतिस्पर्धा गर्न नसकेको उनीहरूले आफ्नो अनुभव बताएका थिए। यसको बारेमा विस्तृत अनुसन्धान गर्नु पर्ने आवश्यकता छ।  महमौरी मात्र नभई यी माथि उल्लेखित कारणहरूले अन्य जाति प्रजातिका मौरी र भमराहरु पनि उत्तिकै प्रभावित छन्।
                                        Apis mellifera image: Wikipedia
एसियामा धेरै अध्ययन नगरिएको भए पनि युरोपमा गरिएका अध्ययनले त्यहाँ रहेका ८०० भन्दा बढी जङ्गली मौरीको प्रजातिहरूमा १३ वटा विलुप्त भइसके भने International Union for Conservation of Nature (IUCN) ले ७ वटा एकदमै गम्भीर, ४६ वटा खतरामा, २४ असुरक्षित र १०१ पनि समस्याग्रस्तको सुचिमा राखेको छ। उसको अनुसार गत १० वर्षमा मौरीको जनसंख्यामा ३०% को गिरावट र ९७% घाँसे मैदानहरु नष्ट भएका छन्।

अमेरिकाले २०१७ मा इतिहासमै पहिलो पटक Bumblebee (Bombus affinis) लाइ अति खतराको सूचीमा राखेको छ। ३१ वटा राज्य र क्यानाडामा पाइने भनिएको यो मौरी (भमरा) पछि १३ वटा राज्यमा मात्र फेला पारिए र अध्ययनले यसको जनसंख्यामा ८८% सम्मको गिरावट देखिएको थियो। अमेरिकी किसानहरूले २०१८ मा झण्डै ४१% मौरीको जनसङ्ख्या गिरावट अनुमान गरेका थिए। त्यसैले मौरीहरूको यो जटिल तथा गम्भीर अवस्था विश्वव्यापी रुपमै देखिएको छ।
Bumble bee (Bombus sp) image: Wikipedia

प्रभाव

मौरीहरूको जनसङ्ख्या यसरी घट्दै जानुले प्राणी र वनस्पति दुवैको विविधता र जनसङ्ख्यालाई धेरै गम्भीर प्रभाव पार्छन्। हामीलाई स्पष्ट थाहा छ कि मानिसले उपभोग गर्ने जति पनि वनस्पति र वनस्पतिजन्य पदार्थ छन् ती वनस्पतिहरू मध्ये ८४% वनस्पतिहरूको परागसेचन मौरीले गर्छन्। यसलाई हेर्ने हो भने मौरीले प्रत्यक्ष रुपमा २३५ – ५७७ बिलियन अमेरिकी डलर बराबरको खाद्य उत्पादन हुन आउँछ। अझ फलफूल र तरकारीहरू विषेशगरी मौरीबाट नै परागसेचन गरिएका हुन्छन्। मानव मात्र होइन अरु घरपालुवा हुन् या उद्योगमा पालिएका जनावर या जङ्गली जनावरहरूको खाद्य व्यवस्थामा पनि मौरीको योगदान उत्तिकै हुन्छ। किनकि वनस्पति र प्राणी जगत धेरै गहन र अटुट खाद्य शृङ्खलामा बाँधिएको छ।

के गर्न सकिन्छ त?

मानिसले अब बुझ्नु पर्ने भइसकेको छ, मौरी जोगाउनु भनेको उ आफै भोकै नमर्नु हो। मौरीको जनसँख्या यसरी नै घट्दै जाने हो भने विश्वव्यापी भोकमरी धेरै टाढा छैन। त्यसैले जलवायु परिवर्तनका प्रभावहरू न्यूनीकरण गर्ने उपायहरू सहित केही प्रत्यक्ष हस्तक्षेपकारी कार्यहरूको पनि आवश्यकता छ।

हाम्रो बन सम्पदाको गुणस्तर र परिमाण दुवै बढाउने तर्फ ठोस कदम चाल्नु पर्छ। विस्तृत खेतीमा एकै जातका वनस्पतिहरू अत्यधिक लगाउँदा हुने असन्तुलनलाई अब घटाउनु पर्छ। त्यसैले वनस्पतिहरूको सन्तुलित मिश्रण तिर वैज्ञानिक अध्ययन अनुसन्धान गरी ठोस कदम चाल्नु पर्ने आवश्यकता छ।

कृषिमा प्रयोग हुने दुवै Contact र Systemic विषादीको प्रयोग अब घटाउने तिर ठोस कदम चाल्नु पर्ने तिब्र आवश्यकता छ। मौरिहरुको जनसंख्यामा सबै भन्दा बढी प्रभाव यसैको छ भन्नेमा अत्युक्ति छैन। GMO वनस्पतिहरू उत्पादन गर्नेहरूले यस वनस्पतिमा विषादी प्रयोग गर्नु नपर्ने दावी गरे पनि अमेरिकी अध्ययनहरूले त्यसलाई अस्वीकार गरेका छन्। त्यसैले यस्ता विषहरुको प्रयोग नै न्यून गर्नु पर्ने आवश्यकता छ।

मह शिकारलाई नियन्त्रण गर्नु नै जङ्गली मौरीहरूको संरक्षणको प्रमुख उपाय हो। दिगो मह शिकार गर्ने विधिहरू मह शिकारीहरुलाई सिकाउनु पर्ने जरुरी देखिन्छ ताकि उनीहरूले मह काड्दा बच्चाहरु रहेको भागको संरक्षण गरुन्। मह शिकार गर्दा आगो, विषालु रसायनहरुको प्रयोग न्यूनीकरण गर्न उचित तरिका र यन्त्रहरू उपलब्ध गराउने तिर सरकारी स्तरबाटै ध्यान दिनु पर्ने देखिन्छ।

अंगीकृत प्रजातिहरूको रैथाने प्रजाति माथिको प्रभावलाई बेलैमा अध्ययन गरेर त्यसलाई कसरी न्यूनीकरण गरी दिगो मौरी विकास गर्ने त्यसको उचित योजना सरकारी तवरबाटै बन्नु पर्ने आवश्यकता देखिन्छ।

मौरी लगायत पुतली किट पतङ्गहरुको वातावरणीय चक्रमा रहेको महत्वलाई बाल मस्तिष्कदेखि नै सिकाउन सकियो भने अब आउने पुस्ताले मौरी संरक्षणमा ठूलो योगदान दिन सक्छ। जति पनि वेवास्ता हामी पर्यावरण चक्र प्रति देखाउँछौं त्यो अज्ञानता कै कारण हो भन्नेमा अत्युक्ति छैन। त्यसैले वातावरणीय शिक्षालाई महत्वका साथ घर घरमा पुर्याउनु अहिलेको प्रमुख आवश्यकता हो।


Share:

खलिल जिब्रान का केही लघुकथाहरु

भगवानको त्यो पवित्र शहर

म जव भगवानको त्यो पवित्र शहरमा पुँगे, मलाइ अत्यन्त आश्चर्य लाग्यो किनकि त्यहाँका प्रत्येक नागरिकको एउटा हात र एउटा आँखा मात्र थियो। उनीहरु पनि मलाई देखेर झन् आश्चर्यमा थिए, ओहो! दुवै हात दुवै आँखा भएको मान्छे, सबै छक्क परेर मलाई नै हेरिरहेका थिए जस्तो कि म अचम्मको प्राणि हुँ। 

जब उनीहरु मेरो नै बारेमा कुरा गरिरहेका थिए, मैले सोधे, "के यो त्यहि पवित्र शहर हो जाँहाका नागरिकहरु भगवानको आदेश धर्मशास्त्रको अक्षरस पालना गर्दै आफ्नो जीवन बिताउछन?" उनिहरुले भने हो "यो त्यहि पवित्र नगर हो।"

मैले सोधे," हजुरहरुको यस्तो हालत कसरि भयो, हजुरहरुको दाइने आँखा र हातलाइ के भयो?" उनीहरु एक दिशातर्फ देखाउदै भने "आउनुस आफै हेर्नुहोस।" उनीहरुले मलाई शहरको बीचभागमा रहेको एक मन्दिरमा लगे जहाँ हात र आँखाहरुको थुप्रो थियो सबै निस्तेज सुकेर खक्रक्क भएका मानव अङ्गहरु। 

मैले सोधे, "कुन निर्दयीले हजुरहरुलाई यस्तो गर्यो?" यो प्रश्न सुनेर उनीहरु आश्चर्यमा परे अनि आफै आफै कानेखुसी गर्न थाले। यत्तिकैमा एक जाना बृद्ध व्यक्ति आगाडी आए अनि भने, "यो सबै हामि आफैले गरेका हौ, इश्वरको आदेश अनुसार निर्देशन अनुसार हामीले आफ्नो भित्रको खरावी, र पापहरु माथि बिजय प्राप्त गरिसकेका छौ। 

उनीहरुले मलाइ एक उच्च पाहाडमा लिएर गए जाँहा एक शिलालेख गाडिएको थियो। त्यसमा लेखिएको थियो, "यदि तिम्रो दाइने आँखाले अपराध गर्यो भने त्यसलाई उखालेर फालिदेउ किनकि जिउदै नरक झेल्नु भन्दा एउटा आँखामात्र लिएर बाच्नु धेरै राम्रो हुन्छ, यदि तिम्रो दाहिने हातले अपराध गर्यो भने त्यसलाई पनि तुरुन्त काटेर फालिदेउ, किनकि यसले तिम्रो सबै शरीर नर्कमा जादैन।" 

मैले त सबै बुझीहाले, अनि मैले उनीहरुलाई सोधे, "के यो शहरमा कोइ दुवै हात र आँखा भएका कोहि बाकि छन्?" उनीहरुले भने, "कोइ छैन, केहि बालक बालिकाहरु मात्र छन् जसले अहिले नै यो शिलालेख पढ्न र बुझ्न सक्दैनन्"

जब म त्यो मन्दिरबाट बाहिर निस्के, म तुरुन्त पछाडी पनि नहेरी त्यो भगवानको पवित्र शहरबाट भागिहाले किनकि म त्यो शिलालेख पढ्न पनि सक्थे र बुझ्न पनि।

साउनको अन्धो

एक दिन एउटा बुद्धिमान कुकुर बिरालोहरुको भीडको नजिक बाट जाँदै थियो। उसले देख्यो विरालोहरुलाई उसको उपस्थितिको कुनै मतलब थिएन। उनीहरू आपसमा मस्त थिए। कुकुर उनीहरूको नजिकै गयो। 

बिरालो भीडमा एउटा मोटो ढाडे बिरालो उठ्यो अनि साथी बिरालोहरू तिर हेर्दै भन्यो , " भाइ बहिनी हो! पटक पटक पूजा गर, नि:सन्देह आकाशबाट मुसाहरुको बर्षा हुनेछ।"

जब कुकुरले सो कुरा सुन्यो, मनमनै खुब हाँस्यो अनि आफ्नो बाटो लाग्दै भन्यो, "ए अन्धा, मूर्ख बिरालोहरु हो! के यो किताबहरूमा लेखेको छैन र, के तिम्रा बाउ बाजेहरुले भनेनन् र? श्रद्धापुर्वक प्रार्थना गरयो भने जब बर्षा हुन्छ त्यो बेला मूसा होइन हड्डीहरु बर्षन्छन्।"

जीवन 

पूर्णिमाको चन्द्रमा जसै आफ्नो सम्पूर्ण सुन्दरताको साथ शहर माथि उदायो, सबै कुकुरहरू चन्द्रमा तिर फर्केर भुक्न थाले। 

ती मध्ये एउटा कुकुर चाहिँ भुकेन, उसले गम्भीर स्वरमा भन्यो, " न चन्द्रमाको निन्द्रा टुट्छ न यसरी भुकेर तिमीहरूले उसलाई जमीनमा ल्याउन सक्छौ।" 

त्यस पछि अरु सबै कुकुरहरू भुक्न छोडे अनि त्यहाँ एक अनौठो शान्ति छायो। तर त्यो कुकुर भने अरुलाई शान्त रहने उपदेश दिँदै रातभर भुकिरह्यो।

स्वतन्त्र अस्तित्व

म एउटा मानसिक अस्पतालको बगैंचामा यसै घुमिरहेको थिएँ। त्यहाँ मैले एक युवकलाई अत्यन्त ध्यानपूर्वक दर्शनशास्त्रको पुस्तक पढिरहेको देखेँ।उनी असाध्यै स्वस्थ छन् जस्तो लाग्यो र उनको व्यवहार अन्य रोगीहरू भन्दा बिल्कुलै फरक थियो। साँच्चै नै उनी रोगी थिएनन्।

 म उनको नजिकै गएर बसेँ अनि सोधे, "तपाईँ यहाँ के गर्दै हुनुहुन्छ?"

उनले मलाई अत्यन्त आश्चर्यचकित हुँदै हेरे अनि बुझिहाले कि म डाक्टर होइन त्यसपछि उनले भने:

"हेर्नुहोस, यो अति सीधा कुरो छ। मेरो बुबा प्रसिद्ध वकील हुनुहुन्थ्यो, अनि आफूजस्तै बनाउन चाहनुहुन्थ्यो।"

"मेरो काकाको धेरै ठूलो पसल थियो, वहाँ पनि मलाई वहाँकै बाटोमा हिँडोस भन्ने चाहनुहुन्थ्यो।"

"मेरो आमाले म मा सधैँ मामाघर हजुरबाको छवि देख्नुहुन्थ्यो।"

"मेरा दिदीबहिनीहरु पनि यही चाहन्थे कि मैले उनीहरूको पतिहरुको जस्तै गजबको सफलता प्राप्त गरोस्।"

"र मेरो भाइ पनि यही चाहन्थ्यो कि म पनि उ जस्तै शानदार खेलाडी बनोस्।"

"र यस्तै कुरा मेरो विद्यालयमा पनि हुन्थ्यो, संगीतको कक्षामा, अंग्रेजीको ट्युसन मा पनि हुन्थ्यो - उनीहरू सबै दृढ निश्चयी थिए अनुशरण गर्नको लागि सबै अत्यन्त उपयुक्त र आदर्श व्यक्तिहरू थिए।"

"उनीहरू सबैले मलाई एक मानिसको रुपमा देख्दै देखेनन्। म त उनीहरूको लागि एक ऐना थिएँ जसमा सबै आफ्नो आफ्नो प्रतिबिम्ब देख्न चाहन्थे, आफैलाई प्राप्त गर्न चाहन्थे"

"त्यसपछि मैले आफूलाई यहीँ भर्ना गर्ने निश्चय गरे। वास्तवमा यो संसारमा यही एउटा ठाउँ त बाँकी छ जहाँ म आफ्नो स्वतन्त्र अस्तित्वको साथ जिउन सक्छु"

अहंकार

एउटा बुढो माझिले म सँग भन्यो, "तिस बर्ष पहिले एउटा एउटा डुङ्गा खियाउनेले मेरो छोरी भगाएर लग्यो, मैले उसलाई धेरै गालि गरे, त्यो मरोस भनेर श्राप दिए किनकि म मेरो छोरीलाइ असाध्यै माया गर्थे।"

"आखिर मेरो श्राप लाग्यो त्यसको डुङ्गा समुन्द्रमा डुब्यो र त्यो मर्यो अनि मेरी प्यारी छोरी पनि सँगै डुबेर मरी। खासमा मेरो छोरीको हत्यारा मै हो, मेरो श्रापले दुवै मरे। अब म कतिनै बाच्छु र? हे ईश्वर मलाइ यो क्रुर अपराधको लागि क्षमा गर" 

त्यो बुढोको बिलौना र पश्चातापका आँशुहरुमा आफ्नो श्राप दिने शक्तिको घमण्ड झिल्मिलाई रहेको प्रष्ट देखिन्थ्यो ।

भ्रम

आफ्नो अगाडिको सुन्दर निलो रङ्गको बादलले हल्का ढाकेको सुन्दर हिमाललाइ हेर्दै आँखाले भनेछ "हेर न निलो निलो कुहिरोको बीचमा कति सुन्दर हिमालय" 

त्यो सुनेर कानले भनेछ "सुन्दर हिमालय? कहाँ छ म त केहि पनि सुन्दिन त?" 

नाकले पनि भनेछ "सुन्दर हिमालय खै मैले त कुनै गन्ध महसुस गरेको छैन त?"

अनि हातले पनि भनेछ "सुन्दर हिमाल? खै मैले त केहि पनि छुन सकेको छैन त........." 

जब आँखा अर्को दृश्य हेर्न ब्यस्त भयो हात, नाक र कानले बडो चिन्तित हुदै छलफल गरेछन "यो आँखालाइ यस्तो भ्रमित हुने के चाहि खतरनाक रोग लागेछ।"

खाली कागज

हिउँ जस्तै सेतो कागजले भन्यो, "यस्तै शुद्ध सेतो रुपमा मेरो निर्माण भएको हो र म सधैँ सधैँ सेतै रहन चाहन्छु।कुनै मसी या कुनै अरु रङ्ग आएर मलाई फोहोर गर्नु भन्दा त बरु म जलेर सेतो खरानी हुन मन पराउँछु।"

मसिले भरिएको भाँडोले त्यस्तो कुरो सुनेर मन मनै हाँस्यो र कागजको नजिक जाने हिम्मत नै गरेन। कागजको कुरो सुने पछि रङ्गीन सिसाकलमहरु पनि कागजको नजिक कहिले गएनन्।

हिउँ जस्तै सेतो कागज शुद्ध तथा खाली कोरो नै रहिरह्यो.....शुद्ध कोरो र खाली। 

न्याय

त्यो रात राजमहलमा ठूलो भोज थियो। त्यहीबेला एउटा मान्छे त्यहाँ आयो र राजाको अगाडि दण्डवत् गर्यो। भोजमा उपस्थित सबै मानिसहरू त्यही तिर हेर्न थाले। उसको एउटा आँखा फुटेको थियो र त्यहाँबाट रगत बगिरहेको थियो। 

उसले उत्तर दियो," महाराज! म पेशाले चोर हूँ। हिजोराती मैले चोरी गर्नको लागि एउटा व्यापारीको पसलमा पसेको थिएँ। झ्यालबाट भित्र छिर्ने बेला म बाट ठूलो भूल भयो र कपडा बुन्नेको घरमा पो पसेछु। त्यहाँ भएको कपडा बुन्ने मेसिनमा ठोक्किएर मेरो आँखा फुट्यो। हे महाराज! म न्यायको आशाले हजुरको सम्मुख उपस्थित भएको छु।" 

यो सुनेर राजाले तुरुन्त कपडा बुन्नेलाई पक्राउ गर्ने र उसको पनि एउटा आँखा निकाल्ने आदेश दियो। 

" महाराज! " कपडा बुन्नेले भन्यो, "हजुरको न्याय उत्कृष्ट र उचित छ। यो अपराधमा मेरो एउटा आँखा निकालिनु नै पर्छ। तर महाराज मैले कपडा बुन्नको लागि दुवै तिर हेर्नु पर्छ। म सङ्ग एउटा जुत्ता सिउने मान्छे छ त्यसलाई एउटा आँखाले पनि काम गर्न मिल्छ।"

राजाले तुरुन्त जुत्ता सिउनेलाई बोलायो अनि उसको एउटा आँखा निकालियो। 

निन्द्रा

एउटा गाउँमा आमा छोरी बस्थे। दुवैलाइ निन्द्रामा हिड्ने रोग थियो। एक सुनसान रातमा निन्द्रामै हिंडीरहदा दुबैको घर बाहिरको बगैँचामा भेट भएछ। 

आमाले भनिछन, "तँ मेरी शत्रु! तलाई हुर्काउने पाल्ने गर्दा मेरो सारा यौवन नष्ट भयो बुझिस, तैले लहरो बनेर मेरो सारा आशाहरुको सुन्दर रुखलाइ सुकाएर धोत्रो पारिस, तलाई जन्मिदैमा मार्देको भए पनि हुने रैछ।" 

छोरीले पनि भनिछ, " हेर स्वार्थी बुढी आइमाई! तँ पनि मेरो र मेरो सुन्दर भविष्यको बीचमा पर्खाल बनेर उभिएकी छस नि, तैंले नि मेरो जीवन तेरो जस्तै पतझर र निरस बनाउने भइस, हे भगवान त मरिहालेको भए नि हुन्थ्यो नि।" 

त्यतिबेला नै घरमै पालेको कुखुरो अचानक बासेछ अनि दुवै बिउझेछन। अनि आमाले माया र चिन्ताले ग्रस्त हुदै भनिछन "हे मेरी प्यारी छोरी! तिमि निन्द्रामै फेरी बाहिर हिड्यौ" 

छोरीले पनि आमालाइ माया र आदरले भरिपुर्ण भएर भनिछ, "हे मेरी आमा! हजुरले नि यो रोगले सारै दुख पाउनु भो।"

Share:

प्राचीन जीवाणु: जलवायु परिवर्तनका जोखिम


अहिले कोरोना भाइरस संक्रमणको जटिल परिस्थितिहरूको हामीले सामना गरिरहेछौ। वैज्ञानिकका अनुसार सुक्ष्म जीवाणु, विषाणुहरुको सक्रियतालाई जलवायु परिवर्तनले तीव्रतर भइरहेको छ। पृथ्वीको शीत खण्डहरुमा जमेर बसेका प्राग ऐतिहासिक जिवाणुहरुका अंशहरु बढ्दो तापक्रमका कारण हिउँ पग्लदा वातावरणमा सक्रिय हुन्छन् तव उनीहरूले यो वातावरणमा कस्तो प्रतिक्रिया देखाउँछन् र मानिसको प्रतिक्रिया कस्तो हुन्छ भन्ने कुरा अज्ञात नै छ। 

जब जमीनको माटो लगातार दुई या बढी वर्षसम्म पानी सङ्ग जमेर अर्थात् ० डिग्री सेन्टिग्रेड भन्दा तल रहेर चट्टान जस्तै साह्रो हुन्छ त्यसलाई हामी स्थायी तुषारो अर्थात् Permafrost भन्छौ। यस्ता संरचनाहरु ध्रुवीय क्षेत्रमा विशेष गरी उत्तरी ध्रुवीय क्षेत्र जस्तो साइबेरिया, अलास्का, ग्रीनल्याण्ड, क्यानाडा आदि ठाउँहरूमा अत्यधिक पाइन्छ। 

यो जमीनमा उपल्लो तह मात्र नभई जमीन मुन्तिर या समुन्द्रमा पनि हुन्छन्। यिनीहरू विशाल आकारका हुन्छन् र केही फीट देखि एक किलोमीटर बाक्लो पनि हुनसक्छन्। यहाँ पनि उच्च हिमाली भेगमा, तिब्बती क्षेत्रमा पनि पाइन्छन्। यिनीहरूको संरचना यति चट्टानी हुन्छ कि तिनीहरूलाई फुटाउन धेरै कठिन र औजारहरू चाहिन्छ। 

Permafrost भू विज्ञान मात्र होइन जीव विज्ञानको लागि पनि धेरै महत्वपूर्ण हुन्छ। यसमा जैविक अवशेषहरु हजारौँ वर्षसम्म पनि सुरक्षित रहन्छन् जस्तो Saber Tooth Tiger, Woolly Mammoth, Woolly Rhinoceros जस्ता हिमयुगीन जनावरहरू जो अहिले विलुप्त भैसके उनीहरूको शरीरलाई जस्ताको तस्तै सुरक्षित फेला पारिएको छ। Wolly Mammoth को DNA profiling, Cloning गरेर उसलाई पनि पुनः जीवन दिन सकिन्छ कि भनेर अनेकन प्रयास विभिन्न प्रयोगशालामा जस्तो Sooam Biotech Korea ले गरिरहेको छ। 

यही Permafrost अहिले हाम्रो लागि चुनौतीको रुपमा उभिएको छ। उत्तरी ध्रुविय Permafrost मा विशाल मात्रामा कार्बन डाई अक्साइड (CO2) पनि जमेर बसेको छ। अहिले हालसालै गरिएका अध्ययनहरूले ती Permafrost मा थुनिएर रहेको CO2 अहिले मानवीय क्रियाकलापबाट उत्सर्जित CO2 को मात्रा भन्दा झण्डै ४ गुणा रहेको छ भन्ने पत्ता लागेको छ। 

अहिले नै हामी CO2 को थ्रेसहोल्ड पार गरिसकेका छौँ। अब बढ्दो तापक्रमले गर्दा ती जमीन माथिका, भूमिगत र समुन्द्री Permafrost हरु पनि धमाधम पग्लदै गइरहेको छ। जसले गर्दा जमीन भासिने क्रम त छदै छ, विशाल मात्रामा ती Permafrost मा रहेको CO2 उत्सर्जित हुनेछ जो अहिले सबै भन्दा ठूलो जोखिमको रुपमा हाम्रो अगाडि उभिएको छ। 

बढ्दो तापक्रमले गर्दा Permafrost को बरफ तिब्र गतिमा पग्लीरहेको छ। यसले ध्रुवीय जमीन भित्र रहेका भोका जीवाणुहरु (microbes) जसले Permafrost मा रहेका १७०० बिलियन टन जैविक पदार्थ (वनस्पतिजन्य) जुन हजारौँ वर्षदेखि त्यहाँ जमेर बसेको छ त्यो त्यसलाई ग्रीन हाउस ग्यासहरु जस्तो मिथेन, नाइट्रस अक्साइड, कार्बन डाई अक्साइडमा रूपान्तरण गर्छन्। 

खासमा Permafrost मा अक्सिजनको मात्रा अत्यधिक हुन्छ जसले फलामजन्य खनिजहरुलाई स्थिर राख्छ र ती खनिजहरूले ती ग्रीनहाउस ग्यासहरुलाई पनि बाँधेर राख्थे। जब बरफ पग्लन्छ त्यहाँ अक्सिजनको स्तर पनि घट्छ। जसले ती फलामजन्य खनिजहरू अस्थिर हुन्छन् र साथै ब्याक्टेरिया पनि सक्रिय हुन थाल्छन्। यसले ठूलो मात्रामा CO2 वातावरणमा उत्सर्जित हुन्छ जुन मानव ले उत्सर्जन गर्ने भन्दा ४ गुणा बढी हुन्छ भन्ने निष्कर्ष कोपनहेगन् विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अनुसन्धानले निकालेको छ जुन Nature Communications जर्नलमा भर्खरै छापिएको छ। 

अनुसन्धानकर्ता वैज्ञानिकहरूले यसलाई पनि जलवायु परिवर्तनको महत्वपूर्ण प्रभावको रुपमा पहिचान गराउनु पर्नेमा जोड दिएका छन्। यो प्रक्रिया जलवायु परिवर्तनले गराएको तापक्रम वृद्धिको घातक परिणाम मात्र नभई उत्सर्जित हरित गृह ग्यासले जलवायु परिवर्तनलाई तिब्रतर दरमा बढाउने निश्चित छ। 

जैविक जोखिम

ध्रुवीय हिउँको विभिन्न तहमा वनस्पति र ठूला जीवहरूको अवशेष मात्र होइन विभिन्न काल खण्डका शुक्ष्म जिवाणुहरु, विषाणुहरु र तिनीहरूका आनुवांशिक तत्वहरू पनि सुरक्षित रहन्छन्। तिब्र गतिमा ध्रुवीय हिउँ पग्लिँदा ती आदिम भाइरस र ब्याक्टेरियाहरु पनि समुन्द्रको पानी र जमीनमा निस्कने छन्। ती आदिम भाइरस, ब्याक्टेरियाले यो वातावरणमा कस्तो व्यवहार देखाउँछन् त्यो अज्ञात नै छ। 

उदाहरणको लागि २०१६ को अगस्टमा Anthrax ब्याक्टेरिया जसले रुसको टुन्ड्रा प्रदेशमा एक १२ वर्षीय केटाको मृत्यु र २० जना अन्य व्यक्तिको साथै २००० भन्दा बढी रेण्डियर (Reindeer एक प्रकारको हरिण) संक्रमित भएका थिए। सो ब्याक्टेरिया त्यस्तै Permafrost पग्लदा त्यहाँ रहेको ७५ वर्ष अघि मरेको रेण्डियरको लासबाट सरेको पत्तो लागेको थियो। २० औं शताब्दी अघि मात्र दशौं लाख रेण्डियरहरु यही Anthrax को कारण मरिसकेका थिए।

१९१८ मा इतिहासको खतरनाक महामारी स्पेनिस फ्लुबाट मरेका मानिसहरू त्यही टुन्ड्रा प्रदेशमा गाडिएको रहेछ जसको RNA को तत्वहरू २०११ मा भएको अध्ययनमा पत्तो लागेको थियो। विफर, प्लेगका विषाणु हरुको आनुवांशिक तत्वहरू सुरक्षित फेला परेका छन्। १९९० मै Novosibirsk को the State Research Center of Virology and Biotechnology को अध्ययनमा भाइरसको संक्रमणले मृत्यु भएको ढुङ्गे युगको मनुष्यको शवमा त्यही भाइरसको आनुवांशिक तत्व सुरक्षित फेला परेको थियो। 

२००५ मा NASA ले गरेको एक अध्ययनमा अलास्का ३२००० वर्ष पुरानो एक पोखरीबाट Carnobacterium pleistocenium नामक ब्याक्टेरियालाई सफलतापूर्वक सक्रिय बनाएको थियो। त्यसको २ बर्ष पछि Antarctica को Beacon र Mullins उपत्यकामा ८० लाख वर्ष पुरानो नमुनाबाट ब्याक्टेरियालाई पुनर्जीवित गर्न सफल भएका थिए।

Permafrost मा सुरक्षित रहेका सबै भाइरस, ब्याक्टेरियाहरु पुनर्जीवित नै हुन्छन् भन्ने त छैन तर केही भने पुनर्जीवित हुन सक्छन्। आदिम महामारीका ती microbes हरुले यो बिग्रिसकेको वातावरणमा कस्तो खाले व्यवहार देखाउँछन् त्यो हामीले अनुमान गर्न सक्ने अवस्था छैन। त्यो भयानक त्रासदी पनि निम्त्याउन सक्छ। 

जलवायु परिवर्तन र बढ्दो तापक्रमले गर्दा हुन गइरहेको यी त्रासदी अझै हामीले अहिले सम्म सोच्न सकेका छैनौँ। ध्रुवीय हिउँको तहहरू खुल्दा एकातिर विशाल मात्रामा हरितगृह ग्यासको उत्सर्जन हुन गइरहेको छ भने खतरनाक भाइरस र ब्याक्टेरियाहरुको सामना पनि गर्नु पर्ने देखिन्छ।



Share:

पूँजीपति कोरोना र अभिशप्त मध्यम वर्ग

हामी मध्यम वर्गीय, निम्न मध्यम वर्गीयलाई लाग्न सक्छ कोरोना महामारीले सबैलाई उत्तिकै प्रभावित गरेको छ। हाम्रो जस्तै सबैले समस्या भोगेका छन्। यदि त्यो लाग्छ भने तपाईँ गलत हुनुहुन्छ। कोरोना महामारीले केही यस्ता वर्गहरु छन् ती सम्पत्तिमा बढोत्तरी आर्थिक समृद्धिको समयमा भन्दा पनि तिव्र गतिमा बढिरहेको तथ्यहरूले देखाउँछन्। केही वर्गको सम्पत्तिमा हुने वृद्धिदर त ऐतीहसिक नै रह्यो। 

संसारकै प्रत्येक देशको ग्राहस्थ उत्पादन घटिरहेको अर्थात् वास्तविक उत्पादनमा ह्रास हुँदा पनि केहीको सम्पत्ति तिव्र दरमा बढिरहेछ भन्नुको मतलब के हो भने अर्थतन्त्रमा कुनै वर्ग त्यस्तो छ जसले आफ्नो सम्पति त्यो भन्दा पनि उच्च गतिमा गुमाइरहेको छ या कुनै त्यस्तो वर्ग छ जसमाथि गम्भीर शोषण भइरहेको छ। त्यो वर्ग हो मध्यम वर्ग। निम्न मध्यम वर्ग र सर्वहारा वर्ग त तस्वीर बाट नै हटिसक्यो भन्दा पनि अत्युक्ति हुँदैन। पुँजीपति वर्गको कुरा गर्ने हो निम्न पुँजीपति वर्गलाई भने कोरोना महामारीले छेउमा धकेलिदिएको चाहिँ पक्का हो। 

उच्च पुँजीपति वर्गहरु र कुनै बलियो सँगठात्मक स्वरूपमा भएका पुँजीपतिहरु र सरकारी संयन्त्रलाई प्रभावित गर्न सक्ने, सरकार निकटका पुँजीपतीहरु त कहिल्यै नचिताएको दरमा सम्पति वृद्धि गर्न सक्षम भएका छन्। निम्न पुँजीपति वर्ग, साना ब्यापारी र उद्योगीले शोषण गर्ने भनेको मध्यम वर्ग, निम्न मध्यम वर्ग र सर्वहारा वर्गलाई थियो। त्यो वर्ग गम्भीर ढंगले प्रभावित हुँदा निम्न पुँजीपति वर्ग पनि खुम्चियो जसले तिनै ठूला पुँजीपति वर्गहरु मस्त सङ्ग उदाए। 

यस विषयमा नेपालमा प्रशस्त अनुसन्धान नगरिएको भए पनि भारतीय तथ्यहरूले नेपालको प्रतिनिधित्व गर्न सक्छ। नेपाली र भारतीय अर्थतन्त्रको संरचना, सामाजिक, धार्मिक संरचना देखि सरकारी रवैयाहरुमा समानता पाइन्छ। त्यसैले भारतीय तथ्यहरूको विश्लेषणले नेपाली अवस्थालाई पनि चित्रित गर्न सकिन्छ। 

Pew Research Center को एक अध्ययनका अनुसार अघिल्लो वर्ष ७ करोड ५० लाख भारतीयहरू गरिवीको रेखा मुन्तिर भासिए। जसमा ३ करोड २० लाख भारतीयहरू जो १० डलर देखि २० डलर प्रतिदिन कमाउँथे उनीहरू मध्यम वर्गबाट तल झरे। अहिले झण्डै १० करोड मध्यम वर्गीय जनसङ्ख्या घटेर अहिले साढे ६ करोडमा पुगेको छ। २०११ देखि २०१९ सम्मको विश्व बैङ्कको तथ्यांक हेर्ने हो भने मध्यम वर्गमा ५ करोड ७० लाख जनसङ्ख्या थपिएको थियो। 

सो अनुसन्धानको अनुसार यो सङ्ख्या विश्वमै सबै भन्दा धेरै हो। चीनमा गरिवीको दर जुन उच्च मानिन्थ्यो त्यसलाई पनि उल्लेखनीय मात्रामा पछि छोडिदिएको छ।विश्वव्यापी तथ्य केलाउने हो भने ५ करोड २० लाख जनसङ्ख्या मध्यम वर्गबाट चिप्लिएको हो जसमा ३ करोड २० लाख त भारतीय जनसंख्या नै रहेको छ। विश्व बैंकले भारत र चीन दुवैको आर्थिक वृद्धिदर क्रमशः ५.८ र ५.९ प्रतिशत हुने प्रक्षेपण गरेको थियो। समान स्तरको आर्थिक वृद्धिमा पनि गरिबीमा भासिने जनसंख्याको उल्लेखनीय भिन्नता कहाली लाग्दो छ। यस बाट हामीले के बुझ्न सक्छौं भने कोरोनाले सबै भन्दा बढी प्रभाव दक्षिण एसियाली अर्थतन्त्रमा पारेको छ बुझ्न कठिन हुँदैन। यसले नेपाली मध्यम वर्गीय संरचनालाई पनि प्रतिनिधित्व गरिरहेको छ। 

Pew Research Center का अनुसार निरपेक्ष गरिवीको रेखा मुनि परेको जनसङ्ख्या जसको दैनिक आम्दानी २ डलर या त्यो भन्दा न्यून छ, ७ करोड ५० लाखले बढेको छ। कोरोनाको कारणले गम्भीर भएको आर्थिक मन्दी त्यसमाथि इन्धन र अन्य उपभोग्य वस्तुहरूमा भएको मूल्य वृद्धिले सबै भन्दा गम्भीर प्रहार अर्थतन्त्रको तल्लो स्तरमा रहेको वर्गलाई परेकोमा कुनै शंका छैन। यसले पेशा छोड्न सक्नेले पेशा बदल्ने, वैदेशिक क्षेत्रमा पहुँच हुने विदेश पलायन हुने स्तर बढ्दो देखिन्छ। यसले पैदा हुने असन्तुलनले वास्तविक ग्राहस्थ उत्पादनलाई दीर्घकालीन असर पार्छ। 

विश्वव्यापी तथ्यांकले दैनिक १० देखि २० डलर कमाउने मध्यम वर्गको जनसङ्ख्या ९ करोडले घट्यो भने निरपेक्ष गरिवीको रेखा मुनिको जसको दैनिक आम्दानी २ डलर भन्दा कम छ त्यसको जनसङ्ख्या १३ करोडले बढेको छ। तर वास्तविकता यहीँ रोकिएको छैन। देशको अर्थतन्त्रमा वास्तविक उत्पादनमा उल्लेख्य वृद्धि नहुँदा पनि केही वर्गहरु जस्तो उच्च पुँजीपति वर्गहरूको सम्पत्तिमा उल्लेख्य वृद्धि भएको छ। यसले धनको प्रसारण मध्यम र निम्न वर्गबाट ती पुँजीपति वर्ग तर्फ भएको छ भन्ने स्पष्ट पार्छ। 

कोरोना महामारीको शुरुवाती चरणमा सबैतिर समान प्रभाव पारे पनि पछिल्लो चरणमा धनी झन् धनी हुँदै जाने गरीब झनै गरीब हुँदै गएको प्रक्रिया स्पष्ट देखिन्छ। यो महामारीमा विश्वका धनीहरूको सम्पत्तिमा १०. २ ट्रिलियन अमेरिकी डलरको वृद्धि भएको छ। यस्तो वृद्धि त अहिले सम्म भएकै थिएन। यसको मतलव स्पष्ट छ कि महामारीलाई अत्युत्तम मौकाको रूपमा प्रयोग गरिएको छ। 

भारतीय उदाहरण दिने हो भने महामारीको कालमा ३८ जना नयाँ अर्वपतीहरु थपिएको र उनीहरूको सम्पत्तिमा ५९६ बिलियन डलरको बढोत्तरी भएको फोर्ब्स म्यागजिनले जनाएको छ। यो विश्वमै सबै भन्दा धेरै हो। सबै भन्दा बढी सम्पति थप्ने र शीर्षस्थानमा रहेका गौतम अदानी, मुकेश अम्बानी र शिव नदार छन् उनीहरुको सम्पत्तिमा १०० बिलियन डलरको बढोत्तरी भएको छ। आश्चर्यमा पर्नु पर्दैन दुवै भारतीय शक्तिशाली सरकारका प्रमुख नरेन्द्र मोदीका अनन्य मित्रहरू पर्दछन्। यसबाट के स्पष्ट हुन्छ भने महामारीलाई पूँजीपतिहरुले कसरी मौकाको रुपमा प्रयोग गरेका छन्। 

पुँजीपतिहरुले जब मौकाको रूपमा महामारीलाई लिन्छन् र उनीहरू सरकारी संयन्त्रका नजिक पनि छन् भने उनीहरुले सरकारी नीतिलाई सक्दो प्रभावित गर्छन् भन्नेमा शंका गरिराख्नु पर्दैन। सरकार अब दलाल पुँजीवादी अर्थात् Crony Capitalist बन्छ। भारतीय बीमा योजना, कृषि बिल आदिको उदाहरण हेर्ने हो भने झनै स्पष्ट हुन्छ। नेपालकै उदाहरण दिने हो भने कोरोना महामारीमा खरिद गरिएका स्वास्थ्य सामग्रीको घोटाला भन्दा उपयुक्त उदाहरण के हुन सक्छ। ओम्नी, यती आदीहरु भारतमा अदानि अम्बानी जस्तै सरकारका प्रिय पात्र छन्। जसको घोटाला त्यो पनि यस्तो महामारीमा स्पष्ट देखिँदा पनि उनीहरू प्रियपात्र नै छन्।

कोरोना महामारीलाई नियन्त्रण गर्न सरकारी संयन्त्र सबै भन्दा कमजोर भारत, नेपालजस्ता विकासोन्मुख देशहरूमा किन भइरहेको छ त। किन समय छदै सजिला नियन्त्रणका उपाय हुँदा हुँदै पनि त्यसलाई नजरअन्दाज गरिन्छन्। यो कुनै संयोग होइनन्, यो महामारीलाई अझै मौकाको रूपमा प्रयोग गर्ने उद्देश्यले जानाजान यसलाई झन् गम्भीर बनाउने षड्यन्त्र हो भन्न सकिन्छ। 

स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र र कृषि बजारका मध्यस्तकर्ता जस्ता अत्यावश्यक क्षेत्रहरू जसमा सङ्गठित लगानी गरेर बसेका उच्च पुँजीपति वर्गले मध्यम वर्गीय र निम्न वर्गका उत्पादक, उपभोक्ता र कर्मचारीको चरम शोषण गरेको छर्लङ्ग छ। सबै भन्दा पीडित वर्ग हेर्ने हो भने मध्यम वर्गीय र निम्न वर्गीय किसान, उपभोक्ता र श्रमिक वर्ग छन्। उनीहरू नै ती क्षेत्रका असङ्गठित उत्पादक हुन् भने असङ्गठित उपभोक्ता र श्रमको आपूर्तिकर्ता पनि हुन्। कोरोना महामारीले यस्तै असङ्गठित वर्गबाट धनको प्रशारण तिनै उच्च पुँजीपति वर्ग तिर गरिरहेको छ। धनी र गरिबको बीचको खाडल झनै बढ्दै गइरहेको छ। 

अर्को भयानक सत्य के हो भने यस्ता महामारीमा सबै भन्दा पीडित भएको वर्ग आफ्नो मात्र होइन आफूभन्दा तलको वर्गलाई समेत माथि उठ्न नदिने चरित्र यो वर्ग सङ्ग हुन्छ। यसैको माध्यमबाट पुँजीपति वर्गहरुले यो स्वयंलाई र तल्लो वर्गलाई चरम शोषण गर्छन्। यसको नियत पनि आफू त्यही शोषणको संरचनालाई टेकेर उपल्लो तहमा पुग्ने हुन्छ। जुन कालान्तरमा आत्मघाती हुन्छ। 

अभिशप्त मध्यम वर्ग

सर्वहारा वर्गको मात्र नभई असल समाजको सबैभन्दा ठूलो दुश्मन को हो? यो प्रश्नको उत्तर सोध्यो भने उत्तर आउन सक्छ, कुलिन वर्ग, अभिजात्य वर्ग, पुँजीवादी वर्ग......तर राम्रो सङ्ग केलाउने हो भने यो समाजमा सबैभन्दा घातक वर्ग हो मध्यम वर्ग, तपाईं हामी। हो ठीक सुन्नु भो तपाईं हामी जस्ता मध्यम वर्ग। सुन्दा रिस र आश्चर्य दुवै लाग्न सक्छ। तर यो संसारमा जतिपनि जनक्रान्ति या सर्वहारा वर्गको मुक्तिको लागि संघर्ष भए त्यसलाई असफल पारेर धनयुद्धमा परिणत गरिदिएको यहि वर्गले नै हो। अहिले हामीले भोगिरहेको महामारीलाई समाजशास्त्रीय दृष्टिकोणले हेर्ने हो भने सबै भन्दा निकृष्ट वर्ग पनि यहि मध्यम वर्ग नै हो। 

यो वर्ग अचम्मको चमेरो जस्तो हुन्छ, चरो र जनावरको द्वन्द्वमा यदि चरोको प्रभाव बढ्यो भने चरो हुँ भनेर देखाउँछ भने जनावरको प्रभाव बढ्यो भने जनावरको नेतृत्वमा उही खडा हुन्छ। यसले आफूलाई अभिजात्य वर्गबाट शोषित ठानेर मुक्ति संघर्षको नेतृत्वमा आफूलाई उभ्याउँछ भने सर्वहारा वर्गको शोषण गर्ने या गर्ने माध्यम बन्न पनि सधैँ तयार भएर बस्छ। 

यो वर्गले सर्वहारा वर्गको संघर्षलाई निस्तेज पार्ने, कुलिन वर्गको या पुँजीपति वर्गको शोषणलाई व्यवहारमा कार्यावन्यनको गर्ने मुख्य पात्रको रुपमा भूमिका खेल्छ किनकि यो वर्गको लक्ष्य भनेकै आफू जसरी पनि अभिजात्य वर्गमा उक्लनु हो या त्यसको नक्कल गर्नु। उदाहरणको लागि पिर्के सलामी लिने, आफूलाई सम्बोधन गर्दा समेत माननीय भन्ने भनाउने, विलासी वस्तुको उपभोग गर्ने कार्य राज्यको तल्लो स्तर देखि उपल्लो स्तर सम्म नै रहेको छ।  

अझ नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व सधैँ मध्यम वर्गकै हातमा थियो। ती संघर्षहरु कहिले पनि आफ्नो लक्ष्यमा नपुग्दै तुहिए। जसले ती संघर्षहरुको नेतृत्व गरेको थियो त्यसले आफूलाई पनि सर्वहारा र दमित वर्ग नै हुँ भन्दै वास्तविक त्यही वर्गबाट सहानुभूति र सहयोग लियो उनीहरुलाई प्रयोग गर्यो अनि त्यही जन संघर्षलाई प्रयोग गरेर आफ्नो उही लक्ष्य कुलिन पुँजीपति वर्गमा उक्लिने आफ्नो भित्री लक्ष्य पूरा गर्यो। त्यस पश्चात त्यो सर्वहारा र दमित वर्गलाई उनीहरुलाई पुनः पहिलेकै स्थानमा भन्दा पनि दुरुह स्थानमा धकेलिदियो। 

यसरी नै हरेक जन संघर्ष धन संघर्षमा तुहिन्छ। यसका उदाहरण नेपालका प्रचण्ड देखि ओली सम्म मात्र होइन कि गाउँघरका तिनै कथित जनवादी कार्यकर्ता सम्म हेर्दा पुग्छ। ति संघर्षमा होमिएका सर्वहाराको अवस्था झन् नाजुक भयो भने ती मध्यम वर्गीय कार्यकर्ता समेत निम्न पुँजीपति वर्गमा रुपान्तरण भए। 

यही कोरोना महामारीको अवस्थामा हेर्नुहोस, पुँजीपति कुलिन वर्ग भन्दा पनि बढी ढुक्कमा यहीँ वर्ग बसेको छ। यसले ती निम्न र सर्वहारा वर्गले कुन तहको नारकीय यातना भोगेको छ भन्ने कुरा स्पष्ट हुन दिएकै छैन। किनकि यो सँग केही न केही पुँजी अझै छ जसले आफ्नो जीवन निर्वाह गरिरहेको छ, जसरी युद्धकालमा केही न केही कमाउने दाउमा झरेको जुठो पुरो कुरेको थियो त्यस्तै मौका यो महामारीमा त्यस्तै जुठो पुरो कुरिरहेको छ। 

सर्वहारा वर्गमाथि हुकुम त चलाउन पाइएकै छ, कुलिन र सरकारी वर्गको जी हजुरी र चाकडी गर्ने, सर्वहारा वर्गको आर्तनादलाई छोप्ने ठेक्का प्राप्त गरेको छ। सरकारी कर्मचारी तन्त्रमा पनि यसैको सङ्ख्या धेरै छ त्यसैले त महामारीको बेला सर्वहारा, श्रमिक वर्गको आवाज र आर्तनाद दबाउन एकदम सजिलो भएको छ। यसै गरेर उसले आफूलाई सुरक्षित राखिरहेको छ र निम्न वर्गका पीडामाथि निकृष्ट प्रतिक्रिया र ठट्टा गरेर बसिरहेको छ जुन हामीले सामाजिक सञ्जाल देखि सरकारी व्यक्ति, कर्मचारी तन्त्र र त्यसका अनुशरण गर्ने नागरिक बाट व्यक्त प्रतिक्रिया बाटै महसुस गर्न सक्छौं। 

जबसम्म सर्वहारा वर्ग यो मध्यम वर्गको धोकामा परिरहन्छ त्यो बेलासम्म कुनै पनि मूल्यमा जनक्रान्ति सम्भव नै छैन। समाजमा समानता समता र अधिकारका कुरा सम्भव नै छैनन्। अभिजात वर्ग भन्दा पहिला यो प्रमुख वर्ग दुश्मनलाई चिन्न नसक्नु सर्वहारा वर्ग र विश्व कम्युनिष्ट क्रान्तिको सबै भन्दा ठूलो भूल भयो। 

अब यो महामारीको अन्त्य छिटो भएन भने निम्न मध्यम वर्ग र सर्वहारा वर्गले फेरि संघर्षमा जानै पर्ने दिन न आउला भन्न सकिँदैन। यदि त्यो अवस्था आयो भने फेरि नेतृत्वको लागि यही मध्यम वर्गको चरित्र भएको त्यहाँ उपस्थित हुन्छ। त्यसलाई त्यही निर्मलीकरण गर्न सकिएन भने अहिलेका अवस्था फेरि दोहोरिन्छन। 

चाहे धार्मिक कुरीति, अन्धविश्वास होस् या सामाजिक कु-संरचना हुन् या फोस्रा देशभक्ति र परम्पराका आदर्श र कथित स्वाभिमान यिनको ठेक्का बोकेर बस्ने पनि यही वर्ग नै हो। यही यथास्थितिवादी चरित्रले गर्दा यो कुनै पनि परिवर्तनको यात्रामा सबैभन्दा ठूलो बोझ सावित हुन्छ। 

यो वर्ग सबै भन्दा क्रुर र स्वजाति भक्षण अर्थात् आफूजस्तै मध्यमवर्गको शोषणमा पनि अग्रणी हुन्छ। सबै चाहे काँग्रेसका सरकार हुन्, या कम्युनिष्टका सरकार हुन् त्यहाँ कुनचाहिँ अभिजात र कुलिन पुँजीपति वर्गका मानिस छन् र? त्यहाँ सधैँ जनसंघर्ष लाई प्रयोग गरेर पुगेका तिनै मध्यम वर्गीय चरित्र भएका नर पिशाच त छन् नि। ठीक त्यस्तै नेपालको कर्मचारीतन्त्र पनि छ। 

हामी हरेक क्षेत्रमा असफलता, असमानता र अथाह पीडामा रुमलिएका छौ। अब पनि यो मध्यम वर्ग जुन सरकारी तन्त्रमा बसेको छ, कर्मचारीतन्त्रमा बसेको छ या केही पुँजी बोकेर अझै आदर्शको गफ छाँटेर निम्न मध्यम वर्ग र सर्वहारा वर्गको यो आर्तनादलाई नजरअन्दाज गरिनै रहन्छ, यसलाई अहिले पनि नचिने कहिले चिन्ने?

Share:

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

About Me

My photo
देउराली, चिती, लमजुङ्ग, गण्डकी , Nepal

Translate