A diary of Pedestrian on Mother Nature

जलवायु परिवर्तनका मुद्दा निस्तेज गर्ने गम्भीर तथा घातक प्रयास

 

चाहे नेपाल होस् या भारत या अमेरिका लगायत कुनै विकसित मुलुक नै किन नहोस्, वातावरण संरक्षण, जलवायु परिवर्तनका मुद्दामा बोल्नेहरुको बिरुद्ध घृणित अभिव्यक्ति सामान्य भइसकेको छ। यो लगातार तिब्र गतिमा बढ्दै गइरहेको छ। वातावरण र जलवायु परिवर्तन जस्तो संवेदनशील मुद्दामा त्यसैको पक्षमा जायज र वैज्ञानिक आधारमा उठाइएका आवाजहरुको विरुद्धमा व्यक्तिगत स्तरमा उत्रेर निम्नस्तरको गाली गलौज, भद्दा शारीरिक टिप्पणी, यौनिकता माथि निकृष्ट ठट्टाहरु दिनानुदिन सामान्य हुँदै गएका छन्। ती क्रियाकलापहरूलाई बढावा दिनको लागि उद्योगधन्धा मात्र नभई सरकारी संयन्त्र, धार्मिक संघ संस्था र राजनैतिक पार्टीहरुले समेत कस्सिएर लागेका छन्। 

भारतको किसान आन्दोलनको पक्षमा ट्वीट गरेकी स्वीडेनकी किशोरी वातावरण अभियन्ता ग्रेटा थनवर्गको त्यही एक ट्वीटले भारतीय राजनीति पुरै उथलपुथल भएको थियो। भारतमा भगवान जस्तै पुजिने क्रिकेटर सचिन तेन्दुलकर देखि स्वर साम्राज्ञी लता मंगेशकर लगायत धेरै सेलिब्रेटीहरुले एउटै भाषा अनि शब्द संयोजनमा भारतीय एकता र आन्तरिक मामिला भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए। थनवर्गको विरुद्धमा विदेश मन्त्रालय देखि सबै संयन्त्रले अखण्ड भारत र सार्वभौमिकता माथिको आक्रमण भन्दै कोकोहोलो मच्चाएका थिए। अझ प्रकृति पुजक भनेर चिनाउने हिन्दुवादी पार्टी भारतीय जनता पार्टीका समर्थक र कार्यकर्ताहरु त थनवर्ग पाकिस्तानी, कश्मीरी मुस्लिम भएको देखि उनलाई बलात्कार गरेर मार्ने सम्मको विष वमन गर्न भ्याए। यही पृष्ठ भूमिमा भारतीय वातावरण अभियन्ता दिशा रवि नामक युवती राष्ट्रद्रोहको आरोपमा गिरफ्तार भइन्। अहिले उनलाई जमानतमा रिहा गरिएको छ। 
                                      दिशा रविको गिरफ्तारीको विरोधमा गरिएको प्रदर्शन
ग्रेटा थनवर्गले १५ कै उमेर देखि स्वीडेनको संसद बाहिर धर्ना देखि विश्व भरिनै विद्यालय स्तरीय एक विरोध आन्दोलनको लहर ल्याएकी थिइन्। 2019 मा UN Climate Action Summit मा १६ वर्षे ग्रेटाले दिएको How dare you भन्ने सम्बोधन विश्व चर्चित भए पछि ग्रेटालाई होच्याउँदै तात्कालिक अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट समेत गरेका थिए। त्यस पछि उनी विश्वभरि नै ट्रम्पवादीहरुको आँखाको कसिंगर बनेकी थिइन्। 
                             स्विडिस किशोरी Greta Thunberg प्रदर्शनको क्रममा 
फिलिपिन्सकी वातावरण अभियन्ता रिनी करुनुँगनको पनि त्यस्तै अनुभव छ। उनलाई पनि सामाजिक सञ्जाल देखि बाहिर समेत मोटी, भद्दा शरीर भएकी भन्ने देखि लगातार बलात्कारको धम्की आउन थालेपछि देश नै छोड्न बाध्य भएको सुनाउँछिन्। 

नेपालमा पर्यावरण अभियानकर्ताहरुलाई विकास विरोधी भन्ने देखि युरोपियन दलाल आदि लगायत जातिगत, धर्मागत, पेशागत र शारीरिक यौनिक भद्दा टिप्पणी गर्ने कार्य चरम छ। यसको उदाहरण भर्खरै कमलपोखरी, रानीपोखरी आदिको मुद्दामा देखिएको छ भने डोजरे विकासको लागि खोतलिएका डाँडाकाँडा को विषयमा पनि देखिइसकेको छ।

मेक्सिको, होन्डुरस, ब्राजिल, ग्वाटेमाला जस्ता देशहरूमा त वातावरण अभियन्ता देखि आफ्नो बासस्थानको सुरक्षा, वर्षा जंगलको रक्षाको लागि उभिएका कयौँ आदिवासी अभियन्ताहरुको हत्या गरिएको छ भने पूर्वी एसियाका फिलिपिन्स, क्याम्बोडिया, इन्डोनेसिया जस्ता देशको पनि अवस्था त्यस्तै छ। 
                                       अमेजन बर्षावन अहिले तिब्र विनाश भइरहेको छ
ती देशहरूमा रहेका वर्षा जङ्गलहरुको तीव्रतर विनासमा त्यहाँका उद्योगपतिहरूलाइ सरकारले नै सघाएको छ। ती अभियन्ता र आदिवासीहरूको सुरक्षा गर्नु त कता हो कता उनीहरूको हत्यामा सरकारी संयन्त्र नै लागेको आरोप कुनै नौलो होइन। 
                                       इन्डोनेसिया का वर्षाबनको विनाश विश्वमै उच्च छ
भारत मै पनि सदगुरु भनिने जग्गी वासुदेवले पश्चिम घाट स्थित वेल्लियानिरी हिल्स अन्तर्गत हात्तीहरू विचरण गर्ने Elephant Corridor अतिक्रमणको कारणले हात्तीहरुको मृत्युको साथै हात्तीहरू नजिकको बस्तीमा पसेर वितण्डा मच्चाउने कुराको मुद्दा राष्ट्रीय हरित न्यायाधिकरण दक्षिण विभागमा अझै विचाराधीन छ। सत्ता सङ्ग साँठगाँठ गरेर ईशा फाउन्डेसनको अनधिकृत अतिक्रमणको विरुद्धमा आवाज उठाउनेहरुको आवाज दबाइएको आरोप उनलाई पनि लाग्छ। 

अभियन्ता मात्र होइन वातावरण पत्रकारहरु पनि यस्तै घृणाजन्य अभिव्यक्तिका शिकार हुनु त साधारण भइसकेको छ भने पछिल्लो १० वर्षमा २० जना पत्रकारहरुको नृशंस हत्या गरिएको छ। पछिल्लो समयको तथ्य हेर्ने हो भने भारतमा ४, कोलम्बियामा २ , मेक्सिको, फिलिपिन्स र म्यानमारमा एक एक जना पत्रकारहरु मारिएका छन्। जुन २०२० मा उत्तर प्रदेशमा शुभम् मणि त्रिपाठीको टाउको मै ३ गोली प्रहार गरेर हत्या गरिएको थियो। उनले हत्या पूर्व प्रसाशन मात्र नभई आफ्नो फेसबुक पोस्ट मै आफ्नो हत्याको सम्भावनाको जानकारी दिएका थिए। 
                                                                       शुभम् मणि त्रिपाठी
धेरै जसो हत्यामा प्रशासनको असहयोग, अझ पीडितहरुमाथि नै उल्टो खेद्ने सरकारी रबैया सबैको सामुन्ने स्पष्ट छ। नेपालमा पनि मिथिला नगरपालिका-५ श्रीपुरका ओमप्रकाशलाई टिपरले किचेर हत्या गरिएको थियो। सो हत्या त्यहीका बालुवा तस्करले गराएका थिए। उनी अवैध बालुवा उत्खनन रोक्न घटनास्थल गएका थिए।
                                                                              ओमप्रकाश 
२०१८ मा बुर्नियोको जेलमै हत्या गरिएका पत्रकार मोहम्मद युसुफलाइ स्थानीय पाल्म तेल उद्योगलाइ बद्नाम गरिएको आरोप लगाएर जेल पठाइएको थियो। फिलिपिन्समा कार्यरत अमेरिकी वातावरण पत्रकार ब्रेन्डन ली लाइ धेरै हत्या प्रयास पश्चात अगस्ट २०१९ मा एम्बुसमा पारी गोली हानेर हत्या गरिएको थियो।२०१९ मै दक्षिणी सुडानका जोसेफ ओडुहा लाइ सरकारले नै पक्रिएर चरम यातना दिए पछि देश नै छोडेर उनी भाग्नु पर्यो भने कोलम्बियाका वातावरण वातावरण पत्रकार Alberto Castaño  र María Lourdes Zimmermann दुवै हत्याको सम्भावना देखे पछि देश छोडेर भागे। 
                                                      Brendon Lee
अभियन्ता र पत्रकार माथि मुद्दा, हत्याको मामिलामा सबै भन्दा अगाडि भारतको नाम आउछ। पछिल्लो समय ४ जना पत्रकारको हत्या, ४ सांघातिक आक्रमण अनि ४ वटा मुद्दा प्रशासनमा दायर गरिएको छ। ती सबैमा बालुवा माफियाको हात रहेको छ। चीनको Fujian मा भएको औद्योगिक फोहोरको बारेमा कभरेज गरेको भन्दै पत्रकार Zhou Chen लाइ २०१८ मा प्रशासनबाट नै खुला धम्की दिइएको थियो।

जापानको फुकुशिमा आणविक भट्टीको दुर्घटनाको बारेमा कभरेज गर्ने पत्रिका माथि राम्रै दबाब सरकारी पक्षबाट गरिएको थियो २०२० को ओलम्पिक जुन कोरोनाको कारणले स्थगित भयो सो आयोजनालाई असर पर्छ भन्ने डर सरकारी पक्षले महसुस गर्यो। अहिले फुकुशिमा आणविक भट्टीको दुर्घटना पश्चात प्रदूषित भएको पानी लगायतका अन्य पदार्थ समुन्द्रमा मिसाउने जापानी फैसलाको विश्वव्यापी आलोचना भइरहेको छ। गृष्म ओलम्पिक खेलको आयोजक राष्ट्र जापानले सोही खेलको आयोजनाको पृष्ठ भूमिमा सो निर्णय लिएको छ। 
            फुकुशीमा: रेडियोधर्मी प्रदूषित पानीका ट्याङ्कीहरु जुन अब प्रशान्त महासागरमा छोडिने छ

अझ इजिप्टकी महिला पत्रकारको त अझ गम्भीर अनुभव छ, उनको सरकारी काम देखि विमानस्थलको चेकिङमा समेत उनलाई नियोजित दुर्व्यवहार गरिन्थ्यो। कारण थियो उनले मुगा तस्करीको बारेमा कभरेज गरेकी थिइन्। 

यसमा फ्रान्स र बेलायतको प्रसङ्ग पनि कम छैन। Alexandre-Reza Kokabi लाई २०१९ मा बेलायतमा र फ्रेन्च पत्रकार Hugo Clément जसले कोइला खानीको कभरेज गरेका थिए उनलाई फ्रान्समा पक्राउ गरेर घण्टौं राखिएको थियो। फ्रान्समा स्वतन्त्र लेखक Inès Léraud लाइ सघन खेतीको वातावरणीय असर भन्ने आलेखको लागि पटक पटक मुद्दा चलाइएको थियो। २०१७ मा थाइल्याण्डमा Pratch Rujivanarom नामक पत्रकारलाई पानीको प्रदूषणको बारेको लेखको लागी गम्भीर मुद्दा चलाइएको थियो।
                                   वेष्ट भर्जिनिया: कोइला खानीको लागि गरिएको विनाश

यी सबै प्रसङ्गहरु विश्लेषण गर्ने हो भने उद्योगी क्षेत्रले मात्र होइन सरकार धार्मिक संघ संस्थाहरुले वातावरण र जलवायु परिवर्तन अभियन्ता र पत्रकारमाथि एक प्रकारको धर्मयुद्ध नै शुरू गरेका छन्। अहिले समाजको हरेक तप्कामा यही संदेश पुगेको छ। 

चीन भारत जस्ता देश मात्र नभई नेपालमा नै पनि वातावरण संरक्षण र जलवायु परिवर्तनको बारेमा आवाज उठाउनेलाइ अमेरिकी र युरोपियन शक्तिकेन्द्रबाट संचालित देख्छन् र त्यही अनुसार उनीहरुलाई सरकार समाजको हरेक तप्काबाट जोखिम उत्पन्न गराउन उद्धत छन्। त्यही युरोप अमेरिकामा पनि सरकारी, उद्योगी र समाजले वातावरण र जलवायु परिवर्तनको मुद्दामा आवाज उठाउनेहरुको हालत उस्तै बनाएका छन्। त्यहाँ पनि जोखिमको स्तर उस्तै छ। 

अहिले विशेष गरी वातावरण र जलवायु परवर्तनसम्बन्धी मुद्दाहरूलाई दबाउन धार्मिक आस्थाको सहायता लिने जस्तो निकृष्ट कार्य दिनानुदिन बढ्दै गइरहेको छ। विशेष गरी भारतीय सरकारी रबैया त्यस्तै देखिन्छ। सरकारी र उद्योगीको एक संयुक्त प्रयास हरेक क्षेत्रमा देखिन्छ चाहे त्यो सामाजिक सञ्जाल होस् या भौतिक परिस्थिति होस्। 

हामीले कुनै निष्कर्षमा पुग्नु अगावै बुझ्नु पर्ने कुरा के हो भने वातावरण र जलवायु परिवर्तनका जोखिम भोलि हाम्रै आउँदो पिँढीले भोग्नु पर्ने नियति स्पष्ट छ। त्यसैले हामी आफै स्व: फूर्त यो अभियानमा जोडिने या आफ्नै अभियान नथाल्ने हो भने भविष्य भयानक छ। अझै पनि केही पुँजीपति, उद्योगी र दलाल पुँजीवादी सरकारी संयन्त्रको प्रोपागान्डामा भ्रमित भएर वातावरण संरक्षण र जलवायु परिवर्तनको मुद्दालाई दूषित नपारौं। भोलि पछुताउने हामी नै हो।

Share:

No comments:

Post a Comment

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

About Me

My photo
देउराली, चिती, लमजुङ्ग, गण्डकी , Nepal

Translate