A diary of Pedestrian on Mother Nature

एउटा "बहुलाहा" र "आइमाई कुरा"ले बदलिदिएको भूगर्भशास्त्र

आज सगरमाथाको उचाई, कालीगण्डकीको किनारमा भेटिएका शालिग्राम भनिने ढुङ्गाहरूमा कोरिएका चित्रहरू र आङ्ग सिरिङ्ग हुने गरी जाने भूकम्पका धक्काहरू आदिको बारेमा हामी धेरै जानकार छौ। अन्धविश्वासीहरुले जे भने पनि आज टेक्टोनिक प्लेट्स (Tectonic plates)हरुको आपसमा भएका लगातारको घर्षण नै यसको जिम्मेबार हो भन्नेमा आज कुनै शंका छैन।

आजभन्दा २५१ मिलियन देखि ६५ मिलियन वर्ष पहिले नेपाल मात्र होइन पुरै हिमालयको कुनै अस्तित्व थिएन। थियो त मात्र विशाल टेथिस सागर (Tethys sea)। दक्षिण तिरबाट लगातार सर्दै आएको भारतीय प्लेटले विशाल तथा सापेक्षित स्थिर युरेसियन प्लेटको मुन्तिर घुस्न थाल्यो अनि त्यही क्रममा हिमालयको रचना भयो। आज काली गण्डकीका किनारमा भेटिएका ती शालिग्रामहरु वृन्दाद्वारा श्रापित विष्णुका अवतार होइनन् ती त्यही टेथिस सागरमा समुन्द्री जिवका जिवाषेशहरु हुन्।

यहाँ मात्र होइन यो पृथ्वीमा स्थित चाहे महादेशहरु हुन् या महासागरहरु हुन् सबै तिनै टेक्टोनिक प्लेट्स माथि अवस्थित छन्। तिनीहरूको निरन्तर गतिशीलताले पृथ्वीको भौगोलिक आकार परिवर्तनशील छ। आज यो कुरा हामीलाई सामान्य लाग्छ तर आज भन्दा सय वर्ष अघि यो कुरो हास्यास्पद ठानिन्थ्यो। जब एउटा साधारण जर्मन भूगर्भशास्त्री अल्फ्रेड वेजनरले Alfred Wegener (१८८०–१९३०) ले यसको प्रस्ताव राख्दा वैज्ञानिक जगत समेतले बहुलाहा भन्दै उनको खिल्ली उडाएको थियो।
                             अल्फ्रेड वेजनर : Alfred Wegener          
कथा त्यतिबेला शुरू हुन्छ जब मौसमविद् तथा भू विज्ञानी Alfred Wegener ले अफ्रिका तथा दक्षिण अमेरिका महादेशको नक्शा हेर्दै थिए। उनलाई कता कता ती महादेशहरुका आमुन्ने सामुन्नेका किनारहरू एक आपसमा ठ्याक्क मिल्छन् जस्तो लाग्यो जसरी jigsaw 🧩 पजलका टुक्राहरु मिलाए जस्तै गरी। हुन पनि दक्षिण अमेरिकाको पूर्वी किनारा र अफ्रिका महादेशको पश्चिम किनारालाई आपसमा मिलाइदिने हो भने ती आपसमा फिट हुन्छन्। फेरि दुवै महादेशमा ती किनारहरुमा पाइने जिवाशेषहरु मात्र नभई वनस्पति र जिवहरुमा भएको समानता देखेर उनलाई लाग्यो यो विशाल आन्ध्र महासागरका दुई किनाराहरु एक आपसमा टुक्रिएर सर्दै सर्दै गएर हालको अवस्थामा आइपुगेका हुन्।

उनले त्यो दुई महादेश मात्र नभई अहिले रहेका सबै महादेशहरुको अध्ययन गर्दै उनले के परिकल्पना गरे भने यी सबै महादेशहरु शुरुमा एकै ठाउँमा जोडिएको विशाल महादेश हुनु पर्छ। उनले त्यो विशाल महादेशको नाम Pangaea प्यान्जिया राखे जुन प्राचीन ग्रीक भाषाबाट व्युत्पत्ति भएको हो जसको अर्थ हुन्छ "सम्पूर्ण जमीन।"
                                  विशाल महाद्वीप प्याञ्जिया 
Wegener का अनुसार करोडौँ वर्षको अन्तरालमा त्यो विशाल महादेश टुक्रीएको हुनुपर्छ र बिस्तारै बग्दै या सर्दै छुट्टिएर अहिलेको जस्तो संरचना बनेको हो। Wegener को यो प्रस्ताव १९१२ मा जव आयो तव अन्य क्षेत्र मात्र नभई विज्ञान कै क्षेत्रमा नै सबै भन्दा हास्यास्पद कुरा बन्यो। कसैले यो कुरामा चासो दिएनन्, समयको अन्तरालमा त्यसलाई भुलाइयो।

अहिले विभिन्न तथ्यगत प्रमाणहरू हुँदा हुँदै त अझै पनि अन्धविश्वास अझ विशेष गरी धार्मिक अन्धविश्वासमा परेर कतिपय प्राकृतिक परिघटनाहरुलाई दैवीय दृष्टिकोणबाट हेर्दै खिल्ली उडाइन्छ भने त्यो त कसैले कल्पना गर्न नसकेको परिकल्पना थियो। विशाल आन्ध्र महासागर अनि विशाल महादेश हेर्दै त्यो सर्दै गएर त्यहाँ पुगेको भनेर किन मानिसहरू पत्याउँथे र। यहीँ पनि शालिग्राम विष्णुको अवतार होइन समुन्द्री जीवको जिवाशेष हो भन्यो भने अहिले युरोपियन दलाल देखि धर्म विरोधी बिल्ला लगाउन मानिसहरू तयार नै छन्। त्यस्तै अन्धविश्वास हिमालय पर्वतको रचना देखि भूकम्प सम्म छ। शिक्षित र विज्ञानकै क्षेत्रका मान्छेहरूले सगरमाथाको उचाइको .८६ मीटरको खिल्ली उडाएको धेरै समय भएको छैन। जसले भूगर्भ विज्ञानमा ठूलो महत्व राख्छ।
        शालिग्राम : समुन्द्री प्राणीका जिवाशेषहरु हुन्, जसलाई विष्णुको अवतारको रुपमा पुजिन्छन्
जसरी पृथ्वीको सुदुर गहिराइमा भएको निरन्तर हलचल जसले बाहिरी सतहमा देखिएका विशाल भूखण्डहरुलाई निरन्तर चलायमान गराइरहन्छन् र नवनिर्माणको प्रक्रिया चलिरहन्छ त्यस्तै Wegener को मस्तिष्कमा पनि त्यस्तै हलचल चल्यो होला जब उनले दुई महादेशका किनारा देखे होलान्। पृथ्वीको गर्भमा हुने विभिन्न प्रक्रियाले विशाल महादेश प्यञ्जिया टुक्रेर अहिलेको अवस्थामा आएको हो भन्ने उनको परिकल्पना बाहिर निस्किँदा पुराना कति मान्यताहरुको जग हल्लियो जसरी कपर्निकस र ग्यालिलियोको कुराले चर्चका जग हल्लिएका थिए। प्रतिक्रिया त्यस्तै भयो। 

Wegener सबैको लागि बहुलाहा सावित भए। आलोचना र ठट्टा–मजाकको एउटा पात्र जसले जताततै भोग्ने त छँदै छ व्यङ्ग बाण र उपहासको सामना त वैज्ञानिक जगतमा पनि गर्नु पर्यो, चार्ल्स डार्विनका क्रम विकासका सिद्धान्त देखि जलवायु परिवर्तनका मुद्दाहरूमा जसरी अहिले प्रतिक्रियाहरु भेटिन्छन्। 

हुन त ब्राजिल एक समयमा विशाल आन्ध्र महासागर पारी पश्चिम अफ्रिकाको भाग नाइजेरिया क्यामरुन सङ्गै थियो भन्दा चित्त बुझाउन पनि गाह्रो नै हुन्थ्यो होला। चरम उपहास र आलोचना झेले पछि उनका गुरु र हुनेवाला ससुरा Wladimir Köppen ले अहिले नै यसरी अगाडि बढ्नु उपयुक्त होला र? सुझाव दिएका थिए। Wegener ले जवाफ दिएका थिए, "पुराना मान्यताहरुलाई बाहिर हुर्राई दिन संकोच गर्नु हुँदैन यदि त्यहाँ स्पष्ट आवश्यकता देखियो भने चाहे त्यसको लागि जस्तो सुकै परिस्थितिको सामना गर्नु परोस्।"

उनी Marburg University का अवैतनिक प्राध्यापक थिए त्यो पनि उनको विशेषज्ञता भूगर्भशास्त्रको होइन उनी त मौसम विज्ञान र अन्तरिक्ष विज्ञानको थियो। आफ्नो विषय भन्दा बाहिर गएर पृथ्वीको नक्साको तस्बिर काटेर एक आपसमा जोडेर यो पहिला एउटै महादेश हुनु पर्छ भन्नु एक प्रकारको हास्यास्पद पागलपन नै हुन सक्छ। तर Wegener विषयगत सीमा भन्दा बाहिर निस्कन चाहन्थे। उत्तर ध्रुवीय क्षेत्र जस्तो कठिन क्षेत्रको गहन अन्वेषण गरेका Wegener त्यसै हार मानिहाल्ने मान्छे पनि कहाँ थिए र।

उनले महादेशहरुका नक्साहरू काटेर एक अर्कोमा मिलाएर विशाल महादेश प्याञ्जियाको आकारको परिकल्पना मात्र त कहाँ गरेका हुन र, उनले छुट्टाछुट्टै महादेशका समुन्द्री किनारका प्राणी तथा वनस्पतिहरूको तथ्य पनि जम्मा गरेका थिए। अष्ट्रेलिया र दक्षिण अमेरिकी Marsupials (ती स्तनधारी प्राणी जसले बच्चालाई पेटमा रहेको थैलीमा राखेर हुर्काउँछन् जस्तो कङ्गारु) प्राणिहरूमा समानता थियो भने उनीहरूलाई रहने परजीवी फित्ते जुकाहरुको संक्रमण समेत उस्तै थियो। त्यसैले उनले यो दावी गरे कि यो विशाल महादेशलाई पृथ्वीको कुनै शक्तिले पत्रिका च्याते जस्तै धरर च्यातेको हो।
               प्राणी तथा वनस्पतिहरूको विस्तारलाई एउटै महाद्वीपीय व्याख्या गर्न सकिन्छ
Wegener ले यो प्रक्रियालाई Continental Displacement (महाद्वीपीय विस्थापन) भन्दै Frankfort Geological Association मा १९१२ को लेक्चरमा प्रस्तुत गरे। यसमा त्यति साह्रै कसैले गम्भीर ध्यान दिएनन्। उनले यसलाई एउटा आर्टिकल को रुपमा पनि छपाए तर उपहास बाहेक कुनै गम्भीर ध्यान कसैको त्यसमा पनि गएन। पहिलो विश्वयुद्धमा जर्मनीको पक्षमा युद्धमा भाग लिँदा उनी घायल भएका थिए। 

उपचार पश्चात उनले १९१५ मा यसको पृथ्वीको यो अद्वितीय प्रक्रियाको बारेमा एउटा पुस्तक लेखे The Origin of Continents and Oceans जुन जर्मन भाषामा थियो र पछि १९२२ मा यो अङ्ग्रेजीमा पनि छापियो। त्यस पछि त मानौँ बम नै विस्फोट भयो। विश्वयुद्धमा पराजित जर्मनको लेखाइ त्यो पनि महाद्वीपको सराई Continental drift सबै तिर बाट तिखो प्रतिक्रिया र उपहास आउन थाल्यो।
                      Wegener ले बनाएको Continental drift को नक्सा 
बाहिर त जर्मनीलाई यसै घृणा गरिन्थ्यो जर्मनी भित्रै पनि यो विचारलाई Moving Crust Diseases, Wandering Pole Plague भनेर उपहास गरियो भने ब्रिटिशहरुले काजग काटेर महादेशको निर्माण गरे जस्तो साँच्चैको गर्नको लागि शक्ति पृथ्वीमा कसरी पैदा हुन्छ भनेर उपहास गरियो भने Royal Geographical Society मा "शायद त्यो शक्ति Professor Wegener आफैले आत्मघाती विस्फोट पो गरेर दिएका हुन कि" भन्दै उपहास गरियो। 

अझ अमेरिकीहरू यसमा अझै कडा प्रतिक्रिया जनाउथे। यसलाई जर्मन छद्म विज्ञान (German Pseudoscience) भन्थे र Wegener आफै यसको नशामा लठ्ठिएका छन्। Chicago का भूगर्भ शास्त्रीहरु त भन्थे Wegener को कुरो पत्याउने हो भने त हामीले ७० वर्षमा जे जे सिकेका छौ ती सबै रद्दीको टोकरीमा फालिदिए हुन्छ। 

अब Wegener को त्यो परिकल्पनालाई उनीहरूले एक काल्पनिक परीको कथा नै बनाइ छाडे। दोस्रो विश्वयुद्ध ताका सम्म पनि पुराना भूगर्भशास्त्रीहरु नयाँ आउनेहरुलाई Wegener को महाद्वीपको सराईको सिद्धान्तमा रुचि देखाउनु मात्र पनि तिमीहरूको भविष्य अन्धकार हुन्छ भन्दथे।

Wegener यी उपहास र आक्रमणबाट विचलित त भएनन्। बरु आफ्नो अध्ययनलाई अगाडि बढाउँदै लगे। उनले सकेसम्मको प्रमाणहरू जुटाउँदै चाहे ती जैविक हुन् या भुगर्भिय क्रियाकलापहरू नै हुन् आफ्नो सिद्धान्तलाइ लगातार परिमार्जन गर्दै लगे। १९२९ मा यसको अन्तिम संस्करण प्रकाशित गरे।

१९३० मा ग्रीनल्याण्डमा एक वैज्ञानिक अभियान कै क्रममा उनको मृत्यु भयो। उनी सङ्गै गएका साथी Rasmus Villumsen ले उनीलाई त्यही हिउँमा समाधिस्त गरेर अघि बढेका रहेछन् र उनी पनि हिउँमै हराए। छ महिना पछि उनका भाइले Wegener को समाधि पत्ता लगाए अनि १०० मीटर पर उनको डायरी।
            Greenland मा आफ्ना साथी Villumsen सङ्ग Wegener आफ्नो अन्तिम वर्षमा
उनी अत्यधिक धूम्रपान गर्थे र उनको मृत्यु हृदयाघातबाट भएको थियो। उनको मृत्यु हुँदा उनी ५० वर्षका थिए। उनको शव फेला पार्दा भनिन्छ उनको आँखा खुल्ला थियो मुहारमा मुस्कुराएको जस्तै शान्ति थियो। उनी सङ्गै गएका साथी Villumsen मात्र २३ वर्षका थिए। दुवै ग्रीनल्याण्डको हिउँमा जीवन बिसाए।

उनको यो महाद्वीपीय सराईको अवधारणा फेरि चर्चामा आयो। युद्धमा प्रयोगमा आएका विभिन्न प्रविधिहरु वैज्ञानिक अध्ययनको लागि प्रयोगमा ल्याउने क्रम बढ्दै थियो। कतै आणविक हतियारको परीक्षण तथा प्रयोग पत्ता लगाउन भूकम्प मापन गर्ने Seismometers, पनडुब्बीहरु पत्ता लगाउनको लागि प्रयोग गरिने Magnetometers हरुका तथ्यहरु वैज्ञानिक अनुसन्धानको लागि पनि उपलब्ध हुन थालेका थिए। 

यी प्रविधिहरूको प्रयोगले वैज्ञानिकहरुले के पत्ता लगाए भने भूकम्पहरु पृथ्वी भरी जहाँ तहाँ समान रूपले जाँदैनन्। केही क्षेत्रहरूमा भूकम्पहरु आश्चर्यजनक रूपले अत्यधिक जान्छन् भने समुन्द्रको गहिराईहरुमा पृथ्वीको चुम्बकीय क्षेत्रमा विचित्रको विविधता छ।

अब अनुसन्धानकर्ताहरुले Wegener का अवधारणाहरु सङ्ग मिल्दो तथ्यहरु पत्ता लगाउन थाले जसले पृथ्वीको crust साधारणतया २० वटा टेक्टोनिक प्लेट्समा विभाजित भएको हुनुपर्छ भन्ने तिर इङ्गित गरेको थियो। 

ज्वालामुखीबाट समुन्द्रमा मिसिएको लाभा (Lava) सेलाउँदा कतिपय खनिजहरू पृथ्वीको चुम्बकीय क्षेत्र अनुसार निश्चित दिशामा फर्किएका हुन्छन्। त्यसको अध्ययनबाट के थाहा भयो भने पृथ्वीको चुम्बकीय क्षेत्रमा कालान्तरहरुमा परिवर्तन भइरहेछ जसले पृथ्वीको सुदुर गहिराइमा निरन्तर हलचल छ जसले टेक्टोनिक प्लेट्सलाइ चलायमान गराइरहेछ।

आइमाई कुरा

जब टेक्टोनिक प्लेट्स र महाद्वीपीय सराईको कुरा जव आउँछन् एउटी महिला वैज्ञानिकको नाम पनि सङ्गै आउँछ। उनी थिइन् अमेरिकी भूगर्भविद् Marie Tharp(१९२०–२००६)। Wegener को अवधारणाले चर्चा पाउनुको पछाडि एउटा नक्साको विशेष हात रहेको भन्न सकिन्छ। त्यो नक्साले हामीले यो पृथ्वीलाई हेर्ने हाम्रो दृष्टिकोणलाई सम्पूर्ण रुपमा परिवर्तन गरिदियो भन्न सकिन्छ। 
                                        Marie Tharp             
१९५३ मा एक युवा भूगर्भशास्त्री Marie Tharp ले समुन्द्रको पिँधको नक्सा कोरेकी थिइन् जसले Wegener को महाद्वीपीय सराईको (Continental drift) अवधारणालाई पूर्ण रुपमा समर्थन गर्थ्यो।

१९२० मा अमेरिकामा जन्मिएकी Marie Tharp का पिता U.S. Department of Agriculture मा कार्यरत माटोको सुपरिवेक्षक थिए।त्यही पृष्ठभूमिले उनलाई पनि माटो सङ्ग जोडेको हुनु पर्छ। त्यो समय महिलाहरुलाई अन्य क्षेत्रमा त परै जाओस्, विज्ञानकै क्षेत्रमा पनि सहज रुपमा स्वीकार गरिदैनथ्यो। 

१९२० देखि १९७० सम्मको अवधिमा जम्मा ४ प्रतिशत महिलाहरुले भूविज्ञानको क्षेत्रमा विद्यावारिधी थिए। विज्ञानका सबै क्षेत्रमा त्यस्तै हालत थियो। विज्ञानका क्षेत्रमा कार्यरत महिलाहरु पनि बाहिर देखिँदैनथे या समुह या संस्था आफैले देखिन दिँदैनथ्यो। तैपनि उनी असाधारण प्रतिभा भएकाले नै होला, उनीले आफूलाई अब्बल उभ्याएकी थिइन्।

१९४० को विश्वयुद्धका बेला उनीले काम गर्ने अवसर पाइन्। University of Michigan बाट भू विज्ञानमा स्नातकोत्तर गर्न सफल भएकी उनी पुरुषहरूले समेत झन्झट मान्ने भूगर्भविद् को भुमिकामा आफूलाई उभ्याएकी थिइन्। त्यो बेलाको समयमा Wegener को अवधारणाले सबैको टाउको तताएको थियो। Wegener को आलोचनामा सबै भन्दा बढी कस्सिएर लागेका अमेरिकी भूगर्भविद्हरु नै थिए। पृथ्वीको क्रस्टको बाहिरी सतह भन्दा भित्र त्यति अध्ययन गरिएको पनि थिएन न समुन्द्रको पिँधको नै कुनै अध्ययन गरिएको थियो।

Lamont lab का संस्थापक Maurice Ewing लाइ कार्यालय र म्युजियम भित्र बसेर भौगर्भिक अध्ययन गर्न अब दिक्क लागि सकेको थियो। उनले अब अध्ययन समुन्द्रको पिँधमा हुने भौगर्भिक क्रियाकलापलाइ तत्कालीन प्रविधिको सहायताले सम्पन्न गर्ने तर्फ बढाए। Sonar (sound navigation and ranging) को प्रयोग युद्धक्षेत्रमा धेरै प्रयोगमा आइसकेको थियो। Lamont lab अब समुन्द्रमा थियो अर्थात् आन्ध्र महासागर।

Tharp त्यही प्रयोगशालाको टेबलमा सीमित भइन्। उनको काम Sonar बाट प्राप्त तथ्यलाई चित्रमा अर्थात् नक्सामा उतार्नु थियो।  यो कार्यको लागि उनी सङ्गै अर्का भूगर्भविद् थिए Bruce Heezen जो Sonar तथ्यहरु सङ्कलन गर्थे अनि Tharp लाइ दिन्थे। Tharp को काम ती तथ्यलाई चित्रमा उतार्नु थियो जुन उनले निरन्तर गर्दै गईन्।

आन्ध्र महासागरको पिँधको नक्सा बिस्तारै उनको अगाडि खुल्दै थियो। तव उनले आफ्नो क्यानभासमा एउटा आश्चर्यजनक संरचना बिस्तारै नक्सामा खुल्दै गएको देखिन्: ओह! विशाल उपत्यका, महासागरको पिँधमा रहेको विशाल पर्वतश्रृङ्खला बीचमा छ यस्तो लाग्छ पृथ्वीको क्रस्ट बिस्तारै च्यतिँदै गइरहेको छ। उनीले झट्ट Wegener र उनको महाद्वीपीय सराईको अवधारणा सम्झिईन् तव पृथ्वीको त्यो प्रक्रिया उनको अगाडी प्रत्यक्ष प्रमाण सहित उनको क्यानभासमा थियो। उनले धेरै पटक तथ्यहरु पुन: परीक्षण गरिन् तर पनि नतिजा त्यही आयो।
     Marie Tharp ले बनाएको समुन्द्री पिँधको नक्सा  जहाँ विशाल पर्वत श्रृङ्खला हरू देखिन्छन्
उनले त्यो कुरा Bruce Heezen लाइ सुनाइन्। १९९९ मा उनले लेखेको निबन्धमा उनी सम्झिन्छिन्, "जब मैले नक्सा Bruce लाइ देखाएँ, उसले ह्या! यो हुनै सक्दैन, यस्ता 'आइमाई कुरा' भनेर तुरुन्त अस्वीकार गर्यो।" उनले आफ्ना दाजुलाई यो कुरा सुनाइन्, दाजुले Wegener को अमेरिकी आलोचना नजिकबाट देखेका हुनाले बहिनीको हालत पनि त्यस्तै नहोस् चाहन्थे त्यसैले उनले धेरै परीक्षण पश्चात मात्र बोल्नु भन्ने सल्लाह दिए।

त्यसपछिका दिनमा एक वर्षसम्म लगातार Tharp काे कामको परीक्षण र नक्सा हेरे पछि Bruce पनि विश्वस्त भयो कि यो Wegener ले भने जस्तै महाद्वीपीय सराई (Continental drift) नै हो। Wegener को अवधारणा सही छ। जुन उपत्यका Tharp ले पत्ता लगाइन् त्यो पृथ्वीको सबै भन्दा ठूलो संरचना अन्तर्गत पर्छ।

Heezen ले १९५६ मा यो अनुसन्धानको प्रकाशन जब गरे त्यसको सबै श्रेय आफैले लिए। ती बेलाका अन्य अनुसन्धानमा जस्तै महिलाहरु पृष्ठभूमीमै अड्किए। उनी आफ्नो निबन्धमा भन्छिन्, "एउटा तस्विरले लाखौँ शब्द भन्दा बढी बोल्छ र त्यही हेरे पछि विश्वास हुन्छ।" अर्थात् Seeing is believing
                                   Marie Tharp 2006
अहिले त हामी सङ्ग यति धेरै प्रविधि र तथ्यहरु छन् कि कम्प्युटर सिमुलेशन गरेर प्रत्येक कालखण्डमा महाद्वीपहरु कस्ता थिए, कसरी टेक्टोनिक प्लेट्सको गतिशीलताले कुन कालखण्डमा कस्तो हुन्छ सजिलै भनिदिन सक्छौ। अहिले पृथ्वीको परिक्रमा गरिरहेका सयौँ भू उपग्रहहरुको तथ्यहरूले अहिले पृथ्वीको सरञ्चनाहरुको हरेक क्रियाकलापहरू स्पष्ट गर्न सकिन्छ। हामी पृथ्वीका सुदुर गहिराईहरुका रहस्यहरु बिस्तारै खुलाउँदै छौ।

अबको २५० मिलियन वर्ष पछि यी महाद्वीपहरु फेरि एकै ठाउँमा जुट्ने छन् त्यसलाई हामी Wegener ले जस्तै Pangaea Proxima भन्छौँ। त्यतिबेला ठूला ठूला पर्वत शृङ्खला पनि बन्लान् जव अफ्रिकी टेक्टोनिक प्लेट युरोपेली टेक्टोनिक प्लेट सङ्ग घर्षण गर्ला। हामीलाई अहिले ठ्याक्कै भन्न त सक्दैनौँ तैपनि टेक्टोनिक प्लेट्सको गतिशीलताले सबै महाद्वीपलाई एकै ठाउँ Pangaea Proxima मा जोडिदिने छ Wegener लाइ पनि।


Share:

No comments:

Post a Comment

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

About Me

My photo
देउराली, चिती, लमजुङ्ग, गण्डकी , Nepal

Translate