A diary of Pedestrian on Mother Nature

खलिल जिब्रान का केही लघुकथाहरु

भगवानको त्यो पवित्र शहर

म जव भगवानको त्यो पवित्र शहरमा पुँगे, मलाइ अत्यन्त आश्चर्य लाग्यो किनकि त्यहाँका प्रत्येक नागरिकको एउटा हात र एउटा आँखा मात्र थियो। उनीहरु पनि मलाई देखेर झन् आश्चर्यमा थिए, ओहो! दुवै हात दुवै आँखा भएको मान्छे, सबै छक्क परेर मलाई नै हेरिरहेका थिए जस्तो कि म अचम्मको प्राणि हुँ। 

जब उनीहरु मेरो नै बारेमा कुरा गरिरहेका थिए, मैले सोधे, "के यो त्यहि पवित्र शहर हो जाँहाका नागरिकहरु भगवानको आदेश धर्मशास्त्रको अक्षरस पालना गर्दै आफ्नो जीवन बिताउछन?" उनिहरुले भने हो "यो त्यहि पवित्र नगर हो।"

मैले सोधे," हजुरहरुको यस्तो हालत कसरि भयो, हजुरहरुको दाइने आँखा र हातलाइ के भयो?" उनीहरु एक दिशातर्फ देखाउदै भने "आउनुस आफै हेर्नुहोस।" उनीहरुले मलाई शहरको बीचभागमा रहेको एक मन्दिरमा लगे जहाँ हात र आँखाहरुको थुप्रो थियो सबै निस्तेज सुकेर खक्रक्क भएका मानव अङ्गहरु। 

मैले सोधे, "कुन निर्दयीले हजुरहरुलाई यस्तो गर्यो?" यो प्रश्न सुनेर उनीहरु आश्चर्यमा परे अनि आफै आफै कानेखुसी गर्न थाले। यत्तिकैमा एक जाना बृद्ध व्यक्ति आगाडी आए अनि भने, "यो सबै हामि आफैले गरेका हौ, इश्वरको आदेश अनुसार निर्देशन अनुसार हामीले आफ्नो भित्रको खरावी, र पापहरु माथि बिजय प्राप्त गरिसकेका छौ। 

उनीहरुले मलाइ एक उच्च पाहाडमा लिएर गए जाँहा एक शिलालेख गाडिएको थियो। त्यसमा लेखिएको थियो, "यदि तिम्रो दाइने आँखाले अपराध गर्यो भने त्यसलाई उखालेर फालिदेउ किनकि जिउदै नरक झेल्नु भन्दा एउटा आँखामात्र लिएर बाच्नु धेरै राम्रो हुन्छ, यदि तिम्रो दाहिने हातले अपराध गर्यो भने त्यसलाई पनि तुरुन्त काटेर फालिदेउ, किनकि यसले तिम्रो सबै शरीर नर्कमा जादैन।" 

मैले त सबै बुझीहाले, अनि मैले उनीहरुलाई सोधे, "के यो शहरमा कोइ दुवै हात र आँखा भएका कोहि बाकि छन्?" उनीहरुले भने, "कोइ छैन, केहि बालक बालिकाहरु मात्र छन् जसले अहिले नै यो शिलालेख पढ्न र बुझ्न सक्दैनन्"

जब म त्यो मन्दिरबाट बाहिर निस्के, म तुरुन्त पछाडी पनि नहेरी त्यो भगवानको पवित्र शहरबाट भागिहाले किनकि म त्यो शिलालेख पढ्न पनि सक्थे र बुझ्न पनि।

साउनको अन्धो

एक दिन एउटा बुद्धिमान कुकुर बिरालोहरुको भीडको नजिक बाट जाँदै थियो। उसले देख्यो विरालोहरुलाई उसको उपस्थितिको कुनै मतलब थिएन। उनीहरू आपसमा मस्त थिए। कुकुर उनीहरूको नजिकै गयो। 

बिरालो भीडमा एउटा मोटो ढाडे बिरालो उठ्यो अनि साथी बिरालोहरू तिर हेर्दै भन्यो , " भाइ बहिनी हो! पटक पटक पूजा गर, नि:सन्देह आकाशबाट मुसाहरुको बर्षा हुनेछ।"

जब कुकुरले सो कुरा सुन्यो, मनमनै खुब हाँस्यो अनि आफ्नो बाटो लाग्दै भन्यो, "ए अन्धा, मूर्ख बिरालोहरु हो! के यो किताबहरूमा लेखेको छैन र, के तिम्रा बाउ बाजेहरुले भनेनन् र? श्रद्धापुर्वक प्रार्थना गरयो भने जब बर्षा हुन्छ त्यो बेला मूसा होइन हड्डीहरु बर्षन्छन्।"

जीवन 

पूर्णिमाको चन्द्रमा जसै आफ्नो सम्पूर्ण सुन्दरताको साथ शहर माथि उदायो, सबै कुकुरहरू चन्द्रमा तिर फर्केर भुक्न थाले। 

ती मध्ये एउटा कुकुर चाहिँ भुकेन, उसले गम्भीर स्वरमा भन्यो, " न चन्द्रमाको निन्द्रा टुट्छ न यसरी भुकेर तिमीहरूले उसलाई जमीनमा ल्याउन सक्छौ।" 

त्यस पछि अरु सबै कुकुरहरू भुक्न छोडे अनि त्यहाँ एक अनौठो शान्ति छायो। तर त्यो कुकुर भने अरुलाई शान्त रहने उपदेश दिँदै रातभर भुकिरह्यो।

स्वतन्त्र अस्तित्व

म एउटा मानसिक अस्पतालको बगैंचामा यसै घुमिरहेको थिएँ। त्यहाँ मैले एक युवकलाई अत्यन्त ध्यानपूर्वक दर्शनशास्त्रको पुस्तक पढिरहेको देखेँ।उनी असाध्यै स्वस्थ छन् जस्तो लाग्यो र उनको व्यवहार अन्य रोगीहरू भन्दा बिल्कुलै फरक थियो। साँच्चै नै उनी रोगी थिएनन्।

 म उनको नजिकै गएर बसेँ अनि सोधे, "तपाईँ यहाँ के गर्दै हुनुहुन्छ?"

उनले मलाई अत्यन्त आश्चर्यचकित हुँदै हेरे अनि बुझिहाले कि म डाक्टर होइन त्यसपछि उनले भने:

"हेर्नुहोस, यो अति सीधा कुरो छ। मेरो बुबा प्रसिद्ध वकील हुनुहुन्थ्यो, अनि आफूजस्तै बनाउन चाहनुहुन्थ्यो।"

"मेरो काकाको धेरै ठूलो पसल थियो, वहाँ पनि मलाई वहाँकै बाटोमा हिँडोस भन्ने चाहनुहुन्थ्यो।"

"मेरो आमाले म मा सधैँ मामाघर हजुरबाको छवि देख्नुहुन्थ्यो।"

"मेरा दिदीबहिनीहरु पनि यही चाहन्थे कि मैले उनीहरूको पतिहरुको जस्तै गजबको सफलता प्राप्त गरोस्।"

"र मेरो भाइ पनि यही चाहन्थ्यो कि म पनि उ जस्तै शानदार खेलाडी बनोस्।"

"र यस्तै कुरा मेरो विद्यालयमा पनि हुन्थ्यो, संगीतको कक्षामा, अंग्रेजीको ट्युसन मा पनि हुन्थ्यो - उनीहरू सबै दृढ निश्चयी थिए अनुशरण गर्नको लागि सबै अत्यन्त उपयुक्त र आदर्श व्यक्तिहरू थिए।"

"उनीहरू सबैले मलाई एक मानिसको रुपमा देख्दै देखेनन्। म त उनीहरूको लागि एक ऐना थिएँ जसमा सबै आफ्नो आफ्नो प्रतिबिम्ब देख्न चाहन्थे, आफैलाई प्राप्त गर्न चाहन्थे"

"त्यसपछि मैले आफूलाई यहीँ भर्ना गर्ने निश्चय गरे। वास्तवमा यो संसारमा यही एउटा ठाउँ त बाँकी छ जहाँ म आफ्नो स्वतन्त्र अस्तित्वको साथ जिउन सक्छु"

अहंकार

एउटा बुढो माझिले म सँग भन्यो, "तिस बर्ष पहिले एउटा एउटा डुङ्गा खियाउनेले मेरो छोरी भगाएर लग्यो, मैले उसलाई धेरै गालि गरे, त्यो मरोस भनेर श्राप दिए किनकि म मेरो छोरीलाइ असाध्यै माया गर्थे।"

"आखिर मेरो श्राप लाग्यो त्यसको डुङ्गा समुन्द्रमा डुब्यो र त्यो मर्यो अनि मेरी प्यारी छोरी पनि सँगै डुबेर मरी। खासमा मेरो छोरीको हत्यारा मै हो, मेरो श्रापले दुवै मरे। अब म कतिनै बाच्छु र? हे ईश्वर मलाइ यो क्रुर अपराधको लागि क्षमा गर" 

त्यो बुढोको बिलौना र पश्चातापका आँशुहरुमा आफ्नो श्राप दिने शक्तिको घमण्ड झिल्मिलाई रहेको प्रष्ट देखिन्थ्यो ।

भ्रम

आफ्नो अगाडिको सुन्दर निलो रङ्गको बादलले हल्का ढाकेको सुन्दर हिमाललाइ हेर्दै आँखाले भनेछ "हेर न निलो निलो कुहिरोको बीचमा कति सुन्दर हिमालय" 

त्यो सुनेर कानले भनेछ "सुन्दर हिमालय? कहाँ छ म त केहि पनि सुन्दिन त?" 

नाकले पनि भनेछ "सुन्दर हिमालय खै मैले त कुनै गन्ध महसुस गरेको छैन त?"

अनि हातले पनि भनेछ "सुन्दर हिमाल? खै मैले त केहि पनि छुन सकेको छैन त........." 

जब आँखा अर्को दृश्य हेर्न ब्यस्त भयो हात, नाक र कानले बडो चिन्तित हुदै छलफल गरेछन "यो आँखालाइ यस्तो भ्रमित हुने के चाहि खतरनाक रोग लागेछ।"

खाली कागज

हिउँ जस्तै सेतो कागजले भन्यो, "यस्तै शुद्ध सेतो रुपमा मेरो निर्माण भएको हो र म सधैँ सधैँ सेतै रहन चाहन्छु।कुनै मसी या कुनै अरु रङ्ग आएर मलाई फोहोर गर्नु भन्दा त बरु म जलेर सेतो खरानी हुन मन पराउँछु।"

मसिले भरिएको भाँडोले त्यस्तो कुरो सुनेर मन मनै हाँस्यो र कागजको नजिक जाने हिम्मत नै गरेन। कागजको कुरो सुने पछि रङ्गीन सिसाकलमहरु पनि कागजको नजिक कहिले गएनन्।

हिउँ जस्तै सेतो कागज शुद्ध तथा खाली कोरो नै रहिरह्यो.....शुद्ध कोरो र खाली। 

न्याय

त्यो रात राजमहलमा ठूलो भोज थियो। त्यहीबेला एउटा मान्छे त्यहाँ आयो र राजाको अगाडि दण्डवत् गर्यो। भोजमा उपस्थित सबै मानिसहरू त्यही तिर हेर्न थाले। उसको एउटा आँखा फुटेको थियो र त्यहाँबाट रगत बगिरहेको थियो। 

उसले उत्तर दियो," महाराज! म पेशाले चोर हूँ। हिजोराती मैले चोरी गर्नको लागि एउटा व्यापारीको पसलमा पसेको थिएँ। झ्यालबाट भित्र छिर्ने बेला म बाट ठूलो भूल भयो र कपडा बुन्नेको घरमा पो पसेछु। त्यहाँ भएको कपडा बुन्ने मेसिनमा ठोक्किएर मेरो आँखा फुट्यो। हे महाराज! म न्यायको आशाले हजुरको सम्मुख उपस्थित भएको छु।" 

यो सुनेर राजाले तुरुन्त कपडा बुन्नेलाई पक्राउ गर्ने र उसको पनि एउटा आँखा निकाल्ने आदेश दियो। 

" महाराज! " कपडा बुन्नेले भन्यो, "हजुरको न्याय उत्कृष्ट र उचित छ। यो अपराधमा मेरो एउटा आँखा निकालिनु नै पर्छ। तर महाराज मैले कपडा बुन्नको लागि दुवै तिर हेर्नु पर्छ। म सङ्ग एउटा जुत्ता सिउने मान्छे छ त्यसलाई एउटा आँखाले पनि काम गर्न मिल्छ।"

राजाले तुरुन्त जुत्ता सिउनेलाई बोलायो अनि उसको एउटा आँखा निकालियो। 

निन्द्रा

एउटा गाउँमा आमा छोरी बस्थे। दुवैलाइ निन्द्रामा हिड्ने रोग थियो। एक सुनसान रातमा निन्द्रामै हिंडीरहदा दुबैको घर बाहिरको बगैँचामा भेट भएछ। 

आमाले भनिछन, "तँ मेरी शत्रु! तलाई हुर्काउने पाल्ने गर्दा मेरो सारा यौवन नष्ट भयो बुझिस, तैले लहरो बनेर मेरो सारा आशाहरुको सुन्दर रुखलाइ सुकाएर धोत्रो पारिस, तलाई जन्मिदैमा मार्देको भए पनि हुने रैछ।" 

छोरीले पनि भनिछ, " हेर स्वार्थी बुढी आइमाई! तँ पनि मेरो र मेरो सुन्दर भविष्यको बीचमा पर्खाल बनेर उभिएकी छस नि, तैंले नि मेरो जीवन तेरो जस्तै पतझर र निरस बनाउने भइस, हे भगवान त मरिहालेको भए नि हुन्थ्यो नि।" 

त्यतिबेला नै घरमै पालेको कुखुरो अचानक बासेछ अनि दुवै बिउझेछन। अनि आमाले माया र चिन्ताले ग्रस्त हुदै भनिछन "हे मेरी प्यारी छोरी! तिमि निन्द्रामै फेरी बाहिर हिड्यौ" 

छोरीले पनि आमालाइ माया र आदरले भरिपुर्ण भएर भनिछ, "हे मेरी आमा! हजुरले नि यो रोगले सारै दुख पाउनु भो।"

Share:

No comments:

Post a Comment

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

About Me

My photo
देउराली, चिती, लमजुङ्ग, गण्डकी , Nepal

Translate