हरपल मृत्युभयले थरथरी काप्दै
अमरत्वको अभिलाषा बोकेर
सड्ने निश्चितता भएका ती निर्बल
शरीरहरुको मोहमा ग्रसित
केही कथित महानायकहरु
भित्र भित्रै मनमा झन्कृत
त्रासको कर्कश चिच्याहटबाट
जोगिने आशाले
आफ्ना स्तुतिगान घोकाउँछन्।
जीवित हुँदा अर्काले घिसार्दिनु पर्ने
त्यो भद्दा घिनलाग्दो शरीर
मृत्युपश्चात् को अलौकिक यात्राको
पैशाचिक पागलपनको तुष्टिमा
हजारौँ जनताको पेट काटेर
हजारौँ श्रमिकहरुको रगत पसिना
अनि अस्थिपञ्जरमा उभिएका
साँच्चैका चिहानहरुमा
ती स्तुतिगानहरुको कर्कश गायन
गर्वोन्मत्त आवाजमा गुञ्जाइन्छ
ता कि भित्ताहरुबाट
अस्थिपञ्जरहरु पीडाले चर्मराएको
आवाज निभोस्
ती रक्तरञ्जित भित्तोहरुमा
रङ्ग पोतिन्छन् स्वाभिमानका
अनि बालिन्छन् अगरबत्तीहरु भक्तिका
ताकि पोखिएका पसिना
पोतिएको रक्तले
आफ्नो सुगन्ध नभेटोस्।
चिहानहरु छरपष्ट छन्
कोई देखिन्छन्, कोई देखिँदैनन्
भौतिक महल देखि विचारधाराका
पुस्तकमा सजाइएका, गीतमा गाईएका
ती चिहानहरु
मुक्तिको आवरणमा स्थापित
दासत्वका गरुँङ्गा साङ्लाहरु
बोकेर गर्वले उफ्रिएको भीड देख्दा
स्वतन्त्र चरीको गीतको भ्रममा
गाइएका दासत्वका शपथहरु सुन्दै
शायद! चिहान भित्रका ती पिशाचहरु
नृत्य गर्छन्, विभत्स नृत्य, पैशाचिक अट्टहास
तिनै साङ्ला, तिनै नृत्य, तिनै अट्टहासहरु
हाम्रा थाप्लोमा थन्क्याउने
ती पिशाचका सन्तानहरू
मुक्तिका राग अलाप्छन्
सधैँ हाम्रो
शरीरमात्र होइन
मन समेत बाँधिएका छन्।
No comments:
Post a Comment