A diary of Pedestrian on Mother Nature

बिरालो! जसले निर्वाण प्राप्त गर्यो (कथा अनुवाद)

 

जापानको सुदुर गाउँमा उ एउटा गरीब युवा चित्रकार आफ्नो सानो झुप्रोमा बेलुकीको खाना कुरेर बसिरहेको थियो। उसको घरमा काम गरिदिने महिला बजार गएकी थिइन्। उ तिनिले के के ल्याउँछिन् होला, अनि उनले टोकरी खोलेर आफ्नो थोरै पैसाले बुद्धिमत्तापूर्वक किनेको चिजबिज देखाउँछिन् भनेर सोचिरहेको थियो। त्यतिकैमा उसले उनको पदचाप सुन्यो। उ तुरुन्त बाहिर निस्कियो, उ साह्रै भोकाएको थियो। 
उनी ढोकैमा उभिरहेकी थिइन्, टोकरी बन्द नै थियो। "भित्रै आऊ" उ चिच्यायो, "टोकरीमा के के छ?"

ती बुढी महिला थरथरी काप्दै दुवै हातले टोकरी समात्दै भनिन्, "हामी यहाँ एक्लै त छौँ नी" उनको चाउरी परेको अनुहारमा नम्रता र सुदृढता दुवै झल्किन्थ्यो। 

"एक्लै! त्यस्तो पो सोच्नु पर्ने मैले", उसले भन्यो, "हामीले पाहुना पो कसरी आउन भन्नु खै! जब हामीसँग उनीहरुलाई स्वागत गर्न केही पनि छैन। मैले राइस केक नखाएको पनि धेरै भइसक्यो, मैले त त्यसको स्वाद पनि बिर्सी सकेँ।" 

उसले उदास सुस्केरा हाल्यो, उसलाई राइस केक, म: म:, अनि स्वीट बिन्सले भरिएको केक खुब मिठो लाग्थ्यो। उसले साथीहरुसँग बसेर चिनियाँ माटोको कपमा चिया पस्किदै शायद सानी राजकुमारी जस्तै फुलेका आरुका सुन्दर फूलहरूको बारेमा छलफल गर्न रुचाउँथ्यो। 
तर हप्तौँ भयो कसैले पनि उसको चित्रहरू कसैले किनेको छैन। त्यो गरीब चित्रकारले भात र त्यो खस्रो माछा मै सन्तुष्ट हुनु परिरहेको छ। यदि उसको चित्र अझै विकेनन् भने त्यो पनि अब असम्भव हुनसक्छ। 

उसका आँखा अहिले पनि त्यही टोकरीमा अडिएका थिए। शायद, ती बुढी महिलाले एक या दुइ वटा सलगम र आरुका केही दाना किन्न सक्षम भएकी छन् कि। "हेर्नुहोस्" उनले चित्रकारले तिर हेर्दै भनिन्," यस्तो लाग्छ मलाई यी मुसाहरुले विउँझाइरहेका हुन्छन्।" त्यो सुनेर चित्रकार खुब हास्यो, "मुसाहरु! यो गरिबको घरको भुइँमा खानाको एक टुक्रा त झरेको हुँदैन त्यहाँ मुसाहरु कहाँ आउँछन् र?" उसले महिला तिर हेर्यो, उसको मस्तिष्कमा भयानक डर उत्पन्न भएको थियो, "तिमीले खानको लागि केही पनि ल्याइनौ?"

"हो सत्य हो" महिलाले दुःखित हुँदै भनिन्।
चित्रकारले भन्यो, " तिमीले घरमा बिरालो ल्यायौ" महिलाले झुक्दै भनिन्, "हजुरलाई सबै थाहा छ नी।" 

चित्रकार जुरुक्क उठ्यो, कोठामा लामो लामो पाइला चाल्दै, आफ्नै कपाल लुछ्दै भोक र रिसले बडबडाउन थाल्यो, " बिरालो, बिरालो", उ चिच्यायो, " तिमी पागल त भइनौ, हामी यहाँ भोकले मरिरहेछौँ। तिमीले अझ एउटा राक्षस लिएर आयौ, नभएको खाना अझ बाँड्नलाई, शायद हरेक रात हाम्रो रगत चुस्नको लागि ठीक छ यो। रातमा अचानक विउँझिदा हाम्रा घाँटीमा ती दाह्रा गडेका र ती लाल्टिन जस्ता आँखामा हेर्नु! तर तिमी सही छौ, हामी यस्तो दुःख झेल्नु भन्दा त एकै पटकमा मरेर त्यो शैतानको दाह्रामै चढ्न पाए धेरै उपयुक्त हुन्थ्यो" 

"तर तर! त्यहाँ राम्रा विरालोहरु पनि त हुन्छन् नी" ती बुढी महिला रोइन्, "त्यो सानो केटोको कथा बिर्सनु भयो? जसले त्यो खण्डहर भएको मन्दिरको भित्तोमा विरालोहरुको चित्र कोरेर आफ्नो झुपडीमा सुत्न गएको थियो। उसले भोलिपल्ट बिउँझिदा आफ्नो आडमा भयङ्कर ठूलो मुसो मरिरहेको फेला पार्यो जो उसलाई खान आएको थियो? मलाई भन्नुस् त त्यो भयानक मुसोलाई कसले मारेको थियो? थाहा छ त्यो भित्तोको बिरालोको पञ्जामा रगत लागेको थियो। पछि त्यो सानो केटो हजुर जस्तै राम्रो चित्रकार भएको थियो" उनी सुक्सुकाउँदै थिइन् , " केही बिरालोहरु त राम्रा पनि छन्।" 

उनी रुन थालिन्। चित्रकार रोकियो अनि ती महिलालाई हेर्न थाल्यो। उनको उज्यालो काला आँखाहरूबाट आँशुको धारा चाउरिएको गाला हुँदै बगिरहेको थियो। उ किन रिसाउनु पर्थ्यो र, उ पहिला पनि भोको रहेको थियो त।

"ठीक छ, ठीक छ" उसले भन्यो, " कहिलेकाहीँ राक्षसलाई घरमा राख्दा पनि सौभाग्यशाली नै होइन्छ, किनकि यसले अरु राक्षसहरुलाई घरमा आउन दिँदैन। तिम्रो यो बिरालोले खाने त पक्कै छ। शायद यसले हाम्रो लागि पनि केही खानाको व्यवस्था गर्ला की। हुन त हाम्रो लागि यहाँ भन्दा नराम्रो त के नै होला र" 

ती महिला अति कृतज्ञ हुँदै शिर निहुराउँदै भनिन्, " हजुरको जस्तो दयालु हृदय भएको मानिस यो शहरमा कोई छैन" अनि उनी त्यो टोकरी बोकेर भान्सा तिर जाने तयारी गर्दै थिइन्। चित्रकार पनि उत्सुक थियो र उनलाई रोक्दै भन्यो , "खै! मलाई पनि देखाऊ त"। 

ती महिलाले टोकरी भुइँमा राख्दै त्यसको विर्को उघारिदिइन्। शुरुमा केही भएन, बिस्तारै बाटुलो, सुन्दर सेतो टाउको बिस्तारै टोकरीबाट निस्कियो, दुई ठूला पहेँला आँखाहरुले शुरुमा कोठा सरसरी हेरे, साना पञ्जाहरु टोकरीको डिलमा देखिए अनी टोकरी कत्तिपनि नहल्लाईकन एउटा सानो सेतो बिरालो बाहिर निस्कियो अनि गुन्द्रीमा मान्छे जस्तै यसरी उभियो कि शायद त्यसलाई स्वागत नै गरिएको होस्। बिरालोको शरीरको दायाँबायाँ पहेँलो र कालो थोप्लाहरु र खरायोको जस्तै पुच्छर उसको प्रत्येक चिज सुन्दर तरिकाले संयोजन भएको चित्रकार स्पष्ट देख्न सक्थ्यो। 

"ओहो! तीन रङ्गी बिरालो" चित्रकारले भन्यो, "शुरुमै किन नभनेको? यो त अति सौभाग्यशाली हुन्छ, म बुझ्छु नी " 

बिरालोले पनि चित्रकारको त्यस्तो मायालु स्वर सुनेर होला, चित्रकारको नजिकै आयो अनि आफ्नो टाउको बिस्तारै झुकाएर उसको खुट्टामा छोयो शायद उसले मायालु अभिवादन गर्यो। 

त्यो देखेर ती महिला खुशीले ताली बजाइन। चित्रकारले पनि आफ्नो भोक बिर्सियो, उसलाइ त्यो बिरालो जस्तो विनीत र नम्र त केही देखेको छु जस्तो लागेन। 

"यसको नाम राख्नु पर्यो" चित्रकारले त्यो थोत्रो गुन्द्रीमा बस्दै भन्यो, " यो हिउँमा सुनको टुक्रा र लाहा परेको जस्तै छ जस्तो सेतो सुन्दर फूलमा पुतलीहरु बसे जस्तै छ। यो त ......." उ रोकियो। कोठा आगोमा बसालेको चियाको केतलीको जस्तै आवाजले भरियो। "ओह! कस्तो तृप्ति" नि:श्वास छोड्दै चित्रकारले ती महिला सँग भन्यो, " यो त त्यो राइस केक भन्दा पनि राम्रो छ। हामी अहिलेसम्म एक्लै थियौँ, अब हेर! यसलाई हामी "सौभाग्य" भनेर बोलाउने छौँ।" 

हुन त त्यो नामले चित्रकारलाइ आफ्नो सबै समस्या, दुःखहरू सम्झायो। "जे होस्, होस्" उसले कम्मरको पेटिलाई आफ्नो भोको पेटमा बाँध्दै भन्यो, " यसलाई भान्सामा लैजाऊ" बिरालो बिस्तारै उठ्यो अनि कोमलताको साथ भित्र गयो। 

ती बुढी महिलाले पहिलो गीत गाइन्

यो बुढ्यौली र गरिवीको चक्रमा
हिउँसरी सेता भए यी कपाल मेरा
खुम्चिएका यी लुगाहरूमा 
झनै छ कस्सिएको यो पेटी

त्यो सौभाग्यको मोटो देउता 
कसरी छिरोस् त हाम्रो सानु झुप्रोमा

चियाको चुस्किका आवाजहरु छन् 
 ती पाहुनाहरुको आगमन जस्तै शून्य 

शिर त ठाडै छ तैपनि मेरो
जव लम्किन्छन् मेरा पाइला
 ती शहरका गल्लीहरूमा
मेरो हृदय झुक्दैन जहाँ तहाँ
मैले त्यस्तो मालिकको सेवामा छु। 

अर्को बिहान चित्रकारले त्यो बिरालो उसको सिरानीमा गुटुमुटु भएर सुतेको फेला पार्यो, "आहा! सबै भन्दा नरम ठाउँ"। त्यो बिरालो तुरुन्त उठ्यो आफूलाई पूर्णता र दक्षताको साथ सफा गर्दै अगाडि बढ्यो। 
जब ती महिला बजारबाट फर्किइन् र थोरै खाना बनाइन्। बिरालो चुल्होको नजिक त गएन तर उसले मुख भने मिठ्याउँदै जुङ्गा भने हल्लायो, शायद भोकले होला। 

माछाको सुपको कचौरा लिएर आउँदा बिरालो पनि सङ्गै हुनु पर्ने हो। ओहो! ती महिलाले त्यति माछाको लागि पनि धेरै मेहनत गरिन् होला। तर त्यो बिरालोले खाना तिर हेर्दै हेरेन।  

"यो बिरालोलाई थाहा छ, अर्काले खाएको घुरेर हेर्नु कुनै नम्रताको प्रदर्शन होइन यसलाई सारै राम्रो तरिकाले हुर्काएको हुनु पर्छ" चित्रकारले सोध्यो "यसलाई तिमीले कहाँ बाट किन्यौ?"

"मैले यो माछा ब्यापारी सङ्ग किनेकी हूँ, यो उसको प्रमुख बिरालोको जेठी चाहिँ छोरी हो" ती महिलाले भनिन्, " तपाईँलाई थाहा छ, समुन्द्रको शैतानलाई भगाउन बिरालो बिना एक सिन्को पनि समुन्द्रमा जाँदैन नी" 
"हा! बिरालोले समुन्द्रको शैतानलाई कहाँ तर्साउन सक्छ र?" चित्रकारले जवाफमा भन्यो, "समुन्द्रको राक्षसले त जहाजहरूलाइ बिरालोको सम्मानमा छोडिदिने हो, तर्सेर होइन नी।"

ती महिला विवाद गर्न चाहिनन्। उनलाई आफ्नो स्थान कहाँ छ भन्ने राम्रोसँग थाहा थियो। त्यो बिरालो अझै पनि भित्ता तिरै फर्किएर बसेको थियो। 

चित्रकारले सुपको अर्को चुस्की लियो अनि भन्यो, " मलाई भात दिँदा खेरी यो सौभाग्य (बिरालो) लाइ एक कचौरा ल्याइदेउ है। यो भोकाएको पनि होला।"

जब कचौरा आइपुग्यो, चित्रकारले मायालु स्वरमा सौभाग्यलाइ बोलायो। त्यस्तो मायालु र उपयुक्त निम्तो पाएर होला सौभाग्य भित्तातिर हेर्न छोड्यो, अनि चित्रकारको आडैमा आएर बस्यो। 

सौभाग्यले हतार गरेर खाएन, साह्रै भोकाएको भए पनि आधा मात्र खायो यस्तो लाग्थ्यो उ कसैलाई बोझ बन्न चाहँदैन बरु उ पनि सहयोग गर्न चाहन्छ त्यो अभावमा, लाग्छ उसले सबैकुरा बुझेको छ।
 
दिनहरू बित्दै गए। प्रत्येक बिहान चित्रकार बिस्तारै त्यही गुन्द्रीमा बस्थ्यो र साना साना सुन्दर चित्रहरू बनाउँथ्यो जुन कसैले किनेनन् : केही दुई तरवार बोकेका लडाकुहरु, केही लामा बादलसरी कपाल कोरिरहेका सुन्दर तरुणीहरु, कुनै चाहिँ शैतानहरू मुखबाट हावा फुकिरहेका, कुनै त निकै हाँसो लाग्दा थिए जस्तो चन्द्रमाको उज्यालोमा कुदिरहेका खरायोहरु, मोटो मलसाँप्रोले आफ्नो पेट दमाहा जस्तै बजाइरहेको।

जब उ काम गर्न थाल्थ्यो, ती महिला केही थोरै पैसा लिएर बजार जान्थिन्। अरु समय पकाउने, लुगा धुने अनि त्यही थोत्रो झुप्रो पोत्ने सफा गर्ने गर्थिन्। सौभाग्य यो विषयमा केही सहयोग गर्न सक्दैनथ्यो र शान्त सङ्ग घाम तापेर बस्थ्यो, तर खाना चाहिँ सकेसम्म असाध्यै कम खान्थ्यो। धेरै समय बुद्धको चित्रको मुन्तिर टाउको झुकाएर बसिरहन्थ्यो। 

"यो बुद्धको प्राथनामा लीन छ" ती महिला त्यसलाई सह्राउँदै भन्थिन्। "होइन हो यसले झिङ्गाहरु समातिरहेको छ" चित्रकार भन्थ्यो, " तिम्रो यो छिर्केमिर्के बिरालोको बारेमा तिमी खाली अद्भुत कुरा मात्रै गर्छ्यौ।" शायद चित्रकारलाइ केही चाहिँ अचम्मको लाग्दो हो किनकी उसले हृदय भारी भएको बेला कहिले प्राथना गर्दैनथ्यो।

तर एकदिन भने उसले बाध्य भएर यो बिरालो "सौभाग्य" अन्य सामान्य बिरालो जस्तो चाहिँ होइन भनेर स्वीकार गर्नै पर्ने अवस्था आयो। त्यो दिन चित्रकार आफ्नो कोठामा बसेर बाहिर भङ्गेराहरु हंसराज फूलको झाडीको भित्र बाहिर गर्दै उडिरहेको हेरिरहेको थियो। सौभाग्य छायाँबाट एक्कासी उफ्रियो र एउटा भङ्गेरा समात्यो।

एकाएक उसको पञ्जाभित्र एउटा कालो टाउको, खैरा पखेटा, जङ्गली गुलाबका मसिना हाँगाजस्ता खुट्टा र डरले काँतर आँखाहरू देखिए। चित्रकारले ताली बजाएर बिरालोलाई तर्साउने र चरालाई उम्काइदिने बारे सोच्दै थियो, उसले त्यो गर्नु अगावै सौभाग्यले आफ्नो सेतो खुट्टा बिस्तारै उठायो अनि बडो कोमलताको साथ भङ्गेरालाई छोडिदियो अनि चरो भुर्र उड्यो। 

"ओहो! कति दयालु!" चित्रकारको आँखाबाट आँशु टिल्पिलायो। उसलाई थाहा थियो बिरालो भोको छ अनि उ भोक के हो राम्रो सङ्ग जान्दछ। उसलाई लाज लाग्यो "ओहो! मैले शुरुमा मेरो घर आउँदा यसलाई राक्षस भने के के भने, यो त त्यो बिहारको बौद्ध भिक्षु भन्दा पनि धेरै करुणावान छ"

त्यतिकैमा ती बुढी महिला आफ्नो उत्साह लुकाउँदै त्यहाँ आइन्, "मालिक! त्यो बौद्ध बिहारको प्रमुख भिक्षु हजुरलाई भेट्न आउनु भएको छ।मैले वहाँलाई अर्को कोठामा पर्खाइरहेको छु।"

"हँ! यो सम्मान मेरो लागि होला र? ओहो! ती प्रमुख भिक्षु मलाई भेट्न आफै यहाँआउनु भएको?" चित्रकार आफैलाई विश्वास गर्न सकिरहेको थिएन। ती प्रमुख भिक्षु धेरै महत्वपूर्ण व्यक्ति थिए। ती त्यो गरीब सामान्य चित्रकारलाइ भेट्न त्यहाँ आउँछन् भनेर उस्लाई विश्वास गर्न गाह्रो भइरहेको थियो। 

उ उत्साहले झण्डै लडेन, उसले बडो गाह्रो सङ्ग आफूलाई शान्त र संयन्त राख्दै उसले आफूसँग भएको अन्तिम मूल्यवान वस्तु एउटा फूल्दान जो उसको झुप्रोमा हेर्न हुने बाँकी थियो त्यो दिँदै भन्यो, छिटो, छिटो, जाऊ अनि चिया र केक किनेर ल्याऊ।" उसलाई राम्रो सङ्ग थाहा छ कि यस पश्चात उसको कोठा शून्य शोभविहिन हुनेछ, तैपनि उ कत्तिपनि सङ्कोच नमानिकन त्यो पनि उसले दियो। उ चाहँदैनथ्यो कि उसको त्यो महत्वपूर्ण पाहुनाको लागि उचित स्वागतको अभाव होस्। भिक्षुलाई त्यही एक मिनेट कुराउन पर्दा पनि उसलाई लज्जा महसुस भइरहेको थियो।

अर्को कोठामा भिक्षु ध्यान मग्न थिए, चित्रकार उनको अगाडि गहन विनम्रता साथ झुक्यो र भिक्षुको आँखा खुल्ने प्रतीक्षा गरिरह्यो। उसलाई भिक्षुको आँखा खुल्न पनि एक शताब्दी जस्तै महसुस भयो। जब भिक्षुले आँखा खोल्यो, उसले फेरि शिर निहुराएर भन्यो कि उनको त्यो पवित्र आगमनले उसको त्यो घर अनन्तकाल सम्मको लागि अत्यन्त सम्मानित भयो। 

भिक्षुले कत्ति पनि समय खेर नफाली भन्यो, "हामी बौद्ध बिहारको लागि बुद्धको निर्वाणको अन्तिम पलको चित्र चाहन्छौँ l हामीले निकै छलफल पश्चात सबै कलाकारको नाम सहितको कागजहरु बिहारको केन्द्रमा रहेको प्रमुख चित्र अगाडि राखेका थियौँ। बिहान सबै कागजहरू हावाले उडाएको थियो। तिम्रो नामको कागज मात्र बाँकी थियो। त्यसैले बुद्धको इच्छा नै सर्वोपरि छ। तिम्रो यो नाजुक अवस्था थाहा पाएर मैले पहिलो किस्ता मैले अहिले नै ल्याइदिएको छु ताकि काम गर्दा तिम्रो मन शान्त होस्। किनकि शान्त तलाउमा मात्र स्पष्ट छायाँ देखिन्छ। यदि विहारले तिमीले कोरेको चित्रलाई स्वीकार्यो भने शहरमा त्यसैको लहर जान्छ।तिमी पनि सफल हुनेछौ।" त्यति भन्दै भिक्षुले कम्मरबाट गरुङ्गो थैली निकाल्यो। 

चित्रकारले ती भिक्षुलाई कसरी धन्यवाद दिने, या कसरी संस्कार अनुसार चिया पस्कने भनेर सम्झनै सकेन। उसको सामुन्ने एक पटक नाम र दाम दुवै कमाउने गजबको मौका थियो। उसलाई त त्यो सपना जस्तै थियो, ओहो किन बुद्धद्वारा उ चुनिएको थियो? उ यति उदास रहन्थ्यो कि प्राथना समेत गर्न मन गर्दैनथ्यो। के त्यो सानो छिर्केमिर्के बिरालोको प्राथना बुद्धले सुन्नुभयो कि? उ डराइरहेको थियो, न यो सबै एक भ्रम पो हो कि? त्यो गरुङ्गों थैलीमा रहेको पैसा सबै सुकेका पात पो हुन कि। 

उसले भान्साबाट अनौठो आवाज नसुनेको भए शायद उ होश मै आउँदैनथ्यो होला। त्यो दुईथरी आवाज थियो। उसलाई त्यो अचम्मको आवाज छुट्टयाउन गाह्रो भयो। उ भान्सामा पुग्दा उसले देख्यो कि ती महिला र बिरालो सौभाग्य प्रफुल्ल मुद्रामा रमाइरहेका छन्। त्यो उनीहरूकै आवाज थियो। एउटा खुशीले रोइरहेकी थिइन् भने अर्को खुशीले म्याउँ म्याउँ गरिरहेको थियो। दुई मध्ये कुनले धेरै आवाज गरिरहेछ छुट्टयाउन मुश्किल थियो। 

चित्रकार पनि त्यो खुशी देखेर उन्मुक्त हाँसो हाँस्यो अब उ पहिलेको जस्तो उदास र दिक्दार व्यक्ति थिएन। 
उ त नयाँ सानु बालक जस्तै भएको थियो। उसले ती बुढी महिला र बिरालो दुवैलाई अङ्गालोमा उठायो, त्यहाँ तीनजनाको उन्मुक्त र प्रफुल्लित आवाज त्यो थोत्रो जीर्ण भान्साघरमा गुन्जिरह्यो। 
बुढी महिला दोस्रो गीत गुनगुनाउँछिन्

अब हाँस्न देऊ मलाई रुन देऊ
त्यो अनुपम खुशी छ त्यो अन्त्यमा
उ उदाउँछ प्रशिद्धि को शिखरमा
गरिवीको मौलिक जगमा उभिएको
बालुवामा छापिएको पाइला 
हो त्यही महान संघर्षको 
देख्छु म ती कुलिन व्यक्ति पनि
आखिर उभिएका छन् दैलोमा उसैको

अर्को बिहान सूर्योदय अगावै ती महिला उठिन् अनि घर सफा गरिन्। त्यो गुन्द्री चाँदी, काठहरु सुन जस्तै बनाएर घोटिन्। उनी हतार हतार बजार गइन् अनि फूलको एक गुच्छा किनेर ल्याइन् अनि फूलदानमा सजाइन्। हो त्यही फूलदानी जुन फेरि उनले त्यही भिक्षुले दिएको पैसाबाट पुन: किनेर ल्याएकी थिइन्। 

सोही समयमा चित्रकारले चिटिक्क पारेर चाडबाडको लुगाले आफूलाई तयार पार्यो, कपाल सर्लक्क कोर्यो जबसम्म त्यो लाहा जस्तै चम्किएन। त्यस पश्चात दराजमा रहेको बुद्धको चित्र अघि प्राथना गर्न गयो। त्यहाँ बिरालो सौभाग्य पहिले नै बसिरहेको थियो। चित्रकारलाइ देखेर उ हल्का सर्यो अनि दुवै सङ्गै चित्रको सामुन्ने शिर झुकाएर बसे।

चित्रकारले आफ्नो हात उठाएर हल्का ताली बजाउँदै प्राथना सम्पन्न गर्यो। अन्तिम प्रणाम गरेर उ अर्को कोठामा गयो अनि गुन्द्रीमा बस्यो। उसले यस्तो उत्साहित र प्रफुल्लित कहिले पनि महसुस गरेको थिएन। 
आज बाट उसले बुद्धको मृत्युको समयको तस्वीर कोर्न शुरू गर्ने निश्चय गरेको थियो जुन गाउँको त्यो बिहारमा झुन्ड्याइने छ अनि उसका छोरा, नाति लगायत कयौँ पुस्ताले त्यो तस्वीर हेर्ने छन्। 

त्यो सम्मानले उ ओतप्रोत भयो। तर पनि उ सीधा भावशुन्य भएर भएर बस्यो जस्तो एक सामुराई लडाकु आफ्नो गुरुको निर्देशन सुनिरहेको छ। 
उसको आगाडी न रेशमको गुच्छा छ, न मसिको टुक्रा छ, न फूल जस्तै ब्रशहरु छन्, न मूलको ताजा पानी छ। चित्र बनाउनु भन्दा पहिले उ बुद्धलाई बुझ्न चाहाने उत्कट अभिलाषाले भरिएको छ।

उसले बुद्धलाई शुरुमा आफूलाई एक हिमाली देशको एक युवा राजकुमारको रुपमा कल्पना गर्न थाल्यो। उसले आफ्नो त्यही थोत्रो घरलाई सिद्धार्थको राजमहलको रुपमा लिन थाल्यो जसको छतसम्म पुगेका चहकिला काठका विशाल खम्बाहरू झल्किरहेका छन्। 
उसले त्यहाँ नजिकै सुगन्धित पानी झरिरहेका सुन्दर झरनाहरु छन्। उसलाई युवा बलिष्ट लडाकुहरुले वरिपरिबाट सुरक्षा दिइरहेका छन्।

उसको कल्पनामा एक युवती लामो सितारको सुन्दर राग छेडिरहेकी छन्। उसलाई त्यो बाहिर रहेको त्यो सानो हंसराजको झाडी एक सुन्दर बन जसमा सुगन्धित र मीठा फलफूलहरू लटरम्म फूलिरहेका छन् जसक बीचमा रहेको निर्मल पानीको पोखरी जसमा गुलावी र सेता सुगन्धित कमलका फूलहरु फुलिरहेका छन् भन्ने प्रतीत भइरहेको छ। लाग्छ ती भङ्गेराहरु आकाशमा उडिरहेको सेता राजहाँसहरु हुन्।

त्यहाँ नजिकैबाट एउटा किसानको घोडा हिनहिनाउँदै गयो तर चित्रकारलाई लाग्यो राज तवेलामा रहेका युद्धमा जाने बलिष्ट घोडाहरुको आवाज सुनिरहेको छ, हात्तीहरू कराइरहेछन्। अब उ एक सुन्दर राजकुमारीको स्वयंवरमा अरु राजकुमारहरुसँग प्रतिस्पर्धा गर्न जाने तयारीमा छ जहाँ घोडामाथि सवार उसले घोडा तीव्रगतिमा कुदाएर उसले धनुषबाट छोडिएको उसको तीरले दुईवटा रुखलाई छेडेर गएको छ। अरूको तीरले एउटामात्र रुखलाई मात्र छेड्न सक्यो। त्यसैले त उसकाे विवाह योशोधरा सङ्ग भयो।

त्यो देखिरहेका सारा जनताहरूले ताली बजाएर उसको सम्मान गरे। त्यो सफलताको उचाइमा पनि चित्रकारलाइ यो थाहा भयो कि सिद्धार्थले आफ्ना प्रतिस्पर्धी प्रति कुनै दुर्भावना थिएन। उ आगो र सौम्यपनको सुन्दर सामञ्जस्य थियो। एउटा मृदु मुस्कान उसको मुहारमा झल्कियो। उसले आफ्नो शिर माथी उठायो जस्तो एउटा हरिण घाँसको मैदानमा विचरण गर्छ। चित्रकारले यी सबै आफ्ना काल्पनिक साथीहरुलाई हेर्यो। सबै युवा थिए, सबै सुन्दर थिए। उनीहरूसँग माग्नु भन्दा पहिले दिने सिद्धार्थको खुला हृदय थियो। 

हाँसहरु उसको बगैँचाबाट उडेर जान्छन्, उनीहरुलाई कुनै शिकारीको तीरको कुनै डर छैन। फूलै फूलको झाडीबाट निर्भय भएर मृग निस्किएर विचरण गर्छ। चित्रकार पुरानो झुत्रो कपडा माथि बस्दा पनि त्यो पतालो चकटी रेशमको गद्दा जस्तो लाग्छ। उसका कानहरुमा पनि गरुङ्गा बहुमूल्य धातुका गहनाहरू झुण्डिएका छन्। मोतीको माला उसको घाँटीमा झुण्डिरहेको छ। 

जब ती बुढी महिला साधारण मध्यान्नको खाना ल्याउँछिन, उसलाई लाग्छ नोकरहरुको लावालस्करले सुनका भाँडाहरुमा सारै दुर्लभ खाले खाना पस्किरहेका छन्। जब त्यो बिरालो सौभाग्य एकदम सुस्तरी पाइला चाल्दै भित्र आउँछ, सुनको चप्पल लगाएकी एक सुन्दर नर्तकी उसको मनोरञ्जनको लागि नृत्य गर्दै आउँछिन्। 

"स्वागतम्, स्वागतम्" उ भन्छ तर बिरालोले कोठा खाली जस्तो लागेर होला फुत्त निस्किन्छ। चित्रकारको आवाज सुनेर ती महिला पनि भित्र आउँछिन् अनि बिरालोलाई कराउँछिन्," के भयो तिमीलाई र मालिकलाई विघ्न गरेको?" तर चित्रकारलाइ केही पनि फरक पर्दैन, उ त अझै पनि राजकुमार सिद्धार्थ नै छ। उसलाई त लागिरहेको छ कि सारा संसार उनीहरु जस्तै आनन्दित छन् जस्तो उसको पिता राजा शुद्धोधनले उसलाई दिएको सुन्दर लहराले युक्त महलका भित्ताहरू भित्र छन्। 

दोस्रो दिन पनि त्यसरी नै शुरू भयो। ती महिला सूर्योदय पूर्व नै उठिन्। त्यहाँ धूलोको एक कण नभए पनि उनले पहिलो दिन जस्तै पखाल्ने, बढार्ने र पोछ्ने गरिन्। उनी हतार हतार बजार गएर फूलको गुच्छा किनेर ल्याइन्। चित्रकार पनि चाँडै उठ्यो र आफुमा बुद्धको परावर्तन ल्याउने सक्दो प्रयास गर्यो त्यसपछि उ प्राथना गर्न गयो जहाँ सौभाग्य नार्सिसस् फूल (Dafodil) चम्किरहेको थियो जस्तो नर्सिसस् फूलको मुटु जस्तै सुनौलो, अनि त्यही फूलको तरेलीमा बसेको कालो विटल्स जस्तै तर शान्त सौम्य त्यही बुद्धको चित्र अगाडि। 

चित्रकारलाइ देख्ने बित्तिकै उ उठ्यो, शिर निहुरायो अनि बिस्तारै उसको लागि ठाउँ छोडिदियो। उनीहरू सदा झै ध्यानस्त भए, चित्रकारले बेला बेला हल्का ताली बजाउँथे तर बिरालो पञ्जा भुइँमा राखेर एकदम स्थिर बसेको थियो। 

चित्रकार त्यही हंसराज फूलको आडमा भएको कोठामा गयो। उसले आफूमा सिद्धार्थको त्यागलाई आफूमा उतार्ने कोसिस गर्न थाल्यो। फेरि उ राजकुमार सिद्धार्थ थियो। उसले एक रथ तयार गर्ने आदेश दियो र आज उ कुनै पनि पूर्व घोषणा बिना शहर भ्रमण गर्ने निश्चय गरेको थियो। 

उसले बुढो मान्छे देख्यो, ज्वरोले थलिएको व्यक्ति अनि मृत्यु भएको अर्को व्यक्ति पनि देख्यो। उसले आफ्नो हातको सुनको वाला हेर्यो त्यो लाचार थियो त्यसले त्यहाँ केही गर्न सक्दैनथ्यो। उ यो देशको राजकुमार लाचार थियो, चित्रकारको शिर भारी भएर आयो। उसले सुगन्धित फूलको गुच्छा सुँघ्यो तर पनि त्यसको सुगन्धको मिठासले उसलाई झनै बिरामी बनाउला जस्तो भयो। उसलाई उसको छोरो राहुल जन्मिएको खबर दिइयो तैपनि उसले त्यो नवजात शिशुको जीवन कति दुःखदायी छ भन्ने मात्र सोचिरह्यो। 

जब ती महिलाले खाना पकाएर ल्याइन् उसले त्यो एक सिता पनि मुखमा नहाली फिर्ता पठाइदियो। सौभाग्यले जब उ तिर हेर्यो, उसले सौभाग्यलाई पनि कुनै रमाइलोको लागि कुनै इच्छा नरहेको बतायो। साँझ पर्दै आयो तर चित्रकारको मनोदशा कत्तिपनि परिवर्तन भएन। ती महिलाले पनि सोधिन्, बिरालोले पनि अधिर भएर म्याउँ म्याउँ गर्यो तर उसले सुनेन। 

चित्रकारको त्यो कल्पनामा उ युवराज सिद्धार्थले सुटुक्क रथ चालक र कण्ठक उसको सेतो घोडालाई बोलायो। उसले छोरो राहुललाई हातमा राखेर निदाइरहेकि पत्नी यशोधरा अपलक हेरिरह्यो। अनि आफ्नो बगैँचाको अँध्यारो हुँदै बाहिर निस्कियो। 

मस्त निद्रामा निदाइरहेको शहर हुँदै गयो। निष्पट्ट अन्धकार त्यो रात्रिमा उ गएको बाटोमा ती ढुङ्गाहरू मात्र चम्किरहेका थिए। अनि उ घना जङ्गलको बीचमा पुग्यो जहाँ उसको पिताको राज्यको सीमा समाप्त हुन्थ्यो। सिद्धार्थले आफ्नो लामो कपाल काट्यो, राजकुमारका पोशाक उतार्यो, आफ्नो तरवारलाइ कन्थकको पिठ्यूँमा झुण्डाई दियो ताकि उसले त्यो दरवारमा फिर्ता लैजान सकोस्। 

उ सङ्ग ती जान सक्दैनथे, उ संसारले भोगिरहेको गम्भीर पीडाबाट मुक्तिको बाटोमा हिँड्न लागेको छ। तत्कालै चित्रकारले एक घण्टाको अन्तरालमा सिद्धार्थको असीम पीडा भोग्यो, उसले युवा वयको त्यो सुन्दर संसार त्याग्यो।

अर्को बिहान उसले सदा झै घरको सरसफाइको आवाज सुनिरहेको छ। उ पनि उठ्यो, सक्दो गरिवीको पोशाक पहिरियो अनि सौभाग्यको छेउमा बसेर त्यही बुद्धचित्रको सामुन्ने प्राथना गर्यो। उ अर्को कोठामा गयो उसलाइ त्यो हंसराजको वोट र भङ्गेराहरुको चिरविर पनि फिक्का लाग्यो। उसले फेरि आफूलाई सिद्धार्थको स्वरूपमा पायो। 

उसले खाली खुट्टा भिक्षाटन गर्दै ज्ञानको खोजीमा हिँडेको पनि चार वर्ष भइसकेछ। अन्त्यमा उ एउटा पिपलको रुख मुन्तिर शान्त र स्थिर भयो। अब उसलाई हरेक भयानक वस्तुहरू सुन्दर देखिन थाले, बिहानी पख उसले बुझ्यो किन मानिसहरू दुःखको सागरमा डुबेका छन् र कसरी त्यो दुःखबाट मुक्त हुन सकिन्छ। यही ज्ञानसँगै उ त प्रबुद्ध भयो , बुद्ध भयो। 

चित्रकारलाइ अनन्त शान्तिको महसुस भइरहेको छ, उसले जता हेर्छ उतै प्रेम र करुणा निरन्तर बगिरहेछ बालुवाको सानो कण देखि विशाल पाहाड। उसले आफ्नो पत्नी र छोरोप्रती जस्तो महसुस गर्थ्यो हरेक चिज प्रति उसको स्थिति त्यस्तै छ चाहे त्यो रूख या हरिण जस्तै जीवित होस् या पत्थर,समुन्द्रको छाल जस्तै निर्जिवन जो एकदिन मनुष्य बन्नेछन् अनि मानिसको जस्तै दुःख सुख महसुस गर्नेछन्। 

जब ती महिला र बिरालो सौभाग्य खाना लिएर आए, उसलाई लाग्यो उसका पहिलो शिष्यहरु आए अनि उसले उनीहरुलाई जीवनको तत्वबोधको बारेमा शिक्षा दियो।

उसले शिक्षासँगै आफ्नो उमेर बढ्दै गइरहेको महसुस गरिरहेछ। जव उ असी वर्षको भयो उसलाइ लाग्यो अब मृत्यु निकट छ। उसले देख्यो की आकाश निलो र स्वच्छ थियो, सम्पूर्ण शिष्यहरु, सबै देवताहरू, सबै जनावरहरू उसको त्यो अन्तिम यात्रामा सहभागी थिए। तर आश्चर्य! त्यहाँ बिरालो थिएन। चित्रकारले बुद्धको सबै अन्तिम यात्राका चित्रहरू सम्झियो तर बिरालो सबै चित्रमा अनुपस्थित थियो। 

"बिरालोले बुद्धको अन्तिम यात्रामा सहभागी भएको थिएन" चित्रकारले सम्झियो, "अर्थात् सौभाग्यले पनि! त्यसैले बिरालोको लागि स्वर्गको ढोका सधैँको लागि बन्द भयो।" त्यो सानु बिरालो सौभाग्यको लागि उसलाई दुःख लाग्यो तर फेरि उसले बुद्धको त्यो ज्ञानमा डुबायो। 

एउटा गरिब दुःखी चित्रकारले जो मर्न चाहन्थ्यो, बुद्धको जीवनको सबै पाटाहरू तीन दिनको समयमै बाँच्यो। अब उसले बुद्धलाई साँच्चिकै बुझेको छ, अब उसले बनाउने बुद्धको चित्र सानोमा धेरै कोमल तरिकाले हुर्काएको सबैले आज्ञा पालन गरेको (जुन उसले पहिलो दिनमा जानेको थियो) झल्किन्छ अनि दुःख महसुस र सन्यासको यात्रा (जुन दोस्रो दिन उसले भोगेको थियो) र अन्त्यमा अनन्त अखण्ड शान्ति प्राप्त गरेर सबैलाई प्रदान गरेको ( जुन उसले तेस्रो दिन भोगेको थियो) प्रतिबिम्बित हुनु पर्छ। 

त्यसैले बुद्ध कस्तो देखिनु पर्छ त्यो बुझ्न चित्रकार सुत्यो चौबीस घण्टा सुत्यो जस्तो उसको मृत्यु भएको छ। यस्तो सुत्यो की महिलाले उसले श्वास फेरेको छ कि छैन भनेर छामिन्, बिरालो पनि आफ्ना सेता पञ्जाहरुको टुप्पोहरुले टेकेर हिड्यो। चौबीस घण्टाको सुताई पछि चित्रकार उठ्यो, हतार हतार ब्रस, मसी, मूलको ताजा पानी र ठूलो रेशमी कपडा मगायो र उसले महात्मा बुद्ध एउटा शैय्यामा सुतिरहेका जसको मुहारमा अनन्त शान्ति छल्किरहेको छ, रेशमको त्यो कपडामा चित्र कोर्यो। 

चित्रकारले जे जे देख्यो, जे जे भोग्यो, जे जे महसुस गर्यो सबै दृश्यहरु जुन बुद्धको जीवनकाल थियो त्यो उसले तीन दिनमा बाँच्यो अनि उसके तीन घण्टा भन्दा पनि कम समयमा त्यो रेशमको कपडामा कोरिसक्यो। ती महिला अनि त्यो सानो बिरालोले सो दृश्य आदर र श्रद्धाका साथ हेरिरहे। 

महिलाको तेस्रो गीत गुञ्जियो

हे कुचो! तिमी शान्त भइदेऊ, त्यो माकुरो जस्तै
हे केटली! तिमी बिस्तारै उम्लिदेउ, मेरो बुढीको कुरो सुन
हे चरी! चिरविर गर न सुस्तरी, हावा बिस्तारै वह, ती सडकका हल्ला
पवित्र विचार छन् ती मष्तिस्कमा, स्वर्गीय आकाङ्क्षाहरु 
जव म ती फलहरू उमाल्छु उसको लागि, चुप लागिदेउ हे ज्वालाहरु।

अर्को दिन उसले पृथ्वीका, आकाशका देवताहरू, शिष्यहरु जो बुद्धलाई अन्तिम विदाई गर्न आएका थिए, उनीहरूको चित्र बनायो। कहिले त्यो गाह्रो हुन्थ्यो कहिले सहज हुन्थ्यो। कहिलेकाहीँ चित्र देखेर सन्तुष्ट हुन्थ्यो भने कुनै देखेर दिक्क मान्थ्यो। उ दुब्लाएर नै सकिन्थ्यो होला यदी ती बुढी महिलाले सुप र म: म:ले उसलाई हेरचाह नगरेकी हुन्थिन् भने। 

सौभाग्य पनि मख्ख छ रमाउँदै हिँडिरहेको छ। आजकाल उसको लागि घरमा टन्न खाना छ। उसको रौँ रेशम जस्तै झल्किएको छ। उसका साना साना जुङ्गाहरु झिलमिलाईरहेछन्। जतिबेला ती महिला यता उता फर्किन्छिन्, सौभाग्य तुरुन्त चित्रकार, उसको रहस्यमयी चित्र, ब्रसहरु हेर्न आइहाल्थ्यो। 

"यसले मलाई चिन्तित बनाइरहेको छ।" ती महिलाले भनिन् जव उनले बिरालोलाई बिसौँ पटक चित्रकारको बाहुलाबाट तानेर ल्याइन्। 
"यो बिरालो जस्तो फिटिक्कै छैन। यसले ब्रसहरू सङ्ग खेल्न चाहँदैन। तर पनि म बुझ्छु यसले तपाईंको चित्र बिगार्यो भने त त्यसको सबै दोष त मेरै हुन्छ किनकि यसलाई त्यो बाँसको टोकरीमा बोकेर ल्याउने त मै थिए" उनले थपिन्। 

चित्रकारले टाउको हल्लायो। एउटा नयाँ विचार उसको मस्तिष्कमा उत्पन्न भयो अनि उसले सानो स्वरमा भन्यो, "सौभाग्यले कुनै नोक्सानी पुर्याउँदैन।" उसले सबै थोक बिर्सेर फेरि चित्र बनाउन तिर नै व्यस्त भयो
महिलाले अधीर भएर भनिन्, "त्यस्तै होस्" अनि सौभाग्यलाइ बोकेर त्यहाँ बाट हिँडिन्। बिरालो पनि मखमली गलबन्दी जस्तै उनको घाँटीमा टाँसियो। उ खास बिरालो जस्तो देखिन्थ्यो। 

करिब आधा घण्टा पश्चात बिरालो फेरि भान्साबाट उम्कियो। उ सरासर चित्रकारको ठीक पछाडि छायाँमा गएर उभियो, चित्रकार गहन चिन्तनमा डुबेको थियो। चित्रकारले चित्रमा मान्छे र देवताहरूको चित्र कोरिसकेको थियो। अब उ त्यहाँ जनावरको चित्र कोर्न बाँकी थियो जो बुद्धलाई अन्तिम विदाई दिन आएका थिए। 

उ सोचिरहेको थियो कुन चाहिँ जनावर पहिला आउनु पर्छ होला, शायद त्यो ठूलो सेतो हात्ती हो कि? किनकि सबै भन्दा ठूलो र बुद्धको प्रतीक पनि त्यही हो। शायद घोडा पो हो कि जसले दरवारमा उसको सेवा गरेको थियो। सिंह हो की, कहिलेकाहीँ सिद्धार्थको राजवंशलाई सिंह नै त हो। चित्रकारले सोच्यो बुद्धले दयालु जीवहरुलाई मन पराउँथे। उसले एउटा कथा सम्झियो।  

एकदिन बुद्ध रुखमुनि छहारीमा गहन चिन्तनमा डुबेका थिए। समय बित्दै थियो, केही घण्टा पछि रुखको छहारी बस्तारै सर्दै गयो अनि सूर्यको प्रचण्ड गर्मी उनको खाली टाउकोमा आगो जस्तै बर्षियो। बुद्ध अर्कै धुनमा थिए, उनले त्यसमा ध्यान दिएनन्। एउटा शंखेकिरोले त्यो देखिरहेको थियो अनि बुद्धलाई दुःख हुन्छ भनेर त्यो बेचैन भयो। उ चिसो ठाउँबाट घस्रदै निस्कियो अनि भिजेको मुकुट तयार गरेर बुद्धको शिर ढाकिदियो, सूर्य नडुबेसम्म उसका किरणहरू नसेलाएसम्म त्यही कुरिरह्यो। चित्रकारले सोच्यो, "शंखेकिरा पहिलो जनावर हो जसले बुद्धको लागि बलिदान दिएको थियो त्यसैले यसैलाई पहिला देखाउनु उपयुक्त हुनुपर्छ।"

शङ्खेकिराको बारेमा सोचिसके पछि उसले यसको चाल, शङ्ख, पहेँलो भिजेको पातजस्तो शरीरको बारेमा सोच्यो अनि ब्रसलाई मसी र पानीमा चोव्यो अनि शङ्खेकिराको चित्र बनायो। 

सौभाग्य चित्रकारको छायाँबाट बिस्तारै निस्कियो अनि उसका जुङ्गाहरु बिस्तारै चले, उसले बिस्तारै आफ्नो पञ्जा उठायो अनि शङ्खेकिराको चित्रमा थपथपाउँला झै गर्यो र चित्रकार तिर हेर्यो। "म त मात्र खेलिरहेछु है" शायद भन्दो हो, "तर यो त सङ्खेकिरो है, सङ्खेकिरो जस्तै"

चित्रकार गुन्द्रीमा बस्यो अनि हात्तीको बारेमा सोच्न थाल्यो। उसको त्यो ठूलो आकार अनि ज्ञानको बारेमा सोच्यो। उसले कहिले पनि हात्तिलाइ देखेको थिएन, तर उसले एक चिनियाँ चित्रकारले बनाएको चित्रमा भने देखेको थियो। उसले ठूलो सेतो शानदार शरीरमा साना आँखा, गुलावी धर्का सहितको लामो कान सम्झियो। उसले सोच्यो यो त भयानक जीव बुद्धको राज्यमा त शाही प्रतीक पो हो त। बुद्धकी आमाले पनि त बुद्ध जन्मिनु पूर्व सपनामा हात्ती नै देखेकी थिइन्। 

त्यसपछि उसले अचम्मको कुरो सोच्न थाल्यो। बुद्ध सिद्धार्थको रुपमा पृथ्वीमा आउनु भन्दा पहिले विभिन्न स्वरूपमा आएर दया करुणाको शिक्षा दिन्थे भनेर उनका अनुशरण गर्नेहरूले विश्वास गर्छन्। चित्रकारले बुद्ध हात्तीको स्वरूपमा अवतरित भएको कथा पनि सम्झियो जहाँ उनी एउटा मरुभूमिको अब नदेखिने एक पर्वत शृङ्खलामा बस्थे। त्यहाँ कमलको फूलले झिलमिलाइरहेको एक पानीको पोखरीमा तिर्खा मेटाँउथे जसमा फलहरूले लटरम्म रुखहरूका हाँगा झुकेका हुन्थे। 

तर एक दिन तल मरूभूमिमा मानिसहरूको एउटा समुह देखे। उनीहरू बिस्तारै हिँडिरहेका थिए। कहिले एउटा लड्थ्यो कहिले अर्को, एक अर्कालाई उठाउँदै सहारा दिँदै उनीहरू हिँडिरहेका थिए। उनीहरूका निराश विलाप स्पष्ट सुनिन्थ्यो। त्यो हात्तीको मन दयाले भरियो। उ त्यो जलिरहेको मरूभूमिमा उनीहरुलाई भेट्न ओर्लियो। 

उसले मनुष्यकै बोलीमा उनीहरुलाई सोध्यो। उनीहरूले कुनै राजाले मर्नको लागि मरूभूमिमा लखेटिएका शरणार्थी भएको बताए। धेरैको मृत्यु भै सकेको कुरा उनीहरूले बताए। 

हात्तीले उनीहरुलाई हेर्यो, ती असाध्यै कमजोर थिए। खाना र पानी बिना उनीहरू त्यो मरुभूमि पार गर्न सम्भव थिएन। उसले उनीहरुलाई त्यो तलाउ तिर लैजान त सक्थ्यो तर तिनीहरू साह्रै कमजोर थिए। "साहस राख! यो दिशामा तिमीहरूले त्यो पोखरी फेला पार्न सक्छौ, त्यो भन्दा अलि पर भिरालोमा एउटा मृत हात्तीको शरीर फेला पार्ने छौ। त्यसको मासु तिमीहरूले खानु अनि यो पर्वत पार गर्ने शक्ति तिमीहरूले पाउने छौ।" यति भनेर उ सबैलाई अभिवादन गरेर बिदा भयो। 

उसले आफूलाई त्यो भिर बाट तल मिल्काईदियो जसरी बादलमा चन्द्रमा डुब्दै जान्छ। रुखका आत्माहरुले उसको त्यो बलिदान देखेर उसको शरीरमा आफ्ना फूलहरु वर्षाए। 

चित्रकारले हात्तीको त्यो बुद्धिमत्ता, गौरव र करुणाको बारेमा धेरै बेर सोच्यो। त्यस पछि उसको ब्रस फेरि मसी र त्यही निर्मल पानीमा चोबलियो अनि उसले हात्तीको चित्र बनायो। 

हात्तीको चित्र सम्पन्न हुनासाथ सौभाग्य चित्रकारको छायाँबाट फुत्त निस्कियो र आफ्ना बाटुला आँखाले त्यो चित्र हेर्न थाल्यो। अनि उसले चित्रकारलाइ हेर्यो। "यो कुन जनावर होला है" शायद उसले यही भनेको होला, "तर पक्का पनि यसले मेरो जुङ्गा देखि पुच्छरसम्म झन्कार भरिदिएको छ।"

चित्रकार फेरि गुन्द्रीमा बस्यो र सोच्यो। यो पटक उसले घोडाहरूको बारेमा सोचिरहेको छ। हुन त उसले कहिले पनि घोडाको सवारी गरेको थिएन। उसले घोडाहरू देख्दा उनीहरूको भलाद्मी शैली, चम्किला आँखा र सुन्दर घाँटीको सधैँ प्रसंशक रह्यो। घोडा चाहे युद्धको मैदानमा होस् या कतै आफ्नो पुच्छर झण्डा जस्तै फर्फराउने गर्छ। 

उसले सिद्धार्थको आफ्नै घोडा कन्ठक जो हिउँ जस्तै सेतो जसको काँधमा बहुमूल्य गहना सहितको काठी कसिएको हुन्थ्यो। उसले सोच्यो त्यो घोडा कति शान्त र उग्र दुवै थियो होला जसले सिद्धार्थलाइ अरु राजकुमारहरुको अगाडि विजयी बनायो। उसले कल्पना गर्यो कण्ठक बिना सिद्धार्थ कसरी दरवार फर्कियो होला, शिर झुकाएर, दुःखी आवाजमा सिद्धार्थको लुगाहरू चिजबिजहरु बोकेर। 

चित्रकारले बुद्धको आत्मा एक घोडाको स्वरूपमा अवतरित हुँदाको अर्को कथा पनि सम्झियो। बनारसका राजाको प्रिय त्यो युद्धको घोडा सानो तर उग्र थियो। सात राजाहरू राज्य आक्रमणको लागि आए अनि शहर बाहिर सैन्य शिविर खडा गरेर बसे। प्रमुख लडाकुलाई त्यो घोडा दिइयो र त्यो शिविरमा अचानक हमला गरेर एक एक गरेर छ वटा राजाहरू पक्राउ परे। छैटौँ राजालाई पक्राउ गर्ने क्रममा घोडा गम्भीर घाइते भयो। त्यो देखेर लडाकुले अर्को घोडा मगायो। 

घोडाले भन्यो, "यसो नगर्नुस् नत्र पहिलाको मेहनत सबै बेकार हुन्छ। अर्को घोडाले त्यो सातौं राजाको शिविरलाई अचम्भित पार्न सक्दैन। त्यसैले मलाई नै यो जिम्वेवारी दिनुहोस मैले जे शुरू गरेको छु त्यो मैले नै अन्त्य गर्छु।" घायल र धेरै रगत बगेर कमजोर भए पनि सो घोडाले बाजको जसरी सैन्य शिविरमा आक्रमण गर्यो। सातौँ राजा पनि पक्राउ पर्यो। बनारसका ती राजा प्रफुल्ल भएर दरवारको मूल ढोकामा स्वागतको लागि आए। 

"महान राजा" घोडाले भन्यो, "यी बन्दीहरुलाई क्षमा दिनुहोस।" जब उसको युद्ध कवच निकालियो उसको मृत्यु भइसकेको थियो। 
चित्रकारले उसको साहस र सज्जनपनालाई मनमा राख्दै ब्रस मसीमा चोप्यो, अनि घोडाको चित्र त्यहाँ बनायो। घोडाको चित्र बनाई सक्नासाथ बिरालो सौभाग्य चित्रकारको छायाँबाट बाहिर निस्कियो। उसले चित्रकारलाइ बडो श्रद्धाका साथ हेर्यो। "यदि जुनकिरीले यो घोडामा आफ्नो प्रकाश पर्यो भने त्यो यही टाँसिन्छ, त्यसले आफ्नो टाउको यही ठोक्छ" सौभाग्यले यसै भन्यो की। 

ती बुढी महिलाले चौथो गीत गाइन् 

हाम्रो मालिक बस्छन्
अखण्ड सोचिरहेछन्
उनको हेराइ अब दुर्लभ छ
चिया पिउँदा पनि
उनलाई अब ध्यान छैन 
कसैको न मेरो न बिरालोको
उनी डुबेका छन् एक अनन्त
आनन्दको सागर, ज्ञानको 
उनका हातले जे गर्छन्
ती महान छन्, म अनि
मैले बनाएको खाना पनि
सहृदयताले त्यो सफलताको 
सहयोगी बनेको छ कि 
त्यसमै छ मेरो पनि सफलता 

अर्को दिन चित्रकारले आफूलाई कोठामा एक्लै बन्द गर्यो। अहिले पनि उसले त्यो सुन्दर हंसराजको झाडीतिर हेरेको छैन। त्यही गुन्द्रीमा बसेर उसले निर्णय गर्यो की त्यो सेतो घोडाको माथि सेता हाँसहरु उडिरहनु पर्छ। उसले ती हाँसहरुको सुन्दरता र ती पखेटाहरुको उडान कसरी उनीहरूले राजालाई धेरै लामा उडानहरुमा अनुशरण गर्छन्। उनीहरू पानीमा सेता कमलका फूलहरु जस्तै हलुकासँग तैरिन्छन्। 

उसले सिद्धार्थको किशोरवयको अर्को कथा सम्झियो। राजकुमार सिद्धार्थ एक दिन आफ्नै बगैँचामा हाँसहरुको हिमालय तर्फको उडान हेर्दै विचरण गरिरहेका थिए। अचानक उनले एउटा तिर छोडिएको आवाज सुने। त्यो निर्दयी तीरले त्यो चरालाई छेडेर गयो। तत्कालै एउटा घाइते हाँस उनको खुट्टा नजिकै झर्यो। किशोर सिद्धार्थ तुरुन्त चरालाई हातमा उठाए उसको शरीरमा गडेको तीर झिकिदिए। त्यो तीर आफ्नो पाखुरीमा गाडे ताकि चराले झेलिरहेको त्यो पीडा महसुस गर्न सकियोस्। उनले त्यो चराको घाउलाई उपचार गरे। 

सहयोगीले भने अनुसार चराको त्यो हालत जिम्बेवार काकाको छोरा भएको पत्तो लाग्यो। सिद्धार्थले जवाफ दिए, "उसले हाँसलाई मार्ने प्रयास गर्यो, मैले बचाउने प्रयास गरेँ। अब महाराजको सल्लाहकारले यसको निर्णय गर्नेछन्।" विवाद आखिर राजपरिषद् मै पुग्यो। आखिर हाँस त्यही केटालाई दिइयो जो पछि बुद्ध भयो। 

चित्रकारले सपना जस्तै सुन्दर हाँसको झल्कोमा ब्रसलाई रङ्गमा चोप्यो अनि हाँसको चित्र कोर्यो। 

सदा झै चित्र कोरि सक्नासाथ सौभाग्य चित्रकारको छायाँ बाट बाहिर निस्कियो अनि गहिरिएर हेर्यो। नम्र भएर चित्रकार तर्फ फर्कियो, "ती उडानहरुको तल बतास छ नी है" सायद सौभाग्य यही भन्दै छ कि त्यो चरा कोर्नु भन्दा उसको समयको व्यस्ततालाई पनि विचार गरेको भए हुन्थ्यो होला।
 
चित्रकारले खाना खायो अनि सूर्यका किरण र स्वच्छ हावामा तरोताजा हुनको लागि उ आफ्नो सानो बगैँचामा टहलियो। उ आफ्नै काममा फेरि फर्किदै थियो, ढोकामा ती महिला भेटिइन् अनि झुकेर अभिवादन गरिन्, "हजुरले आफूलाई यसरी ज्वरोमा डुबाउनु भयो" उनले बिस्तारै नम्र भएर भनिन्, " हजुर बुद्ध हुनुभयो, देवताहरू हुनुभयो, त्यो घोडा, हात्ती अनि शङ्खेकिरा र हाँस समेत हुनुभयो। यो सबै केही दिनमा, यसरी त यो हजुरको शरीरले झेल्न सक्छ र यति गहन? हजुरको निधार खुजमुजिएको छ, आँखा मैनबत्तीको ज्वाला जस्ता भएका छन्। छिमेकीले हजुरलाइ आफ्नो घरमा चियापानको लागि निम्तो पठाएका छन्। मैले वहाँ सिधै आउनुहुन्छ भनेकी छु" ती बुढी महिलाको स्वरमा दृढता थियो चाहे त्यो नम्र नै किन नहोस्। 

"ढुङ्गा सङ्ग विवाद गर्न सकिएला तर महिलासँग विवाद गर्नु मात्र शक्तिको बर्बादी मात्र हो" चित्रकार करायो। उसले चाँदीको टुक्रा निकाल्यो र महिलालाई दिँदै भन्यो, "जाऊ बजार गएर आफ्नो लागि राम्रो लुगा किनेर ल्याऊ, तिमीले धेरै भयो राम्रो लुगा पनि लगाउन पाएकी छैनौं।" 
 "धेरै धेरै धन्यवाद छ हजुरलाई" ती महिलाले रुँदै भनिन्, "म बिरालोलाई त्यही टोकरीमा थुनेर जान्छु, हामी बाहिर गएको बेला त्यसले चित्रलाई गुलियो क्रिम भन्ने ठानेर विगरिदिन सक्छ।"

चित्रकार अर्को बिहान शान्तिसँग ध्यानस्त भएर भैँसीको बारेमा सोचिरहेको थियो। ओहो! तिनीहरू त कति कुरुप हुन्छन् है, तिनीहरूको टाउकोमा रहेको त्यो बाङ्गो सिङ्ग पनि त्यस्तै हुन्छ। तर तिनीहरू निकै बलिया हुन्छन्। दिनभरि आफ्नो मालिकको लागि खटिन्छन्। ओहो जङ्गलको राजा बाघले आक्रमण गर्दा पनि ती कति आक्रामक हुन्छन् तर पनि गाउँका बच्चाहरु तिनीहरूको पिठ्युमा चढेर चराजस्तै हिँड्छन्। 
बुद्धको आत्मा पनि भैँसीको शरीरमा जन्मिदा त गौरव गर्दैन होला। 

यस समन्धि धेरै कथा मध्ये चित्रकारले एउटा कथा सम्झिरहेछ जसमा एउटा पवित्र भैँसी जुन एक गरीब किसानको घरमा थियो। एकदिन उसले मान्छेको बोलीमा त्यो किसानलाई भन्यो, "तिमी धेरै गरीब छौ, म तिमीलाई केही सहयोग गर्न चाहन्छु। गाउँलेहरुलाई गएर भन की मसँग एउटा जनावर छ जसले सय गाडा ढुङ्गाहरू एकै पटक तान्न सक्छ। उनीहरूले पत्याउने छैनन् अनि तिमी बाजी राख्नु, अनि तिमीले राम्रै धन जित्ने छौ।" 

जब सय गाडा ढुङ्गा त्यो सङ्ग बाँधियो, तब किसानले साधारण चालकले जनावरलाई गर्ने जस्तै व्यवहार देखायो। भैँसीले त्यो तौल तान्न सकेन उसले बाजी हार्यो अनि झनै गरीब भयो। 

एक साँझ भैँसीले फेरि भन्यो, "तिमीले मलाई किन धम्क्याएको, एकपल्ट फेरि बाजी राख पहिलेको भन्दा दुई गुणा तर यसपटक म सङ्ग राम्रो व्यवहार गर्नु।" फेरि त्यही गरुङ्ग ढुङ्गाहरूले गाडा भरिए, फेरि गाउँलेहरू जम्मा भए। यो बेला भए किसानले आफ्नो भैंसीलाई नुहाएको थियो, फूलको माला लगाइदिएको थियो। जब गाडामा उसलाइ बाँधियो, उसले भैंसीलाई थपथापाउँदै भन्यो, "हे बलशाली! आऊ आफ्नो शक्ति देखाऊ" भैँसीले आफ्नो सम्पूर्ण तागत लगायो, उसका मांसपेशीहरू चर्मराए। बिस्तारै ती सय गाडाहरु बिस्तारै तानियो। 


अब चित्रकारले भैँसीको इमान्दारिता र आत्मसम्मानलाई महसुस गर्यो, उसले ब्रशलाई पानीमा चोबल्यो, मसीमा छुवायो अनि भैँसीको चित्र कोर्यो। त्यो सकिनासाथ सौभाग्य उसको छायाँबाट बाहिर आयो। उसको चलढालले उ कहीँ न कहीँ असन्तुष्ट छ की जस्तो देखिन्थ्यो। उसले पुलुक्क चित्रकारलाइ हेर्यो, "भैँसी नै पो?" उसले आफ्नो जुङ्गा हल्का हल्लायो जस्तो उसलाई हल्का खिसी गरिरहेको छ। उसले आफ्नो सेता पञ्जा उठायो अनि हल्का संग छिउँ छिउँ गर्यो। 

यस्तो व्यवहारले चित्रकारलाइ सौभाग्य सङ्ग थोरै दिक्क लाग्यो, सोच्यो अर्को पटक सौभाग्यले आफ्नो प्रशंसाको हिसाब गर्नु पर्ने हुनसक्छ किनकी चित्रकारले अब कुकुरको बारेमा सोच्ने प्रवल सम्भावना थियो। 
उसले तिनीहरूलाई साना साना छाउराहरुको रुपमा सोच्यो जस्तो की काला आँखा सहितका हिउँका डल्लाहरू ओरालोमा पल्टिए जस्तै छन्। उनीहरू हुर्कदै जान्छन् उनीहरू आफ्नो मालिकको वफादार हुँदै जान्छन्। उनीहरू घर, निर्जन खेतहरुमा पहरा दिन्छन्, हात चाट्दै अगाडि गुटुमुटु भएर पल्टिन्छन्। 

"आहा! कति वफादार हुन्छन्" उसले सोच्यो अनि बुद्धको कुकुरको स्वरूपको कुनै कथा छ कि भनेर सम्झन खोज्यो तर सकेन। या त उसले बिर्सिसक्यो या कुनै त्यस्तो कथा नै छैन। त्यसले ती घरमा काम गर्ने ती बुढी महिलालाई बोलायो। उनी भित्र आइन् सम्मान पुर्वक झुकिन। "बस!" उसले भन्यो, " तिम्रो मनमा आएको कुकुरको कुनै कथा भन न!" उनले रुमालले आफ्नो निधार पोछिन् अनि बसिन्। 

"मेरो गाउँमा" उनले शुरू गरिन्, "त्यहाँ एउटा मन्दिरको भग्नावशेष थियो। त्यहाँका पुजारी भिक्षुहरूले छोडे पछि त्यहाँ राक्षस र पिशाचहरुको बास थियो। प्रत्येक वर्ष उनीहरूले एक कुमारी केटीको बलिदान माग्दथे नत्र त्यो ठाउँ नष्ट गर्ने धम्की दिन्थे। त्यसैले प्रत्येक वर्ष एउटा कुमारी केटी टोकरीमा हालेर मन्दिरको छेउमा राखिन्थ्यो र ती फेरि कहिले भेटिदैन थिइन्। 

एकपल्ट एउटी सानी केटीको पालो आयो र उनीसँग शिप्पैतारो नाम गरेको कुकुर थियो। सारा गाउँमा शोकको सेतो रङ्ग छाएको थियो। दिनै भरी सडकसम्म उनी रोएको आवाज सुनिन्थ्यो। तर साँझ पर्नु अघि एउटा अपरिचित शहरमा आयो। उ बाटो भुलेको एक सैनिक थियो। अघिल्लो राति उ त्यही भग्न मन्दिरमा सुतेको थियो। "त्यही पिशाच भएको मन्दिरमा?" चित्रकारले सोध्यो। "हो त्यही मन्दिरमा" उनले जवाफ दिईन, " राती उ ठूलो हल्लाले विउँझियो उसको कानमा एउटा आवाज पर्यो जसमा कसैले 'यो कुरा त्यो शिप्पैतारोलाइ थाहा हुनु हुँदैन है, यदि त्यसले थाहा पायो भने सबैकुरा नष्ट हुन्छ' भनेको सुन्यो। जब त्यो सैनिकले त्यो कुरा त्यहाँ बतायो, शिप्पैतारो एकदम उत्साहित भयो, पुच्छर हल्लाउँदै भुई खोस्रीयो। अनि शिप्पैतारो त्यही टोकरी भित्र पस्यो। साँझ परेपछि उसलाई त्यही मन्दिरको नजिक छोडिदिए। अरु सबै डराएर फर्किए तर सैनिक त्यही लुकेर हेरिरह्यो। 

मध्यरातमा उसले एकदमै डरलाग्दो चिच्याहट सुन्यो। ती आवाज रगत जमाउन प्रसस्त थियो। उसले चिहाएर हेर्यो, उसले देख्यो की पिशाचहरुको टोलीले टोकरीको ढक्कन खोल्दै रहेछन्। उनीहरूले त्यहाँ डराएकी सानी केटीको ठाउँमा एक आक्रामक कुकुर शिप्पैतारो फेला पारे जसले उफ्रिएर पिशाचको राजाको घोक्रो फुटाइदियो। त्यो देखेर पिशाचको पुरै टोली भागे र त्यहाँ कहिले फर्केर आएनन्। यसरी शीप्पैतारो ले उसको सानी नानी मात्र होइन पुरै गाउँ नै बचायो।" 

यो कथाको लागि चित्रकारले महिलालाई धन्यवाद दियो। सौभाग्य पनि त्यही बसेर कथा सुनिरहेको थियो। "ती पिशाचहरुले कुन रूप लिए होलान्?" चित्रकारले सोध्यो। "बिरालोहरुको" महिलाले बिस्तारै भनिन् ता कि सौभाग्यले नसुनोस्। तर सौभाग्यले सुनिहाल्यो, अनि दुःखी भएर महिला तिर हेर्यो अनि बिस्तारै उठेर कोठा बाहिर गयो। 

चित्रकारले कुकुरको त्यो निष्ठता प्रति नतमस्तक हुँदै ब्रस मसिमा चोप्यो अनि कुकुरको चित्र बनायो। सौभाग्य यस पटक दिन भरिनै त्यहाँ फर्किएर आएन। 

ती महिलाले पाँचौं गीत गाउँछिन्।

मेरी प्यारी सानी बिरालु, दुधजस्तै सेती
वसन्तको फूलवारी छ तिम्रो मुहारमा
रेशमी जस्तै नरम तिम्रो शरीर
तिमी अद्वितीय छौ तिम्रो परिवारकी 
मेरी प्यारी! तिमी कोमल छौ
कति मिठास छ तिमीमा
तिमी पवित्र छौ, अद्वितीय 
तिमी, तिम्रो परिवारकी
मेरी प्यारी ! नसोच तिमीले आफूलाई 
त्यो पिशाचको परिवारकी 
त्यस्तो परिवारमा तिमी जस्तो
सुन्दर, सुवसिली र अद्वितीय 
असम्भव छ जन्मिन पनि।

अर्को दिन जब चित्रकार गुन्द्रीमा बस्यो, त्याहाँ सौभाग्य थिएन। केही समय त उसले त्यो तिनरङ्गे बिरालोको बारेमा केही सोच्नै सकेन। उसले आफ्नो मस्तिष्कलाई मृग तिर मोड्न भने सफल भयो। उसले चित्रमा ती जनावरहरुलाई चित्रित गर्नु थियो जो बुद्धको अन्तिम बिदाइमा सहभागी भएका थिए तर बिरालो उनीहरूमध्येमा पर्दैनथ्यो। 

शुरुवातमा उ उदासीमा डुब्यो। बिस्तारै बिस्तारै उसले एक घना सुन्दर जङ्गल कतै उज्यालो कतै अँध्यारो जङ्गलमा आफूलाई मृगको रुपमा घाँसको झाडी नजिकै पायो। मृग एकदम सावधान, पर परको आवाज सुन्नको लागि अति होसियार कुनै आवाज बिना शान्त उभिरहेको थियो। उसले मृगहरुको ठूलो समुहलाई नेतृत्व गर्दै कहिले गोप्य घाँसे मैदानमा पुर्याउँथ्यो। पानीका स्रोतहरु आफ्नो सुँघ्ने सामर्थ्यबाट प्रतिस्पर्धी समुहले र शिकारीहरुले भन्दा पहिले पत्ता लगाउँथ्यो। कुनै खतरा आइपरे समुहलाई सुरक्षित स्थानमा पुर्याउने जिम्मा पनि उसैको थियो। उसको शरीरका थोप्लाहरु कुनै गहना भन्दा कम थिएनन्। उ मन्दिरमा रहेको सुन्दर पानस भन्दा सुन्दर थियो। उसका आँखाहरूमा लाजालुपन र जंगलिपनको गजबको संयोजन थियो। 

बिस्तारै, जब चित्रकार मृग आफ्नो काल्पनिक जङ्गलमा घुमिरहेको थियो बिस्तारै आफूमा बुद्धको आत्मालाई महसुस गर्न थाल्यो। उसलाई थाहा थियो कि उ चित्तल हरिण थियो। उसको समुह र अर्को समुह सँगको भेट शिकारीहरु सङ्ग भयो। त्यो समुहको नेता उ जस्तै सुन्दर थियो। उसको मुटु चट्याङ्ग जस्तै धड्किन थाल्यो, आँखा अगाडि अँध्यारो छायो। उसलाई आफ्नो भन्दा पनि आफ्नो समुहको चिन्ता थियो। त्यहाँ शिकारीको नेतृत्व एउटा राजाले गरेको थियो।

राजाले दुवै हरिणका नेताहरुलाई हेर्यो अनि भन्यो, "दुवै अति सुन्दर छन् यिनिहरुलाई नमार्नु तर तिनीहरूले पाएको जीवनदानको बदलामा अरूलाई हाम्रो भोजमा ल्याउनु पर्छ।" तव त्यो हरिण जसमा बुद्धको आत्मा बसेको थियो भन्यो, " यदि हामीहरू शिकार भयौँ भने प्रत्येक दिन धेरै हरिणहरु मारिनु पर्छ। त्यसैले हामी चिठ्ठा जस्तो तानौ जसको भाग्यमा मर्ने आउँछ त्यो स्वेच्छाले मृत्यु स्वीकार गरौँ ताकि झुण्ड सुरक्षित रहोस्।" एकदिन गर्भिणी मृगिणीको भागमा त्यो दुर्भाग्य पर्यो जो अर्को समुहको सदस्य थिई। उ आफ्नो नेताको समक्ष गई अनि आफ्नो बच्चा जन्मिने समय सम्म बाँच्न दिनुहोस् त्यसपछि स्वेच्छाले जान्छु भनेर अनुरोध गरी। त्यो कुरा उसको नेताले अस्वीकार गर्यो। तव उ यताको नेता समक्ष पनि त्यही अनुरोध लिएर आई। उसले त्यो मृगिणीलाइ सान्त्वना दिँदै भन्यो, "तिमी आफ्नो समुहमा जाउ, म तिम्रो स्थानमा जान्छु" 

चित्रकार जो मृगको स्वरूपमा आफूलाई स्थापित गरेको थियो, उसले जुन कोमलता र करुणा त्यो गर्भको बच्चामा देखायो त्यसले सो मृगको मनमा रहेको सबै आतंक र डरलाई शान्तिमा बदलिदियो। जब मृग राजदरवारमा पुग्यो भान्से आश्चर्यचकित भयो अनि उसलाई राजा भएको ठाउँमा लाग्यो। राजाले पनि आश्चर्य हुँदै सोध्यो, "मैले त तिमीलाई जीवनदान दिएको होइन र? तिमी किन आएको?" 

मृगले जवाफ दियो," हे राजा! चिठ्ठा त एउटा गर्भिणी मृगिणी माथि पर्यो। मैले अरुलाई उसको स्थान लिइदेऊ भनेर भन्नु राजाको कर्तव्य होइन, त्यसैले यसको सामना मैले आफैले गर्नु पर्छ।" राजाले त्यो मृगको उदारता देखेर भावुक भयो अनि उ अनि मृगिणी दुवैलाई जीवनदान दियो। 
मृग अझै सन्तुष्ट थिएन, त्यसैले उसले दुबै समूहका मृग अनि जङ्गलमा रहेका अन्य मृगहरूको बारेमा मात्र नभई सबै जनावरहरूको बारेमा पनि सोध्यो। राजाले सबैलाई अभयदान दिए पछि मृगले राजालाई आशीर्वाद दिएर फर्कियो। 

चित्रकारले मृगको त्यो करुणा र सहासलाई महसुस गरिसके पछि तुरुन्तै ब्रस मसी मा चोप्यो अनि मृगको चित्र बनायो। चित्र बनाइसके पछि, अचानक सौभाग्य चित्रकारको छायाँबाट वाहिर फुत्त निस्कियो। अनि चित्रलाई गहिरिएर हेर्यो, अनि सुस्त स्वरमा "म्याउँ" गर्यो शायद भनिरहेको छ, "यहाँ मेरो लागि कुनै ठाउँ छैन?" 

चित्रकारले धेरै जनावरका चित्रहरू बनायो। प्रत्येक जनावरमा कुनै बेला बुद्धको आत्माले बास गरेको थियो या तिनीहरूले बुद्धको सेवा गरेका थिए। तिनीहरू जस्तो काठफोर चरो, त्यो खरायो जो भोको मगन्तेको लागि आफूलाई आगोको भेट चढाउन तत्पर भयो, त्यो सिंह जसले साना बाजहरुलाई बचाएको थियो, त्यो हाँस जसले आफ्ना सुनौला पखेटा त्यो बुढी महिलालाई दिएको थियो, त्यो बुद्धिमान सानु बाख्रा जसले ब्वाँसोहरुलाई बचायो।

उसले एउटा बाँदरको पनि चित्र बनायो जसमा एक पटक बुद्धको आत्माको बास थियो। जङ्गलमा बाटो भुलेको एउटा मान्छे गहिरो खाल्टोमा खस्यो। उसको पीडादायी आवाज त्यो बाँदरले सुन्यो र उसलाई जोगाउन त्यो खाल्टोमा पस्यो। आफ्नो बलको परीक्षण गर्नको लागि आफ्नो कम्मरमा ढुङ्गा बाँधेर उक्लियो। अन्त्यमा त्यस मान्छेलाई उसके बाहिर निकाल्न सफल भयो। उ यस्तो थाकेको थियो कि उ सुत्यो। सुत्नु भन्दा पहिले मानिसलाई उसले एक्छिन आफूलाई कुर्न भनेको थियो। 

त्यो भोको र थकित मान्छेको मनमा पाप पलायो। उसले सोच्यो यो बाँदरलाई मारेर यसको मासु खान पाएँ घर पुग्ने शक्ति पाइन्थ्यो। उसले त्यहाँ भएको ढुङ्गो उठाएर बाँदरको टाउकोमा हान्यो। भोको अनि थकित हातमा त्यति तागत थिएन। बाँदर चोटले बिउँझियो र छक्क पर्यो जुन मान्छेलाई उसले बचाएको थियो त्यही उसलाई मार्न चाहन्थ्यो। बाँदरले त्यो मान्छेलाई जङ्गल कटाएर उसको घरको छेउमा लागेर छोडिदियो चाहे त्यो मान्छे कृतघ्न नै किन नहोस्। उसले त्यहाँ पनि करुणा देखायो। 

चित्रकारले सम्झियो कसरी बाँदरले बुद्धलाई फलफूल ल्याएर दिन्थ्यो जतिवेला उनी जङ्गलमा तपस्यारत हुन्थे। बाँदरको बारेमा सम्झिदै उसके ब्रस मसीमा चोप्यो अनि बाँदरको चित्र बनायो। चित्रकारले जति पनि जनावरको चित्र बनाउँथ्यो त्यति नै सौभाग्य उदास हुँदै जान्थ्यो अनि चित्रकारको मुखमा करुण आँखाहरुले हेर्दै आफ्ना साना पञ्जाहरुले चित्रकारको बाहुला सुम्सुम्याउथ्यो। 

महिलाको छैटौँ गीत

उनी भोकै छिन्, पातली
रुचि छैन खानामा
हाम्री सानी बिराली 
दिनभरि खोज्छु तिमीलाई
रोईरहेछन मेरो आँखाहरू
तिमी कहाँ छौ कहाँ 
फेला पर्दिनौ त आजकाल
तिमी भोकै हिँड्छेउ कहाँ कहाँ
तिमी पातली भइसक्यौ मेरो म्याउँ

एक दिन चित्रकार गुन्द्रीमा बसेर एक मुश्किल समस्याको बारेमा सोचिरहेको थियो जुन पहिले पनि धेरै पटक झेलेको थियो। सङ्खेकिराको भलाद्मीपना, हात्तीको शानदार शक्ति र बुद्धिमत्ता, घोडाको साहस, राजहाँसको अद्वितीय सुन्दरता, भैँसीको धर्यता, कुकुरको स्वामिभक्ती, मृगको उदारता सबैले बुद्धको सेवा गरेका थिए या अझ कसैमा त बुद्धको आत्माको अवतरण पनि भएको थियो। काठफोर चरा, हाँस, सानु बाख्रा, बाँदर सबै अहिंस्रक जनावर नै हुन् अझ हिंस्रक भनेर चिनिएको सिंहले समेत आफ्नो भोक मेटाउन मात्र हिंसा गर्छ, जनवारको हत्यामा गौरव र मनोरञ्जन गर्दैन। 

तर चित्रकारले बाघलाई पनि सम्झियो जो बुद्धको अन्तिम बिदाइमा त्यहाँ उपस्थित थियो। के उसले पनि बुद्धको आशीर्वाद पाएको थियो होला त? यो कसरी हुन्छ होला। बाघ त धेरै हिंस्रक जनावर हो। तिनीहरू जङ्गलको छहारीमा, झाडीमा लुकेर शिकार गर्छन् उनीहरूका आँखा आगो जस्तै बल्छन्। पानी खाने ठाउँमा समेत उनीहरूले घात लगाएर शिकार गर्छन्। गाउँमा पसेर खेतमा काम गरिरहेका मान्छे, घरको आँगनमा खेलिरहेका बच्चाहरु मारेर खाएको पनि सुनिन्छ। त्यस्तो जनावरले कसरी बुद्धको आशीर्वाद पायो होला। त्यस्तो जनावरलाई बुद्धले कसरी आशीर्वाद दिए होलान्, चित्रकारको मनमा यस्तै यस्तै खेलिरह्यो। 

धेरै समयसम्म चित्रकार शान्त भएर बसिराख्यो, अन्त्यमा उसले सम्झियो बाघले आफ्नो साथी, परिवार र सन्तानहरूको लागि गरेको योगदान अनि उनीहरू खतरामा पर्दा गर्ने संघर्ष त अद्वितीय नै हुन्छ। त्यो नै शायद कारण हुनसक्छ बुद्धको आशीर्वाद बाघले प्राप्त गरेको। त्यहाँ निर्दयतामा प्रेम छ, अनि प्रेममा निर्दयता। त्यसैले बाघले चित्रकारको प्रेम प्रतिको धारणामा अर्को आयाम थपिदियो।

चित्रकारले भुलिसकेको अर्को कुरा सम्झियो। जसमा उ राजकुमार सिद्धार्थ हुँदा कसरी यशोधरासङ्ग उसको बिहे भएको थियो भन्ने एक एक घटना थिए। त्यो एक खुल्ला प्रतियोगिता थियो जसमा धेरै ठाउँका युबराजहरु प्रतियोगी थिए। उसले घोडामा बसेर जसरी तीरन्दाजी गर्यो त्यो कसैले गर्न सम्भव नै थिएन। यशोधरा सुनको पल्किमा बसेर पर्दा पछाडिबाट त्यो हेरिरहेकी थिइन्। जव उ विजेताको रुपमा यशोधराको नजिक गएको थियो उसले भनेको थियो, " पूर्वजन्ममा तिमी बघिनी थियौँ, त्यो बेला पनि मैले यस्तै खुल्ला प्रतिस्पर्धामा भिडेर म बाघले तिमीलाई प्राप्त गरेको थिएँ।" बुद्ध यदि बाघ स्वरूपमा थिए र क्रुर जीवनयापन गरेका थिए भने त त्यहाँ कुनै न कुनै महानता पक्कै हुनुपर्छ। बाघको त्यो प्रज्वलित बलिदानले चित्रकारलाइ ब्रस मसीमा चोप्न बाध्य बनायो अनि उसले बाघको चित्र कोर्यो। 

बाघको चित्र सम्पन्न हुनासाथ सौभाग्य चित्रकारको छायाँबाट बाहिर निस्कियो। जव उसले बाघको चित्र देख्यो, उसको सम्पूर्ण शरीर थरर काम्यो अनि चित्रकार तर्फ हेर्यो, " अब बाघ नै बुद्धको अन्तिम बिदाइमा स्थान पाउँछ भने त" उसले सोच्यो होला, "बिरालो त सानो अनि धेरै भलाद्मी हुन्छ हैन त चित्रकार महोदय!"

"पक्का पक्का! अबको चित्र तिम्रै हो बिरालो! त्यो महान पवित्र आत्माले तिमीलाई पनि आशीर्वाद पक्कै दिएको हुनुपर्छ" चित्रकार अब धेरै सङ्कटमा आइसक्यो। "सौभाग्य!" उसले कोमल स्वरमा बिरालोलाई हातमा उठाउँदै भन्यो, "मैले सकेसम्म बिरालोको चित्र बनाउँथे त्यसले मलाई पूर्णता र सन्तुष्टि दिन्थ्यो तर सबैलाई थाहा छ जनावरहरूमा विरालो मात्र त्यो जनावर हो जसले बुद्धको शिक्षालाई अस्वीकार गरेको थियो। त्यसैले उसले आशीर्वाद पाएन अनि त्यही दुःखमा होला शायद बिरालोले पिशाच सङ्ग साथ जोड्यो।" 

सौभाग्यले उसको सानु बाटुलो टाउको चित्रकारको छातीमा राख्यो अनि म्याउँ गर्यो जस्तो कुनै बच्चा अथाह पीडामा रोइरहेको छ। उसले सक्दो उसलाई संयम राख्ने कोसिस गर्यो अनि ती महिलालाई बोलायो। "यसलाई लागि राम्रो माछा किनेर खान देऊ" उसले भन्यो, "यो तस्वीर पूरा भएर नपठाए सम्म यसलाई भित्र आउन नदेऊ, यसले उसको र हाम्रो दुवैको मन भाँचिन्छ।" 

"त्यही त, यसले चित्र विगारिदेला भनेर मलाई पनि साह्रै चिन्ता लाग्थ्यो" उनले भनिन् अनि आफूले बिरालोलाई घरमा ल्याएर ठूलो गल्ती भयो भन्ने महसुस गरिन्। उनीहरूको सारा जीवन त्यही चित्रमा झुन्डिएको थियो।

"त्यसो होइन" चित्रकारले भन्यो, कुराको गम्भीरता ती महिलाले बुझ्न सकेकी थिइनन्। चित्रकार फेरि आफ्नै धुनमा फर्कियो, ओहो! उसको दरिद्रता कस्तो थियो, अहिले उसको अवस्था कस्तो छ। उसको आगाडी करुणावान बुद्धको महानिर्वाणको अद्वितीय चित्र उसको हातबाट बनिरहेको थियो, उसले बुद्धको हरेक पाटो आफैले महसुस गर्यो, उसले चित्रमा मनुष्य, देवता देखि विभिन्न जनावरहरूको चित्रण गरेको थियो। त्यो रेशमको पर्दामा करुणा, प्रेम, त्याग एकसाथ छल्किरहेकाे थियो। 

तर त्यहाँ बाट कोई अहिले पनि अनुपस्थित थियो। भान्साबाट बिरालोको सानो मलिन स्वरको म्याउँ भन्ने आवाज आइरहेको थियो। महिलाले बिरालोलाई खुवाउने प्रयास गरिरहेकी थिइन्। चित्रकारले सोच्यो, "त्यो सानु बिरालोले साँच्चै के सोचेको होला, भलाद्मी छ, नम्र छ, कोमल छ र पनि सधैँको लागि शापित छ। अरु सबै जनावरले बुद्धको आशीर्वाद पाएर स्वर्ग गए तर बिरालोको सामुन्ने नै उसको लागि मुक्तिको मार्ग सदाका लागि बन्द भयो।" 

"ओहो! म त्यस्तो निर्दयी कसरी हुन सक्छु" उ बर्बरायो, "यदि त्यो चित्र गलत भयो भनेर बिहारबाट अस्वीकृत हुन सक्छ।" भैगो! उनीहरूले त्यसो गर्छन् भने गरून्" उसले निश्चय गर्यो "म बरु भोकै मर्छु।" उसले ब्रस उठायो, मूलको स्वच्छ पानीमा चोबाल्यो, मसीमा चाेब्यो अनि जनावरको समुहको अन्त्यमा बिरालो चित्र बनायो। 

उसले ती महिलालाई बोलायो। "सौभाग्यलाइ लिएर आऊ" उसले भन्यो, "मैले उसलाई दिनसक्ने सम्मको खुशी पक्कै दिन्छु।" सौभाग्य ले जसै ढोकाको चेपबाट चित्र देख्यो, उ दौडेर चित्रसामु पुग्यो, धेरै बेरसम्म चित्रलाई हेरिरह्यो। उसले बिस्तारै चित्रकार तर्फ हेर्यो, त्यो उसको हेराइमा अलौकिक र अनन्त शान्ति स्पष्ट महसुस हुन्थ्यो। उसले बडो सम्मानका साथ चित्रकारको सामुन्ने झुक्यो, बिस्तारै शान्त भयो, त्यही उसको मृत्यु भयो। 

महिलाले सातौँ गीत गाईन 

म कसरी विश्वास गरौँ प्रिय 
कसरी रुनु त्यो तिम्रो अनन्त खुशीमा
तिमी मर्यौ भनु की तिमी बाँच्यौ भनु
तिम्रो चिहानको वरिपरि 
फूल फूलेका छन्, आनन्दको 
त्यो आरुका फूलहरूले, सम्मानमा
घण्टी बजाउँछन् तिम्रो मुक्तिको 
त्यो सानो पुरानो घण्टीमा 
बतास पार हुँदा 
बज्दो रैछ 
अनन्त खुशीको स्वर 
हो प्रिय! अनन्त खुशीको 
म भन्न सक्दिन प्रिय! सौभाग्य 
तिमी मर्यौ, तिमी पुनर्जीवित हौ।

अर्को बिहान तस्वीर पूरा भयो भन्ने सुने पछि बिहारको प्रमुख भिक्षु चित्र हेर्नको लागि आए। अभिवादन पश्चात जव भिक्षुले लामो समय चित्रलाई हेरे, अनि बिस्तारै भने, "ओहो! कस्तो अलौकिक चमक!" अनि एकाएक उनको अनुहार कठोर भयो, "यो तिमीले जनावरको लहरको अन्तिममा कसको चित्र कोरेको?" 
"यो बिरालो हो" चित्रकारले भन्यो, उसको हृदय चरम निराशाले बोझिल भयो। 
"तिमीलाई थाहा थिएन?" भिक्षु अझै कठोर भएर सोधे, "बिरालोले बुद्धसँग द्रोह गरेको थियो, उसले बुद्धको आशीर्वाद पाएको थिएन न उ स्वर्गको अधिकारी हो" 
"हो, मलाई थाहा थियो" चित्रकारले बिस्तारै लत्रिएको स्वरमा भन्यो।

"प्रत्येक व्यक्तिले आफ्नो कर्मको फल भोग्नु पर्छ" भिक्षुले भने,"बिरालोले पनि आफ्नो दुराग्रहको र तिमीले पनि तिम्रो। कसैले पनि आफ्नो कर्मलाई मेटाउन सक्दैन, म यो चित्र लैजान्छु र भोलि औपचारिक रुपमै तिम्रो यो चित्र जलाई दिन्छु। अब म अर्कै चित्रकारको चित्र बिहारमा राख्नु पर्ला।" 

दिनभरि नै ती महिला भान्सामा बसेर रोइरहिन, उनीले बिरालोलाई घरमा ल्याएकोमा पछुताइरहेकी थिइन्। उनले गर्दा चित्रकार बर्बाद भए। 
चित्रकार पनि उदास भएर हंसराज फूलको झाडी सङ्गै बसिरह्यो। उसले बनाएको त्यो चित्र गयो जसमा उसले आफ्नो जीवन समहित गरेको थियो। 

भोलि त्यो चित्र निर्दयता पुर्वक जलाइने छ। उसको सबै मेहनत र आशाहरु नष्ट भए तैपनि उसलाई कुनै पछुतो भने छैन। उसले पछिल्लो दिनमा जति प्रेम, करुणा र बलिदान आफ्नो कल्पनामा बाँच्यो, त्यो सबै सौभाग्यको अन्तिम समयको त्यो महान खुशीको अघि केही पनि छैन।
 
त्यो रात चित्रकार आँखा झिमिक्क पनि नगरी त्यो गहिरो रातमा डुबिरह्यो। ती बुढी महिलाले पनि उसलाई केही भन्न सकेकी छैनन्। एउटा धूमिल प्रकाश उसको आँखामा छायो सङ्गै उसले केही व्यक्तिहरू उसको घरतिर दौडँदै आएको देख्यो। उनीहरूको बीचमा ती प्रमुख भिक्षु पनि थिए। 

भिक्षुले हतार हतार भित्र आए। उनी रोइरहेका थिए, "आउनुहोस्, हेर्नुहोस् आज अलौकिक चमत्कार भयो, बुद्धको दया र करुणाको दर्शन हामीले आफ्नै आँखाले देख्यौँ।"

उसले केही बुझ्नै सकेन, छक्क र निशब्द उनीहरूको पछि पछि उ पनि बिहार तिर गयो। गाउँमा, बाटोमा उसले प्रफुल्लित स्वरहरु मात्र सुनिरहेको छ। सबै छक्क छन्, कसैलाई कम्मरको पेटी बाँध्ने सुर छैन भने कसैको मुख खुल्लै छ। सबै गाउँ बिहारमा थुप्रियो। 

उसले बनाएको त्यो चित्र बिहारको केन्द्रमा रहेको भित्तोमा राखिएको थियो, त्यहाँ सुगन्धित अगरबत्ती र उज्वल दियोहरु बलिरहेका थिए। जव उसले चित्रलाई राम्रो सङ्ग हेर्यो, ओहो! उसका आँखाहरू एकाएक भरिए, उ उभिनै सकेन, उ घुँडा मारेर त्यही थचक्क बस्यो र हात जोडेर रुन थाल्यो, 
"हे महान दयालु, करुणावान!"

उसले बुद्धले आफ्नो छातीमा दुवै हात राखेर सुतेको चित्र बनाएको थियो। तर अहिले त बुद्धको हात त आशीर्वाद मुद्रामा त्यहाँ सम्म पुगेको थियो, जहाँ जनावरको लहरको अन्तिममा शिर झुकाएर दण्डवत् मुद्रामा बसिरहेको बिरालोको सानु सेतो टाउको थियो जसको मुहारमा प्रदीप्त अलौकिक र अनन्त शान्ति पोखिएको थियो। 

त्यहाँ ती बुढी महिलाको आठौँ गीत कतै गुन्जिरहेको थियो। 

एउटा महान् रहस्य 
म बुझ्न सक्दिन 
म बुझ्छु केवल 
करुणा बुद्धको 
जो अनन्त छ
शायद! यही हो मैले बुझ्ने
सबै भन्दा सुन्दर तिमी
अनि तिम्रो करुणा
तिम्रो करुणा।

Story : Cat Who Went to Heaven 
Author : Elizabeth Coatsworth
Translation: Deepes Moorti Pant








Share:

गुराँसहरु फुल्दैनन्: अब सहज छैन अवस्था


माघमै गुराँस फुल्यो, चैत्र बैशाखमा गुराँस, चुत्रो फुलेनन्, एक दशक अघिसम्म वसन्त ऋतु चैत्र बैशाखमा बनै भरी फूल फुल्थे, जङ्गलको बाटो हिँड्दा मौरी ठोक्किन्थे, पुतलीको झिलिमिली र भवँराको  भुनभुन् गर्मीमा शितलता दिन्थ्यो अनि शिशिरको चिसो भुलाउँथ्यो। अहिले शिशिरको सिरेठो त  शुरू हुनै नपाई सकिन्छ। यस्ता कुरा धेरै समय देखि सामान्य भइसकेका छन्। हो हिउँद छोटिदै छ। वनस्पतिहरू चाँडो फुल्छन्, छिटो मर्छन्। यो विश्वव्यापी घटना हो जसलाई विभिन्न अध्ययनहरूले पुष्टि गरेका छन्।

यो किन भइरहेको छ त? उत्तर धेरै स्पष्ट छ, हामीले उत्सर्जन गरेको हरितगृह ग्यास (Greenhouse Gases) ले विश्वव्यापी रुपमा पृथ्वीको तापमान बढिरहेछ। त्यसैले हिउँद छोटिँदै गएको छ भने वसन्त ऋतु धेरै गर्मी । यसले सबै भन्दा बढी वनस्पतिलाई असर गरेको छ। वनस्पतिहरूमा छिटो फूल खेले पनि चाँडो पालुवा खेल्दा वातावरणबाट कार्बन डाई अक्साइड (CO2) अवशोषित हुन्छ, त्यसले फाइदा नै पुग्ला भन्ने अनुमान गरिएको थियो। तर अहिलेका अध्ययनहरूले त्यसको विपरीत निष्कर्ष निकालेका छन्। वास्तवमा वनस्पतिहरू छिटो छिटो मरिरहेका छन् अर्थात् आयु पनि घटिरहेछ अनि नयाँ वृद्धि अर्थात् नयाँ बिरुवा उम्रने दर पनि उल्लेख्य रुपमै घटिरहेछ।

वैज्ञानिकहरूले ३० वर्ष देखिका विभिन्न ठाउँहरूको भू-उपग्रह आधारित तस्वीरहरु र तथ्यहरूको क्रमिक विश्लेषण गर्दा वनस्पतिहरू वसन्त ऋतुमा (Spring) जति वृद्धि हुनु पर्ने हो त्यो हुन पाएको छैन। हिउँदको अन्त्य छिटो हुने भएकाले जमीनमा भएको चिस्यानलाई वनस्पतिले छिटो अवशोषित गरिसक्छ अर्थात् जमीन छिटो सुख्खा हुन्छ। बसन्तमा खडेरी पर्ने र जमीन पनि छिटो सुक्खा हुने कारणले फूल फुल्न, नयाँ पालुवा लाग्न सक्दैन।

USA National Phenology Network (USNPN)  ले सङ्कलन गरेको तथ्याङ्क अनुसार पछिल्लो दश वर्षमै वनस्पतिका फूल फुल्ने क्रम झण्डै ३ हप्ता अगाडि सरेको छ। कतिपय वनस्पतिहरू त यो सराइलाई आत्मसाथ गर्नै सक्दैनन् र फुल्नै सक्दैनन्। यो सञ्जालले दशकौँ देखिको अमेरिकाको विभिन्न क्षेत्रको वनस्पतिको फूल फुल्ने समयको तथ्यहरु राखिरहेको छ।

Bostan University का जीव वैज्ञानिक Richard Primack ले लेखक Henry David Thoreau को १८४० देखिको Notes हरु (जसमा Massachusetts मा अवस्थित उनको वरिपरिको वनस्पतिहरूको बारेमा तथ्यहरु संकलित छन्) केलाउँदा अहिले ती वनस्पतिहरू १८४० को तुलनामा औषतमा ३ हप्ता अगावै फूल्न थालेको स्पष्ट गरेका छन्।

Plos One नामक जर्नलमा प्रकाशित सो अध्ययनमा Massachusetts र Wisconsin राज्यमा गरिएको सर्वेक्षण अनुसार जुन वनस्पति मे महिनाको मध्यतिर फुल्नु पर्ने हो अर्थात् १८५० को समयमा  मे महिनाको मध्यमा (Mid May) फुल्थ्यो सो २०१२ मा अप्रिल १ मै फुलेको पाइयो। Ericaceae परिवारका वनस्पतिहरूको त्यस्तो परिवर्तन देखियो जस्तो High Bush Blueberry (Vaccinium corymbosum)। हाम्रो गुराँस जाती पनि सोही परिवार अर्थात् Ericaceae अन्तर्गत नै पर्छ।

Bostan University कि जीव वैज्ञानिक Elizabeth Ellwood भन्छिन्, "वसन्त ऋतुको औषत तापक्रम को वृद्धि सङ्ग फूल फुल्ने समयको प्रत्यक्ष गणितीय समन्ध छ। यो समयमा भएको १ डिग्री सेल्सियस तापक्रम वृद्धिले वनस्पतिको फूल फुल्ने समयलाई ३.२ दिन अगाडि सार्छ। यो समन्ध यति स्पष्ट र बलियो छ कि कुनै पनि अरु तत्वहरूले सो समन्धलाइ असर पार्नै सक्दैन।"उनी अझै थप्छिन्, " कुनै प्रजातिहरू समय अगावै पनि फूल्न सक्छन्, तर सबैको त्यस्तो क्षमता हुँदैन। केही प्रजातिलाइ सापेक्षित लामो शीतकाल (Cooling period) चाहिन्छ। त्यो नपुग्दा उनीहरू फूल्नै सक्दैनन्।"

यसरी आवश्यक शितकालको अभावमा फूल्न नसक्ने वनस्पतिहरू प्रायः सबै समशीतोष्ण (Temparate zone) र शित प्रदेश (Alpine zone) का बढी हुन्छन्। त्यसैले विश्वभरिका यिनै प्रदेशका वनस्पतिहरू तीव्रगतिमा ह्रास भइरहेछन्। यसको उदाहरण हाम्रो लेकमा रहेका सदाबहार कोणधारी जङ्गललाइ लिन सकिन्छ। यी वनस्पतिको उम्रने दर यसै ढिलो हुन्छ त्यसमा पनि फूल फूल्न नपाउँदा यिनीहरू विलुप्त हुने क्रम अकल्पनीय छ।

U.S. Department of Agriculture ले जारी गरेको Plant Hardiness Zone Map मा पछिल्लो २२ वर्षको तथ्य हेर्ने हो भने दक्षिणी उष्ण प्रदेशका वनस्पतिहरू उत्तरी समशीतोष्ण क्षेत्र तिर उक्लिरहेका देख्न सकिन्छ। त्यस्तै नेपालको उदाहरण नै हेर्ने हो भने पनि यो वृक्ष रेखाको सराई महसुस गर्न सकिन्छ। उष्ण प्रदेशका वनस्पति समशीतोष्ण क्षेत्रमा, समशीतोष्ण क्षेत्रका शित प्रदेश तिर उक्लेका छन् भने, शित प्रदेशका वनस्पतिहरू अब पाइन छोडेको छ।

यही १५ वर्षको मेरो भेडीगोठ बसाईको क्रममा अतिस प्रजाति (Aconitum sp), सुनपाती भनेर चिनिने सुनपाती (Rhododendron anthopogon),  पदमचालका केही प्रजातिहरू  (Rheum sp), पाखनवेद (Bergenia sp) र Saussurea का प्रजाति आदि वनस्पतिहरुले नपत्याउँदो तरिकाले उचाइ लिएको म स्वयंले भेटेको छु। कतिपय शित प्रदेशका वनस्पतिहरू आजकाल भेटिन छोडेको म स्वयंको अनुभव छ। आजकाल चिलाउने, कटुसहरुले गुराँसका वनलाई प्रतिस्थापन गरिरहेका छन् भने पहाडी जङ्गलहरूमा मिचाहा वनस्पतिहरू कालिमुन्टे (Ageratina adenophora), वनफाँडे (Lantana camara), गाजरे घाँस (Parthenium hysterophorus), Mikania sp, Chromolaena sp जस्ता वनमारा जातिहरूले क्षति पुराइरहेका छन्।

फूल्नै छोडेका वनस्पतिको समस्या भन्दा समय अगावै फूल्ने वनस्पतिको समस्या पनि सानो छैन। धेरै वनस्पतिहरू आफ्नो फूलमा हुने परागसेचन प्रक्रियाको लागि निश्चित किटपतङ्ग,  पुतलीहरुमा भर पर्छन्। ती वनस्पतिहरूमा फूल फुल्दा ती किटपतङ्ग,  पुतलीहरु आफ्नो जीवनचक्रको प्युपा अवस्थामा मै हुन्छन् भने कति सुषुप्त अवस्थामा हुन्छन्। जव ती प्राणीहरू सक्रिय हुन्छन् त्यो बेला फूलहरु झरिसकेका हुन्छन्। त्यसले गर्दा एकातर्फ परागसेचन हुन पाउँदैन त्यसैले वनस्पतिको बीज उत्पादन हुँदैन भने अर्को तर्फ खानाको अभावमा ती प्राणीहरू पनि विलुप्त हुन्छन्। यो प्रक्रिया झन् भयानक छ जसले तिब्र गतिमा वनस्पति र प्राणीहरू विलुप्त हुन्छन् र पुरै वातावरणीय सन्तुलन बिग्रन्छ।

हामीले यी अवस्थाहरूको गम्भीर भएर सोच्ने विश्लेषण गर्ने आवश्यकता छ। जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिका प्रभावहरू प्रत्यक्ष देखिने भन्दा पनि परोक्ष देखिने बढी गम्भीर छन्। जलवायु परिवर्तनले जति वनस्पतिलाई प्रभावित गर्छ त्यति पृथ्वीको वातावरण बिग्रन्छ। हामीले फेर्ने श्वासको आपूर्ति देखि खाद्य श्रृङ्खलामा आउने विचलनको परिणाम भयानक हुन्छ। मानव प्रजातिको सामुन्ने भोलि गएर स्वजाती भक्षणको भयानकता फेरि नदोहोरिएला भन्न कसले सक्छ र? त्यसैले यस्ता परिवर्तनहरूको विश्लेषण बेलैमा गरौँ र आफूले सक्दो प्रयास आफ्नो स्तर बाट थालौँ।


Share:

प्लाष्टिक: एक खतरनाक बोन्ड

 


प्लाष्टिक! अहिले विश्वस्तरमा हामीले सामना गरिरहेको सबै भन्दा घातक प्रदूषण यही हो त्यसमा कुनै अतिशयोक्ति रहेन। हाम्रो अभिन्न अङ्ग बनेर बसेको जो बिना हाम्रो काम नै नचल्ने गरी आवश्यक भनेको वस्तु बनिसकेको चिज हो प्लाष्टिक। सगरमाथाको उचाइ देखि मरियाना ट्रेन्चको गहिराइमा पुगेको यो प्लाष्टिक अब प्राणीहरूको कोषमा समेत प्रवेश गरिसकेको छ। हामीले खाने वनस्पति, प्राणीहरू र पिउने पानीमा नदेखिने गरी मिसिएको यो प्लाष्टिक शायद हाम्रो कोषमा समेत प्रवेश गरेको हुनुपर्छ जसरी अन्य प्राणी र वनस्पतिको कोषमा छिर्यो।

गत १९५० सम्म २.३ मिलियन टन प्लाष्टिक को उत्पादन गरेका हामी २०१९ मा आइपुग्दा ३६८ मिलियन टन उत्पादन गर्ने भयौँ भने २०५० सम्म त हामी यसको दुई गुणा पुर्याउने प्रक्षेपण गरिएको छ। प्रत्येक वर्ष समुद्रमा मात्र ८ मिलियन टन प्लाष्टिक जान्छ भने प्लाष्टिकका बोन्ड टुक्रिन औषतमा ४०० वर्ष लाग्छ।

मानिसहरूले प्रत्येक वर्ष टन का टन पुनः प्रयोग हुन नसक्ने प्लाष्टिक फाल्छन्। हुन त मानिसले जति प्लाष्टिक प्रयोगमा ल्याउछ त्यसको ९१ प्रतिशत प्लाष्टिक पुनः प्रयोग गर्न मिल्दैन र मिल्ने पनि पुन: प्रयोगमा ल्याउने खर्च भन्दा सस्तो र सहज पर्ने नयाँ उत्पादनलाई प्राथमिकता दिइन्छ। कोकाकोला (Coca-Cola) नेश्ले (Nastle) जस्ता कम्पनीहरु यस विषयमा आलोचित छन्। उनीहरूले विज्ञापनमा Recycled Plastics को बारेमा उल्लेख गर्छन् तर व्यवहारमा लागू गर्दैनन।

२०१९ मा गरिएको सफाई अभियानको एक प्रतिवेदन हेर्ने हो भने कोकाकोला विश्व नम्बर एक प्लाष्टिक प्रदुषक भएको थियो। छ बटै महादेशका ५१ वटा देशहरूको समुन्द्री किनारमा गरिएको ८४८ वटा सफाई अभियानमा ७२५४१ जना स्वयंसेवकहरु  खटिएका थिए। जसमा Coca-Cola सङ्ग समन्धित प्लाष्टिक फोहोर सबै भन्दा बढी  थियो। त्यसपछि Nestle, PepsiCo लगायत छन्।

हाम्रो देशकै अवस्था हेर्ने हो भने पनि यही तस्वीर हामीले देख्न सक्छौँ। हाम्रा डम्पिङ साइटहरुमा तयारी वस्तुहरूलाई प्याकेजिङ्ग गरिएका प्लाष्टिक कै मात्रा अत्यधिक छ। यसमा पनि उद्योगीहरुको जवाफ Coca-Cola कै जस्तो हुन्छ। यही प्रश्नको जवाफ दिँदै कोकाकोला ले भनेको थियो, "समुन्द्र अथवा कुनै पनि ठाउँमा हामी सङ्ग समन्धित प्लाष्टिक भेटिन्छ भनेपनि हामी यसको जिम्मेवार त कसरी हुन सक्छौँ र? जबकि यो लापरवाहीको जिम्मेवार त अर्को पक्ष होइन र? बरु हामीले यो गम्भीर समस्यालाई पहिचान गरेर सफाई अभियान देखि यी वस्तु हरु समुन्द्र अथवा कुनै पनि स्थानमा नपुगोस् भनेर अनेकौँ उपायहरू अपनाएका छौँ।"

हुन त उद्योगको यो प्रतिरक्षा पनि नाजायज नै हो भन्न त सकिन्न।प्लास्टिकका फोहोरहरुको व्यवस्थापनको जिम्मेवार त अरु पक्ष पनि त छन्। प्लाष्टिक बाहेक अरूले प्याकेजिङ्ग गर्दा बढ्न जाने लागत खर्चले बजार मूल्यलाई पनि त असर त गर्छ नै। जिम्मेबारी एकले अर्कोको काँधमा थोपरेर चोखिन खोजे पनि प्लाष्टिक प्रदूषणको समस्या र यसको गम्भीर परिणाम त सबैले भोग्नु त पर्छ। दोष एक अर्कोलाई पन्छाएर यो विश्वव्यापी गम्भीर खतराबाट जोगिने त कोई पनि होइन।

खोला नाला पाखा पोखरी सडक खेत खलियान हिमाल पहाड आँगन कोठा चोटा कहाँ छैन प्लाष्टिक। संसार प्लाष्टिकमय छ। हामीले २०१९ मा आइपुग्दा ३६८ मिलियन टन प्लाष्टिक उत्पादन गरेछौँ। युरोप एक्लैले ५७.९ मिलियन टन प्लाष्टिक उत्पादन गर्यो भने चीनले एक्लैले विश्वको ३१ प्रतिशत प्लाष्टिक र प्लास्टिकजन्य पदार्थको उत्पादन गर्छ। प्लाष्टिकजन्य पदार्थको ९१ प्रतिशत पुन: प्रयोग अर्थात् रिसाइकल गरिँदैन भने पछि यी कहाँ जान्छन् त? यहीँ जमीन पानी हावामा ती प्लाष्टिक विभिन्न स्वरूप र आकारमा थुप्रीदै जान्छन्।

प्लाष्टिक प्रदूषणको कारण समुन्द्री देखि स्थल प्राणीहरूको मृत्यु प्लाष्टिकका फोहोरमा अल्झिएर, खान नपाएर, प्लाष्टिक खाँदा पचाउन नसकेर विषाक्तताको कारणले धेरै भएको छ भने अहिले विभिन्न अध्ययनहरूले प्लाष्टिक टुक्रिएर बनेका सुक्ष्म कणहरू झनै घातक हुने देखाउँछन्।

प्लाष्टिक जब १ इन्चको पाँचौं भागमा टुक्रिन्छ त्यसलाई microplastics (सुक्ष्म कण प्लाष्टिक) अझ त्यो भन्दा पनि सुक्ष्म कणमा प्लाष्टिक टुक्रिन्छ तिनीहरूलाई nanopalstics (अति सुक्ष्म कण) भनिन्छ। यसरी अति सुक्ष्म कणमा प्लाष्टिक टुक्रने  कारण जैविक अजैविक दुवै हुनसक्छन्। ठूला आकारका प्लाष्टिक भन्दा यस्ता सुक्ष्म कणहरू झन् घातक हुन्छन्। यी टुक्रिएर नदेखिने हुनुको साथै एक ठाउँबाट अर्को ठाउँमा सहज तरिकाले पुग्छन् र विभिन्न सुक्ष्म स्तरमा अन्तरकृया गर्न सक्षम हुन्छन्।

वैज्ञानिकहरूले प्लाष्टिकका सुक्ष्म कणहरु साना साना crustaceans (Crabs, Lobsters, Shrimp, Crayfish, Prawns इत्यादि) देखि ठूला ठूला व्हेल माछाहरूका मांशपेशीमा फेला पारेका छन्। साना जिवमा थोरै भेटिएला तर ठूला जीवले साना जीवलाई उपभोग गर्दा ठूलै मात्रामा प्लाष्टिक पनि उपभोग गर्छन्।

जर्मनीको University of Bayreuth का अनुसन्धानकर्ताहरुको एक रिपोर्ट अनुसार प्लाष्टिकका अति सुक्ष्म कणहरू जीवित प्राणीहरूद्वारा उत्सर्जित कोषिय कणहरू (Biomolecules) को आवरणमा भेटिएका छन्। Science Advance नामक जर्नलमा प्रकाशित सो अध्ययनका अनुसार प्लाष्टिकका सुक्ष्म कणहरू २ देखि ४ हप्ता समुन्द्रको पानी या अन्य ताजा पानीमा रहे पछि प्राणीको कोषमा प्रवेश गर्नको लागि तयार हुन्छन्।  त्यसैले जति लामो समयसम्म ती पानीमा रहन्छन् त्यति नै जैविक कोषमा प्रवेशकोलागी यिनीहरू उपयुक्त हुँदै जान्छन्।

यसको लागि अध्ययनकर्ता वैज्ञानिकहरूले दुवै खाले पानी ताजा र समुन्द्रको नुनिलो पानीका कृतिम पोखरी बनाएर परीक्षण गरेका थिए। उनीहरूले  ३ माइक्रो मिटरका प्लाष्टिकका सुक्ष्म कणहरूलाइ केही घण्टा देखि ४ हप्ता सम्म ती पानीका पोखरीमा राखेका थिए। २ हप्तामा नै दुवै खाले पानीमा यसको प्रभाव देखिएको थियो। ताजा पानीको सतहको रङ्गनै परिवर्तित थियो भने नुनिलो पानीमा नुनहरु सतहमा जम्मा भएका थिए।

यसको अर्थ के हो भने ती प्लाष्टिकका सुक्ष्म कणहरू जैविक कणहरुको आवरणमा लुक्छन्। जब प्लाष्टिकका सुक्ष्म कणहरुले जैविक कणहरुलाइ अवशोषित गर्छन् उनीहरू जीवित कोषहरूमा प्रवेशको लागि उत्प्रेरकको कार्य गर्छन्। जति धेरै समय ती पानीमा रहन्छन् त्यति नै जैविक कणहरू अवशोषित हुन्छ त्यतिनै ती प्लाष्टिक सुक्ष्म कणहरू जीवित वस्तुको कोषमा प्रवेशको लागि योग्य हुँदै जान्छन्।

त्यसैले करोडौँ टन वर्षेनी हामीले खोला नाला देखि समुद्र प्लाष्टिकले भरेका छौँ। ती टुक्रिएर सुक्ष्म कणहरूको रुपमा पानीमा मिसिएर बसेका छन्। तिनले जलचरका शरीरका कोषहरूमा प्रवेश गर्ने त सामान्य नै भइहाल्यो। हामीले पानी र ती जलचरहरुको उपभोगको क्रममा हाम्रो शरीरका कोषले पनि प्लाष्टिक कणहरू लिएका छन्। त्यसको प्रभाव हामीले सोचे भन्दा धेरै गम्भीर छ।

इङ्गल्याण्डको University of Plymouth को अर्को अध्ययनले के देखाएको छ भने प्लाष्टिकका सुक्ष्म कणहरू जब समुन्द्री जीवको कोषमा प्रवेश गरे त्यसले तिनीहरूको DNA 🧬 को क्रमलाई तोडिदिएको छ। यसको फलस्वरूप ती प्राणीहरूको Gills, पाचन नलीहरू (Digestive tubes) हरु विकृत (Deformity) भएको अनुमान गरिएको छ। समुन्द्री सुक्ष्म जीवहरूको अवशोषण गरेको प्लाष्टिकका सुक्ष्म कणहरू खाद्य श्रृङ्खलाको तहमा रहेका सबै प्राणीहरू सम्म पुग्छन्। यसरी ती प्लाष्टिकका कणहरू हामी भित्र पिउने पानी देखि खाने खानाको स्वरूपमा सहज नै प्रवेश गर्ने भइहाले।

प्लास्टिकबाट समुन्द्र मात्र होइन हाम्रा नदी नाला पनि उत्तिकै प्रदूषित छन् भने हाम्रो जमीनमा पनि उत्तिकै थुप्रिएका छन्। अब प्लाष्टिकका सुक्ष्म कणहरूले जमीनमा भएका सुक्ष्म जीवहरू पनि बच्ने कुरा नरहने भयो। यी कणहरू ती जमीनी सुक्ष्म जीवको कोषमा पनि प्रवेश गर्ने भइहाले। चीनको Chongqing University का र फ्रान्सको National Research Institute for Agriculture, Food and Environment, INRAE का २ अनुसन्धानकर्ताहरुले २०२० मा एक अध्ययन गरेका थिए। जसमा उनीहरूले मानवबस्तीबाट टाढाको माटोमा एउटामा प्लाष्टिकका सुक्ष्म कणहरू मिसाइयो भने अर्कोमा यत्तिकै राखियो। पछि दुवै माटोमा रहेका सुक्ष्म जीवाणु देखि केही ठूला जीवहरूको तुलनात्मक अध्ययन गर्दा प्लाष्टिक मिसाइएको माटोमा रहेका केही जिवाणुहरुको इन्जाइम उत्पादन क्षमता उल्लेख्य मात्रामा वृद्धि भएको पाइयो।

यसको मतलब के हुन्छ भने माटोमा प्लाष्टिक कणहरुको उपस्थितिले पोषण प्रदान गर्ने क्षमता अर्थात् माटोको रासायनिक पदार्थहरुमा उल्लेख्य परिवर्तन भएको हुनु पर्छ। यसको असर अलि ठूला जीवहरू जस्तै धमिरा, कमिलाहरुलाई परेको हुनुपर्छ विशेषगरी ती जिवाणुहरु जसले जैविक पदार्थ कुहाउने कार्य गर्दछन्। किनकि त्यस्ता जीवहरूको जनसङ्ख्या उल्लेख्य रुपमा घटेको पाइएको छ। यसले माटोको उर्वराशक्ति मा झनै गम्भीर असर गर्छ। किनकि माटोको उर्वराशक्ति यस्तै सुक्ष्म जिवाणुहरुको क्रियाकलापमा भर पर्छ। यसले कृषि क्षेत्रको उत्पादकत्व र जैविक विविधतामा घातक असर पर्छ।

प्लाष्टिक को समस्या अब धेरै सुक्ष्म स्तरमा पुगिसकेको छ। यसबाट ठूला जीव देखि सुक्ष्म जीबहरुसम्म यसको विषाक्तता फैलिसकेको छ। प्लाष्टिक उत्पादन गर्दा निस्कने प्रदूषणको हिसाब किताब त अझै अर्कै छ। अमेरिकी सर्वेक्षण अनुसार १ केजी प्लाष्टिक उत्पादन गर्न झण्डै ६२ देखि १०८ mega joules शक्ति खर्च हुन्छ। एकातर्फ आवश्यक शक्ति उत्पादन र खर्च हुँदाको प्रदूषणको हिसाब त अर्को छ।

कार्बन अणुहरुको शक्तिशाली बोन्ड यो प्लाष्टिकको मनुष्य सङ्गको बोन्ड पनि त्यस्तै बलियो नै छ। हामीले प्लाष्टिक प्रयोगलाई निरुत्साहित गर्न सक्छौँ तर कमाउने लालच र सहजताको लोभले हामीले गर्न सक्ने पनि गरिरहेका छैनौँ। जसको लागि अहिलेका मानिसले कमाए भोलि यो प्लाष्टिकले ध्वस्त पारेको वातावरणमा कसरी बच्लान? के उनीहरूले हामीलाई सम्झेर गर्व गर्लान् त? प्रश्न अनुत्तरित नै छ। हामीले यी प्रश्न सङ्ग मुख लुकाएर बस्दैमा समस्या समाधान हुने त पक्कै छैन।

Share:

विज्ञान : एक गम्भीर उत्तरदायित्व


भनिन्छ विज्ञानले वास्तविकतालाई उजागर गर्छ। त्यो साँचो पनि हो तर विज्ञान या तर यसमा धेरै समस्याहरू नभएका होइनन्। कतिपय अवस्थामा वैज्ञानिक अनुसन्धान र वैज्ञानिक कथित विज्ञहरु बीच निष्कर्ष हरु बाझिने हुन्छ। कति त गलत अनुसन्धान पद्धतिको (Research Methodology) को कारणले हुन्छन् भने कतिपय वैज्ञानिक तथा अनुसन्धानकर्ताको आफ्नै सँज्ञान पूर्वाग्रह (Cognitive biasness) को कारणले हुन्छ।

यी भन्दा पनि खतरनाक अवस्था भनेको प्रायोजित वैज्ञानिक र अनुसन्धान अर्थात् प्रायोजन गर्दिने या अनुसन्धानको लागि पैसा स्रोत उपलब्ध गराउनेहरुको निजी स्वार्थ पोस्ने नियतले गरिएको अनुसन्धान हो। यसको एउटा जल्दो बल्दो उदाहरण अमेरिकी वैज्ञानिक Clair Cameron Patterson र त्यस्तै उद्योगपतिहरू बीचको १९६० र ७० को दशकमा चलेको Lead (Pb) Poisoning ले मानव स्वास्थ्य र पृथ्वीको वातावरणमा परिरहेको असरको समन्धमा भएको विवादलाई लिन सकिन्छ।

दोस्रो विश्वयुद्धको समयमा अमेरिकी आणविक हतियार विकास परियोजना The Manhattan Project मा भूगर्भ रसायनशास्त्री (Geochemist) का रुपमा Clair Cameron Patterson कार्यरत रहेका थिए। Clair Patterson उनको PhD सुपरिवेक्षक Harrison Brown सङ्गै सोही परियोजनामा सम्मिलित थिए। उनी सो परियोजनामा युरेनियमको नाभिकीय क्षयको (Atomic Decay) विश्लेषण गर्ने कार्य गर्थे। यही क्रममा उनी पृथ्वीको आयु पनि पत्ता लगाउने Harrison Brown को काममा उनले महत्वपूर्ण भूमिका खेलेका थिए। 

Patterson ले युरेनियम का निश्चित isotopes हरुको अणु क्षयिकरण (Atomic Decay) को गणितीय तथ्यहरुलाई पृथ्वीमा अहिले रहेका युरेनियम र लिडको मात्रा र स्थितिलाई पृथ्वीको रचना हुँदाको मात्रा र स्थितिलाई सटीक गणितीय समन्धको रुपमा स्थापित गर्न उनी सफल भएका थिए। यसै बाट पृथ्वीको आयु पत्ता लगाउन सकिन्छ भन्ने उनको तर्क थियो। आज यही विधिबाट पृथ्वीको होस् या आकाशीय पिण्डहरूको आयुको विश्लेषण गरिन्छ।

पृथ्वीको आयु पत्ता लगाउने क्रममा Clair Cameron Patterson ले जब Zircon का टुक्रामा रहेका युरेनियमका अणुहरुको क्षय (Atomic decay) भएर लिडमा Lead(Pb) रुपान्तरण (Transmutation) हुने दरको हिसाब किताब गर्दै थिए। लिडको मात्राको प्रत्येक पटक गरिएको जाँचमा धेरै असंगत नतिजा (Inconsistent results) मात्र आयो अर्थात् प्रत्येक पटक लिडको मात्रामा धेरै उतारचढाव आउँथ्यो। त्यसैले उनले कयौँ पटक धेरै विधि र निर्मलीकरणका उपाय अपनाउँदै प्रयोग जारी राखे। तर नतिजा त उस्तै असँगत नै रहिरह्यो। 

धेरै समय र अथक प्रयास पछी California Institute of Technology - Caltech को अत्यन्त उच्च, अत्यन्त स्वच्छ प्रयोगशालामा एक उल्कापिण्डमा रहेको लिडको मात्राको (जुन युरेनियम अणुको क्षयिकरणबाट लिडमा रुपान्तरण भएको थियो) संगत मापन (Consistent measurement) गर्न सफल भए जसले पृथ्वीको वास्तविक उमेर करिब ४ अर्ब ६० करोड भएको देखायो। 

यही क्रममा अब उनले अचम्मको कहिले नसोचेको परिस्थितिको सामना गर्नु पर्यो। पहिलाको परिक्षणमा आएको उच्च लिडको मात्रा र त्यसमा देखिएको उतार चढावले एक भयानक खतराको महसुस गरायो कतै त्यस्तो नजिताको पछाडि पृथ्वीको वातावरण मै रहेको लिडको मात्रा त जिम्मेवार छैन? यदि हो भने त यो निकै अस्वाभाविक रुपमा बढीरहेको छ। 

Patterson लाइ के थाहा थियो भने लीड एक विषालु धातु हो। यसले मानव र प्राणीहरूको स्वास्थ्यमा घातक प्रभाव पार्छ। यसले मानिसको शारीरिक मात्र नभई स्नायु प्रणालीमा समेत असर पार्दै मानिसको मानसिक स्वास्थ्यमा पार्ने असर झनै गम्भीर हुन्छ। त्यसैले उनले पृथ्वीको वातावरणमा अवस्थित लिडको मात्रा प्राकृतिक हो कि मानवीय कारणले हो भन्ने कुरा पत्ता लगाई छोड्ने निधो गरे। 

सो कुरा उनले १९५५ मा एउटा सम्मेलनमा प्रस्तुत गरे त्यसपछि पनि उनले यो नतिजालाई अनेक प्रयोग र विधि बाट परिष्कृत गर्दै लगे। २०१५ मा CalTech Media Relation ले प्रकाशित गरेको Getting the Lead Out नामक लेखमा उनको प्रयासबारे विस्तारमा उल्लेख गरिएको छ। 

उनले पृथ्वीमा लिडको मात्रा अप्राकृतिक रुपमा अति धेरै छ र यो मानवीय कारणले नै हो भन्ने त स्पष्ट पारे तर उनको प्रमुख चुनौती चाहिँ यसको स्रोतको पहिचान गर्दै त्यसमा स्पष्ट गणितीय समन्ध स्थापित गर्नु थियो।१९२० देखि नै पेट्रोलियम कम्पनीहरुले पेट्रोलियममा Tetraethyl Lead (C8H20Pb) मिसाएर Internal Combustion इन्जिनको कार्यमा सुधार ल्याइएको थियो। लिडको यस्तो प्रभाव थियो कि पानीका पाइपदेखि रङ्गहरू, खानाका डिब्बाहरु र बच्चाका खेलौनाहरु सबैमा लिड नै मिसाइएका हुन्थे। पत्र पत्रिका देखि रेडियो टिभीमा लिड मनुष्यको लागि बरदान जस्तै गरी प्रचार गरिएको थियो। लिड हाम्रो साथी भन्ने नारा नै भैसकेको थियो।

अब Patterson को अनुसन्धानको नजिताहरुले बिस्तारै उद्योगपतिहरुको निन्द्रा खल्बलिन थालिसकेको थियो विशेषगरी पेट्रोकेमिकल उद्योगहरूको। १९६५ मा Patterson ले Contaminated and Natural Lead Environments of Man नामक शोधपत्र प्रकाशित गरे। त्यसबाट जोगिन Ethyl Corporation ले अर्का वैज्ञानिक Robert A. Kehoe लाई लिड एकदम सुरक्षित छ, र बातावरणमा लिडको मात्रा प्राकृतिक रुपमै रहेको छ भनेर प्रचार गराउने अथक प्रयास गर्‍यो।

Robert A Kehoe ले विभिन्न प्रकाशन र कार्यक्रम मार्फत Clair Cameron Patterson को अनुसन्धानको विरुद्धमा आफ्ना अनुसन्धानहरु प्रस्तुत गर्न थाले। सबै उद्योगपति Patterson को विरुद्धमा लागि परे उनलाई पागल सावित गर्न कुनै ठाउँ बाँकी राखेनन्, उनका अनुसन्धानलाई चाहिने स्रोत र साधन सके जति रोके। तर Clair Cameron Patterson यस्को बिरुद्धमा डटेर नै लागे, अब उनले जसरी पनि पृथ्वीको वातावरणमा जुन स्तरको लीड को मात्रा छ त्यो नयाँ थपिएको हो जो नयाँ प्रदूषण (Fresh Contamination) नै हो भनेर तथ्य सहित प्रमाणित गर्नु पर्ने भयो। Patterson लाइ मानिसहरूले आलोचना मात्र होइन उनलाई उपहास र ठट्टाको पात्र बनाए। तर Patterson ले सबैलाई वास्ता नगरिकन आफ्नो अनुसन्धान जारी राखे। 

अब उनलाई ठोस प्रमाण चाहिएको थियो। यसलाई प्रमाणित गर्न उनले समुद्रको सतही पानीमा गहिरो पानीमा भन्दा सयौ गुना लिड रहेको पत्ता लगाए, पेरुको चिहानबाट १६०० वर्ष अघि गाडिएको मानिसको हड्डीमा अहिलेको भन्दा धेरै न्यून लिडको मात्रा रहेको प्रमाण प्रस्तुत गरे, एन्टर्टिकाको हिउको पहाड खोतालेर ३०० बर्ष पहिला खसेको हिउको परिक्षणबाट पनि उनले लिड प्राकृतिक रुपमा बातावरणमा फैलिएको नभै मानिसले उत्पादनगरेको लिडयुक्त बस्तुहरुले पृथ्वीको बातावरण विषाक्त बनाइरहेको छ भन्ने प्रमाणित गरिदिए। 

जब उनको यो शोधपत्र The Nature भन्ने जर्नलमा छापियो त्यसपछी पनि उनलाई उद्योगपतीहरुले बिशेषगरी पेट्रोकेमिकल उद्योगले खेद्न सम्म खेदे, उनका बैज्ञानीक अन्वेषणका सबै बजेट रोके, पागल नै साबित गर्न खोजे। तर उनको शोधपत्रमा औँला उठाउने ठाउँ चाहिँ थिएन। उनले स्पष्ट प्रमाण सहित पृथ्वीमा बढीरहेको लिडको मात्रा मानव उत्सर्जित प्रदूषण नै हो भनेर प्रमाणित गरिदिए भने यसको दुष्प्रभावहरुको बारेमा पनि प्रष्ट पारिदिए। 

यिनै प्रयासको फलस्वरूप उनको अनुसन्धानले के सावित गरिदियो भने उत्तरी गोलार्धको वातावरणमा लिडको प्राकृतिक स्तरभन्दा झण्डै १ हजार गुणा लिडको मात्रा रहेको छ। यसको स्रोत भनेकै Tetraethyl Lead मिसिएको पेट्रोलियम, कीटनाशक, खानेपानीका पाइप, तयारी खानाका डिब्बाहरु, रङ्गहरू आदि नै हुन्। यसले मानिसको शारीरिक र मानसिक स्वास्थ्य अति भयानक जोखिममा छन्।

यति बेला सम्म त उनलाई पनि मानिसहरूले सुन्न थालिसकेका थिए। उद्योगपतिहरुले प्रायोजित गरेका कथित वैज्ञानिक र अनुसन्धानहरुसङ्ग Patterson को प्रश्नको जवाफ थिएन तर Patterson सङ्ग लिड प्रदूषणको स्पष्ट प्रमाण थियो। अन्त्यमा सौभाग्यबश अमेरिकी बिभिन्न सस्थाहरु जस्तै अमेरिकी सेना (United States Army), The United States Department of Health & Human Services -HHS (स्वास्थ्य मन्त्रालय जस्तै) ,आणविक उर्जा आयोग (United States Atomic Energy Commission) र National Science Foundation(NSF) हरुका वैज्ञानिकहरू सहित केही अमेरिकी सांसदहरु उन्को पक्षमा बलियो सँग उभिए।

अन्त्यमा उनी सफल भए अमेरिकी संसद्ले १९७० मा Clean Air Act पास गर्यो। १९७७ मा घर रङ्गाउने रङ्गबाट र १९८६ मा Tetraethyl Lead पेट्रोलियम पदार्थमा पनि निषेध गरियो। १९२२ जुन २ मा अमेरिकाको Iowa राज्यको ग्रामीण इलाकामा जन्मिएका Patterson दोस्रो विश्वयुद्धको खतरनाक हतियार अणुबम निर्माण परियोजना The Manhattan Project हुँदै एक वातावरण योद्धाको रुपमा परिणत भए।२० औँ शताब्दीको सबै भन्दा गम्भीर प्रदूषण लिडलाइ प्रतिबन्धित गर्ने लक्ष्य हाँसिल गर्दै उनी १९९५ डिसेम्बर ५ का दिन अस्ताए। 

अहिले शक्तिशाली उद्योगपतीहरु सँग अधिकार छ। विश्वमा बैज्ञानीक अन्वेषण भन्दा चरमपन्थी बिचारधाराहरु र धर्मान्ध शक्तिहरू बढी भन्दा बढी शक्तीशाली हुँदै गइरहेछन। निकृष्ट लक्ष्य भएका उद्योगपति, चरमपन्थी र धर्मान्ध राजनैतिक नेतृत्वले स्वतन्त्र वैज्ञानिक अनुसन्धानलाई प्रभावित पार्न थालिसकेका छन्। जस्तो कि स्पष्ट रुपमा हामीले जलवायु परिवर्तनका प्रभावहरू देखिरहेका छौ, हाम्रो लोभ लालच र प्रदूषण, प्राकृतिक साधन स्रोतको अत्याधिक शोषण कारक तत्व हुन् भन्ने कुरा अब त बिना वैज्ञानिक अनुसन्धान पनि भन्न सक्ने अवस्था छ। तर पनि प्रयोजकहरु विभिन्न प्रपोगण्डा गर्न छोडेका छैनन्। हामी धेरै कुरामा सावधान सजग हुनु पर्ने अवस्था छ। 

त्यो बेलाको लिड प्रदूषण जस्तै अहिले प्लास्टिक हाम्रो लागि त्यस्तै गम्भीर प्रदूषण सावित भएको छ। प्लास्टिकका सुक्ष्म कणहरू आज पानीमा घुलिसकेका छन् प्राणीहरू र वनस्पतिको कोषमा पुगिसकेका छन्। त्यो बेला लिड प्रति रहेको झुकाव जस्तै प्लास्टिकलाई हामी त्याग्न नसक्ने अवस्थामा पुगेका छौँ भने उद्योगीहरु त प्लास्टिकको विरोध पनि सुन्न नसक्ने भइसकेका छन्। Patterson लाइ समयमा नसुनेर, अझ उपहास गरेर जुन गल्ती मानव समाजले गरेको थियो त्यो त आखिर सच्चियो। अहिले पनि पर्यावरणको पक्षमा बोल्नेहरुलाइ उपहास मात्र होइन आक्रमण नै गर्ने क्रियाकलाप बढीरहेको छ। समय र अवस्था बिग्रेर हातबाट फुस्कनु अघि सोच्नु पर्ने होइन र? 






Share:

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

About Me

My photo
देउराली, चिती, लमजुङ्ग, गण्डकी , Nepal

Translate