शरद ऋतुको अन्त्यमा
शीत प्रदेशको खुला आकाश
हिमाली सिरेटो झेल्दै
कहिले यता दोब्रीदै त
कहिले उता घुस्रदै
रात काटे पश्चात
जब पूर्वबाट सूर्य उदाउँछ
त्यसको न्यानो प्रकाशले
जीवन फेरि फक्रन्छ
त्यो उज्ज्वल अनुहारमा
अनजान रेखाहरु झल्किन्थे
ती रेखाहरु आज परिचित छन्।
निष्पट्ट अन्धकारमा
तृषित थकित देह अनि
टाढा कतै हिमालको राजाको गर्जन
अनि बढ्दो मुटुको धड्कन संग
बिराइएको ढुङ्गेनी बाटो झर्दा
मलिनो टर्चको ज्योति
त्यही ढुङ्गामा पर्छ
जहाँ केही धर्साहरु छन्
जो परिचित छन् अनि
जीवन एक्कासी सञ्चार हुन्छ
त्यही तृषित अनि क्लान्त देहमा
ती धर्साहरु आज फेरि देखेको छू
सुख्खा हुन्छ शीतको हिउँद
वर्षाका हरिया सालिमहरु
सुनमा परिणत हुन्छन्
वर्षाका सुन्दर जल रेखाहरु
चाँदी जस्तो टलक्क हुन्छन्
तर तिर्खा मेटिदैन दृश्यबाट
मरुभूमिको मृगतृष्णा झै
सुनिन्छ जीवन रेखाको धुन
कता कता छङ्गाछुर भिरमा त
कहिले जमीन भित्र छङ छङ
त्यही तृषित तडपमा जव
आँखाले देख्छन् कल कल
जीवन रेखा, अहो! जीवन रेखा
आज ती रेखाहरु फेरि परिचित लाग्छन्
तिम्रा मुहारमा .......कता कता देखे जस्तै
हो मैले ती रेखाहरु चिन्छु, मैले देखेको छु
ती सुन्दर जीवन रेखाहरु।
No comments:
Post a Comment