A diary of Pedestrian on Mother Nature

Showing posts with label Stardust. Show all posts
Showing posts with label Stardust. Show all posts

तारा: एक वास्तविक रचनाकार!

एक औँशीको निष्पट्ट अन्धकारको रातमा एकान्त स्थान जहाँ शहरिया बत्तीको झिलीमिलीको प्रकाश प्रदूषण हुँदैन त्यहाँ बसेर आकाश नीहार्नुको आनन्द नै अनुपम हुन्छ। सुदुर आकाशमा झिलमिलाई रहेका ती साना प्रकाशबिन्दुहरु सुन्दर मात्र छैनन् तिनीहरूको हामीसँग धेरै गहन तथा जटिल समन्ध छ। ती प्रकाशविन्दुहरु तारा (Star) हरु हुन्।

एक महान अन्तरिक्ष विज्ञानी कार्ल सागन (Carl Sagan) ले १९८० मा १३ भागको एक टिभि श्रृङ्खला प्रस्तुत गरेका थिए। शायद आज सम्म त्यतिको उत्कृष्ट र गहन प्रस्तुति आएकै छैन। कार्ल सागन र उनको त्यो Cosmos भन्ने टिभि श्रृङ्खलाले विश्वको सामुन्ने अन्तरिक्ष विज्ञानको गहन तथा जटिल विषयलाई सबै बुझ्ने गरी सबैको सामुन्ने पस्किएको थियो। त्यही प्रस्तुतिमा सागनले भनेका थिए, " हाम्रो DNA 🧬 मा रहेको नाइट्रोजन, दाँतमा रहेको क्याल्सियम, रगतमा रहेको फलाम, हाम्रो स्याउको केकमा रहेको कार्बन सबै मर्दै गरेको ताराको भित्र बनेको हो। हामी सबै ताराको धुलोहरु हौँ।"
झट्ट सुन्दा अनौँठो र रोमाञ्चकारी लाग्छ तर यो सत्य हो कि हामी मात्र होइन हाम्रो वरिपरि रहेका प्राणी तथा वनस्पतिहरू र श्वासप्रश्वासमा प्रयुक्त अक्सिजन तथा कार्बन डाई अक्साइड , ती ढुङ्गाहरु, त्यो उज्वल हिरा, आणविक भट्टीमा तातिरहेको युरेनियम होस् या त्यो किसानको काँधमा झुण्डिएको कोदालो या ती महिलाको कानमा झल्किएको सुनको गहना..........यो ब्रम्हाण्डमा हामीले देखेका, भोगेका सबै वस्तुहरू जुन तत्वहरूले बनेका छन् ती सबै तत्वहरू आफ्नो जीवनको अन्त्य गर्दै गरेका तिनै झिल्मिलाई रहेका ताराहरुले गरेका हुन्।
"हामीले सुन्दै आएका थियौँ, एउटा चिज हुन्छ "पारसमणि (Philosopher's Stone)" जसले मा छुवायो भने फलाम सुनमा परिणत हुन्छ। "अल्केमी तन्त्र" भन्ने पुस्तकमा पनि फलामलाई कसरी सुनमा बदल्ने भनेर धेरै जडी बुटीको उल्लेख गरेको पढेँ। कतिपय भारतीय आध्यात्मिक गुरुहरुले विभिन्न पुस्तकमा त्यस्ता दावी पढ्न सकिन्छ। एक भारतीय आध्यात्मिक गुरु नारायण दत्त श्रीमालीले आफैले प्रयोग गरेको भनेर पनि प्रवचन पनि दिएका छन्। उनले पारो (Mercury) लाइ विभिन्न चरणमा प्रशोधन गरेर पारसमणि बनाउन सकिन्छ जसले फलामलाई तत्काल सुनमा परिणत गर्न सक्छ जुन आफैले प्रयोग गरेको भनेर पनि दावी सहित भनेर लेखेका छन्। 

फलाम सबै भन्दा स्थिर नाभी भएको तत्व हो अर्थात् फलामलाई नाभिकीय संयोजन (Nuclear Fusion) गर्नको लागि विशाल शक्तिको आवश्यकता हुन्छ। सूर्यले समेत फलामको नाभिलाई संयोजन गरेर अर्को तत्व बनाउन सक्दैन। यसको लागि सूर्य भन्दा २५ औँ गुणा ठूला विशाल ताराहरूको जीवनको अन्त्यमा गर्ने महाविष्फोट को आवश्यकता हुन्छ। त्यसैले ती गुरुहरुले झुटो दावी गरिरहेछन् भन्ने कुरा Physical Chemistry पढ्नासाथ मैले बुझी हालेँ। 

जब मैले Physical Chemistry पढ्न थालेँ त्यतिबेला मलाई रासायनिक प्रतिक्रिया (Chemical Reaction) र नाभिकीय प्रतिक्रिया (Nuclear Reaction) को बारेमा बुँझे। एउटा तत्वबाट अर्को तत्वमा बदलिने प्रक्रिया ती गुरुहरुले भने जस्तो सहज हुँदो रहेनछ भन्ने थाहा भयो। चाहे नाभी विखण्डन (Nuclear Fission) होस् नाभी संयोजन (Nuclear Fusion) हुँदा विशाल शक्ति उत्पन्न हुन्छ। त्यो अणुबम विष्फोट देखि सूर्यको शक्ति उत्पादन प्रक्रियामा बुझी सक्यौँ। श्रीमाली र उनका शिष्यलाई रासायनिक प्रतिक्रिया र नाभिकीय प्रतिक्रियाको बीचमा फरक नै थाहा रहेनछ नत्र एउटा घोलमा फलाम हालेर सुन सुन्छ भनेर लेख्ने बोल्ने गर्दैनथिए होलान्। "

तत्वहरू (Elements)

हाम्रो ब्रम्हाण्डमा जति पनि वस्तुहरू छन् तिनीहरूको रचना विभिन्न तत्वहरूको रासायनिक यौगिक (Chemical Compounds) हरु, तत्वहरूको मिश्रण (Mixtures)हरुबाट निर्मित छन्। तत्वहरू यस्तो पदार्थ हो जसका परमाणुहरुलाई कुनै पनि रासायनिक प्रक्रियाबाट टुक्राउन सकिँदैन। परमाणुका नाभीकेन्द्रमा (Atomic Nuclei) निश्चित सङ्ख्यामा प्रोटोन (Proton)  रहन्छन्। त्यही प्रोटोनको सङ्ख्याले नै अनुसार तत्वहरू पनि अलग अलग हुन्छन्। एउटा प्रोटोन नाभिकेन्द्रमा भएको तत्व हाइड्रोजन (Hydrogen: H) हो भने ६ वटा भएको कार्बन (Carbon: C), ८ वटा भएको अक्सिजन (Oxygen: O) भने २६ प्रोटोन भएको फलाम (Iron: Fe) ७९ वटा भए सुन (Gold: Au) र ९४ भए प्लुटोनियम (Plutonium: Pu)।

अहिले सम्म प्राकृतिक रुपमा उपलब्ध भएका ९४ तत्व छन् (*केही अन्य तत्व पनि उपलब्ध छन् तर तिनीहरू अति सुक्ष्म मात्रामा उपलब्ध हुन्छन्)  जसबाट यो पृथ्वीमा हामीले देखेका भोगेका प्रत्येक वस्तुहरूको रचना भएको छ। हाम्रो तथा अन्य प्राणी र वनस्पतिहरूको शरीरको देखि उनिहरुले खाने खाना सम्मका जैविक वस्तुहरूको निर्माणमा छ वटा तत्वहरू र तिनीहरूका यौगिकहरु प्रयुक्त हुन्छन् ती हुन् कार्बन, हाइड्रोजन (Hydrogen: H), नाइट्रोजन (Nitrogen: N) अक्सिजन (Oxygen:O), फस्फोरस (Phosphorus: P) र सल्फर (Sulfur: S) हुन्। यिनीहरूले जैविक वस्तुहरूको रचना लगभग ९९% भाग ओगट्छन।

तत्वहरूको रचना

प्राकृतिक रुपमा उपलब्ध ती ९४ तत्वहरू के एकै साथ रचना भएका हुन् त? अध्ययन हरुले त्यस्तो देखाउँदैनन्। झण्डै १४ अर्व वर्ष पहिले कुनै अनन्त सघन बिन्दुबाट महाविष्फोट (Big Bang) बाट यो ब्रम्हाण्ड अस्तित्वमा आउँदा सबै तत्वहरू एकै पटक अस्तित्वमा आएका होइनन्। पहिलो १० सेकेण्ड देखि २० मिनेटको अवधिमा ब्रह्माण्डको सबै भन्दा सहज तत्व हाइड्रोजन साथै हेलियम (Helium: He) र केही मात्रामा लिथियम (Lithium: Li) र बेरीलियम (Beryllium: Be) का साथ तिनीहरूका केही Isotopes हरु अस्तित्वमा आएका हुनुपर्छ। त्यस प्रक्रियालाई Big Bang Nucleosynthesis(BBN) भनिन्छ। ब्रम्हाण्ड त्यस पश्चात ४ लाख वर्ष सम्म विकिरण र तिनै शुरुवाती पदार्थहरुको मिश्रणको रुपमा रह्यो।
Expansion of the universe
त्यस पश्चात झण्डै १० करोड ८० लाख वर्षसम्म ब्रम्हाण्ड अन्धकार युगमा बस्यो जसलाई हामी Cosmic Dark Ages भन्छौ त्यसले हामीलाई सधैं चुनौती दिइरहेको छ किनकि त्यो बेलाका विकिरणहरु अवलोकनका लागि धेरै मन्द छन्। यो अवधि को अन्त्य त्यतिबेला भयो जब यो ब्रम्हाण्डमा पहिलो तारा (Star) को जन्म भयो। हाइड्रोजन र हिलियम ग्यासहरु गुरुत्वाकर्षण बलको कारणले एक बिन्दुमा जम्मा हुन्छन्। जब त्यो बिन्दुमा यी ग्यासको घनत्व बढ्दै बढ्दै जान्छ त्यसले त्यहाँ ताप र चाप दुवै बढ्दै जान्छ अनि हाइड्रोजनको अणुहरु एकआपसमा संयोजित (Fuse) हुन्छन् अनि हेलियम बन्छन्। त्यो प्रक्रियामा विशाल शक्ति उत्सर्जित हुन्छ।यो प्रक्रियालाई हामी नाभिकीय संयोजन (Nuclear Fusion) भन्छौ। अब त्यो विशाल डल्लोले ताप र प्रकाश उत्सर्जन गर्छ। यसरी ब्रम्हाण्डमा ताराहरूको जन्म भएको हो।

तारा: ब्रह्माण्डको उज्यालो देखि तत्वहरूको रचना

तारा प्रमुख रुपमा हाइड्रोजन र हेलियमको आफ्नै गुरुत्वले बाँधिएको तातो Plasma को डल्लो हो। हामीले सजिलोको लागि ग्यासको डल्लो भने पनि यो पदार्थको चौथो अवस्था अर्थात् Plasma को डल्लो हो। Plasma भनेको पदार्थको त्यस्तो अवस्था हो जसमा अणुहरुको बाहिरी कक्षमा रहेका Electrons इलेक्ट्रोन/इलेक्ट्रोनहरु स्वतन्त्र हुन्छ जसले गर्दा यो विद्युतीय सुचालक हुन्छ। ताराको केन्द्रमा हाइड्रोजन अणु र यसका Isotopes हरु एक आपसमा संयोजित (Nuclear Fusion) हुँदा विशाल ताप र प्रकाशको उत्सर्जन हुन्छ। त्यसैले ताराहरूको आफ्नै ताप र प्रकाशको स्रोत हुन्छ। सुर्य पनि मध्यम आकारको तारा हो।
सौर्य मण्डलका ग्रह देखि विभिन्न प्रकारका ताराहरूको तुलना
हामीले आकाशमा हेर्दा अनगिन्ती ताराहरु झिल्मिलाइरहेका देख्छौँ। यहाँ बाट धेरै टाढा भएकाले ती साना प्रकाश बिन्दु मात्र देखिएका छन् तर तिनीहरूको आकार धेरै विशाल हुन्छ। सुर्य एक मध्यम आकारको तारा हो। ताराहरूको जीवन त्यसको पिण्ड अर्थात् त्यस सङ्ग रहेको पदार्थको मात्रामा निर्भर गर्छ। जति धेरै पिण्ड उति धेरै नाभिकीय संयोजन र उति धेरै शक्ति उत्सर्जन र त्यति नै छिटो ताराको आयु हुन्छ। अर्थात् जति ठूलो तारा त्यति नै छोटो आयु।

तारामा दुई बलहरुको बीचमा सधैँ द्वन्द हुन्छ। एक ताराको आफ्नो गुरुत्वबलले तारालाई केन्द्रमा खुम्च्याउन खोज्छ भने नाभिकीय संयोजनबाट उत्पन्न शक्तिले तारालाई बाहिर तिर फैलाउन खोज्छ। तारामा रहेको इन्धन हाइड्रोजन र हेलियम नाभिकीय संयोजन हुँदै जाँदा ती अन्य तत्वमा परिवर्तित हुँदै जान्छन्। जस्तो हाइड्रोजन संयोजित हुँदा हेलियम, हेलियम संयोजित हुँदा कार्बन, कार्बन र हेलियम संयोजित हुँदा अक्सिजनको रचना हुँदै जान्छ।

यो प्रक्रियामा जति पिण्डको क्षय हुन्छ त्यो शक्तिको रुपमा उत्सर्जित हुन्छ जसलाई आइन्स्टाइनको प्रसिद्ध समिकरण E = MC² ले व्याख्या गर्छ। जसमा जुन नाभिकीय संयोजनको हुँदा जुन पिण्ड क्षय हुन्छ त्यो विशाल शक्तिको रुपमा उत्सर्जित हुन्छ। बिस्तारै ताराको केन्द्रमा नाभी संयोजन गर्न योग्य इन्धन हाइड्रोजन हेलियमहरु सकिँदै जान्छन् र फलाम जस्ता तत्वको मात्रा बढ्दै जान्छ। ताराले फलामलाई नाभिकीय संयोजनको प्रक्रियामा लैजान सक्दैन किनकि फलाम भन्दा गह्रौ तत्वहरू यति धनात्मक आवेश (positively charged) हुन्छन् कि उनीहरुलाई एकठाउँमा ल्याउन धेरै विशाल शक्तिको आवश्यकता हुन्छ। त्यस पछि तारा जीवनको अर्को चक्रमा प्रवेश गर्छ त्यसको प्रकार ताराको आकार, पिण्डमा भर पर्छ।

ताराको मृत्यु

ताराको केन्द्रमा जब नाभी संयोजन (Nuclear Fusion) को योग्य इन्धन हाइड्रोजन हेलियम सकिँदै जान्छ तव गुरूत्वले तारालाई केन्द्र तिर खुम्चाउन थाल्छ किनकि बाहिर फैलाउने बल कमजोर हुन जान्छ। त्यति बेला ताराको पिण्डको परिमाणले ताराको मृत्युको प्रकारलाई निर्धारण गर्छ। कुनै Supuernova भएर विस्फोट हुन्छन्, भने कुनै आफ्नो आकारलाई बढाउँदै विशाल रातो तारा (Red Giant) हुन्छन् भने कुनै न्यूट्रोनले मात्र बनेको अति सघन तारामा परिणत हुन्छन् त कुनै कृष्ण बिवर (Black Hole) बन्छन्।
Evolution of Stars (ताराहरूको जीवन)

सुपरनोभा Supernova

सुर्य कम्तीमा दश गुणा बढी पिण्ड भएका विशाल ताराहरुको हकमा जब केन्द्रमा हाइड्रोजन र हेलियमको अभावमा नाभिकीय संयोजन प्रक्रिया रोकिन्छ तव यसको विशाल गुरुत्व बलले तारालाई खुम्च्याउन थाल्छ तव त्यहाँ विशाल विस्फोट हुन्छ। त्यस विष्फोटलाइ Supernova भनिन्छ। यस प्रकारको बिष्फोटमा यति विशाल शक्ति उत्सर्जन हुन्छ कि पहिला संयोजन गर्न असम्भव भएका तत्वहरु संयोजित भएर अझै भारी तत्वहरूको सृजना हुन्छ। यो प्रक्रियामा एउटा संयोजन हुँदा उत्सर्जित शक्ति अर्को संयोजनको लागि कारक हुँदै एउटा श्रेणीबद्ध तवरले अघि बढ्छ। अक्सिजन(Oxygen:O), अल्मुनियम (Aluminum: Al) , सिलिकन (Silicone :Si), म्याग्नेसियम (Magnesium: Mg), सोडियम (Sodium: Na), क्याल्सियम (Calcium: Ca), फलाम (Iron : Fe) आदि तत्वहरूको रचना हुन्छ। यस प्रक्रियालाई हामी Supernova Nucleosynthesis भन्छौ।
Eta Carinae Supernova Explosion
१०५४ CE मा एउटा विशाल तारो आफ्नो इन्धनको समाप्ति सँगै विस्फोट भएको थियो जसलाई पृथ्वीबाट समेत कयौ दिनसम्म दिनको उज्यालोमा नै देख्न सकिन्थ्यो र चिनियाँहरूले त्यो विस्फोट (Supernova) लाई नयाँ ताराको रुपमा चित्रित गरेका थिए। एक्कासी आकाशमा नयाँ निकै चहकिलो तारा देखा परे पछि चिनियाँ तथा जापानीहरुले त्यसलाई पाहुना ताराको रुपमा उल्लेख गरेका छन्। अहिले त्यसलाई हामी Crab Nebula को रुपमा चिन्छौ जुन ६५०० प्रकाशबर्षको दुरीमा वृष तारामण्डलमा पर्छ।
गङ्गटो निहारिका (crab nebula) १०५४ CEमा देखिएको थियो जुन जापानी तथा चिनियाँहरूले पाहुना तारा (Guest Star भनेर उल्लेख गरेका छन्

न्यूट्रोन तारा (Neutron Star)

सूर्यको पिण्ड भन्दा दश देखि पच्चीस गुणा बढी पिण्ड भएका ताराहरुको केन्द्रमा जब त्यही प्रक्रिया हुन्छ अर्थात् हाइड्रोजन हेलियमको अभावमा नाभी संयोजन प्रक्रिया रोकिन्छ तव ताराको केन्द्रको गुरुत्वले तारालाइ खुम्च्याउदै लैजान्छ र बिशाल बिस्फोटन Supernova हुन्छ। त्यस पछी त्यो तारा खुम्चिदै गएर मात्र १० किमी ब्यास भएको लगभग पुरै न्युट्रोन (Neutron: जो अणुको केन्द्रमा भएको बिद्युत आवेश बिहिन कण) ले मात्र बन्छ। 

यो तारा यति सघन हुन्छ कि चिनीको दाना जति न्युट्रोन ताराको पदार्थको तौल १० करोड टन हुन्छ। १० किमी ब्यास भएको न्युट्रोन तारा सुर्य भन्दा २ ३ गुणा बढी पिण्ड भएको हुन्छ। त्यहि आकारको ताराको चुम्बकीय क्षेत्र पृथ्वीको  भन्दा २ खर्ब बढी शक्तिशालि हुन्छ र यो आफ्नै अक्षमा प्रति मिनेट ४३००० पटक घुम्छ। त्यस्तो तारा घुम्दा यसको दुई ध्रुव बाट उच्च शक्ति बोकेका Gamma प्रकाशका किरणहरू निस्कन्छन्। यसलाई हामी Pulsar भन्छौ।
पल्सर (Pulsar) :तिब्र गतिमा घुमिरहेको न्यूट्रोन तारा
त्यस्ता सघन ताराहरु जव एक आपसमा परिक्रमा गर्दै ठोक्किएर आपसमा समाहित हुन्छन् त्यो बेला उत्सर्जित हुने विशाल ऊर्जा तथा अति शक्तिशाली चुम्बकीय क्षेत्रले अझै भारी तत्वहरुको नाभी संयोजन गरेर झन् भारी तत्वहरूको सृजना हुन्छ जुन सामान्य Supernova बिष्फोटले रचना गर्न सकेको थिएन। 

२०१६ मा १३  करोड प्रकाश वर्ष को दुरीमा आकाशगङ्गा Galaxy NGC 4993 जुन Hydra Constellation अन्तर्गत पर्छ त्यहाँ यही घटना घटेको थियो। त्यस बाट उत्पन्न उच्चशक्ति विकिरण र बिष्फोटनलाइ NASA Fermi Gamma-ray Space Telescope को सहायताले अवलोकन गरिएको थियो भने त्यसबाट बिस्तारित गुरुत्व तरङ्गलाइ (Gravitational Wave) The Laser Interferometer Gravitational-Wave Observatory (LIGO बाट महसुस गरेका थियौँ। अल्बर्ट आइन्स्टाइनको गुरुत्व तरङ्गको सिद्धान्त जसमा उनले एक शताब्दी अघि गुरुत्व पनि तरङ्गको रुपमा अन्तरिक्षमा यात्रा गर्छ भनेर परिकल्पना गरेका थियो त्यो प्रमाणित भएको थियो।

ती दुई न्यूट्रोन ताराहरु एक आपसमा समाहित हुँदा विशाल मात्रामा सुन (Gold: Au) काे रचना भएको त्यो बेलाको अध्ययनहरुले देखाएका थिए। यसरी न्यूट्रोन ताराहरु एक आपसमा समाहित हुँदा भारी तत्वहरू जस्तो चाँदी (Silver: Ag), प्लाटिनम (Platinum: Pt), लेड (Lead: Pb), पारो, (Mercury: Hg) देखि युरेनियम (Uranium: U), प्लुटोनियम (Plutonium: Pu) जस्ता धेरै भारी तत्वहरूको सृजना हुन्छ।

सेतो फुच्चे तारा ( White Dwarf)

हाम्रो सूर्य जस्ता ताराहरुको केन्द्रमा जब नाभी संयोजनको लागि चाहिने हाइड्रोजन र हिलीयमको इन्धन सकिन्छ तव ठूला ताराहरु जस्तो यो Supernova बिष्फोट हुने या न्यूट्रोन तारा बन्ने या कृष्ण विबर (Black Hole) हुने गर्न सक्दैन। हाम्रो Milkyway आकाशगंगा (Galaxy) मा झण्डै ९७ % ताराहरू यस्तै हुन्। जब यिनीहरूले आफ्नो हाइड्रोजन हिलियमको परिमाणलाइ नाभी संयोजन गर्दै कार्बन र अक्सिजनमा रूपान्तरण गर्छन् तव यो तारा फैलिएर विशाल रातो तारामा परिणत हुन्छ। 

यसको बाहिरी आवरणमा ताराको गुरुत्वशक्ति कमजोर हुँदा त्यो स्वतन्त्र भएर फुस्किन्छ र एक ग्यास र धूलोको बादल मात्र रहन्छ त्यसलाई (Planetary Nebula) भनिन्छ।तर केन्द्रमा एकदम तीव्रगतिमा हेलियम नाभि संयोजन हुँदै धमाधम कार्बनमा परिणत हुन्छ जसलाई Tripple Alfa Process भनिन्छ।  बाँकी रहेको सानो तर सघन केन्द्रमा कार्बन र अक्सिजन मात्र रहन्छन् जसबाट लामो समयसम्म सेतो प्रकाश निस्कन्छ  त्यसलाई White Dwarf तारा भनिन्छ। हाम्रो सूर्य पनि करिब 6 अर्ब वर्ष पछि त्यस्तै Red Giant तारा जसको फैलावट बृहस्पति सम्म पुग्छ खुम्चिएर पृथ्वी जत्रै भएर White Dwarf Star मा परिणत हुनेछ।
Cat's eye Planetary Nebula: बीचमा white dwarf तारा
यिनै White Dwarf Star ले हाम्रो साथी ताराबाट पदार्थहरू लिन पायो भने यो पनि अस्थिर हुन्छ र आणविक बम जस्तै बिष्फोट हुन्छ त्यसमा पनि केही तत्वहरू सृजित हुन्छन् जस्तो लिथियम (Lithium) म्याङ्गानिज (Manganese: Mn), तामा (Copper: Cu) आदि। White Dwarf ताराको जीवनको समन्धमा धेरै परिकल्पनाहरु छन्।जस्तो कि उच्च चाप र कार्बनको उपलब्धताले यो हिराको ग्रहमा(Diamond Planet) परिवर्तित हुन पनि सक्छ। हीरा शुद्ध कार्बनको विशेष संरचना हो।
white dwarf star
पृथ्वीबाट सबै भन्दा बढी चहकिलो देखिने तारा Sirius हो त्यो दोहोरो तारा प्रणाली (Binary Star System) हो यसको साथी तारा Sirius B एउटा White Dwarf Star हो। जुन ८ प्रकाश वर्षको दुरीमा छ। रातो विशाल ताराहरुमा बृष तारामण्डल (Taurus Constellation)को Aldebaran, शिकारी तारामण्डल (Orion Constellation) काे Betelgeuse आदि छन्।
Red Giant Star roasting Jupiter like Planet
यसरी Big Bang बाट सृजित हाइड्रोजन र हिलीयम तत्वहरू विभिन्न किसिमका ताराहरुमा रूपान्तरित हुँदै आखिर ताराहरुले आफ्नो जीवनको अन्त्य गर्दा अझ भारी तत्वहरूको सृजना हुँदै जान्छन्। त्यही Big Bang बाट निर्मित हाइड्रोजन हेलियम देखि ताराहरूको नाभी संयोजन प्रक्रिया बाट निर्मित कार्बन अक्सिजनहरु, सेता फुच्चे ताराहरूको बिष्फोटमा निर्मित फलाम, तामा म्याङ्गानिज, विशाल ताराहरूले सुपरनोभा विष्फोटको क्रममा उत्पन्न सोडियम, क्याल्सियम, अल्मुनीयम आदि र न्यूट्रोन ताराहरूको एक आपसमा मिल्दा उत्पन्न सुन, चाँदी, प्लाटिनम देखि यूरेनियम र प्लुटोनियमहरुले हाम्रो शरीर देखि पृथ्वी तथा सौर्यमण्डलको प्रत्येक वस्तुको निर्माण भएको छ। 
Periodic Table: कुन तत्व कसरी सृजित भयो
यहाँ अवस्थित सबै जीवित तथा निर्जीव वस्तुहरू मात्र नभई हामीले देख्ने आँखा देखि हामीले सोच्ने मस्तिष्कका कोषहरू पनि तिनै तत्वहरुबाट बनेका छन्। त्यसैले आकाशलाई नीहार्दा झिलिमिली गरिरहेका ती साना प्रकाशबिन्दुहरुले आफ्नो जीवनको अन्त्य गर्दा हाम्रो संसार बनेको हो। त्यसैले हामी तिनै ताराहरूका अंश हौँ। We all are stardust

Share:

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

About Me

My photo
देउराली, चिती, लमजुङ्ग, गण्डकी , Nepal

Translate