A diary of Pedestrian on Mother Nature

एक दिन बोल्ने छ उ!

छातीमा गोली लागेर मरेको
आफ्नो १६ वर्षे छोरोको लासमा
आँशु बगाएन उसले,
पैशाचिक नङ्ग्राहरुले चिथोरेर फालिएको
छोरीको लास अघि टाउको झुकाएन उसले
आँशुले शहीदको अपमान हुन्छ भनेर
उसले आँशु बग्ने आँखा फुटाइदियो,
रोदनले मुक्तियुद्धको अपमान होला भनेर
आफ्नो जिब्रो काटिदियो,
आर्तनादहरुले मन विचलित होला
क्रान्ति कमजोर हुन्छ भनेर
कानको जाली फुटायो
ऊ त लाटो, अन्धो, बहिरो बनिदियो


छोरी बुहारीलाई ज्वाइँ साला साली
सार्वजनिक पद दिलाउन
सुमार्गी कुमार्गी शुण्ड मुशुण्ड
कहिले गोरु गाडाको सवारी त
कहिले भैँसीको चरणबन्दन गरिरहेको
अनि कहिले दक्षिणको प्रेत पूजा
त कहिले पश्चिमका मसान जगाएर
निर्लज्ज र नाङ्गो उफ्रिरहेको
रोइरहेको त्यो बाउ,
त्यो कमजोर अनि नग्न निर्लज्ज मान्छे
फगत् मान्छे अनि
त्यसको ङिच्च परेर याचनामा फैलिएको हात
भिक्षुक गीत, अनि नृत्य
देख्न परेको छैन, सुन्न परेको छैन
धन्न! उसले बेलैमा आँखा फुटायो,
कान फुटायो, जिब्रो काट्यो

नत्र त्यो रोदन सुनेर के सोच्थ्यो होला?
सामन्तवादी संस्कार भनेर फालेको
त्यो भाँडाको कर्कश ध्वनि सुनेर
ती भद्दा नृत्य देखेर
त्यो याचनाको लागि फैलिएको त्यसको हात देखेर
जसको एक इशारामा आफ्नो
र आफ्ना सन्तानको बलिदान दिने
उसले के भन्थ्यो होला।

हुन त उ बोल्दा पनि त बोल्दैन।
तर त्यो दिन आउँछ
जुन दिन उसका आँखाहरूले देख्ने छन्
उसका कानहरुले सुन्ने छन्
उ बोल्ने छ।




Share:

1 comment:

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

About Me

My photo
देउराली, चिती, लमजुङ्ग, गण्डकी , Nepal

Translate